साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुलेसी

चुलेसीमा हुनुपर्ने महत्वपूर्ण गुण त्यसको तेजिलो धार नै हो । आखिर काट्ने काममा प्रयोग गर्नु छ, रुपले के लछार्छ ? काट्ने काम रुपले होइन धारले गर्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

त्यो चुलेसी यति विधि धारिलो नभइदिएको भए झरिलो आरान तिर पटकपटक पुर्याउनु पर्थ्यो । सबैले भन्थे, यो गतिलो मालबाट बनेको चुलेसी हो । निकै वर्ष अघि गाउँकै आरानमा बनेको रे । जिजुबाजेको पालादेखिको चुलेसीले हजारौँ टन तरकारी काट्ने काम गरेर ठूलो गुन लगाएको छ । जसलाई एकपटक हालेको पाइनले वर्षौंसम्म काम गरेको थियो । त्यसैले यो चुलेसीलाई हतपती अर्जाप्नु पर्दैन थियो । गाउँमा कसैले चुलेसीको यसरी प्रसंसा गरेको सुनिन्थ्यो भने चुलेसीको बदख्वाइँ गर्नेहरू पनि कम थिएनन् ।

कसैले भन्थे, “यसको धार निकै तेज भएपनि अनुहारमा त्यति विधि क्रेज छैन । कतैबाट हेर्दा पनि यसको धार जस्तै तेजिलो, अनुहार थिएन । यसको न कोइलीको जस्तै सुरिलो कण्ठ छ ! न जुरेलीको जस्तो खिरिलो ज्यान छ ! नभन्दै त्यो चुलेसी कता के नमिलेको कता के नमिलेको हेर्दा कुरुप नै देखिन्थ्यो !”

देख्नेले जसरी देखे पनि चुलेसीको फुर्ती भने हेरि नसक्नुको थियो । उसले फुर्ती लगाउने केवल एउटै मात्र कारण थियो, निकै पुरानो र उसको तेजिलो धार । जब चुलेसीले केही काट्न लाग्थ्यो, काट्नेले निकै होस पुर्‍याउनु पर्ने हुन्थ्यो । अन्यथा कि त्यसले हातका औँला सर्‍याप्पै बनाएर काटिदिन्थ्यो कि त पैँतालिस डिग्रीको कोण बनाएर मान्छेको भाग्य रेखा नै परिवर्तन हुने गरी हत्केलामा बडेमानको चिनो लगाएर रगत बग्ने खोल्सी बनाइदिन्थ्यो ।

चुलेसीको फुर्ती देखेर मान्छेहरू अचम्म मान्ने गर्दथे । लाग्ने धार जस्तै अनुहार पनि चरिनङ्ग्रे र चुस्स नभइदिएको भए चुलेसीले झनै कति फुर्ती लगाउँथ्यो होला ! मान्छेहरू भन्थे, “कुन मखण्डी सर्जकले यो पाखण्डी चुलेसी बनाएछ कुन्नि ? यसको धार छोडेर बाँकी सबै कुरा बेकार छ ।” यो चुलेसीले खसी काट्ने हो भने खुकुरीले झैँ न गर्धनको वारपार गर्न सक्छ न त खसी काटेर पार लगाउन सक्छ ! यो न झार काट्ने काममा प्रयोग गर्न सकिन्छ न तार काट्ने काममा ! तर पनि त्यसले दरबारमा घरबार भएको धाक दिन भने कहिल्यै पनि छोडेन ।

सामान्यतया पुरुष भन्दा महिला आकर्षक, सुन्दर र महान मानिन्छन् भन्ने मान्यता अनुसार चुलेसीलाई महान बनाउने नाममा नाकमा एउटा आल्मुनियमको बुलाकी लगाइदिएर त्यसलाई बलजफ्ति महान बनाउने प्रयास गरिएको थियो । तर बुलाकी लगाउँदैमा महान र महिला बन्ने हो भने आफैं सन्तान जन्माउन रहर गर्ने पुरुषहरूले आफ्नो नाकमा बुलाकी लगाउने थिए र महिला बनेर स्वयं बच्चा जन्माउने थिए ।

यदाकदा त्यो बुलाकी लगाएको चुलेसी देखेपछि म त्यसलाई निकै अनौठो मानेर हेर्ने गर्थेँ । मेरो चार वर्षीय नातिले सेतो कागजमा कोरेको चराको चित्र जस्तै देखिने त्यो चुलेसीलाई कुनै कोणबाट हेरे पनि महिला जस्तो देखिँदैन थियो । महिलाको रूप मात्र नदेखिने होइन, महिलाको जस्तै असल गुण त्यस चुलेसीमा केही पनि थिएन । न मैले त्यसमा पुरुषको रुप नै देख्न सकेँ ! इन्टरनेटको यति विधि पँहुच भएको जमानामा चुलेसीले लगाएको बुलाकी, हुलाकीले बोक्ने चिठ्ठीको झोला जस्तै पटक्कै नसुहाए झैं लाग्थ्यो ।

अनि फेरी बुलाकी लगाइदिएर सुन्दर बन्ने भए कस्ता कस्ता कुरूपहरूले समेत बुलाकी लगाउने थिए । मान्छेलाई राम्रो बन्न धनीमानी हरूले जस्तो अनुहारको प्लास्टिक सर्जरी पनि गर्नु पर्दैन थियो । एउटा आल्मुनियमको बुलाकी बनायो, नाकमा झुण्ड्यायो चिटिक्क पर्‍यो बस्यो !

सायद अनुहार देखाउन लायकको नभएर हुनुपर्छ, चुलेसीको तेजिलो धार भएपनि ऊ सधैँ अन्धकारमा बस्ने गर्थ्यो । एकदिन म भण्डार कोठामा जाँँदै थिएँ , म निरपराध मान्छेलाई बिना आधार त्यसको तेजिलो धारले मेरो खुट्टाको कान्छी औँलाको संहार गरिदियो । उसै त म चुलेसी मन नपर्ने मान्छे, त्यसमाथि त्यसदिन उसले मेरो खुट्टाका औंलामा आक्रमण गरेर झनै खुट्टा काटिदिए पछि त म चुलेसीलाई देख्न पनि नसक्ने भएको थिएँ ।

ऊ आफूलाई फलामको सन्तान भएकोमा निकै गर्व गर्थ्यो । दुःखको कुरा फलाममा हुनु पर्ने गुण चुलेसीमा फिटिक्कै थिएन । फलाम गह्रूङ्गो तौल भएको धातु हो । तर त्यो चुलेसीको खासै तौल थिएन । यसको तौल हेर्दा यो फलामको नभएर आल्मुनियमको चुलेसी हो कि जस्तो लाग्थ्यो। जब यसलाई एउटा खुट्टाले कुल्चिएर बस्यो, यसले धैरैको हात काटिदिएको सम्झना छ । उसलाई लाग्छ होला, “आफूलाई लात्ताले कुल्चिएपछि हात किन नकाटिदिनु ! हात मात्र होइन उस्तै परे गर्धन काट्न पछि परिन्न !” एकटकले चुलेसीलाई हेरिरहने हो भने चुलेसीले यस्तै भनिरहे झैँ लाग्छ । एकदिन फुर्सद निकालेर तपाईं पनि हेर्नुस् त, चुलेसीले मनका कुरा बोलिरहेको सुन्न सकिन्छ ।

उसले फुर्ती लगाउन मात्र जानेको होइन । यो चुलेसी कन्जुसको पनि राजा थियो । लोभी चुलेसीले आलु र घिरौंला मात्र होइन मासुका टुक्रा र सिङ्गै सपेटा देख्यो भने राल चुहाउँदै मासु काट्न समेत तम्सिन्थ्यो । उखु नरीवल देखि प्याज, भन्टा मात्र काटे त हुने थियो नि, यसले कागजको नोट र फूलको बोट पनि काटेर ध्वस्त पार्थ्यो । मेरो त्यही चार वर्षे नातीले चुलेसीको सहयोग लिएर नर्सरीबाट ल्याएर सारेको भोलिपल्ट निलमणि फूलको बिरुवा काटिदिएको म कसरी बिर्सन सक्छु !

मैले कैयौँ पटक भनेँ, “चुलेसी वहिष्कार गरौँ ।” कसैले टेर पुच्छर लगाएनन् । जब त्यसले एकदिन मकैको पात काटिरहेको बखत काकाको हात काटिदियो, उनले त्यो बेइमानी चुलेसीलाई घरभन्दा अलि टाढाको जङ्गलमा लगेर फालिदिएका थिए । जब उनले त्यसलाई जङ्गलमा लगेर मिल्काए, केहीदिनसन्म मलाई हाइसन्चो लाग्यो । राती एकदम मिठो निन्द्रा पर्न थाल्यो । किनकी हामीले ठान्ने गरेको अधर्मी चुलेसीसँगको सङ्गत टुट्यो ।

चुलेसी फालेपछि भोलिपल्ट हामीले बजारबाट एकदम झक्कु खालका तीन थान स्टिलको चक्कु लिएर आयौँ । नयाँ भएर होला, ती चक्कु टिलिक्क टल्किरहेका थिए । चक्कुहरू यति राम्रो देखिएका थिए कि यिनको कारण भान्साको समेत शान र सौकत बढे झैँ लाग्थ्यो । घरै उज्यालो देखिएको थियो । स्टिलको टल्किने चक्कुका कारण कताकता घरको इज्जत समेत बढे जस्तो लाग्यो । नयाँ चक्कु भित्र्याउन पाएकोमा परिवारका सबै सदस्यहरू मख्ख थिए ।

दुःखको कुरा चुलेसीलाई प्रतिस्थापन गर्दै भित्रिएको चक्कुले अपेक्षा अनुरूप काम गर्न सकेनन् । यिनले कुखुराको सामान्य हड्डी पनि छिनाल्न सकेनन् । बडेमानको पाकेको फर्सीमा पनि चक्कुले डोव मात्र लगायो । त्यसदिन हामीले फर्सी फुटाउन उचालेर भुइँमा पछार्नु परेको थियो । हातमा टलकदार चक्कु बोकेर फर्सी पछारेर फुटाउनु पर्ने भएपछि यो चक्कुको के अर्थ रह्यो ? त्यसदिन देखि हामीलाई थाहा भयो, यस्ता नालायक चक्कु भन्दा त लाजगाल बरु चुलेसी नै ठिक रहेछ ।

त्यसदिन देखि हामीलाई लाग्यो, चुलेसीले निकै गर्वका साथ आफूलाई धारिलो, कामकाजी, र महत्वपूर्ण भनेर फुर्ती गर्दा के बिरायो ? चुलेसीमा हुनुपर्ने महत्वपूर्ण गुण त्यसको तेजिलो धार नै हो । आखिर काट्ने काममा प्रयोग गर्नु छ, रुपले के लछार्छ ? काट्ने काम रुपले होइन धारले गर्छ । अचानक हाम्रो मन फेरिएको छ ।

जब हामी चक्कुको काम देखेर निरास बन्यौँ, पुनः जङ्गलमा फालेको चुलेसी लिन जाने निधो गरेका छौँ । गोठालो जाँदा देखेको हो चुलेसी कसैले लगिसकेको छैन । हामीले पुनः चुलेसी टिपेर ल्याउने, बरू त्यो सुन्दर देखिएको चक्कुलाई त्यही जङ्गलमा लगेर मिल्काइ दिने विचार गरेका छौँ । चुलेसीको धार नभए बरू आरानमा लगेर अर्जाप्नु पर्छ । हात, खुट्टा र हत्केला जोगाउन होसियारसँग काम गर्नुपर्छ । तर हुँदा खाँदाको चुलेसी फालेर बेकारको स्टिलको चक्कु ल्याउने काम मरिगए पनि गर्नु हुँदैन, हामीलाई अचानक ब्रह्म ज्ञान प्राप्त भएको छ ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x