हरिशंकर परसाईंचरित्रहीन
अब भने डिप्टी साहेबको टाउको पूरै तन्केको थियो । चालमा पनि अक्कडपन आएको थियो । मानिसहरूसित नमस्कारपाती पनि चल्न थालेको थियो । केहीले त कुरा पनि गर्न थालेका थिए ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
एउटा घेराभित्र एउटा भाडाको घर थियो । त्यस घरमा तेह्र परिवार भाडामा बस्थ्यो । घरमालिक कुनै चौधरी साहेब थिए जो नजिकैको बङ्गलामा बस्थे ।
एक जना नयाँ भाडावाला आए । उनी डिप्टी कलेक्टर थिए । उनी आउनासाथ उनको इतिहास पनि बस्तीमा आइपुगेको थियो । उनी यसभन्दा पहिले ग्वालियरमा थिए । त्यहाँ छँदा कार्यालयकी कुनै महिला टाइपिस्टसित उनको नाम जोडिएको थियो । उनी एक वर्षसम्म निलम्बित रहेका थिए । यो समाचार अखबारमा पनि छापिएको थियो । मामिला जसरी दन्केको थियो उसै गरी निभ्यो पनि, अनि उनको सरुवा यस सहरमा भयो ।
डिप्टी साहेब यो घरमा आउनुभन्दा पहिले नै उनकै विभागको एउटा मान्छेले टोलमा आएर डिप्टी साहेब त निकै चरित्रहीन मान्छे पो हुन् भनेर गयो । उनी जहाँ बसे त्यहीँ बदमासी गरे भन्ने कुरो सबै भाडावालहरूसम्म फैलियो ।
भाडावालहरूले आपसमा कुरा गर्न थाले – यो त सज्जनहरूको टोल हो । यहाँ यस्तो मान्छे बस्न आउँदै छ । कुनै सज्जन मान्छे यहाँ अब कसरी बस्न सक्छ ?
डिप्टी साहेबलाई पनि आफ्नो विषयको खबर यता पुगिसकेको छ भन्ने थाहा भइसकेको थियो र यहाँका सबै जनाले उनीसित घृणा गर्छन् र बदमास ठान्छन् भन्ने पनि बुझेका थिए । उनी स्वयम् यस्तो वातावरणमा अप्ठ्यारो अनुभव गर्दै थिए । उनी हीनताको भावनाले ग्रस्त थिए । आउँदाजाँदा पनि टाउको निहुर्याएर हिँड्थे । कसैसँग पनि उनको सन्चोबिसन्चोको कुरो हुँदैनथ्यो ।
यता टोलका मानिसहरू आपसमा भन्दै थिए – सज्जनहरूको टोलमा यो बदमास आएर बसेको छ ।
डिप्टी साहेबको बसाउठी केवल मसँग स्थापित भएको थियो । मेरो परिवार थिएन । म एक्लै बस्थेँ । डिप्टी साहेब कहिलेकाहीँ मकहाँ आएर बस्थे । उनले पनि परिवार ल्याएका थिएनन्, त्यसैले एक्लै बस्थे । एक दिन उनले मसित भने, ‘यी जुन मिस्टर दास छन् नि ! यिनी त रेलवेको पुलपारिकी एउटी आइमाईकहाँ जाँदा रहेछन् नि ! साह्रै चरित्रहीन छे त्यो आइमाई ।’
अर्को दिन मैले उनको टाउको केही माथि उठेको देखेँ । टोलका मानिसहरूको आपसमा कुरा चल्दै नै थियो – सज्जनहरूको बस्तीमा यो चरित्रहीन कहाँबाट आयो ? दुई तीन दिनपछि डिप्टी साहेबले मसँग भने, ‘यी जुन मिसेज चोपडा छन् नि ! तपाईलाई यिनको इतिहास थाहा छ ? यिनको विवाह कसरी भएको हो भन्ने तपाईंलाई थाहा छ ? तीन जना यिनीसित फँसेका थिए । यिनको पेट फुलेको थियो । अरू दुई जना विवाहित थिए । चोपडाले भने यिनीसित विवाह नगरी भएन ।
दोस्रो दिन डिप्टी साहेबको टाउको अझ ठाडो भयो । टोलबासीहरू भने अझै पनि भन्दै थिए – सज्जनहरूको टोलमा यो कस्तो चरित्रहीन मान्छे बस्न आयो ? तीनचार दिनपछि फेरि डिप्टी साहेबले भने, ‘श्रीवास्तवजीकी छोरी त निकै बिग्रेकी छे नि ! एक जना मान्छेसित ग्रीन होटलमा समातिएकी थिई ।’ डिप्टी साहेबको टाउको अझ ठाडो भयो ।
टोलका मान्छेहरू अझै पनि भन्दै थिए – सज्जनहरूको टोलमा यो कहाँको चरित्रहीन आएछ ।
तीनचार दिनपछि डिप्टी साहेबले भने, ‘यी पान्डेजी छन् नि ! आफ्नै दाजुकी जोईसित लागेका छन् । यिनका दाजु सिभिल लाइनमा बस्छन् ।’ डिप्टी साहेबको टाउको अझै ठाडो भयो ।
टोलका मान्छेहरू अझै पनि भन्दै थिए – सज्जनहरूको टोलमा यो चरित्रहीन कहाँबाट आयो ।
डिप्टी साहेबले टोलमा झन्डै सबैका बारेमा केही न केही पत्तो लगाइसकेका थिए । उनले भनेका कुरा सही थिए कि थिएनन् भन्ने भने म भन्न सक्दिनँ । मान्छे खग्गु थिए । माथिल्लो लेबलका कलाकार थिए । हरेक पटक जब उनी कसैको चरित्रहीनताको खबर सुनाउँथे उनको टाउको झन् झन् ठडिन्थ्यो ।
अब भने डिप्टी साहेबको टाउको पूरै तन्केको थियो । चालमा पनि अक्कडपन आएको थियो । मानिसहरूसित नमस्कारपाती पनि चल्न थालेको थियो । केहीले त कुरा पनि गर्न थालेका थिए ।
एक दिन मैले भनें, ‘आफ्ना पत्नी र छोराछोरीलाई पनि ल्याउनुस् न । एक्लै त दुःख हुन्छ होला नि !’
डिप्टी साहेबले भने, ‘ए हजुर, सज्जनहरूको टोलमा डेरा पाए पो पत्नी र छोराछोरीलाई ल्याउनु ?’
०००
(यो हरिशंकर परसाईको ‘परसाई रचनावली’ २ को ‘लघु कथाएं’ परिच्छेदको पहिलो लघुकथा हो । अबका केही अङ्कहरूमा यिनै व्यङ्ग्यात्मक लघुकथाहरू पस्किइने छन् । अति लघु आकारका हुँदा दुई तीनवटासम्म पनि हुनेछन् भने सामान्यतया एउटै रहनेछ । यो अनुवाद ‘बदचलन’ शीर्षकबाट गरिएको हो । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest







































