साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओम नमः मूर्खाय

सुरु सुरुमा मन्त्र जप्दा होमियोपैथी औषधिजस्तो रोग बढ्न सक्छ भनेर झाँक्रीले नआतिन भनेकामा मेरो रोग चाहिँ उल्टो गतिमा दौडेको छ रे अर्थात् रिएक्सन नगरेपछि मेरो महामूर्खता अब उपमहामूर्खतासम्म आइपुगेको अनुमान छ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मेरो सकारात्मक आनीबानीमा पूर्णविराम लागेपछि अलिकति ईर्ष्या गर्ने आफन्तहरूले झाँक्रीकहाँ पुर्‍याउने सल्लाह दिएका थिए । धेरै टाढा भए पो पुर्‍याउन टिकटको लागि कुर्नुपर्थ्याे ! ठूलाबडाले पिलेनको टिकट हातमा लिएर बिसौनीमा कुरिरहुञ्जेलको समयमै मलाई छिमेकी गाउँको झाँक्रीकहाँ याम्बुलेन्समा पुर्‍याए । मेरो सौभाग्य राम्रो थियो – प्रमुख झाँक्री घरमै भएको जनाउ द्वारपालले दिएपछि मेरा आफन्तहरूको अनुहार दीपावलीको साँझझैं उज्यालिएको थियो ।

झाँक्रीको प्रख्याति उनको गाउँको सीमालाई नाघेर मेरो गाउँसम्म पुगेको थियो । हेर्दै घिन लाग्दो, गन्हाउने जीउ, जिङरिङ कपाल र फोहोरी बानी उनका विशेषता छन् । नजिकै आएर कुरा गर्दा उनको गन्हाउने साँस र जीउको बासले बान्ता नआउनेलाई महान मान्नु पर्दछ । पढेलेखेका कर्मचारीलाई त उनी आफूसित पाँच मिनेट उभिएर गफ गर्न चुनौती दिन्थे । उनको नजरमा ठूलो र राम्रो जति मान्छे सबै उनीसित थर्कमान हुन्थे । उनी अगाडि टिक्नु कसरी ? वाह, गर्व हुनु त झाँक्रीजस्तो । मलाई तत्काल आइसियुमा भर्ना गर्ने आदेश आयो । झाँक्रीको आइसियुमा नेपाली पैसा नचल्ने, आइसी नै चल्ने अनुशासन थियो । नेपालीलाई आइसीमा बदल्न उनकै एजेन्ट छन् । अलिक बढी कमिसन पाएपछि दोहोरो फाइदा ।

आइसियुको व्यवस्था गज्जब थियो । पस्नासाथ खुर्सानीको धुलोको धुँवाले स्वागत गर्‍यो । म त बेहोस हुँलाजस्तै भएँ । झाँक्रीले बोक्सी लागेको लक्षण देखिहाले । झाँक्रीले कालो-लामो लट्ठी के उठाएको थियो म त कट्टुमै सु सु गरिहालेँ । त्यसपछिको हनुमान झापड खाएको सम्झनामात्रै छ ।

सबैले भन्छन् – मसँग बुद्धिको मात्रै अभाव छ । बाँकी सबै कुरो ठीक छ रे । म जन्मिनुपूर्व जब भगवानले बुद्धि बाँड्दै थिए, त्यत्तिबेला मेरो पालो आउँदासम्म बुद्धि सकिएको थियो । अनि भगवानले परीक्षण गर्न बिना गिद्दी र बिना बुद्धिको मान्छे पृथ्वीमा पठाएका छन् रे । म त्यहीँ नै हुँ । यही कारण हो – बुद्धिमानहरूले मलाई माया गर्दछन् । एकजना धेरै बुद्धिमानले त ममाथि नै पिएचडि गर्न विश्वविद्यालयमा प्रस्ताव पेश गरेका छन् रे ।

ममा बुद्धि आओस् भन्ने चाहनाले होला, कतिपयले मलाई बुद्धि बहादुर भनेर पनि बोलाउँछन् ।
अरूले तेरो कान कौआले लग्यो भनेर मचाहिँ आफ्नो कान पहिले छाम्छु, कौआको पछि दगुर्दिनँ । नानीदेखिकै बानी हो । अरुको नजरमा म मूर्ख हुँला तर म आफ्नो नजरमा पूरापूर बुद्धिमान छु । विद्वान छु ।
मलाई त भर्खर निद्राबाट ब्युँझेझैँ लाग्छ तर आइसियुबाट डिस्चार्ज भएर जनरल वार्डमा आइसकेपछि मेरो होस खुल्दा मेरी पूर्णाङ्गिनीले आफ्नो मधुर वाणी मेरो कानमा रुन्चे स्वर पारी – तीन घन्टापछि हजूरको आँखा उर्घ्याे ।

मेरो आँखाको प्रशंसा अ‍ैलेसम्म कसैले त के इनले पनि गरेकी थिनन् तर आँखा उघ्रिने प्रतीक्षा किन थ्यो ? मैले बुझ्नु किन पर्‍यो ? यदि बुझ्न खोज्ने हो भने पत्नीपुराण प्रारम्भ हुन्छ र कानले थेग्न नसकेर बहिरो होला भन्ने डर । केही बोलिनँ ।

जनरल वार्डमा पनि मच्छर नहुँदा मलाई अचम्म लाग्यो । अरुको घरमा मच्छर नपाए पनि हामी बाह्र मासे मच्छरको दर्शन गर्न गाउँको अस्पतालमै पुग्छौँ । किनभने हामीले देखेका छौँ, टोलभरिको बिरामी मच्छर अस्पतालमा उपचारका लागि पुग्छन् । कतै कन्याउन नपाएर दुवै हात बेरोजगार भएर अल्छी मानिरहेको बेला मलिनु स्वरमा सोधेँ पूर्णाङ्गिनीलाई – यहाँ मच्छरले किन नटोकेको होला ?

निराश भएर जवाफ चुहाइन् – कतै हान्न नपाएर मेरो हात चिल्लाएको छ ।
झाँक्रीको जीउको गन्ध खप्न नसकेर घरका सबै मच्छरले कुलेलम ठोकेको लख काटेँ । अर्को अनुमान थियो – रातो खुर्सानीको धुँवा लाग्ने भएकोले जनरल वार्डका मच्छरहरूले झाँक्रीविरुद्ध हडताल गरेको हुनुपर्छ ।
जन्मेदेखि नै ब्रस नगर्ने व्रत लिएकी आवाल अब्रसालुजस्तो लाग्ने एक महिला देखा परिन् । दन्तलहर अवणर्नीय घिनलाग्दो थियो । तीक्ष्ण र कठिन प्रहार गर्ने भीषण गन्धसहित नरम स्वरमा बोलिन् – सचेत रहनू, झाँक्रीजी आउँदै हुनुहुन्छ ।

मलाई अनेक शंका, उपशंका, सहशंका र प्रशंकाहरुले घेरेको देखेर एकै छिनमा सम्पूर्ण आफन्तहरूले मलाई घेरे । वास्तवमा मलाई झाँक्रीदेखि डर लागेको थियो तर सबैले अब अन्तिम साँस लिन लागेको जस्तो मलाई ठानेछन् ।
म त त्यसै चूप छु । मूर्खहरु कि त मजस्तै चूप रहन्छन् कि त कहिलेकाहीँ धेरै जान्ने भएर मजस्तै बर्बराउँछन् । सायद झाँक्रीको अदप उसको अस्पतालभरि चल्दो हो । सबै शान्त भइदिन्छन् ।

आएर मेरो छेउको बेडमा बस्छन् । उनी बक्न सुरु गर्छन् कुनै प्रकाण्ड पण्डितजस्तो । उसले बकेको कुरो जस्ताको तस्तै राख्न चाहन्छु । सक्कलबमोजिम नक्कल भनिठान्नु होला । केही तलमाथि भए सहुँला बुझाउँला भनी सुखीराजीले स्वघटना बयान गर्दैछु । सही अन्तिम किनाराको सदर ।

यसलाई एउटा मूर्ख भूतले समातेको थियो । त्यो भूत नै यस्तै हो कि जस्तोसुकै बुद्धिमानलाई समात्यो कि बिस्तारै मूर्ख बनाइहाल्ने । भूत लागेको थाहा हुनासाथ उपचार नगरे जति दिन बित्यो मानिस उति धेरै मूर्ख बन्दै जान्छ । यसलाई भूत लागेको धेरै वर्ष बितेको छ । ठीक त हुन्छ तर भूतको कारण यो महामूर्ख बनिसकेको छ । कसैले उपाधि नदिए पनि यो महामूर्ख हो ।

मेरी घरबाली (वास्तवमा घरको जग्गा मेरै नाममा हो । जग्गा मेरो नाममा हुनुको अर्थ हो घर पनि मेरै हो तर पनि घरबाली भन्नुपर्ने)ले सोधी होली – उसो भए कसरी होसियार बन्नु हुन्छ त ?
बडो सरल तरिकाले मूर्खको प्रकारको बखान उनले गरे । महामूर्ख त महामूर्खै हो । योभन्दा ठूलो हुन सक्दैन । जति बिग्रिनु थियो, यो बिग्रिसकेको छ । अब योभन्दा बढी बिग्रिने चान्सै छैन । यो कुनै रोग होइन कि यसको आयु कम होओस् ।

उसले यति भनेपछि मलाई लाग्यो मेरो आयु लामो भएको छ । फोक्सोमा अलिकति बढी हावा हुलिएको थाहा पाएँ । मनको कुनै कुनामा एउटा खुसी सञ्चार भयो ।
मूर्खको विश्लेषण जारी थियो । महामूर्खभन्दा अलि तल्लो तहको सहमहामूर्ख हुन्छ, त्यसपछि उपमहामूर्ख हुन्छ । कतिपय नजान्ने झाँक्रीले सहमहामूर्ख र उपमहामूर्खलाई उस्तै मानेर उपचार गर्दा बिग्रेको हुन्छ । यस्तो केस उपचारमा बिग्रियो भने महामूर्खभन्दा कठिन हुन्छ तर यो सोझो महामूर्ख हो ।
मेरो मनमा अलिकति फेरि सन्तोष पस्यो ।

उपमहामूर्खभन्दा तल्लो दर्जाको पटमूर्ख हुन्छ । गाउँलेहरुले सोझोरुपमा भन्ने गरेको मूर्खभन्दा पटमूर्ख माथिल्लो दर्जामा हुन्छ । पटमूर्खभन्दा तल्लो दर्जामा मूर्ख आउँछ । यस्तै सहमूर्ख, उपमूर्ख, प्रमूर्ख, निमित्त मूर्ख आउँछन् । निमित्त मूर्खले सबै ठाउँमा मूर्खता देखाउन सक्ने क्षमता राख्दैन । जानी जानी मूर्ख बन्न खोजे पनि ऊ मूर्ख होइन भन्ने कुरो दुनियाँले बुझिहाल्छ ।

शहर बजारमा आजभोलि मूर्खको नाममा ठगी हुन्छ । मूर्ख भनेर धेरै विद्वानलाई भनिन थालिएको छ । उनीहरूले को सबैभन्दा ठूलो मूर्ख भनेर कम्पटिसन गर्छन् । कम्पटिसनमा मूर्खराज, मूर्खाधिपति, मुर्खोन्मुख मूर्ख, प्रगतिशील मूर्ख, क्रान्तिकारी मूर्ख, प्रजातान्त्रिक मूर्ख, लोकतान्त्रिक मूर्ख, गणतान्त्रिक मूर्ख, आदर्श मूर्ख आदि भनेर पद र सम्मानको बाँडफाँड गर्छन् । ठूलो पद पाएँ भनेर भोज गर्छन्, रमाउँछन् । मलाई दुई चारजनाले एउटा कार्यक्रममा मूर्खोन्मुख प्रतिभा भनेर मलाई हेपेका थिए कि सम्मान गरेका थिए तर सबैले ताली बजाएर मेरो घाँटीमा फूलको माला लगाइदिएका थिए । तपाईंहरू नै भन्नोस् त म कुनै मूर्ख छु ?
मूर्खताबाट उन्मुक्तिको लागि कुनै उपाय मैले थाहा पाउन सकिनँ । सायद आइसियुमा नै मेरो उपचार भइसकेको थियो ।

घरमा आएपछि मैले मेरीलाई सोधेँ – मजस्तो महामूर्खको श्रीमती हुन पाएकोमा तिमीलाई गर्व लागेको हुनुपर्छ । यो गर्वले छाती फुलेको अवस्थामा एउटा सेल्फी तानौँ र फेसबुकमा अपलोड गरौँ किनभने झाँक्रीले उपचार गरेपछि त अब मभित्रको मूर्खता हरेक दिन कम हुँदै जाला । म अहिले मूर्खताको पराकाष्ठामा छु ।

मुसुक्क मुस्कुराएर मलाई भुतुक्कै पार्दै श्रीमतीले आफैँले फोटो खिचिन् र मेरो फेसबुकमा अपलोड गरिन् । अस्ति तपाईंहरूले मेरो फेसबुकमा देखेको फोटो त्यसै दिनको हो । मेरी मसँगै अस्वाभाविक मुस्कान लिएर उभिएकी फोटोले धेरै लाइक र कमेन्ट आएको थियो । एकजनाले कमेन्टमा लेखेको थियो नि – बाँदरको हातमा नरिवल । हो, त्यैँ फोटो ।

अस्ति तिनले भनेको एउटा कुरा भन्न चैँ बिर्सेछु – मेरो प्यारो महामूर्ख श्रीमान्को उपचार गरिदिने ती झाँक्री चाहिँ मूर्खाधिराज नै हुन् ।
आजभोलि मेरो मूर्खता कम हुँदै गएको छिमेकीहरूले बताउन थालेका छन् रे । हरेक दिन निदाउनासाथ र बिहान ब्युँझनुभन्दा पहिले तथा अरु समयमा मौका पाउनासाथ ती झाँक्रीले दिएको गुरुमन्त्र जप्ने गरेको छु । कम्तीमा पाँचपल्ट नजपी यसले काम गर्दैन रे । सुरु सुरुमा मन्त्र जप्दा होमियोपैथी औषधिजस्तो रोग बढ्न सक्छ भनेर झाँक्रीले नआतिन भनेकामा मेरो रोग चाहिँ उल्टो गतिमा दौडेको छ रे अर्थात् रिएक्सन नगरेपछि मेरो महामूर्खता अब उपमहामूर्खतासम्म आइपुगेको अनुमान छ । उनले दिएको र मैले कसैलाई नसुन्ने गरी दैनिक जप्ने मन्त्र हो – ओम नमः मूर्खायः ।
यो महामन्त्र जप्नुहोस्- मूर्खताबाट मुक्ति पाउनुहोस् ।

०००
व्यङ्ग्यम् (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असली मित्र

असली मित्र

सञ्जय साह मित्र
जुँगा

जुँगा

सञ्जय साह मित्र
नाकको रहस्य

नाकको रहस्य

सञ्जय साह मित्र
आइसियुमा मोबाइल

आइसियुमा मोबाइल

सञ्जय साह मित्र
अझै स्मार्ट बन्नुभएन ?

अझै स्मार्ट बन्नुभएन ?

सञ्जय साह मित्र
नाकार्षण

नाकार्षण

सञ्जय साह मित्र
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मास्टरको चिया

मास्टरको चिया

सुरेशकुमार भट्ट
वाइपास

वाइपास

सुरेशकुमार पाण्डे
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x