नदी भट्टराईदेवकोटाका निबन्धमा व्यङ्ग्य-विनोदी स्वर
देवकोटा आफैभित्र एउटा गणित हुन् र सरलीरण पनि । न उनीसँग समय छ न त समयसँग गुनासो नै छ । सबै विषय र चिन्तनलाई सुँगाझै रट्नुपर्छ र गतिलो बनिन्छ भन्ने सामाजिक मान्यतालाई बहिस्कार गरेर अगाडि बढेका स्रष्टा र द्रष्टा हुन् ।

विषयको उठान :
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका केन्द्रीय प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटा ( वि सं.१९६६ – २०१६) मूलतः कवितामा वाङ्मय हुन् भने निबन्धमा साहित्य हुन् । कविताकै बृहतरूप भएर महाकवि बन्न सफल भए भने निबन्धमा सहयात्री शिखर प्रतिभा हुन् । नाटक, कथा, निबन्ध तथा फुटकर कविता (अङ्ग्रेजी अनुदितसमेत) र झिल्का मात्र भए पनि “चम्पा ” उपन्याससम्म फैलिएका छन् ।
आजको सन्दर्भ भने निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको हास्यव्यङ्ग्य निबन्धसँग सम्बन्धित रहेको छ । नेपाली साहित्यमा उनका हराएका, छोडिएका, लिपिबद्ध हुन नसकेका साथै हालसम्म प्रमाणसहित प्रकाशन हुन बाँकी रहेका र मेरो अध्ययन क्षेत्र कम भएको आधारमा जम्मा तीनवटा निबन्धसङ्ग्रह – जसमा लक्ष्मी निबन्धसङ्ग्रह २००२ ( ३७ वटा ), दाडिमको रुखनेर २०३९ (प्रा. राजेन्द्र सुवेदीको सम्पादनमा (१८ वटा ) र डा.गङ्गाधर अधिकारीका अनुसार वि.सं.२०६६ सालमा शिव रेग्मीको सम्पादनमा महाकवि देवकोटाका निबन्धहरू सङ्ग्रहको रूपमा (अङ्ग्रेजी अनुदितसहित) १५ वटा गरी जम्मा ७० रहेका छन् ।
यसरी हेर्दा देवकोटाका जम्मा ५० वर्षको आयुमा करिब २३ वर्षको समय ( १९९३-२०१६ ) निबन्ध विधामा नै खर्चिएको देखिन्छ । नेपाली साहित्यमा वि.सं. १८३१ को पृथ्वीनारायण शाहको “दिव्योपदेश” नेपाली निबन्धको प्रारूप मानिन्छ भने देवकोटाको वि .सं . १९९३ साल कार्तिक महिनाको शारदा पत्रिकामा छापिएको “असारको पन्ध्र” लाई नै आधुनिक निबन्धको सूत्रपात मानिन्छ ।
देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहभित्र संग्रहित केही लहडबाजी निबन्धहरू जस्तै- भलादमी, हाई हाई अङ्ग्रेजी र गधा बुद्धिमान कि गुरु ?, निबन्धमा छेडछाड गरिएका व्यङ्ग्योक्ति स्वरलाई छोटकरी चर्चा गर्ने जमर्को गरेको छु । यी निबन्धहरूमा हास्यभन्दा पनि व्यङ्ग्य ज्यादा छन् । देवकोटाले समाजमा हुने गरेका विकृति विसङ्तिअन्तर्गत, मानवीय मनोग्रन्थी, भाषाप्रतिको गलत मोह, मानवीय चरित्रको अभावमा हराएको भलादमीपन, बौद्धिक आडम्बरको पर्दाफास आदि विषयवस्तुमाथि आफ्ना विचार ठट्यौली पारामा प्रस्तुत गरेका छन् । यीनै ती निबन्धहरू भलादमी, गधा बुद्धिमान कि गुरू ? र हाई हाई अङ्ग्रेजीमाथि सामान्य चर्चा गर्नेछु ।
नेपाली साहित्यमा लहडबाजी व्यङ्ग्य प्रस्तुत गर्ने परम्परा नौलो होइन धेरै गम्भीर नभईकन सानै विषयवस्तु, थोरै चिन्तन र थोरै समयमा सत्य स्थापनाको निम्ति झटारो हान्न पल्केका देवकोटालाई विनोदी व्यङ्ग्य प्रस्तुत गर्न कतै ट्युशनजीवी बन्नै परेन । हास्य त केवल व्यङ्ग्य स्वीकार्न गरिएको तयारी अवस्था मात्र हो । हास्य र व्यङ्ग्य प्रवृति निर्माणका सृष्टिकर्ता हुन् समग्र रचनामा तर व्यङ्ग्य मात्र एक्लैले पनि देवकोटाका निबन्धमा सृष्टि सम्हालेको पाइन्छ, त्यसै पनि उनी पोथी गद्यका सर्जक हुन् ।
हास्य र विनोदी व्यङ्ग्य स्वरको आधारशिला:
समाजमा विद्यमान संरचनाभित्र रहेका सामाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक र थार्मिक आदि विषयवस्तुमाथि सत्यको खोजीको निम्ति साहित्यका विभिन्न विधामार्फत स्वस्थ्य र हास्यव्यङ्गात्मक शैलीको बक्रोक्तिपूर्ण आलोचना प्रस्तुत गर्नु व्यङ्ग्याेक्ति स्वर हो ।
हास्य भन्नाले एउटा रस हो । जुन पूर्वीय साहित्यशास्त्रमा विभाजन गरिएको स्थायी भावबाट परिपाकमा पुग्ने नौवटा रसमध्ये एक हो । अर्थात् हास्य भन्नाले मानवीय हृदयको चित्तचौतारोमा उभिएको उज्यालोको ज्योतिपुञ्ज हो । त्यसैगरी व्यङ्ग्य भन्नाले कुनै पनि विधामा प्रयोग भएर बक्रोक्तिपूर्ण अर्थ प्रधान गर्ने कला व्यङ्ग्योक्ति हो । अर्थात् अविधा अर्थमा नभई लक्षणा र व्यञ्जनाको सहयोगले व्यक्त गरिएको अभिव्यक्तिलाई व्यङ्ग्योक्ति स्वर भनिन्छ । त्यसो त हास्यव्यङ्ग्य रचनालाई साहित्यको विधा मान्ने नमान्ने शर्तमाथि विभिन्न विद्वान्हरूबिच अनेक मत-मतान्तर पाइन्छन् तर यो साहित्यको कुनै विधा नभएर विभिन्न प्रमाणित विधामा समावेस भएको प्रस्तुतीकरणको शिल्प वा प्रवृत्ति मात्र हो भनिएको छ ।
“हास्यव्यङ्ग्य एउटा प्रवृत्ति मात्र हो , विधा होइन ।” – डा. राजेन्द्रप्रसाद पौड्याल । ”
हास्यव्यङ्ग्य एउटा प्रस्तुतीकरणको शिल्प मात्र हो ।” प्रा. राजेन्द्र सुवेदी ।
“हास्यव्यङ्ग्य भाव प्रस्तुतीकरणको मिठो तरिका हो ।”- नरनाथ लुँटेल ।
फ्रान्सेली निबन्धकार मोल्टेनको विचारलाई पछ्याएका देवकोटा निजात्मक निबन्धका धरोहर हुन् । उनका निबन्धकाे स्रोत पनि प्रकृति हो । प्रकृतिलाई सत्य मान्छन् भने सबै विज्ञानका भौतिक आधारहरू पूर्वीय चिन्तन र सभ्यता हुन् भन्ने चिन्तनमा विश्वास राख्दछन् ।
निबन्धको परिभाषा धेरै र फरक किसिमका भए पनि उनका निबन्धहरू नेपाली निबन्ध फाँटका असली परिचय हुन् । रूसोको Back to nature “प्रकृतितिर फर्क” को सिद्धान्तमा आधारित भएर लेखेका कृतिहरू प्रसस्तै पढ्न पाइन्छन् ।
देवकोटा आफैभित्र एउटा गणित हुन् र सरलीरण पनि । न उनीसँग समय छ न त समयसँग गुनासो नै छ । सबै विषय र चिन्तनलाई सुँगाझै रट्नुपर्छ र गतिलो बनिन्छ भन्ने सामाजिक मान्यतालाई बहिस्कार गरेर अगाडि बढेका स्रष्टा र द्रष्टा हुन् । कुन बेला के कुराले छुन्छ र के भन्न वा लेख्न सकिन्छ लेखिहान्ने उनको असाधारण प्रवृति थियो । उनको लेखाइले कसको दिमागको आयतनमा कति स्केलको भूमिकम्प जान्छ त्यो स्वयम् भोग्नेले पनि थाहा पाउन्न । समाज के कुराले समाज बन्छ वा बनेको थियो र हाल कसरी चलरहेको छ वा त्यो समाजमा कस्ता पात्र वा चरित्रको हावी भएको छ भन्ने बुझ्न देवकोटालाई कुनै बेर नै लागेन ।
व्यक्ति असल भए समाज असल हुन्छ नै तर असलको फसलमा किराको राज्य अनुमोदन भएपछि देवकोटाले त्यस्ता व्यक्तिहरूलाई भलादमीको फुली थपिदिए । दिल खोलेर हृदयको तरङ्ग स्वासप्रस्वासको आरोहअवरोहलाई ज्वारभाटामा परिणत गर्दैमा मात्रै हास्य रस हन्छ भनेर बुझ्नु तर फिस्स ब्रक्री मुस्कुराउदा जिन्दगीभरिलाई व्यङ्ग्य पुग्छ भनेर नबुझ्नु नै देवकोटाको व्यङ्ग्योक्ति हो ।
आधुनिकताको नाममा भलादमीपनले शिखर चढेपपछि साँस्कृतिक चेतनाको मूल खाँबो ढल्छ मूल ढलेपछि व्यक्ति व्यक्ति रहन्न । समाज खोक्रो बन्छ तर अस्तित्व त गुदीसहितको मात्र संभव छ । त्यसैले वनावटी लवज र वनावटी तामझाम बोक्रामा मात्र हेर्ने भएकाले हामीसँग भएको भलादमीपन कति शुद्ध छन् या छैनन् उनको भलादमी निबन्धमा पढ्न पाइन्छ । कसैले भलादमीपन सत्यमा भेट्न छाडे सत्य भेट्न हृदयको मखमली चिन्तन सुकिलो हुन जरुरी छ ।
अभाव, अशिक्षा, रोग, भोक र शोकको चपरीलाई वनावटी रेशमी पर्धाले ढाकेर ताकेको महत्वकांक्षा नै भलामीको खास परिचय बनेको छ आजकल । भलादमी भन्नु असल र चरित्रवान् बन्नु हो । जति छन् भलादमी ती त विगतमा पो थिए वर्तमानमा भने बाहिरी आवरणको रङमा मात्र भेटिन्छन् भलादमीहरू ।
भलादमीपन न पुरानो हुन्छ न खिइएर जान्छ न यसलाई रङरोगनको आवश्यकता नै पर्छ तर देवकोटाले भलादमी भनाउदाहरूलाई यसरी बढारिदिए “चरित्रका भलादमी अतीतका अँध्यारा कोठेरीमा छन्, रङ र रेशमी भलादमी काठमाण्डाैको गल्लीमा खुस्बु उडाइरहेका छन् । जमाना रङ बदलन्छ ।”
“तिमी भलादमी बन्न चनाहन्छौ भने सिधासाधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काँटछाँट गरिमााग ।”
कोही बोलेर भलादमी बनेका छन् भने कोही शरीर रङ्ग्याएर त कोही नयाँ हाँसो हाँसेर । कोही अत्तरको खुस्बु उडाएर कोही स्त्री/पुरुषको कटाक्ष तेर्स्याएर भलादमी बनेका छन् । कसैको हाँसो नै कलकताबाट खरिद गरिएको र कुनै समयमा बक्बकोपाध्यायको प्रमाणपत्रसमेत प्राप्त हुने जानकारी देवकोटाले सुझाएका छन् ।
साहित्य क्षेत्रमासमेत भलादमीहरूको अभाव छैन भन्छन् -“तिमी हृदयमा आशन जमाउदैनौ, आँखा मात्र तिर्मिर्याउछौ, भित्र हेर्न छाडेर बाहिरको विचार गर्ना साथ तिमी साहित्य देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्छौ ।” (भलादमी पृष्ठ ७३)
समाजमा यस्ता नक्कली आवरणलाई चीरहरण एउटै सुइरोले पार्न सक्ने क्षमता बोकेर पनि न कुनै दम्भ पाल्छन् न आत्मश्लाघा ! त्यसैलाई समाज सुधारको साध्य सम्झेर चूप लागेर पनि बसेनन् देवकोटा । दाजु लेखनाथको अङ्ग्रेजीबाज देखेर आफ्नी आमाको वचन पूरा गर्न कुनै समय उनी १८ घण्टासम्म ट्युशनजीवी बनेकै हुन् । तर ती कर्म धेरै रोजीरोटी थियो, केही रहर थियो, केही शैक्षिक प्रमाणपत्रको लगानी र सम्मान थियो तर त्यो सबै मातृभाषासहितको स्वाभिमान थियो ।
आवश्यकतामा अङ्ग्रेजी हाई हाई नै थियो सर्वस्व थिएन । उनीसँग प्रभाव र रवाफ दुवै थियो तर प्रयोगको सीमा र अभिव्यक्तिमा संयमता प्रशस्तै थियो । हाई हाई अङ्ग्रेजीमा देवकोटाले पूर्णरूपमा अनुभवको आधारशिला खडा गरेर भाषाको प्रयोग र प्रयोजनको सीमा निर्धारण गरेर मात्र आफ्नोपन बचाउन सकिने नत्र अङ्ग्रेजी भाषाकै माध्यमबाट हामी हामी नरहने र नेपाल र नेपालीको गर्वबोधसमेत नरहने कुरालाई ध्यानमा राखेर व्यङ्ग्योक्ति प्रहार गरेका छन् अझ भनौँ जव उनलाई अङ्रेजी भूतले पछ्याउन थाल्यो त्यो बेला सम्पूर्ण दैनिकी नै विर्सिएको अनुभवसमेत बाँडेका छन् ।
अङ्ग्रेजी बोल्न र लेख्न सक्ने व्यक्ति मात्र व्यक्ति वा मान्छे बन्ने त्यो समयको परिपाटीलाई देवकोटा हेयको चस्माले हेरी प्राचीन सहअस्तित्वलाई स्थापित गर्न चाहन्छन् यो नै यसको मुख्य उद्देश्य पनि हो । तर अङ्ग्रेजीको प्रभावमा यसरी चिप्ल्याएका छन् “ग्राजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । भागवतमा सच्चा हुँदैनन्, व्यास ठग बन्दछन् । पशुपतिनाथ ढुङ्गा हुन्छन् । पुराणहरू चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छन् । वेदको सत्यता हराउछन्, पूर्खाहरू मूर्ख बन्छन् ।”
“अङ्ग्रेजी पढ्नलाई कुलीनका छोरी छन् । …..व्यापारका केन्द्रमा पैसा, परराष्ट्रमा इज्जत, भाषानुवादमा वोलावट । रोटीमा नौनी, विदेशमा रवाफ स्वदेशमा धाक, साथीभाइहरूमा नाक । घण्टामा पचास , संसारमा सुवास हाईहाई अङ्ग्रेजी । …. पण्डितजीहरू चाउरिएर बस्दछन् ।” हाईहाई अङ्रेजी पृष्ठ ५९/६० .
समयको मागअनुसार देवकोटा आफै कयौं पटक गुरु बने समय र मान्छेका स्वीकारोक्तिका निमित्त तर प्रकृतिको निमित्त उनी जहिल्यै पनि सात्त्विक चेला बने र यसैलाई सर्वोपरि ठाने । अनि उनी एक शिक्षकले शिक्षार्थीलाई गरेको सम्बोथनप्रति घोरिन न बाध्य हुन्छन् । मान्छे उच्च प्राणी भनिनु तर एउटा अबोध अनि कर्तव्यपरायण प्राणीको नाम पैँचो मागेर शिक्षार्थीलाई दिईने शिक्षा कति सही होलान् ? एउटा निश्छल प्राणी गधा बलको प्रतीक मानिन्छ र कर्तव्यपरायणतामा निष्ठासहित बाँचेको छ तर उच्चता र बुद्धिमान्को आडमा शिक्षार्थीप्रतिको त्यो “गधा” सम्बोधनले हृदयमा पार्ने थिलथिलोपन कत्तिको अनुयायीमूलक लाग्ला ?”
“मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वत्ता पाण्डित्य भनेको त्यस मूर्खताको नाम हो जसले शब्द आडम्बरको तुरही दुनियामा बजाउछ । हामीले बेत खायौँ गधाको उपाधी पायोँ तर हामीलाई हाम्रा गुरुजीहरूले कति गधा जस्तो बनाइरहनुभएको थियो । त्यो जान्ने कि त हृदयभित्रको आत्मा कि त स्वर्गको परमेश्वर !”
“घाँस खानेले प्रकृतिको पथ छाडेन तर अन्न खाने पाप र धर्मको रौ केलाई गर्दागर्दै नरकमा हाम फाल्दो छ ।”
“हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ?” (गधा बुद्धिमान कि गुरु ? पृष्ठ १०६/१०७) ।
वास्तवमा निबन्धकार लक्ष्मीप्रसाद देवकोटाका यस्ता विनोदप्रिय निबन्धहरू रमरम हास्य र तीखो व्यङ्ग्य भएर पनि हालसम्म उस्तै कालजयी बनेका छन् । जीवनको पूर्वार्द्धमा रुमानी शैलीलाई अपनाए पनि जीवनको उत्तरार्द्धमा भने बोद्धिक चिन्तनशील र प्रगतिशील पनि देखा परेका छन् । त्यसो त व्यङ्वाणको बाक्लो उपस्थित भने जीवनका अन्तिम क्षणका कविताहरूमा बढी छन् जस्तो – पागल, प्रभूजी भेँडो बनाऊ !, साँढे, आदि अनगिन्ती छन् ।
राज्यसत्ताबाट पाएको पीडा देवकोटाले जस्तो अरूले भोगेनन् । अति स्वाभिमानी हुनु प्रमुख कारण हो । नेपाली साहित्यमा देवकोटा र उनका शब्दभण्डार पचेका कोइला हुन् अर्थात् मन्थन गरेर प्रयोगको भुक्तभोगी हुन् देवकोटा । भावपूर्ण श्रद्धाञ्जली कविजीप्रति ।
०००
१५ कार्तिक २०८१
फिक्कल, इलाम
सन्दर्भ सामग्री –
● लक्ष्मी निबन्धसङ्ग्रह-२००२, साझा प्रकाशन २०३२ ।
● नेपाली साहित्यको इतिहास २०२७ (डा.ताना शर्मा) ।
● दाडिमको रुखनेर- २०३९ ( प्रा.राजेन्द्र सुवेदीको सम्पादनमा) ।
● महाकवि देवकोटाका निबन्धहरू-२०६६ (डा.गङ्गाधर अधिकारीका अनुसार शिव रेग्मीको सम्पादनमा) ।
● प्रा डा देवी नेपाल लेखन शिल्प २०७८ ।
● देवकोटाको निबन्धकारिता एक सर्वेक्षण २०६६, डा.गङ्गाधर अधिकारी ।
● चूडामणि बन्धू २०६७ – देवकोटा, साझा प्रकाशन ।
● बृहत शब्दकोश- नेपाल प्रज्ञाप्रतिष्ठान ।
Subscribe
Login
0 Comments
Oldest







































