चाटपर्व
होठ, दाँत र जिब्रो सबैलाई भ्याउने गरी एक थप्पड मेरो मुखमा हान्छिन् श्रीमतीले । मेरो निद्रा भङ्ग हुन्छ । कानै चिरिने आवाजमा आशीर्वचन प्राप्त हुन्छ - सपनामा बर्बराउने बानी बुढो भइसक्दा पनि जाँदैन ?
सञ्जय साह मित्र :
कैलेकाईं नहिँडे नि पुगिँदो रैछ भन्या । खै कस्तो रोग हो कुन्नि । पढेलेखेका डाक्टरहरू पनि हैरान छन्, मेरो रोगदेखि । कनिष्ट डाक्टरलाई वरिष्ठ रोगीले भेटेपछि डाक्टरले सलाम गर्ने चलन भा ठाममा पुग्छु भन्या । मेरो रोग कस्तो हो भने डाक्टरलाई सरे नि इलाज गर्दैनन्, गर्न सक्तैनन् । कुनै पनि एक्सरे, इमाराई र परिक्छनमा देखिँदैन रे ।
कुरो के हो भने, म ढोका थुन्छु र आफू थुनिन्छु आफ्नै घरमा । घरभित्र म स्वतन्त्र छु, यत्ति हो पत्नीको नजरमा मेरो स्वतन्त्रता पर्नु हुँदैन । आफैँलाई फेरि थुन्छु, आफ्नो कोठाभित्र । लाग्छ कोठा अझै ठुलो छ । आफूलाई झुलभित्र कैद गर्छु । तेसभित्र सिरकले नाकमुख छोप्छु घम्लङ्ङ । कठांग्रिँदो रातमा सिरकबाट सिर बाहिर निकाल्ने पिर गर्नु ? बिहान उठ्दा ओछ्यानैमा हुन्छु र पनि कैलै पहाड काटेको हुन्छु, कैले बोतल साटेको हुन्छु, कैले हाँडीमा पौडी त कैले हाड चाटेको हुन्छु ।
अँ, चाटेको कुराले एक दिनको सम्झना हुन्छ । दिन भनूँ भने राति सुतेपछिको कुरो हो र रात भनूँ भने चाट्ने कुरो मैले दिउँसो गरेको हुँ । सायद मेरो टाउकोमा दिमागको ठाउँमा गाईको पवित्र गोबर छ । रात र दिन छुट्याउन नसक्नु गोब्रे दिमागको उपज हो । सायद गोबरको पो अपमान भयो कि ? कुरोको पसारो गर्नुभन्दा कामको चटारो भए पो राम्रो ।
राम्रो बेवास्ता गरिएको लाजमार्गमा यात्रारत थिएँ । कठै ! कतै, पिचको अवशेष देखिन्थ्यो । परकिर्तिले सितैमा दिएको ज्यान बचाउने हावा र ज्यान बनाउने धुलो लोकतन्त्रले सर्वसाधारणलाई समान अधिकार दिएझैँ निशुल्क प्राप्त भइरहेको थियो । एक ठाउँमा धुलोबिनाको हावा भेटियो, अगाडि ढोल बजाउँदै टोल टेक्स लियो । गन्हाउने हावा गनाउने संख्या सम्झना भएन । सानो खोलामा पुल नै होला, झुलजस्तै झुन्डिएर कम्मरको हाड भाँच्चिएको अवस्थामा थियो । पुलमाथि भुलले पनि गल्ती भएमा दिउँसै तोरीको फूल देख्ने हुन्थ्यो । आँखै अगाडि पछाडितिर लडेर टाउकोमा टुटुल्को बनेको देखेँ । मैले मोबाइल लगेको भएँ लाइभ देखाउँथें । उसले गुहार माग्यो, नसुनेर नजिक मुहार लगें । रिसको झोकमा यसरी चड्कायो गाला मेरो कि तिरिमिरी झ्याइँ देखें । हत्त न पत्त मुखलाई छामें, दाँत छँदै थियो, उसले बेकारमा गाला डाम्यो । भनि हेरें – “रोडको लोड हेर्ने इन्जिनियर होइन न त झिल्केमिल्केदार पुल बनाउने ठेकेदार नै हुँ । अनि किन दिउँसै रातको सारा तारा हेर्ने गरी गालाको मर्मत गरेको ?” बाँदरले केरा हेरेझैँ उसको अनुहारमा म हारेको अनुहारले हेरिरहेको थिएँ ।
उसले जिब्रोमा तरबारको धार लगाएर बोल्यो -“हात्तीले लात्तीले कुल्चिँदा के गर्छस् गधा ? उद्धार गर्न बुद्धि सुधार, तेरो मोटो दिमागले गर्दा मेरो टुटुल्कोबाट खोटो चुहिन थाल्यो । म लडेपछि हातको सहारा दिनुपर्नेमा मुखले आहारा बनाउन खोजिस् । तेरो मुखले सुखको ठाउँमा दुःख पायो ।”
लाजमार्गमा म सुल्टो दिशातिर हिँडें, ऊ उल्टो । विचार गर्दै अगाडि बढें – सडक यतातिर गइरहेको छ, ऊ उतातिर किन गइरहेको होला ?
अल्कति हिँडेछि एउटा बेवारिसे साइकल देखें । चढेर कुद्न थालें । पछाडिबाट पहिले एक जना अनि तेसपछि दुई चार जनाले लखेट्न थाले । बेवारिसे साइकल पैले मैले देखेछि अरूले मलाई लखेटेर हुन्छ ? खन्द्रङे रोड, घन्द्रङे साइकलमाथि मेरो लोड । रोड बजेको हो कि साइकल, मलाई छुट्याउन गारो भएको थियो । साइकलको पाङ्ग्राले उछिटिएर एउटा सानो ढुङ्गा एक जनाको खप्परमा लाग्यो । सबै जना तेतै अल्मल, मेरो अगाडि जितको झल्मल । मैले जुँगामा ताउ फेर्दै मेरो भाउ बढाएँ । जबसम्म कसैले आफ्नो भाउ आफैँले बढाउँदैन तबसम्म दुनियाँले उसलाई सस्तो नै मान्छ, भाउ दिँदैन । आजभोलि सानो घाउले पनि राम्रो भाउ खोजेर हैरान पार्ने गरेको सबैलाई थाहै छ ।
अगाडि बढिरहने हो भने कुनै न कुनै नयाँ ठाउँ आइरहन्छ । आयो चाटपुर । एउटा मान्छेले बिरालोलाई चाटिरहेको र उक्त मनुवाको खुट्टालाई कुकुरले चाटिरहेको बोर्ड झुन्डिएको थियो र त्यसैमा लेखिएको थियो – सम्पूणर् चटुवाहरूलाई चाटपुरमा स्वागत छ ।
सुरुमा त मलाई लाग्यो कि म चटुवा होइन तर एकेक गरी सम्झना हुन थाल्यो कहाँ कहाँ ककसलाई कसरी कसरी चाटेको छु वा मलाई चाटेका छन् । एकैछिनमा मलाई लाग्यो म पनि चाट्ने र चाटिनेमा परेको छु । मलाई पनि स्वागत छ ।
चैतेको चाट दोकानमा एक चतुर चिया चाख्दै, अर्को एक जना गिलास चाट्दै थिए । कोही एक प्लेट चाट किन्थे र अर्को एक प्लेट चिया । चाट र चिया साटासाट गरेर चाटाचाट गरेको अनुपम दृश्य देख्न पाइयो । चाट गाउँका चाटवाला चाट्नेहरूलाई कति चाट्थे भन्ने अनुमान लगाउन सजिलो भयो । मलाई पनि आफ्नो नाम, जात, थर सबै चाट बनाऊँ कि जस्तो लाग्यो ।
सबैले सबैलाई चाट्नुपर्ने, सबै सबैद्वारा चाटिनु पर्ने । चाट्नु र चाटिइनुको बिचमा कुनै फरक नै नहुने । यो चाटवाद हो । जो जति सक्छ चाट्ने, जहाँ सक्छ त्यहीँ चाट्ने, जसरी सक्छ त्यसरी नै चाट्ने । नचाट्ने वा चाट्न नसक्ने अयोग्य । चाटपुरमा योग्य मानिस मात्र बस्न पाउँछ । बरू बाहिरबाट चाट्नलाई सिद्धहस्त भएर आउने हो भने यहाँ बस्न पाइन्छ । चाट्दाचाट्दै पनि अयोग्य भयो वा चाट प्रतियोगितामा सबैभन्दा पुछारमा पुग्यो भने गाउँ निकाला । सदैव उत्कृष्ट चाटुकार बनिरहनको लागि नयाँ नयाँ तरिकाको आविष्कार गरिरहनु पर्ने हुन्छ । तरिकाहरू खोजिइरहनु पर्ने हुन्छ । यहाँका बासिन्दाहरू यस कुरामा गर्व गर्छन् कि प्राचीन कालदेखि चाट्दै आएको यो गाउँको ऐतिहासिक र पुरातात्विक महत्व छ । आफ्नो विशिष्ट परम्परा र इतिहास भएकाले यहाँ चाटवादको सिद्धान्त प्रतिपादन भएको हो । यहाँ चाटकलाको विश्वविद्यालय छ, चाट पाठशाला छ, चाटालय छ र चाट संग्रहालय छ । संग्रहालयमा राखिएका छन् आधुनिक चाटुकार, प्रथम चाटुकार, आसुचाटुकार, चाटविज्ञ, चाटानुरागी आदि सबैका फोटाहरू । चाटवादका सिद्धहस्त प्रयोक्ताहरू प्रफुल्ल छन्, मख्ख छन् । गजक्क परेर भित्तामा सगर्व टाँस्सिएका छन् । मलाई पनि मेरो फोटो कतै झन्डिएदेखि हुन्थ्यो जस्तो लाग्छ ।
चैतेको चाट दोकानमा पूरा गाउँलाई बुझ्न पाइन्छ । बुझेर मात्र हुँदैन, पुष्टि पनि हुनुपर्छ । वास्तवमा यो दोकान चाट पाकशाला हो । विभिन्न किसिमले चाट्ने कलाको अनुभव यी प्राप्त हुन्छ । नयाँ चाट सिकाइन्छ, पुरानो मिल्काइन्छ । चाट्नलाई के के गर्नुपर्छ भन्ने कथिन्छ, चाटकथा पनि कथिन्छ । सम्भवतः चाट गौरवगान पनि गाइन्छ होला, म त ढिलो न पुगेको हुँ । मैले एक जना विशिष्ट जस्तो लाग्ने चाटुकारलाई विनम्रतापूर्वक प्रश्न गरें – महोदय, यहाँ चाट महात्म्यबारे कहाँ बुझ्न पाइएला ?
उनले अझै विनम्रतापूर्वक जबाफ फर्काए – म चाटर्षि हुँ । चाट्नुबाहेक मेरो कुनै काम छैन । चाटेर मात्र मुक्ति प्राप्त हुन्छ । तिमी चाट महात्म्य सुन्न चाहन्छौ भने कम्तीमा सात दिन मसित चाटसाधना गर्नुपर्छ । चाटधर्मका महापुरुषहरूले सिकाएको मार्गमा खरो उत्रिनुपर्छ ।
म वैज्ञानिक सोचको मान्छे भएकोले यस्ता कुरालाई उहिलेका बाजेहरूले टुपी पालेर हामीले फालेजस्तै फाल्छु । टुपी पाल्नु र फाल्नु उस्तै लाग्छ मलाई । अनि महाज्ञानी चाटर्षि महाराजको सबै कुरा सुन्न सक्ने सामथ्र्य भएन ममा । म साइड लागें । आफूजस्तै सामान्य मानिसलाई सोधें – यहाँ केही विशेष छ कि क्या हो ?
चाटपर्व । अहिले यहाँ चाटपर्व चलिरहेको छ । यो वर्ष भव्य चाटपर्व भइरहेको छ र आगामी वर्षदेखि राष्ट्रियस्तरमा चाटपर्व मनाउने विचार भएको छ – सज्जनले उत्तर दिए ।
अनि जिज्ञासा पोखें- यो चाटपर्व कसरी मनाइन्छ ?
नौलो ग्रहबाट कुनै निर्जीव जिवप्रति आँखाको नानी ठुलो पारेर आक्रमण गरेजस्तै आँखाले झम्टिएरै जबाफ दिए – घरभित्र र सार्वजनिक गरी दुई किसिमले मनाइन्छ । घरभित्र सबैले एकापसमा चाटचुट पारेर मनाइन्छ भने बाहिर सार्वजनिक रूपमा जो जहाँबाट जसरी पनि ल्याएर जतिसुकै चाटे पनि हुन्छ । बाहिर जति धेरै चाट्छ, उसको त्यत्ति धेरै इज्जत हुन्छ । यसरी बुझ्नुस् चाटको लिगलिग प्रतियोगिता हो । पहिले एक दिन मनाइने यो चाटपर्व आजभोलि तिन दिनसम्म धुमधामका साथ मनाइन्छ । सुन्दैछु, यस वर्ष चाटदेवताको मन्दिर पनि स्थापना हुँदैछ ।
सडेको, गलेको, फलेको, झरेको, झिँगा भन्केको, गन्हाएको सबै यहाँ चाटिन्छ । चाट्नुको अगाडि सुन्दर असुन्दर हुँदैन । केवल चाट्ने हो । अगाडि जे जस्तो आउँछ, मज्जाले चटाउँछ । चाटेरै महान् बन्ने हो ।
चाट प्रवचनले म तृप्त हुन्छु र अगाडि केही चाट्ने कुरो आउनुभन्दा पहिले म बडेमाको आफ्नो जिब्रो निकाल्छु चाट्नलाई । होठ, दाँत र जिब्रो सबैलाई भ्याउने गरी एक थप्पड मेरो मुखमा हान्छिन् श्रीमतीले । मेरो निद्रा भङ्ग हुन्छ । कानै चिरिने आवाजमा आशीर्वचन प्राप्त हुन्छ – सपनामा बर्बराउने बानी बुढो भइसक्दा पनि जाँदैन ? प्रलय वेदना हुन्छ ।
यस घटनाको केही काल बितिसकेको छ । त्यस दिनदेखि म चाटपर्व मनाउने अर्को सपनाको खोजीमा लागेको छु । अहिलेका थोत्रा पुराना चाडपर्वभन्दा मलाई मेरो सपनाको आधुनिक चाटपर्व राम्रो लागिरहेको छ ।
०००
गरुढा, रौतहट
अपूर्व चाट महात्मय!
समसामयिक ,सान्दर्भिक र व्यङ्गात्मक लेखको लागि लेखकलाई बधाई ।लेखले हाम्रो परिवेश, समाज र ब्यक्ति को सोचाइ ,दृस्ठिकोण र राष्ट्रिय परिवेश समेतलाई प्रस्तुत गर्न खोजेको छ ।चाट कलामा हाम्रो निपुणतालाई दर्शाउन खोजिएको छ ।यसको लागि कुनै चाट बिज्ञान ,बिद्यालय ,बिश्व बिधालय ,चाटशालाको आवश्यकता पनि देखिएन ।यो त हाम्रो सभ्यता ,संस्कृति ,मर्यादा ,नियम र परिवेश भएको देखियो ।यस्तोमा भन्नू पर्छ “जय चाटकला ” र “जय चाटशाला” “चाटुकार”