देवीप्रसाद मिश्रमहाकवि लक्ष्मीप्रसादलाई चिठी
चढ्ने खै कसका बुई सब उही छन् एकनासे दल । खेल्छन् खेल असत्यको मुलुकमा खोज्दै मिठो काफल ॥ थोत्रे बाकसमा मुनामदनका ठेली सबै थन्किए । भन्दैछन् जलवृक्ष पत्थरहरू लक्ष्मी कता अल्पिए ॥

देवीप्रसाद मिश्र :

भ्रष्टाचार त्यहीँ छ शोषण त्यहीँ निर्धाहरू छन् त्यहीँ ।
थुप्रा आलय हाँस्दछन् मनखुसी झुप्रा रुँदैछन् त्यहीँ ॥
कोही राष्ट्र लुछेर भर्छ ढुकुटी हालेर कालो धन ।
पार्टीका दहमा नुहाउँछ भरे सङ्ल्याउँदै जीवन ॥१॥
बोल्ने साहस गर्छ जो मनुजले आफ्नै खलामा थला ।
पार्नेगर्छ सदा असत्य गणले, यस्तैछ चल्दै कला ॥
जेजस्ता पहिला मुनामदनका देख्यौ बितेका दिन ।
त्यस्तै नै सँगका वियोग बनिदा अत्यास छन् जीवन ॥२॥
मेलामा बलिया अजीणर् खलिया चोर्दै हसुर्छन् सुन।
भोका पेट कतारका बगरमा खोज्दै दगुर्छन् नुन ॥
अत्याचार बुझेर यो विषयमा खोल्दा कसैले मन ॥
पार्छन् च्याप्प गला, सुसर्जक बरा पेलिन्छ तिम्रो किन ? ॥३॥
चढ्ने खै कसका बुई सब उही छन् एकनासे दल ।
खेल्छन् खेल असत्यको मुलुकमा खोज्दै मिठो काफल ॥
थोत्रे बाकसमा मुनामदनका ठेली सबै थन्किए ।
भन्दैछन् जलवृक्ष पत्थरहरू लक्ष्मी कता अल्पिए ॥४॥
बन्दैछन् छलका सिकार जहिल्यै तड्पेर शाकुन्तला ।
छन् दुष्यन्त बला उजाड गमला पार्दै निमोठ्ने गला ॥
फन्दाभित्र सुलोचना कति परे राम्रा उज्याला जति ।
लक्ष्मी हेर पुलुक्क यो भुवनमा चल्दैछ यस्तै, गति ॥५॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































