दुई कथा
मेहुमललाई स्वर्गको एउटा राम्रो भवनमा राखियो । राम्रो खाना पस्केर दिइयो । खानाको सुगन्धले उनको भोक दन्केर आयो । उनले एक गाँस लिएर मुखमा के राखेका थिए थू थू गर्दै उकेलिदिए । भोजनमा निमका पात मिसाइएको थियो ।
हरिशंकर पर्साईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
१. बाउ फेर
उनी ठुला मानिस थिए । राम्रा मानिस थिए । उनको स्वर्गवास भइसकेको थियो । तर उनी पुण्यात्मा थिए । उनको सयौं जन्मदिन त्यस समयमा परेको थियो जति बेला उनका छोरा मुख्यमन्त्री थिए । जन्मदिन त फेर्न सकिन्नथ्यो तर उनकै पुण्यप्रतापबाट यस शुभ अवसरमा उनका छोरा नै मुख्यमन्त्री रहने व्यवस्था बन्न पुगेको थियो ।
स्वर्गीयको नाम सहजताका लागि पण्डित रविनारायण मानेर उनका छोराको मुख्यमन्त्रीको नाम श्री रामचरणजी मान्न सकिन्छ ।
सिङ्गो प्रदेशमा गाइँगुइँ थियो । शतवार्षिकी समारोहको तयारी तदारूकताका साथमा चल्दै थियो । समितिहरू बनिरहेका थिए जसमा मुख्यमन्त्रीको पार्टीका मान्छेहरू, चम्चाहरू, उपचम्चाहरू, असिस्टेन्ट चम्चाहरू, चापलुसहरू, फाइदा लिनेहरू, मन्त्री बन्न चाहने दरवारियाहरू र सरकारी अधिकारीहरू आदि थिए । स्वर्र्गीय व्यक्ति यिनीहरूकै साक्खे पिता भएजस्तै थियो । स्वर्गीय पिताको जन्मदिन सोह्र सेप्टेम्बरमा पर्थ्याे । यस दिन हरेक नगरमा समारोह हुनेवाला थियो । प्रादेशिक समितिदेखि जिल्ला एकाइहरूलाई पनि यस समारोहलाई महात्मा गान्धीको जयन्तीभन्दा बढी सानदार बनाउनुपर्छ भन्ने आदेशहरू पुर्याइसकिएको थियो ।
सबै तयारीहरू पूर्ण थिए र उत्साह पनि विकट थियो ।
समारोह सोह्र सेप्टेम्बरमा हुनुपर्ने थियो । दश तारिखका दिन रामचरणजीको आफ्नै पार्टीमा अल्पमत भयो । उनले राजिनामा दिनुपर्यो । उनका ठाउँमा पण्डित शारदाप्रसाद मुख्यमन्त्री भए ।
एघार तारिखमा पण्डित रविनारायण शतवार्षिकी समारोहको संयोजन समितिको आपातकालीन बैठक बस्यो । सबै सदस्यहरू आत्तिएका थिए ।
-अब के गर्ने ?
– रामचरणजीको मन्त्रिमण्डल समारोहको समय भिड्किँदा नै ढल्ला भन्ने त कसले पो सोचेको थियो र ? अब यो शतवार्षिकी समारोह गर्ने पो कसरी ? के समारोह नगरिने वक्तव्य घोषणा गर्ने ?
– अब समारोह कसरी रोक्न मिल्छ र ? सबै तयारी पूरा भइसकेको छ त !
– तर अब उहाँको जन्मदिनको समारोह मनाएर फाइदा नै पो के छ त ? रामचरणजी मुख्यमन्त्री नै नरहेपछि ?
– फाइदा हैन, नोक्सान के हुन्छ भन्ने कुरा सोच । नयाँ मुख्यमन्त्री पण्डित शारदाप्रसाद रामचरणजीका कट्टर शत्रु हुन् । यदि हामी पण्डित रामचरणजीका पिताको जन्मदिन मनाउँदै छौं भन्ने उनले थाहा पाए भने मात्र पनि हामी उनको ब्ल्याक लिस्टमा पर्नेछौं ।
– नराम्रो आपतमा फँसियो ।
– तर समारोह त रोक्न मिल्दैन नि !
– अँ त, अब त समारोह गर्नैपर्ने हुन्छ ।
– उसो भए कुनै बाटो पहिल्याउनुपर्यो नि त !
– विमर्शपछि बाटो निस्क्यो । समारोह त मनाइने नै भयो ।
तर सूचना भने यस्तो प्रकाशित गरियो –
पण्डित रविनारायणजीको सयौं जन्मदिन यथावत् मनाइने छ तर जनताको जानकारीका लागि के निवेदन छ भने पण्डित रविनारायणजी दश तारिखसम्म पण्डित रामचरणजीका पिताजी हुनुहुन्थ्यो भने एघार तारिखदेखि वर्तमान मुख्यमन्त्री शारदाप्रसादजीका पिता हुनुभएको छ ।
२. स्वर्गबाट नर्क
साहू मेहुमल मिसावटका गुरु नै मानिन्थे । उनी घिउमा बोसो, धनियाँमा गोबर तथा बेसनमा पिसेको ढुङ्गाको मिसावट यसरी गरिदिन्थे कि कसैले पनि मिसावट भएको भेउ नै पाउँदैनथ्यो । यदि महभन्दा विष सस्तो पाइने भए उनी महमा विष मिसाउन पनि अलिकति पनि सङ्कोचमा पर्दैनथे ।
तर साहू मेहुमल भगवद्भक्त पनि थिए । उनी निकै भजनपूजन गर्थे । फलस्वरूप जब उनी मरे तब एउटा देवदूत आयो र उनलाई त्यस लोकमा लग्यो जसलाई स्वर्ग भनिन्छ ।
चित्रगुप्तले भगवानका समक्ष उनको बेहोरा प्रस्तुत गरे ।
भगवानले भने, ‘साहू मेहुमल, यहाँको रेकर्डअनुसार तिमीले झन्डै तीन लाघ घण्टा मेरो पूजा गरेका रहेछौ ।’
मेहुमलले भने, ‘हो भगवान, म त हजुरको अटल भक्त हुँ ।’
विधाताले भने, ‘त्यसैले हामी तिमीलाई स्वर्गमा स्थान दिन्छौं । जाऊ र अनन्त कालसम्म सुखभोग गर ।’
मेहुमललाई स्वर्गको एउटा राम्रो भवनमा राखियो । राम्रो खाना पस्केर दिइयो । खानाको सुगन्धले उनको भोक दन्केर आयो । उनले एक गाँस लिएर मुखमा के राखेका थिए थू थू गर्दै उकेलिदिए । भोजनमा निमका पात मिसाइएको थियो ।
मेहुमलले पानी खाए तर मुखमा किराले टोक्न थाले ।
उनी खान न पिउनसितै सुते ।
राति जब उनी नरम बिछ्यौनामा सुतिरहेका थिए त्यसै बेला भित्ताबाट लामा लामा सुइरा निस्केर उनलाई घोच्न थाले ।
उनी रातैभरि सुत्न सकेनन् ।
बिहान उनले एकजना अधिकारीसित भने, ‘मलाई विधातासमक्ष पुर्याऊ । यो तिम्रो कस्तो स्वर्ग हो ?’
अधिकारीले भने, ‘विधाताले स्वर्गमा नर्क मिसाउनू भन्ने आदेश दिनुभएको छ ।’
०००
(यी दुईवटा व्यङ्ग्य लघुकथाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली २’का क्रमशः ‘बाप बदल’ र ‘स्वर्ग में नर्क’बाट अनुवाद गरिएका हुन् । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest