बद्रीप्रसाद दाहाल ‘भस्मासुर’काण्ड, पर्व र दुर्घटनामा गर्व !
हे मेरी बास्सै ! खल्वाट बूढादेखि अहिलेसम्मका लखरट्वाकहरू सत्ताको रोँटेपिङमा दोहोर्याई तेहर्याई आधा दर्जनपटकसम्म चचहुई गर्दै दासानुदासलाई बुुइमा राख् त ! भन्दै भुँइ नझर्ने प्रण गरिरहेका छन् ।

बद्रीप्रसाद दाहाल :
काण्डै काण्ड, घटनाका रटना र पर्वका अराजकतालाई गर्व गर्ने अनि बेअर्थमा जनता र देशलाई रिँघाउने दुष्प्रवृत्तिको अन्त्य होला भन्दा त झन् झन् घोर्लिदै पो छ त वातावरण ! भनेर एक जना विश्लेषकले धारणा पोखे । अर्का मै हुँ भन्ने स्तम्भकारले आहार लिएर हो वा अनाहार भएर नाइटोदेखि नै हो कि गठबन्धनतिर औँला ठड्याउँदै बोले— ‘दुुई ठूला दलले अग्रगामी संविधान च्यातेर जनाधिकार सङ्कोचन गर्ने भए’ हुङ्कारसहितको टङ्कार भरिएको उनको वाक्भोलम टोलका दादा भुस्याहा कुकुरको कर्कस आवाज बन्द गराउने खालको थियो । न्वारनदेखिको बल झिकी कुर्लिए जो पियक्कडका राजा पनि थिए । साँझको माझमा लोकल घडी चराको तिघ्रा लुच्दै वारुणीको चुस्कोमा अर्को आग्रही पत्रुकार गम्क्यो ‘अब देशमा दक्षिणपन्थी र वामपन्थीको गठजोड भई कथित मध्यपन्थीलाई बन्दी बनाएर कडा खालको शासन चलाई देशलाई समृद्धितिर तान्छन् । जो—जो भ्रष्ट छन् ती सबैको अवैध सम्पत्ति राष्ट्रियकरणको दायरामा आउँछ । सानो मुलुक भए पनि हामीकहाँ भाण्ड भाण्डका काण्डहरूका ताण्डव बग्रेल्ती भुलुक—भुलुक भएर उम्रिरहन्छन् । जसले आर्थिक, राजनीतिक, दैहिक, नैतिक पक्षमा लाजमर्दो हिंसा रफ्तारमै चलाइरहेको छ हिजैदेखि ।
शब्दकोशहरूले होसपूर्वक ‘काण्ड’ शब्दलाई यसरी अर्थ्याएका छन् —
१. कुनै वस्तुको खण्ड वा भाग ।, २. रूखको हाँगो, डाली, शाखा, आँख्लो ।, ३. पुस्तक आदिको अध्याय वा प्रकरण ।, ४. अप्रिय वा नराम्रो घटना, अराजकता र अशान्तिको स्थिति ।, ५. कुनै कुराको हद वा सीमा (काण्ड पुग्नु वा काण्ड पुर्याउनु), ६. धनुका बीचको मोटो भाग, वाण, तीर इत्यादि ।
त्यस्तै ‘पर्व’ भन्नाले १. पुुण्यकाल, २. चन्द्र वा सूूर्यमा लाग्ने ग्रहण, ३. कुनै घटना वा त्यस्तो घटना भएको समय, ४. भयकारी डरलाग्दा पापमय अमानवीय परिघटना, ५. उत्सव, महोत्सव प्रवृत्तिलाई जनाउँछ । यतिखेरको चर्चा भने अप्रिय वा गलत घटनाबाट नेपालको इतिहासमा सिर्जना हुनपुुगेका मानवताविरोधी अराजक काण्ड वा प्रतिकूल घटनाहरुको सूत्रात्मक उत्खनको हो । जसलाई साँच्चैको गाईजात्रामा अक्षरको मुकुन्डो लगाइदिएर लाखेजात्रा मच्चाउनै पर्यो । तीनसय चौसठ्ठी दिनका नक्कली गाईजात्रामा बनावटी क्रियापुत्रीबाट गरिएका गात्रकर्म छोटो रूपमा उल्लेख गरौँ । जसले नेपालको सनातन बहुुपक्षीय अर्थात् राजनीतिक, सांस्कृतिक, आर्थिक कूटनीतिक, शैक्षिक, धार्मिक र अन्य पक्षका सुकृतिलाई विकृतितिर धकेल्दै बुख्याँचा बनाउन तीर सोझ्याउँदैका दृश्यहरू रहने छन् ।
यस्ता पर्व वा काण्डको बाहुल्यता राणाकालदेखि बेँसी सुरुवात भएको हो । यो समयका चर्चित काण्डमा ‘बासठ्ठीहरण काण्ड, कोतपर्व, भण्डारखाल काण्ड, अलौ पर्व, ३८ साले पर्व, ४२ साले काण्ड, गेहेन्द्र शमशेर काण्ड, धादिङका प्रसिद्ध वैज्ञानिक विमान पण्डितको आविष्कार दुरुत्साहन काण्ड, मकै पर्व, विरङ्गना योगमायाको समूहलाई जलसमाधि लिन बाध्य बनाउने काण्ड, चर्खाप्रचार प्रतिबन्ध काण्ड, प्रचण्ड गोर्खा पर्व, महावीर स्कूलकाण्ड, आदि काण्ड मच्चाएर प्रकाण्ड एवं महा— प्रकाण्ड बनेकाहरूका षड्यन्त्रकारी कुशासन कालक्रममा घुँडा टेकी भत्किए । यी सबै काण्डहरु र अधिकांश पर्वहरू रगतकै होली खेलबाट सिञ्चित थिए ।
०७ मा अनि प्रजातन्त्र आएको हल्लागुल्ला चल्यो । सातदेखि चौधसम्म तदर्थवादले (सङ्क्रमण) राज गरिरह्यो । ०१५मा आमनिर्वाचन भई बीपीको नायकत्वमा जननिर्वाचित सरकार आयो । तर लोकतन्त्रदेखि रुष्ट र क्रुद्धहरूको जमातले यसलाई कसरी ढालेर शाही सत्तालाई स्थापित गर्ने ‘पिण्डस्थाने पिण्डम्’ भन्नेतिर ध्यान केन्द्रित गरी सत्रसालको काण्ड मच्चाई राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था अँगालेर ‘ पञ्चै हो यो देश बनाइद्यौ, नेपाली इच्छा पुर्याइदेऊ ।’ गीत कथ्दै सप्रभुशक्ति आफ्नै हातमा लिए । त्यसपछि लगत्तै विद्रोह र दमन सुरु भयो । प्रतिबन्धित शक्ति र सत्तासीन शक्तिहरूबीच काण्डहरू चल्न थाले । जनकपुर बम काण्ड, कच्छेपर्व, झोडाकाण्ड, पिस्करकाण्ड, टिम्बुरबोटे काण्ड, सुखानी हत्याकाण्ड, छिन्ताङ हत्याकाण्ड, सेक्टरकाण्ड अन्य थुप्रै वितण्डाहरूले खुुट्टो घुमाइरहे । यस सन्दर्भमा काण्डका फेहरिस्तको सूची झन् बाक्लिए । जस्तै—ः राष्ट्रिय वनफडानी काण्ड, सर्पको छालाकाण्ड, गलैँचा तथा गाईकाण्ड, जनमत सङ्ग्रहमा बाकस साट्ने काण्ड, क्रेनबाट मूर्तिहरू उप्काई तस्करी गर्ने कुख्यातकाण्ड र चामलकाण्डले दरबारदेखि तरबार चलाउने पुरानादेखि नयाँ भारदारसम्म मुछिन पुगेका थिए ।
यसरी हामीकहाँ कुख्याती काण्डहरूका लर्को लाग्ने कुकर्म शर्म नमानी उचाइ चुम्दै रह्यो । बहुदल आएपछि त हामी जनार्दनै बन्छौँ र देश बैकुण्ठ वा स्वर्गै हुुन्छ भनेर स्वैर कल्पनामा मडारिएका तथा चटारिएका भालुभुत्ते हामी आखिर हिंसालुु वा दुर्भष्ट काण्डहरूका चेपमा झन् चेप्पिन र नेप्टिन पो पुग्यौँ बा ! बा ! रे । कथित जनयुद्धको नाममा माओवादी बर्बर हिंसाकाण्डले अर्को महाकोत पर्वको झल्को दियो भने लोकतान्त्रिक समाजवाद र बहुुदलीय जनवादका मारुनीहरुको नाङ्गा करतुुतका काण्ड पटकौँ पटक सरकार हेरफेर हुुँदा झन् नाङ्गो भएर आयो । चर्चित ‘धमिजाकाण्ड’लोकतन्त्रको शनिश्चर बन्यो भने, ‘चाइना साउथवेस्ट काण्ड’—ले बाईस करोड स्वाहा र स्वधा बनायो । जुन अहिले ठूला भनेर गनिएका दलहरूकै संयुक्त गठजोडे सरकारको करामत थियो । एयरबस काण्ड जहाँ न्यारोबडी र बाइडबडी खरिदमा अपरिमित भ्रष्टाचार भयो त्यो बेला सरकारको नायकत्व आफूलाई क्रान्तिकारी, जनवादी र उलटपुलटवादी भन्न गर्व गर्नेकै थियो ।
अर्को झन् जख्मले काण्ड ‘वाइडबडी’ हो । प्रतिनिधिसभा सार्वजनिक लेखासमितिले चार अर्ब पैँतीस करोड छपन्नलाख हिनामिना गरेको निष्कर्ष निकाले पनि गुपचुपमै यो काण्ड कता हरायो हरायो । अर्को ललिता निवास सरकारी जग्गाकाण्ड जो अहिलेसम्म पनि समय समयमा मिडियाहरूले लुतो कन्याएझैँ के स्वार्थ पूरा गर्न हो वा कारबाहीमा ल्याउन हो प्रचारमा ल्याइरहन्छन् । व्यक्तिको नाममा दर्ता भएको यो जग्गा अहिलेसम्म पनि गुपचुुपै पार्न भ्रष्ट शक्तिहरू क्रियाशील छन् । प्रेमकुमार राई र शारदाप्रसाद त्रितालको आयोगले तत्कालीन मन्त्रीपरिषद्ले गलत नियतसाथ व्यक्तिको नाममा दर्ता गराउने निर्णय गरेको भनी खुलासा गर्यो । किन्तु, परन्तुु तर, और, लेकिनका थेगाहरूमा काण्डहरू असहाय र बेवारिसे बनाइएका छन् ।
यही समयमा उद्योगशालामा भाला रोपेर कारखानाहरू नै हालाबाला परी मजले किनारा लाग्न रुचाए । उदारवादी अर्थतन्त्रलाई जोक बनाएर नवोदित ठूला र ठिनेमिने रजौटाका भोक मेट्ने भक्कुमारको योग पो जुराए त ! ०६६चैत र ०६७ वैशाखमा प्राण—धानमन्त्रीको दरबार निर्माण क्रममा नक्कली मोहीलाई जग्गा दिने पक्का गरी थप काण्डले अङ्क बढायो । ०६९मा विद्यावारिधिकै नायकत्वको कार्यपालिकाले बाँकी रहेको तीन रोपनीलाई ‘पशुपति टिकिन्छा गुठी’—लाई दर्ता गर्न कुशपानी समात्यो । कोरोनाको कहर लाग्दा पहिलाका पानी ट्याङ्कीमा ढुकुटी निर्माण गर्ने पोखरी र्याले उपप्रधानको अध्यक्षताले ओम्नीकाण्ड मच्चाई मानुभक्त अकाललगायतका आउरेबाउरे धुपौरे जमातले महँगो बिल बनाएर ब्रह्मलुटको चिल मजाले उडाइदिए । अर्को गौरवमय आयोजना मध्येको बूढीगण्डकी प्रोजेक्टमा नौ अर्वको लुट भयो भनी बाबु हरामले आरामसित ‘तीन भाइ (बा, दाइ र मने) डम्म, बसे गजधम्म, तीनतीन अरब झम्म’ भनी आरोप लगाए । अहिलेसम्म त्यो चर्चामा छ तर सबै ‘मौनं सम्मति लक्षणम्’ मै मितभाषी छन् । यसैगरी सत्तरी करोडकाण्डमा सेक्युरिटी प्रिन्टिङप्रेस काण्डले भस्काउकोटाका फेस अँध्यारिएर पदत्याग गर्न कुशको कुड्को समात्न बाध्य भए ।
यसैगरी चिनियासितको अडियो काण्डका कामदेव हुन् वा नेपाल ट्रस्टको जग्गाभाडा काण्डका हामदेव सबै लाञ्छनामा रङ्गिँदा पनि दङ्गिएर छाती फर्काएर हिँडेका छन् भन्दै मिडिया हाउसकी गुडियाजस्ती उत्तर यौवना क्यान्टिनमा कुरा दोचार्दै थिन् । अर्का व्युरोर्क्यायाट प्रजानारायण हाटकको घुुसकाण्ड, पूर्व वित्तमन्त्री ‘रातकर’—को सीसीटिभी फुटेजकाण्ड, गिरीबन्धुु टीकाण्डका किटनीपति, भुटानी शरणार्थी प्रकरणका अधिपति, सहकारी ठगकाण्डका हेयर स्पाइकटे, कतिकति थरीका थरी, मुख्या र जिम्बलहरूको हाकोडाँकामा बदनाम काण्ड, भ्रष्ट पर्व र अराजक हर्कतले जनता वाक्कदिक्क भएर यिनैका मुखमा शौचालय बनाउन पाए भनिरहेका छन् !
हे मेरी बास्सै ! खल्वाट बूढादेखि अहिलेसम्मका लखरट्वाकहरू सत्ताको रोटेपिङमा दोहोर्याई तेहर्याई आधा दर्जनपटकसम्म चचहुई गर्दै दासानुदासलाई बुुइमा राख् त ! भन्दै भुँइ नझर्ने प्रण गरिरहेका छन् । ……को झर्ला र खाउँलाको कथाका पात्र दुई बीसे पाँच वर्षका उत्तर अल्लारे युवाजमात बेलाकुबेला पाटीमा ङ्यार्रङुर्र पनि गर्छन् । तर केही दिन वा छिनपछि शीर्षसित हजुर नै हाम्रा तीर्थ भनेर विचित्र भक्ति जाहेर नगरे गलहस्ती लगाएर सडकछापेमा परिणत गर्ने डरले चुपकाण्ड लाग्नै पर्छ । अनि शीर्षकै भद्धा काण्डलाई प्रकाण्ड व्याख्याता बनेर छोप्नपर्ने मजबुरी आइलागिहाल्छ । यसैले त काण्ड, पर्व र घटनालाई एक कानले सुनेर अर्को कानले उडाई तातो न छारोको खोक्रो गर्व गर्दै जुनी जाने भो ! सबैमा गाइजात्रेको लालसलाम ! भयनेपाल ! कलिवादन ! जय प्रकाण्ड काण्ड ! जय खुइल्याँते पर्व !
समाप्तम् ।
०००
धादिङ,
Subscribe
Login
0 Comments
Oldest







































