साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असन्तुष्टिको डकार

चोर, डाँका, बदमास, हत्यारालाई भोट दिने र संसद भवनमा छिराउने हामी नै हौँ भने असन्तुष्टिको डकार छाद्ने पनि हामी नै हौँ । यो दोहोरो चरित्र अहिलेको परिवेशको विशेषता हो ।

Nepal Telecom ad

रामप्रसाद अर्याल ‘अविराम’ :

अन्नसंँगको नहुँदा भेट, हुन्छन् सारङ्गी पेट । अन्नको तरानमा मनुष्यको परान अडेको छ । तर मान्छेको धितधरान पैसामा चडेको छ । पैसा अखन्द्रो ठाउँमा गडेको छ । आफूले भनेको पाए, भेटाए सन्तुष्टिको पुष्टि गर्दछ । कसै कसैलाई भने जति पाए, खाए भेटाए पनि सन्तुष्टिको भकारी भरिँदैन । उनीहरूलाई कति पाए, कति खाए वा भेटाए के के खाए सन्तुष्टि मिल्ने हो ? उनीहरू आफैलाई थाहा हुँदैन । असन्तुष्टि कै कारण धेरै पिँडीमा बस्नेहरू उपल्लो सिँडीमा चढेका छन् ।

सन्तुष्टि मान्नेहरू भने आफ्ना पिता पुर्खाको जिलो थाम्न सजिलो मानेर सन्तुष्टिमा छन् । भलै उन्नति, प्रगति पनि आध्यात्मिक या भौतिक भन्ने प्रश्न उठ्न सक्दछ् । आध्यात्मिक उन्नति चाहनेले थोरै, स्वल्पहार गरौँ, बाँच्नका लागि खाऊँ, व्रत, उपवास बसाैँ भन्दछन् । भौतिकवादीहरू भने त्यसको ठीक विपरीत जति पाए पनि, जति खाए पनि सन्तुष्टि हुँदैनन् । बरू असन्तुष्टिको डकार छाद्दछन् । उनीहरू लेध्रोले तानुन्जेल लाध्रोले धानुन्जेल हसुरे पनि सन्तुष्टि पुष्टि गर्न सक्तैनन् ।

हुन त “डकार” आत्म सन्तुष्टिको सकार हो । अघाँएको पेटमा भरिएको मिष्ठान्न तृष्तिको दिप्ति हो । तापनि सन्तुष्टि लिन नजान्नेले साँझको समेत अहिल्यै कोच्छ र भोलिको लागि सोँच्छ, अनि बेचैनीमा हुन्छ । ऊ हाँस्न सक्तैन । त्यसको साटो असन्तुष्टिको बाछिटा वर्षाउँछ ।

म पनि असन्तुष्ट हुने दुष्टहरूकै पक्षघरको हुँ । मेरा बा असन्तोषी थिए । एक दुई जना सन्तानले सन्तुष्ट भएनन् र दर्जन पुर्‍याए । बाबुले दिएको सम्पत्तिमा चित्त बुझाएनन् । म उनैको भक्त कमाउँन अनुरक्त । राहू भन्दा जाती साहूको टारी खेत लगाएको छु । बाँझो बारी कमाएको छु । त्यतिले पनि नपुगेर ऋण माथि ऋण सावाँ ब्याज दिन, समाएको छु । जो हात सो साथ भन्ने महामन्त्रीको मन्त्र जपिरहेको छु । ऋण अझै थपिरहेछु । गुह्य कुरा तपाईंसँग मात्र खुसुक्क भन्छु “थोरै भए रिनै हैन धेरै भए दिने हैन” यो कुरा मैले मेरै कुलगुरु महाराजाबाट दीक्षा मन्त्रका रुपमा शिक्षा लिएको छु । मैले तिर्न नसके छोरा नाति, पनातिले तिर्लान् नि त । चार्वाकको “ऋणं कृत्वा घृतं पिवेत” पढेकै छु । आखिर भौतिकवादी न परे । कत्राकत्रा, खत्राखत्रा, नेताले त ऋण तिर्नभन्दा मामा घर छिर्न जाती मानेका छन् । ऋणलाई घिन मान्ने जमाना होइन यो । उनीहरूकै अनुयायी म । त्यहाँ सिदा हात लाग्ने, दक्षिणा साथ लाग्ने । त्यसमा पनि “क” नभए “ख” श्रेणीको पक्का ।

अचेल मेरो आँखामा मोति विन्दु भएको हो कि, साँच्चै त्यस्तै भएको हो कि ? सन्तुष्टि भन्ने कुरा भेटाउन इमान भएको कर्मचारी भेटाउन जत्तिकै मुस्किल छ । सबैले असन्तुष्टिको डकार ढ्याउ ढ्याउ, ट्याँउ ट्याँउ भट्याएको सुनिन्छ ।

छोराछोरी बाबु-आमासँग असन्तुष्ट छन् । बाबु-आमा छोराछारीसँग, अरुका बाबु आमाले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुल पढाए । विदेश पठाए । धन थुपार्छन् । हाम्राले ऋण चुल्याउँछन् । कसैले कार किनी दिन्छन्, हाम्राले साइकिल किनी दिन सक्दैनन् । पैदल हिँडाउँछन् ।

विद्यार्थीहरू शिक्षकहरू सँग सन्तुष्ट छैनन् भने शिक्षक विद्यार्थीसँग । श्रीमान् श्रीमतीसँग असन्तुष्ट छन् । नत्र जोई पोई किन साटासाट गर्नु पर्थ्याे ?

डकार भनेको एक प्रकारले भन्ने हो भने खकार हो, हकार हो, नकार हो, असन्तुष्टिको । मलाई के लाग्दछ भने जति असन्तोषीहरूले असन्तोषी भएर नयाँ नयाँ कुराको आविष्कार गरे उन्नति, प्रगति गरे त्यति सन्तोषीहरूले गरेनन् । हाम्रो देश ध्यानी, ज्ञानीहरूको तपस्थली हो । उनीहरू सन्तुष्टिले पुष्ट थिए भन्ने भ्रममा नपर्दा राम्रो हुन्छ । उनीहरू जप, तप, ध्यान गरे, समाधिमा लीन भए । तीन त्रिलोक चौध भुवन देखेर पनि स्वर्गको, पुन जन्म हुन नपरे हुँदो हो भन्ने चिन्तामा परे । मर्ने बेलामा कोही पनि आनन्दले मर्दैन । छट्पटाहट के को लागि ? उत्तर आँउछ चिन्ता । मेरो साँचो कसलाई दिऊँ । वा मेरो छोरो, नाति, पनाति, खनातिलाई बसेर सुखले खान पुगे पनि त्यसपछिको सन्तान ले के खाला ? भोकले मर्ने भयो भन्ने असन्तोष । झट्ट सास जाँदैन विचराको ।

पालिकै पिच्छे छोटेराजाहरू अहिले राज गरिरहेका छन् तर उनीहरू पनि अहिलेको जनताको अवस्था र हाम्रो व्यवस्थाबाट सन्तुष्ट छैनन् । राजा-महाराजाको, महाराजा सम्राटको, श्रीपेचको भारी बोक्ने चिन्ताले ग्रसित हुन्छ । सम्राट भैसकेपछि आफू नमरेसम्म आफ्नो सिंहासन अर्कोलाई दिन नपरे हुँदो हो भनेर आफ्ना विश्वासिला चाकर सुरक्षकर्मी, सुण्ड- मुुण्ड नियुक्त गर्दछ । दिनैपरे आफ्नै छोरी, त्यो नभए कोकोहोलो कसैले भाँडा बजारेर कसैले जुत्ता बजारेर त कसैले जुँगा खुर्केर कसैले पाखुरा सुर्केर असन्तुष्टिको पुष्टि गर्दछन् । भने कोहि कोहीले आफ्नै टाउको ठोकेर र कोहीले ठाउँ-कुठाउँ खोकेर आफ्नाे राय प्रकट गर्दछन् ।

ज्वरो आउँदा, रुघाखोकी लाग्दा खोक्नु छिउँका गर्नु स्वाभाविकै हो । तर जहिले पनि जहाँ पायो त्यहिँ जसले जे मनलाग्यो गालीको वर्षा गरेको गरेकै छ । गाली पनि भाँतीभातीका सुन्न पाइन्छ । चोरले चोर्न, घरफोर्न पाइनँ भनेर असन्तुष्ट छ । घुसखोरले घुस खान, रक्सीबाज भट्टीमा जान नपाए उसको चित्त बुझ्दैन् । कामदार मालिकसँग चिढिएका हुन्छन् भने मालिक शालिकसँग । शालिकको फूलमाला देखेरभित्र भित्र डाहा गर्न चाह धेरैको हुन्छ । नत्र शालिक किन फोरिन्थे किन चोरिन्थे… !

कर्मचारी धनको कोष नपाए रोष प्रकट गर्दछन् । मान्छे देखि लिएर जिउजन्तुको हलाल गर्न नपाए दलाल खुशी हुँदैनन् । रातभर निदाउँदैनन् । र योजना बनाउँछन । भोलि यति जनालाई मुर्गा बनाउँछु । व्यापारीले मिलावट गर्न नपाए असन्तुष्ट हुन्छ । एउटा कथा छ- “एउटा सुनको कारोबारीले महिनामा एउटा पितलको कोपरा सुनको गहना बनाएर बेचेर सक्दो रहेछ । एक दिन आफ्नो छोरीको गहना बनाउँदा पितल मिलाउन बिर्सेछ रे । अनि के चाहियो । रातभर ऊ निदाउन सकेन, के बिराएँ भन्ने भएर, अब भन्नुस् को कस्को विश्वास पर्ने ।

ठगहरूको धर्म ठग्ने हो । असन्तुष्टहरूको धर्म चित्त नबुझाउने हो । तर यहाँ त सन्तुष्ट हुनुपर्ने व्यक्ति र निकाय नै आनन्दित छैनन् । सन्तुष्ट छन् भने सीमित दलाल, भ्रष्ट, विचौलिया मात्र । पहाडियाहरू गाउँबस्ती सर्‍यो भनेर, मधेसीहरू मधेश झर्‍यो भनेर असन्तुष्ट छन् । कोही धर्म मान्यो भनेर कोही धर्म मानेन भनेर असन्तुष्ट हुन्छन् । म मान्छु बस्ती पो सर्‍यो त देशै त सरेको छैन नि । हो अलिकति बुद्धि र विवेक भने यहिँ बसे पनि विदेशीको पक्कै भएको छ ।

अहिले सिंहदरबार गाउँ गाउँ आएको छ । बाटोघाटो पुल पुलेसा, खोल्सी-खोल्सा बनेका छन् । बिजुली बत्ती झलमल्ल बलेका छन् । चाहिएको बेलामा गएर मात्र हो । अनेक योजना आयोजना फलेका छन् । खोलै नभएको ठाँउमा पुल बन्दा त खुशी हुनु नि ! बस्ती नभएर पो के भयो ? धारा जडान भएकै छ । पोखरी खनिन्छ, पुरिन्छ, गाँवै नभएको ठाँउमा भलै कागजमा मात्र किन नहोस् । यो पनि त प्रगति नै त हो ।

हाम्रा ठेकेदारहरूले छड् सिमेन्ट, बालुवा, गिट्टी खाए रे, गिट्टी खाए त ठुलाबडाले लिट्टी किन खाऊँन् त ? औषधि वस्तु पनि खाए रे । औषधि खानु कुन ठुलो कुरा हो र ? गरिष्ट अखाद्य खाए पछि पचाउनु पनि त पर्‍यो नि । पाचकको काम गर्ला । जग्गा त्यो पनि दुई चार रोपनी खाए रे, देशै निल्न सक्नेले आना माना र रोपनीमा के चित्त बुझाउनु ? विमान खाए, मान सम्मान पनि त खाए, अपमान पाए । त्यो पनि पचाए ।

भ्रष्टाचारीहरू को हुन र ? हाम्रा आ-आफ्नै जातका भित्रि आँतका मान्छे त हुन् । हामी आफैले रोजेका खोजेका चिनेका चुनावमा प्रचारमा हिँनेका व्यक्तिहरू न हुन् । धन कमाए सँगाले भनेर डाहा गर्नु बेकार छ । अहिले सँगाले पछि पगाल्दछन् ।

ओइरो नहाली पहिरो जाँदैन । बुढापाकाहरू भन्ने गर्नु हुन्छ । “यो वर्षको हिँउदमा मलामी गैएन, टन्न खान पाइएन वर्षामा आली खन्न के गरी सकिन्छ र ? हो यसै भनाईबाट शिक्षा लिनु नि । भोको गोरुले कहाँ जोत्न सक्छ र ? अहिले प्रशस्त धन कमाए भने बल्ल चुनावमा रक्सी, मासु र भात खुवाउन, अलि ठुलालाई धनका बिटा बाँड्न, भुरेभारे मतदातालाई अलिअलि छर्कन पनि त पर्‍यो नि । त्यती मात्र होइन टिकट पाउन पनि त करोडाैँ बुझाउनु पर्छ ।

सक्ने हिम्मतवालाले न हो खाने । कमाए खाए भनेर के को चिन्ता । के को असन्तुष्टि खान सक्ने मर्दलाई जितायाैँ । खुबी भएका हाम्रा अगुवा मुली भनेर गर्व गरौँ । नेता धनी भए बल्ल जनता सम्पन्न हुन्छन् । “प्रजा मोटा भया दर्बार बलियो हुन्छ” भन्ने जमाना हैन यो । संसारकै हितका लागि महादेवले हलाहल विष सिनित्त पारे र त उनी पूजित छन् । हाम्रा नेता, अगुवा पनि त्यहाँ भन्दा कम्तीका छैनन् र पो चार पाँच पटकसम्म उनैलाई पदमा विराजमान गराउन सकेका छौँ । हामी उनीहरूकै भक्त हौँ । उनीहरूले हामीलाई ओतेका छन् । ओत्न नसके जोतेका छन् । अनि के को चिन्ता ? के को डकार ? आफूले खान पाइएन भनेर हो ? पक्कै होइन ।

सहकारीको रकम खाए भनेर रोइलो किन गर्ने ? नारा र जुलुस किन निकाल्ने ? सरकारी रकम पचाउन सक्ने मर्दले सहकारीको रकम झ्वाम पार्नु के ठुलो कुरो भयो र ? मनग्ये धन हुनेले न हो सहकारीमा धन थुपार्ने । भिक्षा माग्दै हिँड्नेले सहकारीमा धन थुपार्न सक्छ र ? अवश्य सक्दैन ।

आफ्नो हात जगन्नाथ । आफ्नो हातमा डाडु पनियु हुँदा आफ्ना खलक, नाता-कुटुम्बलाई अलिअलि भाग विलो चटाउनु नसके कहिले चटाउने ? आफू अघाए पछि मात्र त हो देश र सोँच्ने । भोको पेट हुनेले ध्यान गर्न त सक्तैन, अझ जनताको सेवा । मह काट्नेले हात नचाटेर खुट्टा चाट्ने कुरा भएन् । पद जोगाउन खुट्टामा लम्पसार पर्नु बेग्लै कुरा हो । अरुले खाएकोमा असन्तोषी हुनु, आहारिस गर्नु, रिस र डाहा गर्नु पतनको मार्गमा जानु हो । खान जन्मेका हन्तकाली, अगस्तिहरूको खेदो खनेर आफ्नो समय खर्चनु बेकार छ ।

ल माने लिउ भ्रष्टहरू समातिए । नेल सहित जेल गए भने उनीहरूकै मान पदवी बढ्छ । फूलमाला अविर सहित हामी उनीहरूलाई स्वागत गर्न जान्छाैँ । चोर, डाँका, बदमास, हत्यारालाई भोट दिने र संसद भवनमा छिराउने हामी नै हौँ भने असन्तुष्टिको डकार छाद्ने पनि हामी नै हौँ । यो दोहोरो चरित्र अहिलेको परिवेशको विशेषता हो ।

मौसम अनुसार चल्न जान्नु बुद्धिमानी ठहर्छ । शिरदेखि पाउसम्म पाउदेखि शिरसम्म असन्तुष्टिको व्याप्ति छ । यसैलाई अरु कामधन्दा छाडेर अठ्याएर राखौँ । यो नै ठुलो सफलता हुने छ । प्राप्ति हुने छ । दिन पछि रात र रात पछि दिन अवस्यंभावी हुने भएकाले दिन आउन नदिन प्रयत्न गरौँ । दिन आयो भने दुनियाँले उज्यालो देख्ने छन् । उनीहरू सन्तुष्ट हुने छन् । उनीहरू सन्तुष्ट भए भने हामीहरू असन्तुष्टि कहाँ र कता गएर पोखौँला ? त्यसैले असन्तुष्टिको बहार बनाई राखौँ । यसैमा सबैको भलाई छ ।

०००
तानसेन, पाल्पा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dinmani Bhattarai
Dinmani Bhattarai
1 year ago

सामान्य विषयबाट प्रवेश गरेर वर्तमान समाजको आर्थिक विसङ्गति र व्यक्तिको भ्रष्ट चरित्रलाई बडो सुन्दर ढङ्गले शल्यक्रिया गर्नुभएछ । हार्दिक बधाई छ सर ।🙏

Prem Raj Kharal
Prem Raj Kharal
1 year ago

मीठो व्यङ्ग्य अविराम सरको ।गजब।

Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x