दिलीप अर्यालओल्ड इज गोल्ड ?
वर्तमानमा धेरै तह र तप्कामा हुल्लडवाज हुतिहाराहरूको हालीमुहाली हुनसम्मकै हावादारी रहेकोले राम्रो, नराम्रो के हो भन्न ठ्याक्कै भन्न सक्ने अवस्था देखिएन् । कारण थाहा हुँदाहुँदै पनि सुनलाई पित्तल अनि पित्तललाई सुन भन्नु पर्ने कस्तो बाध्यता हाम्रो !

दिलीप अर्याल :
झन्डै तीन दशक अघि मैले एस.एल.सी. परीक्षाको प्रश्नपत्रको सँगालोलाई ओल्ड इज गोल्ड नामले जानेको थिएँ । धेरै पछि आएर यस्को अर्थ र भाष्य खोतल्दै जाँदा यो चानचुने कुरो हैन भन्ने लाग्यो । घरीघरी आफूले आफैँलाई प्रश्न गरेँ- के सबै ओल्ड जति गोल्ड हुन् त ? यो कुरा गहिरिएर जाँची खुट्ट्याउने जिम्मा तपाईं हाम्रै काँधमा आइपरेको छ । अब यही ओल्ड (पुरानो) र गोल्ड(सुन)को सेरेफेरोमा बसी एकछिन मथिङ्गल खल्बल्याउँदा के नै बिग्रेला र ?
अस्ति साँझ मेरा मित्र द्वारिकाजीसँग भेट हुँदा उहाँले भन्नु भयो – ‘दिलीप जी ! म त आजकल इन्टरमिटेन्ट फास्टिङ (१६ घन्टे ) मा छु नि ! कस्तो ज्यान कस्तो भयो हेर्नुस त ? लास्टै रहेछ नि यो फर्मुला त ! सन् २०१६ मा एकजना जापानिज डाक्टरले यो शोधमा नोवेल पुरस्कार पाएको रहेछ नि !’
हाम्रा कुप्राबा, हजुरबा, बा पूर्खाहरू घाम झुल्किनु अघि उठी दिनभरी छलछाम नगरी काम गरी घाम घर्के लगत्तै माम हाम गरी बेलैमा सुकला गर्थे । उहाँहरूलाई १६ घण्टा नामको जप र टन्टा नै थिएन । साग, भन्टा, फर्सीका मुन्टामा यति र उति भिटामीन र फाइवर छन् भन्ने जस्ता अन्टासन्टा कुरा नगरी सिजनमा जे फल्छ त्यही खाएर ज्यान ठिक हुन्छ भन्ने विश्वास र मान्यता थियो बा पुस्तामा । बा पूर्खाले त्यही गरे, आफूले आफैँलाई जाँचे, यही माटोमा बाँचे र धर्म साँचे ।
फेरि, हालसालै मेरा छिमेकी गोपाल काकासँगको कुराकानीका बखत योग, ध्यान, प्राणायामको फर्राटेदार लेक्चर सुनियो । काकाले त स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै रामदेव बाबाले जस्तै जिउ तल माथि गरी दुई चार आसन पनि देखाए मेरा अगाडि । अनि भन्दै थिए – म त आजकल आफू यो मामिलामा प्रशिक्षक समेत हुँ नि भतिज ! बरू तँ पनि ज्वाइन गर भोलि बाट ।’ नित्य बिजुली सर्वत ( मादक पदार्थ ) का भोगी मेरा छिमेकी यी काका कसरी पतञ्जलीलाई मज्जाले ढोगी यति छिट्टै एक सानदार योगी बनेछन् भन्ने थाहा पाउँदा गजब लाग्यो । जे भए पनि पुस्ताको बिँडो थामेकोमा काका भतिज दुवैलाई बधाई !
सोसल मिडिया, अखवार आदिले खोकेका राम्रा तर हिजोका हाम्रा कुरा पनि कम छैनन् आजकल । मान्छेका जमघटले घोकेका देखिन्छन् – पुराना ज्ञान, शास्त्र, नीति, इतिहास, भाषा, संस्कार,परम्परा र संस्कृतिको जगेर्ना गरौँ । अहिलेको यस्ता दृश्य-परिदृश्य एउटा रहर वा लहर के हो त ? सानो उत्तर – ओल्ड इज गोल्ड ।
यी सबै गाँठी कुरा नढाँटी भनौं सबैले – मुलाका चाना हुन् वा परालका छाना ती सारा हुन् हाम्रा हिजोको खजाना | आज हामी घुम्दै फिर्दै रुम्जाटार भने झैं तिनै पुराना कुरामा क्रमैसंग फर्कदै छौ | कतिपय कुरा अध्ययन र अनुसन्धानले ती कुरा सही थिए भनी सिद्ध गरे होलान् | आखिर जे होस् नयाँ आयाममा भएपनि गुन लाएर हाम्रा धेरै सुन फिर्ता भएका छन् |
पुराना समाजले निर्माण गरेका असमान, कुरीति र अन्धविश्वासका कुरा ओल्ड हुन् भन्दैमा किन मान्नु ? यिनलाई बारह हातको टाँगोले पनि छुन सक्दैनन् – मान्ने र पाल्ने सवालमा ! यस्ता कुरा चाहे शास्त्रले भनुन् या महापण्डितले भनूँन त्यो त्यतै रहिरहोस् अनि आफ्नै डम्फू बजाई गाइरहोस् । यस मानेमा धक फुकाएर भन्न मिल्छ – अल ओल्ड आर नट अल्वेज गोल्ड ।
फेरि, ओल्ड इज गोल्ड हो भन्दैमा थोत्रा लुगा लाएर हिँड्नु भयो त ? भन्ने कुरा गर्दा – ए त्यो त हुन्न भन्ने कुरामा ओठे जवाफ बढी आउला भन्ने लाग्छ । तर आजकल यसो शहर बजार चाहार्दा म त गलत पो रहेछु भन्ने पनि लाग्यो । अहिलेका ठिटाठिटीहरूले च्यात्तिएका, फाटेका अनि धुजाधुजा भएका लुगा लाएर हिँडेका दृश्य पनि मनग्गे देखियो । यसले लाग्यो कि ओल्ड लुगा पनि गोल्ड हुन् भन्ने मानेर लुगा संस्कृतिको जगेर्ना हेतु कतै यिनीहरूले यो अभियान चलाएका त हैनन् ? फेरि यो प्रसङ्गले मलाई झट्का लाग्यो- घरभरी मेरा पनि तेत्रा दस धोक्रा जति फाटेका लुगा थन्किएर बसेका छन् । बरू सेकेन्ड ह्याण्ड पसल खोलेर बेच्न पो तम्सिने हो कि ? यो व्यापारिक आइडियाले मूर्तरूप लियो भने देशमा लुगा आयात गर्न कमी आउने मात्र नभई विदेशी मुद्रा समेत जोगिने ! कि कसो ?
अस्ति कोपरा कता हरायो भनेर मेरो काँहिलो भाइ करायो । घर भित्रै, अझ भनौ तलै पिच्छे चर्पी राख्ने चलनले ती विचरा कोपराहरूको विचल्ली भएको छ अहिले । तर अस्ति हाम्रै गाउँको एकजना सेठ दाइको घरमा जाँदा भने घरको कोठै पिच्छे कोपरा देखेँ मैले । त्यो दृश्य देख्दा यो मान्छे सेठ भएर के स्वाँठ भएको होला भन्ने पनि लाग्यो । यो के गरेको दाइ यो एक्काइसौ शताब्दीमा पनि कोपरा संस्कृति ? भनेको त , एक्कासी बुढो जङ्गिए । ‘लौ तपाईं नै भन्नुस् भाइ । कति खर्च हुन्छ, तलै पिच्छे चर्पी बनाउन ? पानी, बिजुली, पैसाको सत्यानास ! बहालमा बस्नेहरूलाई पनि अरुहरुको भन्दा मैले दुई हजार रुपैया कोठा भाडा घटाएको छु, त्यै कोपराको कारणले । गजब छैन त आइडिया ?’ फेरि दाइ भन्दै थिए, ‘ यो ट्वाइलेट भन्ने विदेशी शब्द किन राख्नु ? म त ट्वाइलेट स्वाइलेटको पक्षमा छैन । यसको सट्टा कोपरा नै राख्नु बेस ।’ जे होस् यिनले चाहिँ ओल्ड इज गोल्डको बिँडो थामेकै हुन् भन्ने लाग्यो । यो पुरानो नामको निरन्तरता र मितव्ययीता हाम्ले पनि अपनाउने हो कि ?
शहर घुम्ने रहर लागेर दुई महिना अघि काठमाडौँ पसेको थिएँ । घुम्दै जाँदा यसो भोक लागेर केही त खानु पर्याे भनेर होटेल खोज्दै गएँ । गल्ली गल्लीमा देखियो बोहोता, दुना टपरी, कसौडी, कचहरी, भान्छा, मझेरी, बलेसी, चुलेसी, थकाली, किम्बू, जिम्बू, ज्वानु, गुच्चा, टिम्बूर नामका होटेल अनि रेस्टुराहरू । मिठाई पसलका नाम – आँगन, रामेश्वर, राधेश्याम, राधेराधे, गोकुल, कृष्ण,ध्यानु र ज्ञानु देखिए । यो देखेर लाग्यो कि आहा ! कति राम्रा नेपाली ओल्ड नाममा खुलेका यी खान्की खाने पसल । नाम पुराना पुस्ताका सुनौला रहेछन् । जे होस् ओल्ड र गोल्ड स्वदेशी नामले बिँडो थामेका यस्ता खान्की पसलहरू देख्दा भने मेरो छाती बडेमानको नाङलो जत्रो भयो । जेठ महिनाको उखरमाउलो घाममा म सँगै शहर घुम्न हिँडेका जुम्ला स्थायी घर भई जोरपाटी बस्ने ज्यादै ज्याद्रा जुठे भनिने मेरा जेठा जेठान पनि घामले भतभत पोलेको वास्ता नगरी यो दृश्य देख्दा हर्षले गदगद भए ।
ती होटेल रेस्टुरेन्टहरू मध्ये थोरैमा मात्र परम्परागत र स्थानीय खानपिन भेटियो । धेरैमा आधुनिक जमानाका फास्ट फुड, जङ्क फुड देखियो । आजकल धेरैजसो स्वदेसी खाने चिजहरू रप्फुचक्कर भएछन् । त्यसको ठाउँमा धेरे मात्रामा जफुचक्कर ( जङ्कफुड चक्कर ) को बहार चलेछ । मान्छेका स्वास्थ्य चिलिमच्वाँट पार्ने यस्ता जङ्कफुड जिब्रो फट्कारी फट्कारी खाएको देख्दा भने मलाई पटक्कै राम्रो लागेन ।
हिँड्दै जाँदा स्कूल, कलेजका कतिपय नाम पनि अहिले त पुरानै स्वदेशी नाममा देखियो । यो घमाइलो दिनमा आहा ! कति रमाइलो ! रातोबङ्गला, अक्षरा, अक्षरिका, अङ्कुर, मोक्षदा, गुरुकुल, पाणिनी, छुनामुना, काव्या, कल्पतरु, कल्पवृक्ष, पाठशाला, संस्कार, संस्कृति, शब्द, अरुणिमा, बुद्धभूमि नामका विद्यालयहरू । कति राम्रो विचार गरेर यी नाम जुराएका । यिनमा हाम्रा भाषा, भेष, संस्कार, संस्कृत र संस्कृतिका ज्ञान पनि राम्ररी ती कलिला छुनामुनाहरूको मस्तिष्कमा भर्न सकेमा विद्यालयका ओल्ड नामहरूको सार्थकतामा सुनमा सुगन्ध हुने थिए, हगि… ?
अर्को तर्फ, धेरै विद्यार्थीहरूको भोलिको फाइनल डेस्टिनेसन विदेश नै हुने भए पनि यी जानेका राम्रा ज्ञान उता डायस्पोरामा पनि स्वदेशी कल्चरल प्रोग्राम गर्न, नोस्टाल्जियामा बहकिन, प्रवासी सङ्गठनहरूको चुनाव लड्ने बेलामा समेत कामलाग्ने र अति नै महत्वपूर्ण हुनेछ भन्ने पनि लाग्यो ।
हालसालै राजधानीको नगर भित्र सञ्चालित विद्यालयका अंग्रेजी नामहरूलाई परिवर्तन गरेर स्वदेसी भाषाका नाममा परिणत गर्न सूचना जारी गरेको भन्ने थाहा पाउदा झनै खुशी लाग्यो । यस कुरामा भएको बहस र प्रयास प्रति साधुवाद ! यसो मैले विचार गर्दा केही बिद्यालयका अंग्रेजी नामहरूलाई नेपालीमा यसो गर्दा, कसो होला ? रुपिज – रूपमती, ग्लोवल – विश्व गरिमा, हिमालयन ह्वाइटहाउस – श्वेत हिमालगृह, अक्सिडेन्टल- अक्षता, एभरेस्ट- आभा, सेन्ट लरेन्स – शान्त लहर, मेरिगोल्ड- मेरुपृष्ठ(आकाश), ड्रीमल्याण्ड- आनन्दभवन ।
धेरै छन्, कति भनौ खै ? लौ दाजु, यसो हाम्रो विद्यालयका पनि ओल्ड तर गोल्ड नामहरूको नेपालीमा न्वारन गर्दिनुस न भन्ने अफर आएमा म पण्डित, पुरेत बन्न तम्तयार छु है ! म आफू त साँचो कुरामा बहकिने हो । मान्ने, नमान्ने तपाईंहरूको विचार !
आ- आफ्ना बा आमा जति ओल्ड भएपनि गोल्ड नै हुन्, यसमा कसैलाई शङ्का छ ? तर अहिले घरका बाउ आमा र बुढाबुढीका कुरा कस्ले सुन्ने ? उनीहरूका आफ्ना जिन्दगीका अनुभवले सिकाएका यथार्थ कुरा आफ्ना सन्ततिसँग ‘यो कुरा यस्तो हो बाबू नानी’ भन्यो भने, वर्तमान पुस्ताले त्यो समेत गुगलमा सर्च नगरी विश्वास नै नगर्ने जमाना आयो । अर्काथरी कस्ता भए भने बुढा भएका बाउ आमालाई कसिङ्गर मानी घरबाट निकाली, आफू चाहिँ मडिया मारी, मस्तसँग मोज गरी हिँडेका देखिन्छन् यस्ता छोराछोरीको सवालमा भने यो ओल्ड इज गोल्ड भनाइ बेकार, तिरस्कार र अनकन्टार नै छ भन्दा केको टनटन ?
केही जोकरहरूले गुनिलो सुठो र सखरलाई ढुटो अनि चोकर बनाएर आफू अर्काको नोकर भई ठिङ्ग उभिएको दृश्य देखिन्छ- यत्रतत्र, सर्वत्र । जे मा पनि पुस्तान्तरण नहुने एकाल्काट्टे साँढे प्रवृत्ति र दूर्दशाको हालीमुहाली । कहिले गोरो, कहिले कालो त्यही मान्छे सिंहासनमा पालैपालो । रजाईं गर्ने तिनकै जेठान सालो, हाम्रा हातमा झुम्रे टालो । अन्नमा लाग्ने घुन, धमिलो जून, पोत्न नमिल्ने चुन अनि स्वाद नभएका लसुन वास्तवमा के हुन् ? ओल्ड र गोल्डको सम्बन्ध यो सवालमा तातो न भुत्लो !
देशमा पटके चटकेहरूको बिगबिगी छ । मदारीहरूले दिनरात बाँदर नचाइरहेको दिक्क लाग्ने दृश्य देख्दा वाक्क मानिसके हाम्रा हजुरबा, हजुरआमा देखि नाति, नातिनीसम्म । कहिले कुनै चटके पटके भएर आउँछ त, कहिले कुनै पटके विशेष चटके भएर आउँछ हाम्रा अगाडि । चटकेहरूको घनचक्करलाई रप्फुचक्करमा परिणत गर्न सक्ने कुन माइकालालको तागत छ ?
एउटा भन्छ – मेरो बलमा फलानो तन्त्र आएको । अर्को भन्छ – मैले फलानो भत्ता ल्याएको । फेरि अर्को भन्छ- मेरा खुँडा र घुँडाका बलले फलाना सत्ता फालेको अनि हाम्रा तन्त्र ल्याएको । कोरोना, डेङ्गु, निमोनिया र लहरेखोकीको अविरल त्रासदीपूर्ण यात्रा । सत्ताका दस्तावेज घोकेर, पुराना इतिहास खोकेर, भरौटे बोकेर धरा बनाउँछु भनेर हिँड्नेहरूले गरागरामा जरा गाडेका । रिसेन्ट्ली माई भान्दाइ टोल्ड मी, “रियल गोल्ड इज अलरेडी सोल्ड !”
ए बाबु ! एक सर्को चुरोट तानौँ न खै ? भन्दै बर्को ओढेर निस्किएकी मेरी काहिली काकी हिजो घरमा आश, सास र गाँसको चर्को कुरो चल्दा विरक्त भई सार्है झर्को मान्दै थिइन् । काकी भन्दै थिइन्- ‘स्वाँठ र लवरल्वाँठहरूले आशा, भरोसा र विश्वासलाई च्वाँट बनाइसकेको कुरो भन्न लाज मान्ने जमाना गयो अब । लवस्तराहरूको ल्याङल्याङले जताततै लाम र लर्को लाग्यो ।’ आफ्ना जमानामा हाइस्कूल सम्म मजैले अंग्रेजी पढेकी मेरा काकीले भन्न भ्याइन् – ‘फर्गेट ओल्ड इज गोल्ड । आवर होप्स आर लिमिटेड अन्ली अन होडिङ्बोर्ड ?’
आजकल हाम्रो समाजमा उमेर खस्किएका, घर्किएका, छिप्पिएका तर छिल्लिएका, मात्तिएका, पात्तिएका, बतास्सिएकाहरूको दिन आएको आयै छ । कोही फेसबुके नक्कली लभको रप्फुचक्करमा परी होटेल, रेस्टुरा, पार्क, झाडीहरूमा अर्कै लुठा वा लुठीसँग पल्किएका, लहस्सिएका, मस्किएका, टस्सिएका देखिन्छन् । देशका गन्यमान्य भनिएका एकथरी मान्छेहरू चाहिँ साँढे जस्ता धनाड्य व्यापारीहरूको मालपानीको पछि लागेर द्रव्य, दान, दातव्य र दक्षिणा ग्रहण गर्दै उनीहरूलाई बैतरणी नदी पार लगाउन लागिपरेका देखिन्छन् । यी दृश्य देख्दा लाग्छ – ओल्ड इज नट गोल्ड बट भेरी भेरी कोल्ड !
देशमा एउटा कालखण्डमा स्थापना भएका उद्द्योग कलकारखानाहरूलाई सेतो हात्ती मानी, जानीजानी, छानीछानी रुग्ण गराएर करकापमा पत्तासाफ बनाउने थिङ्क ट्याङ्कहरूलाई के पत्तो ओल्ड इज गोल्ड हो भन्ने कुरो ? यस्ता सरकारी सम्पत्ति तरकारीको भाउमा बेच्नेहरूले खोके रे ! दिस इज अ न्यू मार्केट इकोनोमी अफ आओर कन्ट्री !
एकथरी बुढापाका भन्छन्- धेरै पुरानो कठोर शासन राम्रो । कतिपय भन्छन् – माटो सुहाउने उहाँको व्यवस्था राम्रो । धेरै भन्छन्- हाम्रोतन्त्र राम्रो । खै के, खै के ? के राम्रो , के नराम्रो ? के ओल्ड ? के बोल्ड ? के गोल्ड ? दिमागमा चक्काजाम !
वर्तमानमा धेरै तह र तप्कामा हुल्लडवाज हुतिहाराहरूको हालीमुहाली हुनसम्मकै हावादारी रहेकोले राम्रो, नराम्रो के हो भन्न ठ्याक्कै भन्न सक्ने अवस्था देखिएन् । कारण थाहा हुँदाहुँदै पनि सुनलाई पित्तल अनि पित्तललाई सुन भन्नु पर्ने कस्तो बाध्यता हाम्रो ! भलै खाइलाग्दो नहोस्- एउटा जिउँदो भाष्य सधैँ हाम्रा अगाडि ठिङ्ग उभिएको छ – फुत्केको माछो ठुलो, राम्रो अनि गतिलो ! भएको भुत्ते हुँदा नभएको कुरा पनि ओल्ड इज गोल्ड हो भन्ने ठानेर हिँड्नु पर्ने विवश मान्छे, हामी !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































