साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई चिन्नु भएन ?

त्यो सेक्सपियरजस्तो दश पढेर दुईचार नाटक र केही सय सनेट लेख्ने विदेशीलाई चाहिँ स्कुले बच्चाले पनि चिन्ने, मजस्तो पठित विद्वान् साहित्यकारलाई चाहिँ तपाईंजस्तो साहित्यानुरागीले पनि नचिन्ने ?

Nepal Telecom ad

नारायण भट्टराई :

मलाई चिन्नु भएन ? म एक वरिष्ठ साहित्यकार हुँ । पत्याउनु भएन ? मैले भनेपछि पनि नपत्याउने ? प्रमाण चाहियो ? कम्तीमा एक दर्जन साहित्यिक पत्रिकाको मैले सशुल्क सदस्यता लिएको छु । सामाजिक सञ्जालकै दशवटा साहित्यिक समूहमा मेरो नाम र फोटो देखिन्छ । मेरा लेख रचनाहरू नियमितरुपमा मुहार पुस्तिका (फेसबुक) जस्तो गरिमामय साहित्यिक पत्रिकामा प्रकाशित भइरहेका छन् । अझै चिन्नु भएन ?

मैले फेसबुकमा हालेका प्रत्येक पोस्टिङ्गमा सयभन्दा धेरै लाइक र चार दर्जन लभका इमोजी आउने गर्छन् । त्यस्तै, पाँच दर्जन “शुभकामना”, आधासय जति “बधाई”, एक दर्जनजति “किप इट अप” र दुई कोरीजति “गुडवर्क” नामका अटोमेटेड कमेन्ट आउने गर्छन् । “आहा” कमेन्ट त कति कति । मैले कविता फेसबुकमा हालेपछि मलाई बधाई र शुभकामना दिनेको ताँती नै लाग्छ । त्यो सानो उपलब्धि हो ? के ठान्नु भा’छ तपाईंले ? कमेन्टहरुमा लाइक ठोक्ने हतारोले कहिलेकहीं बिहान बाथरुम जान नै बिर्सने गर्छ । अझै पत्याउनु भएन ?

मैले चन्दा दिएका तीनवटा साहित्यिक पत्रिकाले मलाई सम्मानित गरेका छन् । जुमबाट हुने साहित्यिक कार्यक्रममा कविता सुनाए बापत मैले दुईसय पचासवटा कदरपत्र र सम्मान पाएको छु जुन मैले मेरो फेसबुकको मेसेन्जरमा सुरक्षित राखेको छु । अस्ति भर्खर एउटा साहित्य समूहका प्रणेताले फेसबुक मेसेन्जरमा यस्तो पत्र पठाउनुभएको थियो । पढ्नुस्, “आदरणीय वरिष्ठ साहित्यकार फलानो, तपाईंको साहित्यिक योगदानको कदर गर्दै मेरो साहित्य समूहले तपाईलाई ‘महान्’ साहित्यकारको दर्जा दिने निधो गरेको छ । यो दर्जा पाउनेले हाम्रो संस्थाले आयोजना गर्ने साहित्यिक प्रतियोगितामा प्रथम पुरस्कार को प्रायोजन गर्नुपर्ने छ । सिर्जनामा संलग्न हजारौं हातहरुलाई उछिनेर तपाईं मेरो संस्थासँग ‘महान्’ साहित्यकारको दर्जासहित पुरस्कार प्रायोजकको रुपमा हात मिलाउन योग्य ठहरिनुभएकोमा हार्दिक बधाई दिँदै, यहाँको सिर्जनशील जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”

अझै चिन्नु भएन ? मैले कम्तीमा दुई दर्जन किताब लेखेको छु । मेरा किताब बहुआयामिक छन् । मेरा किताबले मान्छेलाई पढ्ने मात्र होइन निदाउने पनि बनाउँछन् । मेरो घरमा तपाईं पाहुना आउनु भयो भने किताबले बनेको खाटमा सुत्न पाउनु हुन्छ ।

मैले धेरै किताब लेख्ने लेखकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा मेरो नाम पठाएको थिएँ । तर अर्को लेखकले मलाई एउटा किताबले उछिनेछ । पछि बुझ्दा उसले त मेरै किताब पो उसको नाममा छापेर मेरो भन्दा एक बढी बनाए रहेछ । यदि मेरो नाम गिनिजबुकमा लेखिएको भए मेरो नाम पत्रपत्रिकाले छाप्ने थिए । अनि रेडियो र टिभीले पनि मेरो नाम फुक्ने थिए ।

यत्रो धेरै प्रमाण दिँदा पनि चिनेजस्तो नगर्ने ? मैले आफ्नो बहुमूल्य समय दिएर यो देशको साहित्यको उत्थानको लागि कथा, कविता, मुक्तक, अनि अरु केके लेखेँ केके लेखेँ । नयाँ साहित्यिक विधाकै जन्म दिएँ । त्यत्रो सर्वोच्च डिग्री हाँसिल गरेँ । त्यो सेक्सपियरजस्तो दश पढेर दुईचार नाटक र केही सय सनेट लेख्ने विदेशीलाई चाहिँ स्कुले बच्चाले पनि चिन्ने, मजस्तो पठित विद्वान् साहित्यकारलाई चाहिँ तपाईंजस्तो साहित्यानुरागीले पनि नचिन्ने ? धिक्कार छ यो देशलाई । यो देशले मेरो मूल्य बुझ्दैन भन्ने जानेको भए किन सहित्य लेख्थेँ ?

०००
हाल अमेरिका
‘अभिव्यक्ति’ (२२७)

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
गजलिक
गजलिक
1 year ago

गतिलै रहेछ घुयेँत्रो ! निसाना चैँ…. ?

Rajendra karki
Rajendra karki
1 year ago

Short and sweet.

Gp Bhattarai
Gp Bhattarai
1 year ago

व्यंग्यात्मक अभिव्यक्ति समसामयिक छ सर!

Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
3
0
Would love your thoughts, please comment.x
()
x