साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिनको भान्छे

यी आलोचनाहरूले म विचलित हुन थालेँ । दुःख पनि औधि लाग्यो । कति मेहनतले पकाएको खाना यो, स्याबासीको मीठो बोली सुन्ने आशा आलोचनाको तीतो थप्पडले बिलाएछ । ममा अब अरु केही सुन्न सक्ने शक्ति रहेन ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

स्वास्नीले भात पकाउन ढिलो गरी वा दाल-तिहुन चर्को अलिनो भो भनेर स्वास्नीलाई दश थरी कुरा सुनाउनेहरूसँग कुन्नि किन मलाई रिस पो उठेर आउँछ । प्रकृतिले स्वास्नीमान्छेको मुटुमा ममताको सोतो प्रवाहित गर्नुको साथै सन्तोषको तीव्र जहर भरिदिएकोले मात्रै उनीहरू लाटिएका हुन् । नत्र के यिनी लाटा थिए र ? किन रोज्थे भात पकाउने काम ? किनभने पकाएर ब्वाउनु नरक-भोगभन्दा कम सास्ती होइन । पुरुषलाई एक दिन मात्रै भात पकाउनपरोस् त । राँडो भए आजैबाट विधवा फकाउन र स्वास्नी माइत गएकी भए होटेल धाउन करै लाग्नेछ । बरू छाक बिराउन मञ्जुर । तर थाप्लोमा भात पकाउने टन्टा पर्‍यो कि सबै पुरुषको मोटो आन्द्रो सुकेर आउँछ ।

यस्तै दुर्भाग्यको दिन आइपुग्यो एकपल्ट मेरो घरमा । घरमा स्वास्नी मान्छेहरू भएर पनि उनको भान्छा नचल्ने स्थिति भो । यस मौकालाई दुर्भाग्यपूर्ण भन्नु परेको किनभने म कान्छो भएकोले भात भान्छाको काम मेरै थाप्लोमा पर्न गयो ।

यो चाहिँ सत्य थियो कि घरभरि स्वास्नीमान्छे भएर पनि कुन्नि किन भातभान्छा अबेर गर्थे ? तर आज त मेरै हात थियो । आधा-एक घण्टामै सबै तयार पारिसक्नेछु …

म भान्छाको तरखरमा जुटेँ । तरकारी के पकाउनु ? आहा । मेरो मन परेको तीतेकरेलो । बहिनीलाई काट्न अह्राएँ । छिः, कति फोहोरी ! रुघा लागेको छ भन्दैमा र्‍यालसिँगान सरोबर गर्नुहुन्छ त ? मलाई घिन लागेर आयो । झर्केर भनेँ । ‘भो, पर्दैन । म आफै काट्छु ।’ बहिनी रिसाएर ठुम्कँदै गइन् । मलाई पनि रिस उठेर आयो । आफू फोहोरी भए सबैलाई फोहोरै मन पर्छ भन्ने ? के म तरकारी काट्न सक्दिनँ । तरकारी मात्र हो र…? ‘ऐय्या’- म चिच्याएँ । झोंक-झोंकैमा तरकारीको साटो औंला पो काटेछु । रगताम्य भयो । रिसले थाल भुइँमा पछारिदिएँ । म चिच्याएको एवम् थाल पछारेको आवाज सुनेर आमा दगुर्दै आउनुभयो । कुरा बुझेर डेटोल लगाउन भन्नुभयो- मैले त्यसै गरेँ ।

केही समय बितिसकेकोले अब गुन्द्रुकको तरकारी पकाउने निधो भो- नत्र अफिस पुग्न ढिलो हुन्छ । तर म आत्तिएको छैन । दालभात एकछिनमै पाक्छ । गुन्द्रुक त झन् नपकाए पनि भो । उखानै छ नि- ‘गुन्द्रुक (सिन्की) पकाउनु पर्दैन, साली फकाउनु पर्दैन ।’ भात पकाउनु पनि कुनै गाह्रो काम हो ? स्वास्नीमान्छे त्यसै रुन्छन् । कला हुनुपर्छ कला ! खाना तैयार गर्नु पनि कला हो । म कलाप्रेमी, आफ्नो कला देखाउनुवाट चुक्ने कुरै भए । पटुका कसेर पर्से भान्छामा ।

प्रथमतः आगो बाल्ने प्रयत्न गर्न थालेँ, तर चिसा दाउरा बल्दै बलेनन् । जति प्रयत्न गर्दा पनि दाउराले धूवाँ ओकल्ने मात्र गर्‍यो । म भित्रभित्रै असयत हुन थालेछु । रिसको झोँकमा टुकीको पुरै मट्टीतेल खन्याइदिएँ । एक्कासी आगो हुर्र उठ्यो । होशै पाइएन जुल्फी पक्डेछ । आत्तिएर निभाएँ तर अगाडिको लर्काउने भाग भने सखाप भइसकेको । ग्लानि र क्रोधले रन्थनिएर हातको टुकी हुत्त्याएँ, तर त्यहीँ बसेर बासी भात खान थालेको भतिजोको पुर्पुरो सेक्न पुगेछ । उसको रुवाईले घरै थर्क्याे । भाउजूले पनि छास्नसम्म छासिन्- ‘एकदिन भात पकाउनुपरेको छ र…।’ शायद भन्न खोजिन् ‘बहुलाउनुपरेको छ ।’

घटनालाई बिर्सन खोजेँ । आगो मट्टितेल सकिनासाथ निभेछ । पुनः प्रयास गरेँ । आगो फुक्दा फुक्दा कन्चट चट्केर आयो। पिरो धूवाँले आँखाबाट आँसु र सिँगान आउन छोडेन । साहस गरेर आगो बाल्ने प्रयत्नमा पुनः जुटेँ । जलेको जुल्फी, सिँगान, आँखामा आँसु, मुख र कपालभरि खरानी एवम् अनुहारमा अङ्गारको कालो, मेरो बहुरङ्गी हुलिया देखेर भाउजूहरू हातले मुख थुनेर रोक्दारोक्दै पनि खितखित् हाँसेको स्पष्ट सुनेँ । रिसले रिङ्गटा लागे पनि चुप रहनु नै श्रेयस्कर ठानी सहेँ ।

केही प्रयत्नपछि आगो पिलपिल बल्न थाल्यो । सुस्तसुस्त सामान पनि तैयार हुन थाल्यो । चामलको अट्कल भएनछ- भात आधा काँचो आधा पाकेको भो । पानी थपेँ, तर पाकेन । भाँडोमा नअटाएर भातको हिमालचुली उठ्यो । आमाको आज्ञाबमोजिम तीनवटा खुर्सानी घुसार्दा पनि भात पाकेन । तल आगो माथि आगो पार्दा पनि पाकेन । बरू भात जलेको खबर लिएर बहिनी आइपुगिन् । मलाई पुनः रिसले उफार्‍यो । ‘जा भाग् ।’ डाडु उज्याएर म रन्केँ । मेरो रौद्र रूप देखेर बहिनी चिच्याउँदै भागिन् ।

भात पाकेन त के गर्ने ? पाकेन । तर दाल त पाकेको हुनै पर्‍यो- नत्र गनाउँछ । घिउ, बेसार अझै केही हालेको छैन । सञ्जके हेरेँ- बेसार थिएन । अक्कल न भएका स्वास्नीमान्छेहरू । अब कसरी खोज्ने भण्डार-कोठामा ? एकपल्ट त उनीहरूसँग सोध्ने विचार राखेँ । तर यो मनले खबरदार गराउँदै भन्यो- ‘भण्डारबाट नाथे बेसार नभेट्टाउनेले ससारको सार के भेट्टाउला ?’ भण्डारकोठाभित्र पसेँ । माटोका घैँटाहरू एवं टीन-कनस्तर, प्लास्टिकका डिब्बा आदि थुप्रै भाँडाकुँडाहरू थिए । ‘यिनैमध्ये एउटामा त अवश्य छ’ भनेर हात हाली छाम्न थालेँ । दुईवटा घैटा रित्ता थिए । तर तेस्रोमा हात हालेको त घाउ चहरायो । म पीडाले थर्र कामेँ । हात झिकेर हेरेको त खुर्सानीको धूलो रहेछ । दाह्रा किटेर पीडा सहेँ । चिच्याइनँ, नत्र लाज हुन्छ । बेसार त भेट्टाउनु नै थियो । तसर्थ छाम्दै जाँदा एउटा घैटोमा द्रवको चिसो लाग्नुको साथै घाउ अझ चहरायो । अविलम्ब हात झिकें, तर कुहिनोसम्म कालो चुकैचुक । रुन्नँ भन्दा पनि आँखाबाट तररर आँसु झरेछ । रिसले एक लात्ती दिएको त पैंटो दुई फ्याक पर्‍यो । चुक भुइँभरि पसारियो । तर मलाई चुकको भन्दा पनि आफ्नो घाउको बढी चिन्ता थियो । तत्काल पखालेँ तर एउटा स्थायी पीडा भने रही नै रह्यो ।

बेसार भेटिएन । नखाए पनि हुन्छ । पहेंलो देखाउनु बाहेक कुन स्वाद हुन्छ र त्यसमा अब दाल पाक्यो । दुई हातले पक्डेर उतार्न थालेँ, तर काटिएको औँलाले भरै दिएनछ हातबाट फुत्केर दालको कसौँडीले तीन बल्ड्याङ खायो । छट्ङ्केको दाल थुतुनो, आङ, टाङ, कता हो कता म्वाई खान पुगेछ । म अप्रत्याशित रूपले चिच्याएछु । सुनेर आमा आउनुभयो । पोलेको ठाउँमा तत्काल चुक लगाउन भन्नुभयो नत्र दालको छिटा परेको ठाउँमा फोका उठेर पाक्छ रे ! यो नयाँ विपत्तिले म ‘त्राहि माम्’ भएँ । भण्डार कोठामा पसेँ । कतकता लगाऊँ ? सबै ठाउँमा त पोलेकै छ । तुरून्त मेरो उर्वर मस्तिष्कले युक्ति सोच्यो । म त्यही पोखेको चुकमा लडीबुडी खेल्न थालेँ । चुक सबै ठाउँमा लाग्यो । उठोस् त फोका अब ? (तर यो नभन्नु नै बेस कि यस प्रयत्नमा म वनमान्छे झै देखिएँ ।)

दाल पोखिएर के भो त ? गुन्द्रुक त छदैछ नि ? गुन्द्रुक पकाउन जानेजतिको सीप लगाएँ । तेलकै झोल बनाएँ तथा त्यसै माफिकको नून, खुर्सानी, मसाला आदि मिलाएँ । तयार भयो वाजिदअलि शाहको नवाबिया खाना । म आफ्नो सीप देखाउन पाएकोमा फुरुङ्ग परें।

बुबा लगायत सबै दाजुहरू खान बस्नुभयो । भात पस्केँ । गुन्द्रुकको झोल कचौरामा राख्न थाल्दा देखेँ – झोलमा चार-पाँचवटा झिङ्गाका पखेटा, ढाड र भुँडीको अप्रेसन भएको ! उल्टी आउँला झै भयो । तर भन्नु त भएन । बरू आफू नखाउँला । यति मेहनतले पकाएको वस्तु त्यसै खेर फाल्नु कुन बुद्धिमानी हो र ?

खाना शुरु भयो । ‘नून पुगेनछ’ एउटाको भनाइ । ‘नूनै हालेनछ क्यार ?- अर्को बोल्यो । ‘काँचो भात ?’ बुबा कराउनुभयो । ‘कति तेल हालेको ?- अर्को दाजु । ‘छि, चुक मात्रै ?’ ‘कति पिरो ?’ ‘अचार-चटनी केही छैन ‘लसुन कति गनाएको !’- आदि आलोचना र प्रश्नहरूको झरी लाग्यो । यी आलोचनाहरूले म विचलित हुन थालेँ । दुःख पनि औधि लाग्यो । कति मेहनतले पकाएको खाना यो, स्याबासीको मीठो बोली सुन्ने आशा आलोचनाको तीतो थप्पडले बिलाएछ । ममा अब अरु केही सुन्न सक्ने शक्ति रहेन । तुरून्त फड्केर भान्छाबाट ओर्ले र त्यहाँबाट भाग्न थालें कछाडैसित भाग्न थालेँ । तर ‘भात काँचो भो’ अथवा ‘दाल अलिनो भो’ जस्ता बोलीहरूले मेरो पिछा गरिरहेझै लाग्यो ।

यो घटना बितेको धेरै दिन भइसकेको छ । तर अब कसैले ‘तरकारी अलिनो भो, दाल चर्को भो’ अथवा ‘भान्छा ढिलो भो’ भन्यो भने म त्यसको घाँटी समाएर चिच्याउँदै भन्ने गर्छु- ‘एक छाक मात्रै भात पकाएर हेर त ?’

०००
दाङ
‘धरोधर्म हजुर’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x