सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ऋणी बनेका धनीहरू

आफ्नो किर्ती राख्न केही न केही त गर्नै पर्दछ भन्ने कुरा भानुभक्तले समेत घाँसीबाट उपदेश पाएकोले धनीहरूले पनि गरीब ऋणीहरूबाट पाठ सिकेर आफै ऋणी र धनी बन्न सिकेका हुन् भन्न मलाई रहर लागेर आएको छ ।

Nepal Telecom ad

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :

नेपाल ‘गोपाल’ मै रहँदा कमालै कमाल थियो । यता पनि मालामाल उता पनि मालामाल र सम्पति मुला जथाभावी फालाफाल । अहिले विशाल नेपाल ऋणै ऋणमा डुबेको छ । नेपालीहरू ऋणका कारण टाउको को रौ उखेलेर धनीलाई जिम्मा लाउदा पनि मुक्ति पाउने अवस्थामा छैनन । भनौ ऋण धनीहरूका लागि ठगी खाने भाडो भएको छ भने गरीबका लागि सधैँ टाउको दुखाई मात्र होइन कि साँझ बिहानको छाक टराइँ पो भएको छ ।

हामो मुलुकाँ ऋण नखाने को होला र ! साना ठूला सबै ऋणी मात्रै । धनी कहिले पनि आफूलाई धनी हुँ मसंग धेरै सम्पति छ भन्दैन र आफूलाई सधैँ खान लाउन नपुग्ने गरीब ठानेर प्राडो, पजेरो चढेर हिड्छन । उद्योग धन्दा खोल्छन नेपालीहरूलाई रोजगारी दिने बकमफूसे कुरा हाक्छन प्राडो, पजेरो संगै तर विदेशी कामदार ल्याएर नेपाली कामदारलाई थाङ्नामा सुताउँछन र भोकै राख्छन । नेपाल र नेपालीको आर्थिक स्तर उकास्ने खरा कुरा गरेर नथाक्ने उनीहरू गरीब संग मितेरी लाउदा जात जान्छ भन्ने सोंचमा हुन्छन । एउटा नेपालीले अर्को दुख पाएको नेपालीलाई सहयोगको भावनाले हेर्ने त कुरै छाडौ त्यस्ता मान्छे देखा परे अर्को तर्फ फर्केर बाटो लाग्ने इमान्दारी चलनले मलजल पाएको छ । जसको परिणाम धनी झन धनी र गरीब झन् गरीब भएर मुलुकको चौतर्फी विकासमा धनीहरू नामले कमाल भएका छन् भने कामले बवाल मच्याई रहेका छन् ।

हिजो अस्ति जसरी यो मुलुकलाई टाठा बाठाहरूले चुसेका थिए ठीक त्यसरी नै टाठा बाठाहरूले यो मुलुकलाई चुस्ने काम यथावत् राखेका छन् । घाटा सहन नसक्ने टाठाबाठाहरूले पानी बगेको ठाउँलाई मेरो जगा हो भनि बैँकलाई झुक्याएर ऋण लिए । न तिर्नु परोस् न व्यहोर्नु परोस् । मन्त्रीजीलाई हजुर धितो राखेको जग्गा त बाढीले बगायो भनेर सिफारिस गर्न लगायो ऋण मिन्हा । यता त्यो पैसाले उद्योग धन्दा खोलेर ऋणी आफै धनी ! मनीका लागि धनीले कनी कनी दुःख गर्नु पर्दैन । गरीबले भने जति सुकै कनेर दुःख वा श्रम गरे पनि उसलाई धनीले भ्रममै पारेका हुन्छन् । अझ बहुराष्ट्रिय कम्पनिहरूले त नेपालीहरूका अगाडि उद्योग धन्दाका नाउँमा भ्रमको खेती गरेर श्रम गर्नेहरूको परिश्रमलाई विदेसमा लगेर बिक्री गरेका छन् । उद्योग धन्दाका नाममा सिक्रीलाउनेहरूले नेपालीहरूको श्रम बिक्रीगरेर अत्यन्त सस्तो बनाएका छन् । भनौ विश्वमा नेपालीहरूको श्रम जति अन्य कुरा सस्तो पाउन साह्रै गाह्रो छ । जसका कारण ऋणी बनेका धनीहरू मनीको पछि लागेर सिढीतल झर्नुको साटो माथि उक्लिरहेका छन् । श्रमिकहरूको श्रमलाई आगो बालेर न्यानो मानेर तापेर बसेका छन् । अदृश्य शक्तिको भक्तिमा समय खर्चेर, श्रमिकहरूको अवस्थालाई भ्वाङ् पार्दै कागजी रुपमा औद्योगिक ढ्वाङ् र स्वाङ् देखाउदै बैँकको ऋणी हुँ भन्दै दिनानुदिन झाँगिदै र मौलाउँदै गएका छन् ।

नेताको आशिर्वाद नपाउने श्रमिकहरू न हुन ‘आए आँप गए झटारो’ भन्ने उखानलाई चरितार्थ पार्न धनीहरूका अगाडि आफ्नो निरीहता देखाउन पछि पर्दैनन । जसको परिणाम आफूलाई हुँ भन्ने उद्योगपतिहरू थला परेर बस्न बाध्य भएका छन् । कुनै काम वा उद्योग नगरी बस्ने मान्छे मान्छेको लहरमा पर्दैन रे ! अर्थात् ‘उद्योगम् फलिफापे च धन सम्पति फलयते’ भन्ने सिद्धान्तका ज्ञाताहरूले यो देशलाई मनी फल्ने र फलाउने बोटका रुपमा लिएका छन् । देशका भोटका बोटहरू आफ्नो परिश्रम खेर नजाओस भनेर कैयौ चोट सहेर, नयाँ कोट पहिरेर नोट खर्चेर, खोट लिएर, जोत दिएर, पोत तिरेर, घोट पिएर लगनसिल भएर रातलाई दिन र दिनलाई रात मानेर हुने नहुने, दुहुने, चुहुने सिउने, टाल्ने, फाल्ने सबै प्रकारका काम मामकैलागि गरिरहेका छन् । घर भताभुङ्ग पारेर, लगाएको लुगा माथि सारेर, नेताजीका अघि हात मोलेर, कुरामा चिनी घोलेर, नाक खोलेर धनीहरू मनी कमाउन ऋण काढेर घिउ खाने काम समेत गरिरहेका छन् । भनौँ उनीहरूले ‘ऋणम् कृत्वा घृतम् पिवेत’ भन्ने उखानलाई सोह्रै आनाका दरले सफल बनाइरहेका छन् । मैले यसलाई कम्बल ओढेर घिउ खाने नीति भनेर औल्याएको छु ।

देशी भेषीको विदेशी चाला, घर नभए ससुराली जाला, ससुरालीमा नपाए मागेर खाला, लामो हात गरे चड्काउछन गाला भन्ने आधुनिक उखान त्यसै व्याप्त भएको होइन रहेछ भन्ने कुराको भेउ म गोज्याङ्ग्रेले बल्ल बुझ्न थालेको छु । उहिले उहिले भोगेका कुरा अहिले आएर सम्झदा त म झसङ्ग हुन्छु । किनभने त्यतिबेला म बाँस भन्दा पनि सोझो थिए भने अहिले आएर उमेर ढल्कदै गएकोले होला हसिया भन्दा पनि बाङ्गो भएको छु । जे होस् म गोज्याङ्ग्रे भए पनि पुष माघको कठ्याङ्ग्रीदो जाडोमा पनि धनी बन्न मनी फलाउने उद्योगमा लागेकोमा आफैले आफैलाई पैसा नपर्ने धन्यवाद दिन चाहन्छु । किनभने श्रीमतीको पति बन्दा बन्दा बाक्क दिक्क भएर उद्योगपति बन्न सक्नुलाई मैले जीवनको ठूलो उपलब्धी ठानेको छु । कमाउदा कमाउदा बाउले दिएको अंश समेत सकिँदै गएकोले अब बढी कमाउन हुन्न भन्ने नीति म भित्र पलाएको छ । भनौँ म उद्योगपति धनी भएर पनि श्रीमतीकै ऋणी भएको छु ।

नेपाली उद्योग धन्दा, मजदूर माग्छन सधैँ चन्दा, मालिकले सधैँ लाउछ डण्डा, नारा जुलुस लाठी झण्डा, मनी प्लान्टमा फन्दै फन्दा, मालिकको दिमाग गन्दै गन्दा, मजदूर बाठा मालिक भन्दा, तातेको उद्योग बन्छ ठण्डा । अर्थात् माथि उल्लेखित नीतिको मर्म नबुझ्ने, धर्म नमान्ने लठेप्रो गोज्याङ्ग्रेले श्रीमतीको पति त बन्न आनाकानी गर्छ भने उद्योगपति बनेर देशको ऋणी बन्न अघि सर्नु भनेको उ मान्छे बनेकै ठान्नु पर्दछ । मान्छेलाई लिजमा लिएर कमाउनेलाई सोझो भाषामा ‘मालिक’ भनिन्छ । मालिक बन्न मृत्यु अघि नै सालिकको हकदार बन्नु पर्दछ । पति बन्न मती बिगार्नु पर्दछ । चाहे श्रीमतीको पति होस् वा उद्योगपति होस् । क्षती, खती व्यहोरेर गती बढाउनु पर्दछ, बत्ती निभाउनु पर्दछ, सती जानु पर्दछ अनि मात्र उद्योगपति बन्न सकिन्छ र श्रीमतीको पति बन्न सुहाउँदछ । केही नगरी नाम दाम कमाइदैन, त्यसैले देशलाई बन्धकी राखेर भए पनि ऋण गरेर उद्योग खोल्नुस्, श्रमिक मार्नुस्, नेता पोस्नुस, कर छल्नुस् नाम बाल्नुस, मोटाउनुस् र ऋणी बनेका धनीहरूका लागि यो नै मनी सोहोर्ने अचूक उपाय हो ।

उद्योग खोल्ने निहुँमा भागमा घिउ हालेर खाने उद्यम गजवकै फाइदा हुने काइदा भएकोले होला बिप्पा भन्ने सम्झौता गरेर सरकारले केही देशी उद्योगपतिहरूलाई रिझाएको । उद्योगपति रिझाउँदा केहीलाई भित्र बिझाएको पनि छ । किनभने ब्याउने भए बिझाउनेहरू नै रिझिन्थे, थारै बस्ने भएकोले बिझायो । त्यसमा बिझाउनेहरूले अंश नपाउने भएकोले धोखा हो भने ! जे होस् ऋणी बनेका धनीहरूले एउटा राम्रो अवसर पाए । मजदूरलाई बन्धकी राखेर पतिको मालिक बन्न पाए । आफ्नो किर्ती राख्न केही न केही त गर्नै पर्दछ भन्ने कुरा भानुभक्तले समेत घाँसीबाट उपदेश पाएकोले धनीहरूले पनि गरीब ऋणीहरूबाट पाठ सिकेर आफै ऋणी र धनी बन्न सिकेका हुन् भन्न मलाई रहर लागेर आएको छ । गरीब मजदूरले सिकाएको जुक्ति र सुनाएको उक्तिका कारण उद्योगपतिहरू धनी बनेर ऋणी बनेका छन्, ऋणीहरू धनी बनेका छन तर मजदूरहरू पति बन्न सकेनन अझदूर हुँदै गएका छन् ।

०००
उदयपुर
‘भ्रष्टपति’

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो जमाना भयो

कालो जमाना भयो

माधव पोखरेल गोज्याङ्ग्रे
टाकुराका माकुराहरू

टाकुराका माकुराहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उत्तरपन्थी झुकाव

उत्तरपन्थी झुकाव

माधव पोखरेल गोज्याङ्ग्रे
अपुरो असमाचार

अपुरो असमाचार

माधव पोखरेल गोज्याङ्ग्रे
मुसाको देशमा

मुसाको देशमा

माधव पोखरेल गोज्याङ्ग्रे
मोफसल नो फसल

मोफसल नो फसल

माधव पोखरेल गोज्याङ्ग्रे
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x