शिवप्रसाद जैशीमनतान्त्रिक भिड र शासन
शासकलाई मस्त निद्रामा सुताउन उनीहरुको पहल जारी नै रहन्छ । शासकको पनि जयजयकार चलि नै रहन्छ । शासकीय मनतन्त्र र भिड मनतन्त्रको शिकार गणतन्त्र हुन्छ ।

शिवप्रसाद जैशी :
हामी भिड हो । भिडको सिद्धान्त हुँदैन। भिडको गन्तव्य हुँदै हुँदैन । लक्ष्यविहीन जमात हो । जमातरुपी समूहमा आकार हुँदैन । अल्पकालिन तुफान शक्ति पक्का हो हामी भिड । दीर्घकालमा कुन भड्कालोमा जाने सोचिँदैन भिडले । हामीसँग बर्गत छ अनि निरन्तर रहिरहनु पर्छ। हामीले भन्ने हो, सुन्ने होइन । हामीले जे चाहन्छौँ त्यो हुनपर्छ । हुनुपर्यो । हुनु पर्नेछ । हामीलाई इतिहास चाहिँदैन । हामीले जे भन्यो त्यो हुनुपर्छ ।
हामी अगाडि देख्छौँ । पछाडि देख्दैनौँ । देख्नु छैन । हेर्नु छैन । हामी अड्डा अदालत हाम्रै अनुसार चलाउँछौँ जसरी तिमीहरुले चलाउँछौ । हामी न्याय जान्दैनौ । हामीले गरेको जे हो त्यो न्याय हो तिमीहरुको जस्तै । अरुले गर्ने न्याय हुन सक्दैन । हामी न्यायाधीश चिन्दैनौं । हाम्रो आवाज नै न्याय, इन्साफ र अदालत हो । हामीले भनेको नमान्ने हो ? हेरौं । सामाजिक सञ्जाल हाम्रा हातमा छ । हामी डिजिटल्ली ठेगान लगाउन तयार छौं । हामीलाई प्रक्रिया सरक्रियाको केही मतलव छैन । हामीलाई यो थाहा छ कि हाम्रो भनेको हुनपर्छ। नमानोस् त कोही ? के हुन्छ हालत । युट्युब, इन्स्टाग्राम, फेसबुक, रिल, टिकटक आदिको सहायताले खोइरो मात्रै खन्ने होइन सखाप पार्न पछि पर्ने छैनौ।
समाजिक बन्धन, सामजिक न्याय, समानता, मानवता सबैथोक बनावटी हुन् । बनाइएका हुन् । संस्कार, संस्कृति थोपरिएका हुन् । हामी यिनको पछि न अघि । नियम, कानून, संहिता, शास्त्र, अर्तिउपदेश सबै थोक कसैले बनाएकै हुन् । थिति बसाल्न बनाएको भनिए पनि हामीलाई कुनै पर्वाह छैन । हामी जान्दैनौ र मान्दैनौ । हामी हाम्रो मुद्दामात्र जान्दछौँ ।हाम्रो निसाफ सबैले मान्नुपर्छ यो चाहिँ हामी जान्दछौँ । आजको हाम्रो समाज हो यो । यो समाजलाई यसै अराजक अवस्थामा अविछिन्नरुपले अगाडि बढाइयो भने प्रगति असम्भव छैन। विकास असम्भव छैन । मानव विकासमा त छलाङ् मार्छ भन्ने हाम्रो सिद्धान्त हो । मान्यता हो ।
दरबारका दरबाजा सोसलमिडियाका पासवर्डले खोल्न सक्छौँ हामी । यिनै पासवर्ड प्रयोगकर्ताका दृष्टिमा कसलाई भगवानको पगरी गुथ्ने भन्ने कुरा हामीलाई थाहा छ। हामीलाई यो पनि थाहा नभएको होइन कि कसको उछितो काटेर रसातलमा फ्याँक्ने र कसलाई डिजिटल सुनपानी छर्केर देवत्वकरण गर्ने । सामाजिक रुपले गलतलाई सही बनाउनु र सहीलाई गलत बनाउन न्वारनदेखिको प्रयोग नगरी भाइरल बनाउने तरीका पनि राम्ररी जानेको जमात हो हामी।
को पो छ र ? सही र गलत खुट्यार लाइक, कमेण्ट, सेयर गर्ने मनुवा ? हाम्रा लहलहैमा लाग्ने ठूलो जमातको प्रतिनिधिको नाता भएका नेता पो हामी । गलत र सही खुट्याउने अनि लाइक कमेण्ट र सेयर गरेर राख्न जान्ने, राख्न खोज्ने मनुवाहरुको संख्या बढ्दो मात्रामा हुँदो हो त हाम्रो डिजिटल व्यापार कसरी फस्टाउँथ्यो ?
हामी आफै पनि जानेर, बुझेर सही गलतको पहिचान गरेर शुद्धाशुद्धिको प्रयोग मार्फत छानिएका खबरहरुको सम्प्रेषण त कहाँ गर्छौं र ? रिसका झोँकमा, पुरानाले गरेका ममैत्ता निर्णयको खिलापमा, अभाव र बेरोजगारको चपेटामा पिल्सिएर बसेको समयको सदुपयोग गर्न खोज्दा राम्रो हुन्छ कि नराम्रो हाम्रो बुद्धिलाई के थाहा ? यसको परिणाम कस्तो निस्किन्छ ? जेहोस् हामी गर्छौ। हाम्रो बलबुताले जे भ्यायो त्यो गरेका मात्र हौं । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हामीले बनाएको र चलाएको उखान होइन जसले बनायो उसैले गाँठी कुराको चुरो बुझे भैगो नि !
कुकर्महरुका नालीबेली हाम्रा मानसपटलमा कहीँ कतैबाट आइपुग्छन् । जान्न पुग्दछौ। त्यसको बदलामा हामी उभिन्छौं। विकल्प राम्रो, नराम्रो के थाहा ? नतिजा पनि थाहा छैन । तर हामीले मानेको नराम्रोको खिलापमा अभिमत जाहेर गर्नु हाम्रो धर्म ठान्न थालेका छौँ । हामीलाई अदालत सदालत, वकिल सोकिल, न्यायाधीश स्यायधिसमा विश्वास पनि छैन । मतलब पनि भएन । हाम्रो भनेको, हामीले सोचेको, हामीले बुझेको भएन भने ठोक्ने हो । सेक्ने हो । ठेक्ने हो ।
गणतन्त्रले गर्न नसक्ने काम हामी गर्छौं । हामी अरु थोक जान्दैनौ । अरुले भनेको मान्दैनौ । हामी, हाम्रा निर्णयकर्ता भएपछि हाम्ले हाम्रै कानून लगाउन पाउनुपर्छ । गणतन्त्र भएपछि मानिसका आफ्ना नियम, कानून हुनु पर्दैन ? हाम्रा, हामीले जानेका नियम लागु गर्न किन्चित पछि पर्ने छैनौ । देशको नियम हामीलाई लागु हुँदैन । लागु गर्न दिँदैनौ । लागु गर्नु हुँदैन हाम्रा लागि । त्यसैका लागि होइन गणतन्त्र ल्याएको ? अनि भने अनुसार नहुने भए के को गणतन्त्र ? हामीलाई गणतन्त्र होइन मनतन्त्र चाहिन्छ ।
हाम्रा दृष्टिमा गणतन्त्र र मनतन्त्र एउटै हो । पार्यायवाची शब्द हो । गणतन्त्र गणले चाहेको पाउनु पर्ने तन्त्र भएपछि हामीले चाहेको पाउनु पर्यो । हुनु पर्यो । गणतन्त्र बराबर मनतन्त्र भएपछि मनले जे चाहन्छ त्यो गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो । मनतन्त्र जिन्दावाद ! मनतन्त्र लागु होस् । लागु होस्। लागु होस् ।
हामी तथानाम गाली गर्छौं । कसले थुन्छ हाम्रो मुख हेरौं त ! मुख थुन्नेको हालत के हुन्छ ? हामीले भन्यो भने पुलिस नथुनोस् त ! अदालतले मुद्दा दर्ता नगरोस त ! फैसला हामीले भन्या जस्तो, हामीले चाहेको जस्तो, हाम्रो मनले मानेको, दिमागले ठानेको जस्तो नहोस् त ! शासन अनि प्रसासन हाम्रो भावना अनुसारको नचलोस् त ! भन्छ भिड। उसले भनेको मान्नु पर्ने, गर्जेको टार्नु पर्ने, निरिह शासनको दयालाग्दो रुप हेर्न बडो गजब छ यो सहराँ । यो राज्य विहीन राजधानीमा।
म ठिक । म साश्वत सत्य हो । अरु मिथ्या हुन् । झुट हुन् । मैंले सोचे जस्तो, चाहे जस्तो, मेरो मनोभावनामा भए जस्तो नहुनु भनेको नियम विपरित हो । कानून विपरित हो । विधिविधान विपरित हो । मलाई इतिहासमा कसले के खोज्यो, के गर्यो त, के ल्यायो, ल्याउन कति दुःख कष्ट र सास्ती भोग्नु पर्यो त्यो सुन्नु छैन । बुझ्नु छैन । मलाई जान्नु छैन । भूत मेरा लागि बाल मतलब । कसले निरंकुशताका जंजिर तोड्यो । तोड्न लड्यो । तोड्न खोज्दा खैाज्दै को मर्यो । कसकी स्वास्नी विधवा भै, कसका सन्तान टुहुरा भए । कसका बाआमाले सन्तान गुमाए । सन्तानको वियोगमा अस्थिर मष्तिस्क, असन्तुलन भै बरबराए र बौलाहा भए त्यो पनि हामीलाई मतलब छैन।
आँखा अगाडि हेर्न हो । देख्ने हो । लेख्ने हो । आफ्नो रोटी सक्ने हो । जे हो वर्तमान हो । वर्तमानमा बाँच्नेलाई भूत र भविश्य किन चाहियो । कठोर सजाय पाएको साँवाब्याज खाएर डकार्न लागेकालाई ठेगान लगाउने हो । म म हुँदै हामीमा प्रयोग भएको भिडले हुँकार दिन्छ। न्यायसँगत ढंगले न्याय दिनेहरु सुतेका बेला यो झंकारले ब्यँझे झैं गरेर दर्तातिर लाग्छन् । सुरक्षाकर्मीहरु भिडकै इसारामा आफ्नो सुरक्षा देखाएजस्तो गर्छन् । माथिको भन्दा भन्दा थकित यिनका अनुहारहरु मलिन भएर लुरुक्क पर्छन् । यिनको लट्ठी लर्बराउछ। हातबाट बन्दुक झर्छ । भिड जिन्दावाद भन्दै आफ्नो कर्म गर्छ।भिडको मनोबल बढछ। भिड अघि बढ्छ। सम्हाली नसक्नु हुने कुराको अन्दाज पनि गर्न नसकेकाहरुका चेत खुल्छन् तर समय घर्किसकेकोले उनका चेत नै अचेत हुन्छन्। डामाडोलको जिम्मा एक अर्काको थाप्लोमा थोपर्न थाल्छन् । भिड नारा लगाउन थाल्छ। मनतन्त्र जिन्दावाद !
सिद्धान्तविहीन, उद्देश्यविहीन, लक्ष्यविहीन, भिड विना निशाना लम्किन्छ । इर्ष्यालु भिड उपलब्धिको अत्तोपत्तो विना पाइला सार्छ । थाहा हुँदैन कहाँ पो पुग्ने हो ? के पो गर्ने हो ? गल्ली, चोक, झ्याल, ढोका र बार्दलीबाट पाएको समर्थनले भिड हौसिन्छ । बल र तागत प्राप्त भएको महसुस हुन अस्वाभाविक पनि हुँदैन । जन समर्थन नै भिडको वास्तविक शक्ति हो भन्ने कुरा नकार्ने ठाउँ पनि हुँदैन । जयजयकारको लस्करले पुर्याउँने गन्तव्यको टुङ्गो हुँदैन । भिड बढी रहन्छ । भिड रमाइ रहन्छ ।
शासकलाई यथोचित जानकारी गराउन नदिने गरी पजनीमा बसेकाहरुले पर्दा लगाएका हुन्छन् । यी पजनीवालाहरुले भिडको अन्तरकुन्तर नबुझिकन जयजयगानको फोहराले गाउँसहर सजिएको र जयजयगान भइरहेको कानेखुसी गर्छन् । शासकलाई मस्त निद्रामा सुताउन उनीहरुको पहल जारी नै रहन्छ । शासकको पनि जयजयकार चलि नै रहन्छ । शासकीय मनतन्त्र र भिड मनतन्त्रको शिकार गणतन्त्र हुन्छ । दोहोरो मनतन्त्रका बीचमा हुन सक्ने मध्यबिन्दु पहिल्याउन अगाडि नै सर्प पनि मरिसक्छ लट्ठी पनि भाँचिएको हुन्छ । नरहे बाँस नबजे बाँसुरी !
०००
कैलाली, हाल – थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































