विश्व शाक्यवैकल्पिक दुलाहा दुलही
त्यही भएर आजभोलि छोराछोरीको बिहे आँटिएको छ भने वैकल्पिक बेहुला-बेहुलीको व्यवस्था पनि पहिल्यै मिलाएर राख्नुपर्ने हुन्छ । होइनभने कुनबेला कहाँ धोखा खाइन्छ पत्तै हुँदैन ।

विश्व शाक्य :
भर्खरैको कुरो हो । मेरा एक हितैषी साथी सपत्नी घर आएका थिए । साथी त्यसमाथि पनि सपत्नी घर आउँदा खुशी लाग्नु स्वभाविक नै हो । साथीसँगको भेट सारै रमाइलो लाग्यो । यस रमाइलो भेटघाटलाई अरू रमाइलो बनाउने क्रममा मैले उसलाई आगामी बैशाखमा कान्छा छोराको बिहे आँटेको बताएँ । यो अप्रत्यासित खुशीको कुरा सुनेर उसकोे मुखबाट अचानक “हो र ?” शब्द निस्क्यो । मैले उसको होमा हो मिलाएँ । मैले होमा हो के मिलाएको थिएँ उसले प्रश्नहरूको पेटारो खोल्न थाल्यो ।
“अनि, केटी कहाँकी ?” उसले सोध्यो । मैले भनेँ- “यहीँ पोखराकी ।”
“मागी बिहे कि केटाकेटी आफैँले रुचाएका ?”
“केटाकेटी आफैँले रुचाएका ।”
“आफ्नै जातवर्गी हुन् कि अन्तर्जातीय ?”
“आफ्नै जातवर्गी ।”
साथीले सोध्दै गयो, मैले जवाफ दिँदै गएँ । अन्तमा उसले “ठीक भयो, ठीक भयो सारै बेश भयो ।” भनेर लामो सास तान्यो । मानौँ ऊ ठूलै युद्ध लडेर आएको छ । क्षणिक मौनतापछि उसले मौनता भङ्ग गर्दै भन्यो- “तिम्रो जिम्मेवारी मात्र होइन ठुलै खड्ग तर्यो । आजभोलि छोराछोरीको बिहे त्यत्ति सहज छैन । छोराछोरीको बिहे गरिदिनु भनेको युद्ध लड्नु बराबर हो । कमसेकम तिमीले त्यो युद्ध नलडिकनै विजय प्राप्त गर्यौ ।”
वास्तवमै मैले उसको कुरा बुझेको थिइन । मैले कुरा बुझ्ने प्रयासमा भनेँ- “छोराछोरीको बिहे तिमीले भनेजस्तो किन कष्टकर ? छोराछोरीको बिहे सुखद होइन र ?”
“हो, छोराछोरीको बिहे सुखद हो ।” उसले सहमति जनाउँदै भन्यो- “तर जमाना तिम्रो हाम्रोजस्तो रहेन । अब त छोरीको बिहे आँट्नु पर्यो भने पनि एउटामात्र केटा हेरेर भएन । त्यस्तै छोराको बिहे गर्नुपर्यो भने पनि एउटी मात्र केटी रोजेर भएन । विकल्पमा पनि दुलाहा, दुलही ठीक पारेर राख्नपर्ने भयो ।”
“के कुरा गरेको तिमीले यस्तो ? मैले त छम्कट्टै बुझिन ।” मेरो अनभिज्ञतामा उसले अथ्र्याउँदै भन्यो- “के गर्नु ? समयले यस्तै बनायो । हेर तिमीले व्यहोर्न परेको छैन र तिमीलाई थाहा छैन । आजभोलि छोराको जन्त लगिसकेर पनि वा छोरीको जन्त आइसकेर पनि छोराछोरीको बिहे भैहालिने कुरामा ढुक्क भएर बस्न सकिने स्थिति छैन । के थाहा ? छोरी लिन आउने बेहुलाले नानाथरिका माग राखेर माग पूरा नगरिएमा डोली लाँदैनौँ भन्ने हुन् कि ? त्यस्तो नभनिएको पनि छैन । त्यसैगरी दुलही लिन बाजागाजासहित बेहुला लिएर गयो भरै दुलहीको सिउँदोमा सिंदुर हाल्ने त अर्कै । भयो फसाद ? गर्ने के ? भन्ने के ? दुलहीतिरका परिवारमा अर्की छोरी भए त डोली रित्तै फर्काउन नपर्ला । अर्की छोरी नभएको घर परे बरबाद भएन ? कतिलाई यस्तो भएकै पनि छ । त्यही भएर आजभोलि छोराछोरीको बिहे आँटिएको छ भने वैकल्पिक बेहुला-बेहुलीको व्यवस्था पनि पहिल्यै मिलाएर राख्नुपर्ने हुन्छ । होइनभने कुनबेला कहाँ धोखा खाइन्छ पत्तै हुँदैन । यस मामिलामा तिमी भाग्यमानी रहेछौ ।”
साथीको कुरा सुनेर मेरो आङ् सिरिङ्ग भएर आयो । वास्तवमा कुरा साँचो पनि हो । जमाना पनि यस्तै छ ।
अस्ति भरखरै यस्तै घटना घटित भयो । एउटी केटीको पूर्व प्रेमी रहेछ । बिहे अर्कै केटासँग छिनोफानो भयो । दुलाहा दुलही लिन जन्ती लिएर गयो, दुलहीलाई सिंदुर हाल्न पूर्व प्रेमी आइपुग्यो । दुलाहा हिस्स पर्यो । अर्को घटना दुलही लिन दुलाहा आयो । काम कुरो सकियो । दुलही अन्भाउने बेलामा दुलाहाले दाइजोको लागि माग थप्यो । दुलहीको परिवारको त्यो औकात थिएन । हरिबिजोग भयो । गाउँकै एउटा सहृदयी केटा रहेछन् उन्ले यो बिजोग देख्न सकेनन् । बिनादाइजो उनले दुलहीलाई सकारेर लिएर गए । यस अर्थमा म भाग्यमानी रहेछु ।
०००
पोखरा
फित्कौली, १९, (२०६५ असोज)
Subscribe
Login
0 Comments
Oldest








































