
चपेटाप्रसादको व्यथा
बहुदलीय व्यवस्था आएपछि नाम जुराउँदा अलि विचार पुऱ्याउनु पर्ने। बाजे निर्दल विचारका परेछन् क्यारे । ल हेर्नुस् । भरखर नाम फेरेको तपाईंको छोरा दुई अंगुल बढ्यो ।

आर.सी. रिजाल :
चपेटाप्रसाद एउटै कोखबाट जन्मेका आफ्ना दुईटा छोरा हेरेरै चिन्तित छ । जेठो छोरा बाह्र वर्षको र कान्छो छोरा दस वर्षको छ । तर दुबै छोराको उचाइ भने क्रमशः चार फिट र दुई फिट छ । एक दिन यो घरबूढीसँग सल्लाह गरेर दुवै छोरा लिएर ऊ डाक्टरकहाँ पुग्छ । चपेटेलाई डाक्टरले सोधे “कसलाई के व्यथा लागेर आउँनु भएको ?” चपेटे भन्छ यो मेरो कान्छो छोरो मरिचे दस वर्षको भयो । दुई फिटभन्दा मास्तिर बढ्नै सकेन । उही खुराक खाएको दाजु निर्दलकुमार चाहिँ बाँस जस्तै सर्लक्कै बढेर गयो । कान्छो मरिचे त बाउन्ने होला भन्ने त्रास भयो व्यथाको पत्तो छैन हजुर, जेथा चाहिं खत्तम पार्यो ।”
डाक्टरले “ए बाबु मरिचे यता आऊ त ।” भनी बोलाएर जाँच्न शुरु गरे । केहीछिनको जाँचपछि डाक्टरले “यो बच्चाको दिशा, पिसाव, रगत प्रयोगशालामा जँचाउँने र शिरदेखि पैतालासम्म एक्स-रे गरेर पर्सि बिहान आउँने” भन्यो। चपेटे आत्तिएर सोध्छ- हैन हजुर यो दिशा, पिसावले पनि मानिसलाई होचो पार्छ र ? हजुर । यसलाई ठूलै रोग लाग्यो कि कसो हो ? पैसा थुप्रै खर्च हुने हो कि ? यस्तो महँगी जमाना छ ।” डाक्टरले भने “प्रयोगशालाको रिपोर्ट हेरेपछि मात्र रोग पत्ता लाग्छ । अहिल्यै आत्तिहाल्नु पर्ने अवस्था छैन । खर्च त हुन्छ नै । तपाईलाई धन प्यारो कि छोरो ?”
महँगीको मारमा परेको चपेटे दुई दिनपछि सबै रिपोर्ट लिएर डाक्टरकहाँ पुग्छ । रिपोर्टको अध्ययनपछि डाक्टर साहवले भने “केही रोग पनि देखिँदैन तपाईंको बच्चाको । तपाईंले पोलियो, भिटामीन ए र खोपको नात्रा सबै पूरा गर्नु भएको छ यो बच्चालाई ?” चपेटे भन्छ “जेठा छोरो निर्दलेलाई त केही पनि ख्वाइनँ तर यो मरिचेलाई हजूरले भनेको कुनै कुरा पनि छुटाएको छैन । अझ भिटामिनका झोल र ज्यादै ठूलो मोलका ट्याब्लेट कति ख्वाइयो कति ? तर के गर्नु उही भीरबारीमा हालेको मल मकै भएको छ।” डाक्टर साहवले भने “अब तपाईंको बच्चालाई अस्पतालका डाक्टरलाई नदेखाए हुन्छ । सक्नु हुन्छ भने जानुस् राजनीतिक अर्थशास्त्रमा पी.एच.डी. गर्ने डाक्टरकहाँ । तपाई डा त्रिफलाप्रसाद कुकुरकाटेकहाँ जानुस् । उहाँलाई आजकल फूर्सद पनि छ । राम्रोसँग जाँच हुन्छ । मलाई त तपाईंको मरिचेको अवस्था देख्दा राजनैतिक विकारकाे शिकार भए झै लाग्छ।” चपेटे सोध्छ “हैन हजूर यो राजनीतिको ‘र’ पनि नबुझेको बच्चा कसरी राजनीतिको लपेटामा पर्छ ? अनि राजनीतिज्ञ लपेटामा पर्नेहरु सबै बामपुड्के हुन्छन् त ?” डाक्टरसा’बले भने ‘त्यो हामी जस्तो डक्टरले भन्न सक्तैनौं । अर्थ र राजनीतिशास्त्रमा पी एच डी गर्ने डक्टरहरुले मात्र भन्न सक्छन् ।”
विचरा । चपेटेले डक्टरको कुरै बुझेन । घर फर्केर पुनः घरबूढीसँग सल्लाह गर्छ “ए बुढिया के गर्ने ? त्यत्रो खर्च गरेर डाडाडरलाइ देखाइयो । रोग केही छैन पनि भन्छ, अनि पीचिडी डाङ्डर देखा भन्छ । खै के गर्ने । त्यो डाङ्डर अस्पतालमा आउँदैन रे । कस्तो पिचिडी हो ? चपेटनी भन्छिन् “पेन्सन पाकेर घरमा थला परेर बसेर विमारी हेर्ने डाङटर भएकोले पिचडी भन्या होलान् । त्यो डाङ्डर हो कि झाँक्री सके विमारी बिसोक पार्न बोका, कुखुराको भोलेको सट्टा कुकुर काटेर भोगदिने भएर होला “कुकरकाटे” भनेका । आ । त्यस्ता कुरासँग हामीलाई के को टाउको दुःखाइ ? के गर्नु त ? छोराभन्दा धन प्यारो होइन । हाम्रो कमाई यिनैका लागि त हो नि ।”
अर्को दिन बिहान चपेटे डा. कुकुरकाटेकहाँ पुग्छ । अनि हात जोड्दै डाक्टरलाई भन्छ ” लौ न हजूर अस्पतालका डाङ्डरले मेरो छोरो मरिचेको उपचार गर्न नसकी हजूरकहाँ पठाए ।” चपेटे दुवै छोराको हात माथि उठाएर डाक्टरलाई देखाउदै” यो जेठो हलक्कै बढ्यो तर यो कान्छो मरिचे बढ्नै सकेन । एकै आन्द्राका सन्तान हुन्” भन्छ । डा. कुकुरकाटेले मरिचेलाई नछोई सोध्न लागे “छोराहरुको जन्म साल कहिले ?” चपेटे भन्न “जेठा छोरो निर्दल कुमारको २०४५ सालमा र कान्छो मरिचेको बल्ल २०४७ सालमा मात्र दुई वर्ष फरक हो । हेर्नूस् त हजुर दस वर्षको बच्चा कनीको बैंडा जस्तो छ। बाह्र वर्षे दाजु भने चिचिण्डो जस्तो।” डा. कुकुरकाटेले भने तपाईंले शुरुमै यो बच्चा मकहाँ ल्याउनु भएको भए एक लाल पनि खर्च नहुनेः । यो मरिचेलाई राजनीति चपेटाले झपेटा हानेको छ ।”
चपेटे सोध्छ “हैन हजूर यत्रो बच्चालाई राजनीति के थाहा ? के त हजुर मेरो छोरा मरिचे भविष्यमा मन्त्री होला त ?” डा. कुकुरकाटेले भने के को मन्त्री हुनु ? उही भूत लागे झै वर्तमानका मन्त्रीहरु तपाईंको छाेरालाई लागेका हुन् । तपाईंको जेठो छोरो पैंतालीस साल अर्थात् पञ्चायतकालमा जन्मेकोले बढ्दै गयो र नाम पनि उपयुक्त राख्नु भएछ । के बेला महँगी, खाद्यान्नमा मिसावट, भ्रष्टाचार अहिलेको जस्तो संस्थागत रुपमा मौलाउन पाएको थिएन । अहिले त प्रजातन्त्र भन्नु मात्र महँगीले जनतालाई ड्याँकेको ड्याँकै छ । अझ पनि महँगी र भ्रष्टाचारमाथि नियन्त्रण हुन सकेन भने तपाईंका सन्तान जस्ता भूई नछाड्ने अरु पनि उन्मन्छन् । यो महँगीको जाँतोले थिचिएर यस्तो भएको हो । यो देशका नेताहरूले बोलेको सुनिरहनु भएकै होला । अस्ति मट्टितेलको भाउ दोब्बर बढाए । खुला साँधको कसर देखाएर जनतालाई ठूलो असर पारे । भोलि बिहारको मुख्यमन्त्री खुला साँधबाट नेपाल प्रवेश गरे के गर्लान् ?
२०४६ सालमा आएको प्रजातन्त्रलाई अझसम्म (२०५७ साल) शिशु भन्ने गरेका छन्। शिशु प्रजातन्त्रमा त जनताको यो हालत छ भने प्रजातन्त्र वयस्क भयो भने के हाल होला ?” चपेटे भन्छ” यस्तो कुरा नगरौं हजुर संझदैमा कहाली लाग्छ । अब मेरो मरिचे बढ्दै बढ्दैन त हजूर ?” डक्टर कुकुर काटेले भने “बढ्छ, केही ख्वाउन पर्दैन । यसको नाम मात्र बदल्नु पर्छ ।” चपेटे अनौठो मान्दै भन्छ ” नाम फेर्दा फेरि अर्को अनिष्ट आइलाग्ला कि ? शुभ साहित जुराएर विवाह गरेको श्रीमतीसँग त कहिलेकँही मल्लयुद्धै हुन्छ। झन पुरेत बाजेले पात्रो फर्काई घडी पला जुराई राखेको नाममा त मरिचे बढ्न सकेन । बाजेले जुराएको नाम नबदल्ने कि ?” डा. कुकुरकाटेले भने ‘त्यसो भए तपाईं छोरा अग्लियोस् भन्ने पक्षमा हुनुहुन्न ।” चपेटे दुबै हात जोड्दै भन्छ “त्यस्तो हैन हजुर ! केवल मनको शंका मात्रै हाे,
नाम फेरेर छोरा अग्लो हुन्छ भने फेरी दिनुस्” भन्यो ।
एकछिन डा. कुकुरकाटेले घोत्लिएर सोचे अनि भने ‘ए बाथ मरिचे । तिम्रो नाम आजदेखि ‘महँगीप्रसाद’ । अब यो देशमा महँगी घट्न डर छैन । जुन अनुपातमा महँगी बढ्छ सोही अनुपातमा तपाईंको छोरा पनि बढ्दै जान्छ । यो गल्ती पण्डितको पनि हो । बहुदलीय व्यवस्था आएपछि नाम जुराउँदा अलि विचार पुऱ्याउनु पर्ने। बाजे निर्दल विचारका परेछन् क्यारे । ल हेर्नुस् । भरखर नाम फेरेको तपाईंको छोरा दुई अंगुल बढ्यो । चपेटे डा. कुकुरकाटेको (धनन्जय गोत्रभित्र पर्ने एक थर) जय- जयकार गर्दै घरतिर लाग्छ । बाटोमा चपेटे विस्तारै गुनगुनाउदै ‘कस्तो निष्ठुरी प्रजातन्त्र ल्याइएछ । यसले त अन्जान, अनाथ बालबालिकालाई पनि आफ्नो प्रकोपमा लपेट्दो रहेछ ।”
आजभन्दा भोलि, भोलिभन्दा पर्सि मरिचे बढ्दै बढ्दै गयो। ऊ यस्तरी बढ्यो कि एक दिन “बा बा टाउको एकदम चिलायो कन्याइ दिनुस् म त हातले टाउको नभेट्ने भएछु । बरु पहिलानै सजिलो थियो डाङ्डरसा’बले नाम बदलेर बर्बाद गरे ।” चपेटे भन्छ “म पनि तेरो टाउको कहाँ भेटछु र ? हिँड् त्यो मुडानेर म मुडामा चढेर कन्याइ दिन्छु, नभए भूइर्मां सुत् यहीं कन्याइ दिन्छु ।” महँगीप्रसाद भन्छ “आफूलाई कस्तो चिलाईसक्यो म त यही सुत्छु । छिटो कन्यादिनुस्” भन्दै आँगनमा सुत्यो । चपेटे छोराको टाउको कन्याउदै प्रजातन्त्रलाई खिजाए झैं मुसुमुसु हाँस्न लाग्यो ।
०००
कण्ठ लँगाैटी (२०५७)
Subscribe
Login
0 Comments
Oldest