साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदा गराउने शोक

उनीहरू कुनै बुढो मन्त्री या नगर परिषद्को सदस्यलाई भोकाले रसबरीलाई हेरेझैं हेर्छन् र सोच्छन् - आहा ! दाजै त सत्तरी वर्षका भएछन् । गोडाएक वर्षमा त छुट्टी गराउने भए ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मेरो एउटा सहपाठी सिङ्गा राज्यमा दुई दिनको विदा गराएर मर्‍यो अनि म हीन भावनाले ग्रस्त भएर बसेको छु । म भने अझैसम्म एक घण्टाको पनि विदा गराएर मर्ने प्रबन्ध मिलाउन सकेको छैनँ भन्ने सोचेर चिन्तित हुन्छु । हामी दुई पूmलहरू एकैसाथ फुलेका थियौं, स्कुलमा एउटै बेन्चमा बस्थ्यौं, सँगै बदम खान्थ्यौं र एउटै किताबबाट चोरी गथ्र्यौं । तर भाग्य फरक फरक भयो, ऊ विदा गराएर मर्‍यो भने म शोक सभाहरूमा उसको गुणगान गर्दै छु ।

आज स्कुलको मास्टरीको निकै सम्झना आउँदै छ । उसले नोकरी नछोडेको भए स्कुलमा एक दिनको मात्र विदा र शोकसभा हुन्थ्यो । निकै निम्नस्तरका शिक्षकको निकै उच्चस्तरीय शोकसभा गराइसकेको छु मैले । एउटा झिनो आशा के छ भने जुन स्कुलमा मैले कैयौं वर्ष काम गरें सके त्यहाँ एक दिनको विदा दिइएला कि ? तर दिइँदैन । त्यहाँ मैले हडताल गराएको थिएँ र म्यानेजर अहिले पनि उही छ । उसले विदा त पक्कै नगर्ला । म्यानेजर फेरियो भने त आशा छ है ! तर मजस्ता दशजना नमरेसम्म म्यानेजर फेरिन्न । म्यानेजर अमर छ र शिक्षक क्षणभङ्गुर छ ।

मेरो त्यो सहपाठी पहिले ठेकेदार बन्यो, फेरि विधायक अनि मन्त्री बन्यो । उसले मन्त्री रहेकै बेलामा मर्नु ठिक ठान्यो । अस्थिर सरकारको क्रम चलेको समयमा विदा गराएर मर्नु छ भने सही समय चुन्नुपर्छ । केही दिन ढिला गरेको भए पुनर्गठित मन्त्रिमण्डलमा रहँदैनथ्यो, अनि त टोलको स्कुलमा पनि विदा हुँदैनथ्यो । त्यो मेरो साथी कस्तो मिलाएर मरेछ भने उसको शासकीय शोक समाप्त हुनासाथ नयाँ मन्त्रिमण्डल बन्यो । यस्तो समय मिलाएर मर्‍यो कि आइतवार पनि जोगियो (आइतवार विदा, अनुवादक) । उसले आफ्नो नामको छुट्टी गरायो, त्यो छुट्टै । नत्र मैले यस्तायस्ता मूर्खहरू पनि देखेको छु जो बिसबिस वर्षसम्म मन्त्री भएर पनि शनिवारको राति मर्छन् अनि उनको नामको विदा आइतवारमै मिसिन्छ ।

उसको हृदयको गति पनि सही समय हेरेर रोकिएछ । त्यसो त उसको हृदय त ठेकेदारीको समयमा नै फेल भइसकेको थियो । देशको यस दौरमा हृदयलाई सहीसलामत राखेर कसैले पनि उन्नति गर्न सक्दैन । ठेकेदारी सभ्यताको ठुलो वैज्ञानिक देन हो जसमा सफल मानिस फेल भएको हृदय लिएर पनि जीवित रहन सक्छ । ठेकेदारी गर्दागर्दै जति बेला उसको हृदय फेल भयो त्यति नै बेला ऊ विधायक बन्यो । विधायकहरूको परिचयपुस्तिकामा उसको परिचय फोटोसहित छापिएको थियो । पत्रकारहरू उसलाई सोध्थे अनि उसले उत्तर दिन्थ्यो । विश्वशान्तिको उपाय उससँग थियो तर ऊ बताउँदैनथ्यो । ठुला वैद्यहरू यस्तै त गर्छन् नि ! एकदिन अन्तर्वाताका क्रममा पत्रकारले उसलाई सोधे -‘तपाईंको हबी (सोख) के हो ?’ उसले भन्यो -‘मेरो सोख मानवतावाद हो ।’ मैले भनें -‘यार, मानवतावाद पनि कुनै सोख हुन्छ ?’ उसले भनेको थियो -‘गान्धीजीको सोख पनि त मानवतावाद थियो नि !’

म उसको सोख मानवतावाद नै हो भन्ने कुरामा र ऊ अझै चुलिन्छ भन्ने कुरामा विश्वस्त भएको थिएँ । ऊ चुलियो पनि र ठिक समय चुनेर मर्‍यो पनि । सरकारी शोकको घोषणा पनि भयो । झन्डाहरू पनि झुकाइए । स्कुलबाट फर्किरहेको केटासित मैले सोधें, ‘किन फक्र्यौ त ?’ उसले भन्यो, ‘विदा भयो । कोही मरेछ ।’ जिल्ला अदालतको लेखनदासले भन्यो, ‘विदा भयो । कुनै मन्त्री मरेछ ।’ सरकारको आदेशले सिङ्गो प्रदेश शोकमा डुबेको छ । केटाहरू जसलाई चिन्दा पनि चिन्दैनन् उसको शोकमा डन्डीबियो खेल्दै छन् । लेखनदासहरू दुःखमा ब्रिज खेल्दै छन् । हाकिमहरूले भोलि त विदा हो भनेर बिहानसम्मै पिइरहेका छन् ।

उता धर्मराजले मेरो सहपाठीसँग सोध्दै होलान्, ‘जसको मृत्युमा मानिसहरूले छुट्टी मनाइरहेका छन्, हाँसखेल गरिरहेका छन् र सक्सी पिइरहेका छन् भने त्यो मान्छे त खराब हुँदो हो नि हगि ? अनि तिमीलाई नर्कमा किन नपठाउने ?’ अनि उसको वकिलले भन्यो होला, ‘श्रीमान्, जसले मरेर लाखौं दुःखी प्राणीहरूलाई दुई दिनको विदा दिलायो, खेलकुद गर्ने मौका दियो भने त ऊ यत्तिकै पुण्यले मात्र पनि स्वर्ग जाने अधिकार राख्दछ । तपाईंले त गजेटेड छुट्टीमा मर्नेलाई पनि स्वर्गमा पठाउनुभएको छ भने यो त आइतवारलाई पनि जोगाएर मरेको छ ।

तर म भने अझै पनि उसलाई स्वर्गीय भन्न सक्दिनँ । कुरो के छ भने यता छानबिन आयोगमा उसको विभागमा अनिकाल राहत कार्यमा भएको घोटालाको मुद्दा छ । परलोकमा अझै मामिला पेन्डिङमा होला अनि उसले कुनै धर्मशालामा बसेर छानबिन आयोगको निणर्य पर्खिरहेको होला । तर सरकारी सूत्रको भनाइ के छ भने यता राहत कार्यको पैसा खाँदैमा उता उसको मुद्दा बिग्रिन्न रे ! भगवानको समानान्तर राहत कार्य चलिरहन्छ रे ! त्यसै अन्तर्गत मन्त्री, अधिकारी अनि ठेकेदारहरूले पैसा खान्छन् रे ! उसले सानातिना मान्छेको पैसा खाएको हैन रे ! उसले त भगवानको राहत योजनाको पैसा पाएको रे !

मैले एउटा शोकसभामा मा उसका विषयमा भावुकतापूर्ण भाषण गरें । भनेको थिएँ, ‘उहाँको मृत्युबाट भएको रिक्त स्थानको पूर्ति हुनु कठिन छ । (जसले खेडेरीग्रस्त चौपायाको घाँससमेत पनि खान सक्छ त्यस्तो मान्छे सधैं जन्मिँदैन ।) फरि भनेको थिएँ, ‘अब हामीले उहाँबाट प्रेरणा लिएर उहाँको यस महान् कार्यलाई अझ अगाडि बढाउनु नै आजको समयमा हाम्रो परम कर्तव्य हो । (अर्थात् अर्को अनिकाल पर्दा राहतको पैसा हामीले खानुपर्छ ।) राहत विभागमा मानिसहरू भने साँच्चिकै निकै दुःखी थिए । रुँदै थिए र भन्दै थिए, ‘यस्तो उदारहृदयका व्यक्ति अब रहेनन् ।’ अनि आँसु पुछेर भने, ‘तर सालेले हामीलाई भने फँसाएर गयो ।’ मलाई पनि के लाग्दछ भने मेरो सहपाठीले प्रसिद्ध राहत घोटाला काण्डलाई सामसुम पारेर जानुपथ्र्यो ।

सरकारी शोक समाप्त भइसकेको छ । यस देशमा हुने एकमात्र शोक भनेको सरकारी नै हो । कहिलेकाहीँ मेरो मन कुनै शोकमा रुन खोज्छ तर रुँदैन किनभने सरकारको आदेश भएको हुँदैन । जलपाईगुडीमा हजारौं मानिसहरू बाढीमा परेर मरे तर झन्डा झुकेन र न त सरकाले नै यसलाई शोकका निम्ति उपयुक्त अवसर नै ठान्यो । यो त निजी दुःख हो । बङ्गालमा मन्त्रिमण्डल छैन । यदि हुन्थ्यो र कुनै मन्त्री बाढीको समयमा मथ्र्यो भने सरकारले भन्थ्यो -‘हेर मनुवाहो ! तिमीहरूका बाउ, दाजुभाइ, आमा, स्वास्नी, छोराछोरी मरेका भए त ठिकै हो । किराहो ! तिमीहरू त मर्ने नै हौ र मरि नै रहन्छौ । तर यी जुन सक्कली हिराको मृत्यु भएको छ त्यसका लागि दुई दिनको शोक मनाओ ।’

दुई दिनसम्म त उसको शोकमा तिनीहरूले पनि छुट्टी मनाउने भए जो मर्न लागेकालाई बचाउने काममा खटिएका छन् ! त्यसपछि त बाबुले सरकारबाट अनुमति लिनुपर्ने छ, ‘हजुर, मेरा बाउ मरेका छन् । तपाईंको आदेश पाए म पनि रोऊँ कि ?’ सार्वजनिक शोक त केवल राजनीतिवालाको मात्र हो । जो राजनैतिक सत्तामा रहेका बेलामा मर्छन् राष्ट्रले तिनका नाममा मात्र आँसु चुहाउँछ । निराला चाहे युगान्तकारी कवि हुँदा हुन् तर उनी इलाहावाद नगरपालिकाका सदस्य पनि थिएनन् भने उनको शोक कसरी सार्वजनिक हुन्छ ? जतिसुकै ठुलो कवि मरोस् न, राष्ट्रलाई के ? तर यदि पुलिसमन्त्री मर्‍यो भने राष्ट्र कल्पेर रुन्छ, ‘ओहो ! दिनदिनै लाठीचार्ज गराउने मेरो लाहाडे गएछ । अब यति रुचिपूर्वक लाठीचार्ज गराउने को भेटिएला !’

भर्खरै जब हरिजनहरूलाई जिउँदै जलाइँदै थियो तब मलाई लागेको थियो यो राष्ट्रिय शोकको अवसर हो । यति बेला त राष्ट्रध्वज धर्धरी च्यातिएला, संविधानको आँसु बग्ला र गान्धीजीको मूर्तिले टाउको ठोक्ला । तर केही पनि भएन । गान्धीजीले ‘हे राम !’ भने होलान् । तर रामले त आफैं शम्बुक नामको हरिजनलाई मारेका थिए । उनले कुनै एक्सन लिने कुरै भएन किनभने उनी पहिले नै कमिटेड छन् ।

मेरो सोचको नै गलत थियो । यो वर्ष त गान्धीको शतवार्षिकी पो हो । कम्तीमा सयजना हरिजनहरूलाई त जलाउनै पर्‍यो नि ! अहिलेसम्म चारजना मात्र जलाइएको समाचार आएको छ । सवणर्ीहो ! छिटो गर । केही लाज त मान । दुई महिनामा चारजना मात्र हरिजनहरूलाई जलायौ भने दुई अक्टुबरसम्म सय जना कसरी पुर्‍याउँछौ ?

कुनै सर्वोदयीले त्यति बेला भनेका थिए – हरिजनहरू पनि यसै धर्तीका सन्तान हुन् । सही हो । अहिले मैले हेर्दै गर्दा बिसपच्चिस यी सन्तानहरूका छाप्राहरू मातृभूमिको शरीरबाट हटाइए । त्यो भूमि उनीहरूको थिएन । तर के उनीहरूको भूमि छ त कतै ? एउटा लासका लागि जति भूमि चाहिने हो त्यति नै उनीहरूलाई छाप्रो हाल्न चाहिन्छ । तर यी मूर्खहरूको गल्ती त के भयो भने उनीहरूले त्यति भूमि उनीहरूको जीवनमा मागे ! सबै अधिकार लासको भागमा परेको छ भन्ने पनि थाहा भएन कि के हो यिनीहरूलाई ?

सबै मातृभूमिका सन्तान हुन् – सही हो । तर मातृभूमिको एउटा स्तनमा दूध छ र अर्कोमा विष छ । यिनीहरू विषालु स्तनमा टाँसिएका छन् । शिशुले कहिलेकसो दूध भएको स्तनतिर मुख घुमाउन खोज्छ, अनि पिटाइ खान्छ । जो दूधालु स्तनसित सम्बन्धित छन् तिनले स्तनमा दुहुने मेसिन लगाएका छन् । स्वचालित दुग्धदोहन यन्त्र । उनीहरू साह्रै अश्लील तरिकाले दूध पिउँछन् ।

यता यिनै माताले दुबैबाट एकै प्रकारको भक्तिको आशा पनि गर्छिन् । मातृभूमिको भक्ति आयकरको हिसाबले हुनुपर्छ । अब देशमाथि आक्रमण भयो भने शत्रुका अगाडि पहिलो पङ्क्तिमा तिनलाई उभ्याउनुपर्छ जसको जति धेरै आयकर बक्यौता छ । जसले दूध पिउँछ उसले तिर्नु पनि पर्छ । जसले विष पिउँछ ऊ पच्चिस रुपियाँ मासिक तलबमा सिपाही बन्यो अनि उसैले ज्यान दिएर मातृभूमिको कुनै भागको रक्षा गर्‍यो । अनि हामीले, ऊ मरेको ठाउँमा उद्योग खोलिदियौं । उसको रगतमा नयाँ कारखाना बनाइदियौं ।

तँ फेरि बरालिइस् परसाई । फर्की, ठट्यौलीमा फर्की । हुन्छ, फर्कें । कुरो सार्वजनिक सोखको थियो नि ! एउटा कुरामा भने सावधान गराउन चाहन्छु । ठुलाको मृत्युको छुट्टीले एउटा डरलाग्दो कुरो उत्पन्न हुँदै छ । कर्मचारीहरूलाई छुट्टीको लोभ लागेको छ । उनीहरू कुनै बुढो मन्त्री या नगर परिषद्को सदस्यलाई भोकाले रसबरीलाई हेरेझैं हेर्छन् र सोच्छन् – आहा ! दाजै त सत्तरी वर्षका भएछन् । गोडाएक वर्षमा त छुट्टी गराउने भए । ‘दाजु, अलि छिटो गर्नुस् न ! छ महिनादेखि कुनै पनि शोकविदा भएकै छैन । एक दिनको विदा त गराउनुस् ।’

०००
परसाई रचनावली ३, बाट ‘छुट्टीवाला शोक’काे नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x