नरेन्द्रराज पौडेलजय बोकाराज
सक्नेले जोजसलाई पनि लुट्न पाइने आफ्नै भाषण वर्षाले असिनापानी बिर्साउनेगरी जनतालाई चुट्न पाइने के मज्जाको हो त नि यो बोकाराज्यको संसार पनि ?

नरेन्द्रराज पौडेल :
बोकाराज अर्थात् बोकाको ताण्डव नाँच ।
बाँदर सर्प र भालु नचाउने जादू खेला त पुरानै हो । बालकको मुख छोपेर भनेअनुसार बकाउने या तासका पत्ति फिटेर उल्टो सुल्टो देखाउने जादू पनि देखिआएकै हो तर यो बोकाको ताण्डव भन्ने चैँ कुन ड्याङको उट्पट्याङ खेला रहेछ भनेर एक छिन भुलभुलैयाको फेला पर्न सक्छौँ तपाईं हामी सबै । खण्डवदाहपछि पाण्डवहरूले पनि यो ताण्डव देखे देखेनन् शङ्कै छ । लङ्कै पुगेका रामचन्द्रले भने अवश्य देखे हुनन् भन्ने अड्कलसम्म काट्न सकिन्छ ।
साँच्चि नै यो अरुभन्दा झनै कडा र चक्मा दिने खालको जादू जो परेछ । उसै त छुस्स दारीमा झुसेबाली फैलिएको टाँगन बिर्साउने सुपर बोको इन्द्रजालीे माष्टर बनेर कतिबेर उफ्रिन्छ कुद्छ, उवातात्त वात्त गर्दै बाख्रीको पछि लाग्छ ठिगानै न हुने । अरु काम नपाएकोले गर्भाधानको सिजन आउनु पर्दैन सबै सिजन उसका लागि रिजनफुल जो बनिदिन्छ । आङमा लुगा भिर्दैन, मानो कुराका चुचुराले नै उसको लाज छोपिन्छ । याने कि जो छ सो दिगम्बर भएर या नग्नतामा नै ऊ रमाउँछ ।
उता बोकाको दाइँ भन्ने पनि उहिल्यैदेखि सुनी आएकै कुरा हो, असमर्थलाई समर्थवान बनाएर गरिने राइँदाइँँ भन्ने बुझिन्थ्यो । शब्दसंहितालाई भ्रामक व्याख्याको उझिण्डोमा झुण्ड्याएर फितलो र नचाहिँदो कुराको रूपमा लिने गरिन्थ्यो तर यहाँ त दाइँमात्र होइन रजाइँकै बात पो जो भइरहेको छ । जो प्राणी जन्मजात बैगुनी गुनिलो अहंकारी साधु अनि घमण्डी र परोपकारी पनि ठानिन्छ बहुचरित्रको छत्रिधारी पनि भएकाले उही राजा ? जसलाई आफ्ना भाकल पूरा गर्न वली चडाएर मार हान्ने गरिन्छ उही राजा । बाघको छाला ओडेर श्याल नै जङ्गलको राजा बन्ने यो देशमा बाख्रीपुत्र बोकालेमात्रै श्रमिक जनको छाला काडेर त्यसैमाथि ढलीमली रजाइँ नगर्नु भन्ने कहाँ चै लेख्या छ र ? आकाश पाताल जोरेर फट्याइँका फट्किरी चबाउँदै वातवात मात्रै गर्नुपर्छ ताजा । अनि त बेरै नलाग्ने बन्नलाई पशुवालीको राजा । तब त पछि पनि लागी पो हाल्छन् सुकुमारी पठ्याङ्ग्री ताजा ताजा ।
बाख्रीबुढीका सुपुत्र एकाएक पशुराजमात्र हैन मुसा छुचुन्द्राका सिकन्दर याने कि सम्राट नै बन्न पुगिसेपछि त्यो देशको हविगत पनि त एकाएक नसप्रिने चान्स नै रहेन । गरिब गुरmवा सर्वहाराको रगतपसिना हाकाहाकी लामो हात गर्नु अर्कै कुरा हो तर जसले जति नै थर्काएर कुरा गरे पनि आफू हजूर लुटपाट ठगीका खतबातमा पर्ने त चान्स नै रहेन । लामा पाँसुल्ला सधैँ लम्किने या कतै लुटलाटमा बोकाज्यूको हात साथ रहेर रङ्गेहात भेटिए पनि पुलिस ज्यूले आप्mना जब्बर दन्त लहरले माकमुक ठोकठाक परेर या अचानोमा राख्तै कम्मरकै खुकुरीले बजाएर त्यस्ता दसी परमान वा वाधा बन्धनजति छेउटुप्पै छिनाली दिने भएकाले बोका हजूरको साम्राज्य निस्कण्टक रहनेमा अण्टसण्ट सन्देह रहने कुरै भएन । भारेभुरे बाथकै शैलीमा अरुजति आउट केवल उहाँको सस्वर गाना गाउँने काम नै राष्ट्रिय एजेण्डा बनेपछि अरू उनाउ सव नाउँबेगरका हण्डा चिण्डा साबित भैदिँदा बोका ज्यूको छवि पनि ज्यानमा बोसो र पाइन रहेसम्मलाई सधै क्रिष्टल याने निश्छल स्वच्छ सफा र अझ बासनादार रहने कुरालाई कुकुरा सम्झनु पर्ने अवस्था, व्यवस्था अवश्य आउन्न, जोजस्ता वैरीले जेजति गरून् न ध्याउन्न ।
उहिले देउता र दानवले आप्mना देशप्रदेशमा राज्य गर्थे अरे तर धेरथोर साँध मिच्ने दुब्लालाई तल पारेर बलियाले थिच्नेसम्म त भइरहन्थे । यसअतिरिक्त दानव र देवताहरू अर्काको राज्यमा कूटनीतिको जाल बिछ्याउँथे । आआफ्ना गौरव गरिमाको हल्ला मच्चाउँथे । शासक फेरिँदा गडबडी पनि भैरहन्थ्यो । दानवले सकेजति देवतामाथि जाइलागेर लुटपाट मच्चाउँथे । ऊँट खच्चरमा लोड गरेर जितको धनमाल अमाल कचहरी बेगर नै आफ्नाे राज्यमा भित्राउँथे । यो मच्चाउने र मच्चिने कुराको नसामा परेपछि सच्चिने कुरा सबै भुलिदिन्थे । आफ्ना पाल्तु घोडा भैंसी सँगुर लगायत जनावर छाडा छोडेर उताको बालीमा हुलीदिन्थे । सवैले नियम विनियम नीति औकात र साँधसीमा भुलिदिन्थे । अहिले यो बोकाराजमा पनि सोही कुरो लागू हुँदैछ भन्ने सुनिदै छ । बुझिँदै छ ।
प्रागऐतिहासिक गुफा कन्दरा नगरमा मम्मथ डिनोसारले साम्राज्य चलाउँथे तर अहिले उल्टो सुन्नुपर्यो । ममम्थ डिनोसारहरू आआप्mना वंश विनाशको प्रलयमारमा परेर बैता लागेपछि कसले खोज खवर गर्ने खै ? जो गए गए नआउने बाटा लागेपछि इतिहासका घुइरो घुइरो काल्पनिक पात्रमात्र बाँकी रहे । यतिबेर उल्टासुल्टा सबै बात जो हुन थाले । आगन्तुक बोकाले पाउ जमाएर राजपाठ समातेपछि रैथाने भेडाबाख्रा सब जिल्लाराम परे ।
कुराको प्रसङ्गलाई सप्रसङ्ग गेडो छोडाएरै भन्नुपर्दा सोझा सन्त जनताले आवाद गरिआएको एकादेशको हिमाली राज्यमा एकाएक नयाँनौला बोकाज्यू देखा परे । आगन्तुक बोकाबारे विभिन्नथरी चर्चा विश्लेषण हुन थाले । युरोेप अमेरिका डुलीभ्याएर फर्किएका विद्वन्त जनहरुले नयाँ प्रजातीको देखिने बोकाबारे आआप्mना उपबुज्रुकीपूणर् जानिफकारी प्रकट गरे । थिङ्कट्याङ्क भनिने ट्याम्काहरुले पट्याङपुटुङ बजेर औतारी बोकाज्यानको जयघोष गरे । कसैले अनुहारको लक्षणले नै यो मौका पर्दा बटारिएका सिङ निकालेर अरुलाई दबट्ने साइबेरियन या बबेरियन गोट हो भन्ने अनुमान गरे । कसैले सिङ चैँ लामा लामा ज्यान भने मल्यान्द्रो लाग्ने पानीआन्द्रे इण्डियन गोट भनेर परि लगाए । कसैले भुत्ला सुँडो हेरेर अलास्काली गोटकै खलक हो भन्ने अठोट लगाए । कसैले अल्लाहको लागि बकर ईदमा बलिदान गर्न पालिने अरेबियन बकरीको भाइछोरा भन्ने अनुमान लगाए । अरू अरूले अरू नै अनुमान भजाए र आप्mना सन्देह भगाए । अप्रत्यासितरूपमा आँगनमा आइपुगेको घोर्ले बोको देखेपछि मान्छेपिच्छेका चर्चा चले । चल्ने नै भए ।
यस्तै यस्तै अनेक थरीका चर्चा विश्लेषण हुन थालेपछि बोकाज्यूको पनि ह्वात्तै भाउ बढेर हाउगुजी बन्न पुग्यो । कतिले चानचुने बोको न भएर खाँटी मेक्सिकन नस्लको बाख्रीपुत्र भन्ने अनुमान गरेर तारिफको पर्चा छरे । कतिले नर्डिक वंशको च्यङ्ग्राको औरस सन्तान भन्ने अनुमान गरे कतिले युरेशियन गोट फ्यामिलीमा पर्ने विकासे बोको भन्ने अनुमान गरे । अब यसले देशविदेशबाट सहायता राशि ल्याएर काशीवासको साटो सिधै स्वर्ग उकालिदिन्छ भन्ने आशामा रनभुल्ल परेर भुिलए ज्येष्ठ नागरिक जति । भएभरका बाख्राजतिले बोकाबाट के के न विदेशी सौगात पाएर आप्mनो औकात हलहली बढाउँने आशामा पछि लाग्ने निधो गरे ।
त्यतिमात्रै कहाँ हो र ? भौतिकरूपमै पनि बोकाज्यूको हैँसियत साउनका लाब्रे कीरा बनेर हलहली बढ्यो । ठाडा रौँमाथि तेर्सा झुस पलाए । अलास्काली भेडालाई उछिनेर लुकाउन र देखाउन मिल्ने बटारिएको लम्बेतान सिङ पनि पुर्पुराकै छेउ पारेर उम्रियो । सहकारी बारीमा सप्रिएको हरियो बन्सो हसुरेर बोसो भरियो । आङमाथि बोसोसँगै मासु थुप्रिएर जुरो ठडियो । पुच्छर लम्बियो । अलि दिनपछि फेरि गिनेरीको सेउला खाइसेछ र हो कि मेक्सिकन बोकाकै पाराले जिउ छोटो सिङ लामा देखिएपछि बौलाएर बक बक गर्न पनि थालिसकेको थियो ।
बोकाज्यूले जादूको शिक्षा पनि उतैतिरबाट लिएर आइसेछ । यो देशमा पदार्पण गर्दै लाब्रे किराको अवतार लिएर केटाकेटी बुढाबुढी नामर्द असक्त र लोभीपापीजतिलाई लोभलालचका जालमा पारेर दङ्ग्याइस्यो । रोज्जा रोज्जा पठ्याङ्ग्री बाख्रीहरू कुनै पुच्छरको फेर समातेर पछि लागे । कुनै गर्धनका लामा रौँ समातेर हलगोरूको शैलीमा नारिए । कुनै फिलाका झाँपुल्ले फेर समातेर जारी खर्च असुल्ने बबाल गर्न थाले । सहकारी खेतीमा जनताले उमारेका पोषिला पालुवा चरेर बोकाज्यूको जिउज्यान पनि ठोक्रे बनेर घोक्रियो । “हामी भोका नाङ्गा मनुवा हजूरकै लागि बली चड्न जन्मिएका हौँ ।” उनीहरु बकपत्र गर्न थालेपछि बोकाज्यूका जुँगामाथि ताउ चडे । उनका छरछिमेकी अगुवा पछुवाका भाऊ बढे । सक्नेले जोजसलाई पनि लुट्न पाइने आफ्नै भाषण वर्षाले असिनापानी बिर्साउनेगरी जनतालाई चुट्न पाइने के मज्जाको हो त नि यो बोकाराज्यको संसार पनि ? उत्तरी ध्रुवको भालु बिर्साउने र गुरुत्वाकर्षण थियोरीलई मुक्का हानेर भिरालो चट्टान चड्ने अफ्रिकी गोटलाई समेत माथ गर्दै फट्याइँका विस्फोटनले सबलाई बेहोश पारिदिने शक्ति पलाएछ बोकाज्यूमा । त्यसैले अब सबैले भनौँ जय बोकाराज ।
०००
नयाँ बानेश्वर काठमाडौं ।
फित्काैली अङ्क ४२ (२०८१, असार साउन)









































Dhanyabaad fitkauli prakashankalagi