रामकृष्ण ढकालशुद्धिबुद्धिबिहिनस्य ढाडी राज्यम तथैवच:
अनि तिनकै कमाइको रेमिट्यान्समा रमाउन पाएसम्म विदेशी इन्जिन हालेका नेपाली ढाडीहरूले सास सासमा नबिराइ नचुसे के गरून् । शुद्धिबुद्धि बिहिनस्य ढाडी राज्यम तथैवच भन्ने गरिएको त्यसै त कहाँ हो र ?

रामकृष्ण ढकाल :
आजकाल यो विक्रम सम्वत् २०८० आसपासका केही वर्षहरूमा बड्डाहरूका अड्डा यतातिर निके बढेको जस्तो छ । फलैंचा हराए पनि गलैंचा नहराउनु एकाबिहानै देखि बड्डाहरू बाटो बाटोमा कराउनु बिच बिनाकुनै झेल भएको छ मेल । त्यतिमात्र कहाँ हो र ? कोहि बोक्छन् जटामसी पाँच औंले कोहि लिन्छन टिम्मुर, कसैसँग हिङ कपुर कसैकसैले त जिम्बु । कुनै चिजको भाउ सोधे ब्याख्या गर्न चम्बु । यस्तै देखियो आज बिहान आफ्नै घरको टोलमा स्वीटरको भाउ सोध्दा पार्यो रनभूलमा । हातले बुन्या स्वीटर अरे महङ्गो पर्न जाने, बेच्नेले नै पहिल्यै भन्दियाे सुन्ने मात्र गर्छन् धेरे थोरै हुन्छन् लाने ।
हुन त बजारमा बजारिएपछि र साउकोमा पसेर भाउ सोधेपछि राहूलाई दाउ दिएजस्तो भएको त कति छ कति । पसलमा पसि भाउ सुन्दा आजभोलि लाग्छ पसलेको बोली सँच्चै अदृश्य गोली । सामान किन्नै पर्यो भने दिनुपर्ला जस्तो हुन्छ पेन्टीबाहेक सबै खोली । कहाँनेर पर्छ कुन्नी महङ्गीको मुहान, जुन पसलमा गएपनि भन्यौं जस्तो लहान । यति महङ्गो मूल्यमा बजारको सामान किन्नसक्ने औकात कसरी देख्छन् कुन्नी बजारियाहरूले हामीसित ? यस्तो औकात भएको भए टाँडी र माडी त के मेचीदेखि महाकाली पारि पारि झन्डै खाली लर्को लागी युरोप खाडी किन जान्थे चिलगाडी । रित्तो आकाशमा भरिएका बाकसका लाम लिपुलेकदेखि पूर्व इलामसम्म डम्म हुँदाहुँदै पनि जान्दाजान्दै पनि ज्याद्रै पो बढेको छ त महङ्गी ।
कुर्सिमाथिका ढाडीहरूले जनताले साडी लाउन पाओस् कि नपाओस् रेमिटेन्स नामको रगतमा थुतुनो गाडी गाडी पिएर मोटाउन पाएपछि जनता सबै मरिरहोस मेरै भुँडी भरी रहोस् काे महामन्त्र जपेर कानमा तेलमात्र होइन तेलभित्र पूरै कान डुबाउँदैमा मक्ख । हामी लाटासुधा प्रत्येक पाँच वर्षका फरकमा तिनैलाई भोट हालेको चोट सह्यो बस्यो । आफू ताक्छ मूढो बञ्चरो ताक्छ घुँडो भन्ने उखानले मात्र खान नदिने छाँट ल्याएपछि गाँडतान्त्रिक शैलीमा आफू ताक्छ नेता नेता ताक्छ त्यता भएको हामिले कहिले बुझ्ने खै ! ।
प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीले पनि विद्यालयको साप्ताहिक अतिरिक्त क्रियाकलापमा रचना सुनाउँदा देशका लगाम समाउनेहरूका कर्तूतका बारेमा कडा ब्यङ्ग्य लेख्न भन्न थालिसके तिनका बाउलाई भने राष्ट्र खत्तम पार्ने राहुहरूको झोला बोक्दा बोक्दा र पाँछ मिनेटमा हालेको भोटको चोट सहन नसकेर आफ्नै टाउको ठोक्दा ठोक्दा फुर्सदै नहुने । किन चाउरिस मरिच आफ्नै पिराले केले रुवायो जन्ता आफैंले भोट हाल्या कीराले । यस्तै नभा भए बजारमा बजारिएपछि मरणासन्न थिल्थिलो किन भइन्थ्यो ।
अँ साँच्चै यो बुद्धको देश परेको बुद्धिको देश नपरेकोले पो यस्तो भएको हो कि !! हुन पनि जसो जसो विदेशी बोले उसै उसै स्वाहा , त्यसो गर्दा कहाँ पुग्यौं भन्ने कसलाई के थाहा भन्नै पर्ने भइसकेको छ । उहिल्यै काँडा भनेर पन्छाइएका राणाका पालामा देव समशेरले जनता पनि भेडै रहेछ भन्थेरे । अहिले आएर त्यो भनाइ आजका एकोहोरो विदेशको रटन खटन मात्रको भ्या….. भ्या…… गर्नेलाई नै खासमा भनेका हुन जस्तो लागेको छ । अ आ इ ई र क ख ग घ पनि पढ्न नजान्नेको नोकरचाकर हलि गोठाला भान्से भाँडा माझ्ने नरभकारे हुन पाए चन्द्रलोक विजेताभन्दा पनि औधी ठूलो हुन्थें भनेर सोच्ने र गर्नेको इज्जत कस्तो भनेर सोच्ने । यस्तै दिन आउँछ भनेर जानेको भए यिनै महा खत्तमहरूका लागि भनेर अमरसिंह थापा, भक्ति थापाहरूले ज्यान फाल्थे होला त ? यसतर्फ सोचिदिने कसले ?
कत्ति न आधुनिक भनाउँदा मनुवाहरू बाँदरका सन्तानको भाषामा खोक्न सिकें भनेर पैसा र विदेशविदको कापमा खै के अड्किएर पो मर्दैछन । हुन त बुद्धको देश मास्न पल्किएका सल्किएका बुद्धुहरूले यस्तो केही सिकिहाले भने त बरबाद भनेर नसोचेका होइनन् होला । सानै हुँदा क ख पढाएको भएको यहिं पख गरेर बस्थे । पढाउनै ए बि सि डि पढाएपछि भेडाभेडी नभेर के गरून् । अनि तिनकै कमाइको रेमिट्यान्समा रमाउन पाएसम्म विदेशी इन्जिन हालेका नेपाली ढाडीहरूले सास सासमा नबिराइ नचुसे के गरून् । शुद्धिबुद्धि बिहिनस्य ढाडी राज्यम तथैवच भन्ने गरिएको त्यसै त कहाँ हो र ?
०००
२०८१ मङ्सिर ३०
रत्ननगर टाँडी , चितवन
Subscribe
Login
0 Comments
Oldest







































