चिरञ्जीवी दाहालसंवाद र बिजुली पानी
संवाद गर्दा धेरै कुराको विचार पुर्याउनु पर्ने हुन्छ । गीता जस्तो ग्रन्थ तयार हुने गरि संवाद गर्ने हो अथवा मेरो जँड्याहा साथी जस्तै मटियामेट हुने गरि संवाद गर्ने हो आफ्नै हातमा छ ।

चिरञ्जीवी दाहाल :
एकताका हाम्रो छिमेकमा एकजना नामी जड्याहा थिए, कुनै समय ती मेरो मन मिल्ने साथी बने । जब उनीसँग भेट हुन्थ्यो बिजुली पानीको महिमा सुनाउन सुरु गर्थे । उनका अनुसार “दु:ख पीडा भुलाउने र मनमा एक प्रकारले आनन्द दिने वस्तु हो बिजुली पानी ।” म भने बिजुली पानीले पुर्याउने हानी बारे वर्णन गर्थेँ । हाम्रो हरेक भेटमा बिजुली पानी विषयको संवाद पहिलो प्राथमिकतामा पर्ने गरेको थियो । उनी सधैँ बिजुली पानीको पक्षमा वहस गर्थे भने म विपक्षमा वहस गर्थेँ । यो संवाद महाभारतको युद्ध भएको दिन जति अर्थात् लगभग अठारदिनसम्म जारी रह्यो । फरक यतिमात्र थियो महाभारतको युद्धमा हातहतियार र शस्त्र अस्त्रको प्रयोग भएको थियो भने हाम्रो संवाद युद्ध, कुराकानीमा मात्र सिमित थियो ।
अन्ततः अठार दिन लामो कसरतपछि संवाद ठोस निष्कर्षमा पुग्यो । साथीले त्यस युद्धमा विजय हासिल गरे म पराजित हुन पुगेँ । अहिले मलाई लाग्छ मेरो सारा जीवन लथालिङ्ग बनाउने प्रमुख जड त्यही अठारदिने संवाद थियो, जसमा मेरो पराजय भएको थियो । मेरो विजय भएको भए युद्धमा विजयी हुने ती साथी अझै यस धर्तीमा जिवितै रहने थिए । सायद तिनले बिजुली पानीको सङ्गत गर्न छोडिदिन्थे । होइन नछोड्ने हो भने पनि तिनले गर्ने गरेका बिजुली पानीको व्याख्या थप सुन्न पाइन्थ्यो । सके तिनले बिजुली पानी महिमाको ग्रन्थ पनि प्रकाशित गर्न सक्थे ! मेरो जीवन पनि निकै शानदार हुने थियो होला।
मसँगको संवाद युद्धमा उनी विजयी त बने तर उनी विजयी बनेर पनि पराजित भएका थिए । किनकि हरेक विजय स्थायी होइन क्षणिक हुन्छ । हुन त विजयी बनेर पनि पराजित हुने मध्य उनी मात्र एक्लो पात्र होइनन् । राम रावण युद्धमा विजयी बनेका रामको अवस्था त्यस्तै थियो । यही विजयका कारण रामले सीतासँग अलग भएर जीवन बिताउनु पर्यो । होनहार दुई पुत्रसँग टाढा रहनु पर्यो । वर्तमानमा समेत लडाइँ जितेर पनि हार्नेहरूको सूची निकै लामो बन्नसक्छ ।
साथीभाइसँगको संवादमा पराजित भएर बिजुली पानी नभइ बाँच्न नसक्नेहरू अनगिन्ती हुन सक्छन् । सोचनीय कुरा के हो भने यस प्रकारका मान्छेहरूले आफूलाई युद्धमा विजयी भएको सम्झन्छन् र जीवनदेखि हारिरहेका हुन्छन् । यसको मूल कारण खोतल्दै जाने हो भने कसैसँगको संवाद अगाडि देखापर्छ।
संवादका कारण मान्छेले हिँडिरहेको बाटो परिवर्तन गर्नसक्छ । बाटो परिवर्तन गर्दा कुनै बेला स्वर्ग पुगिन्छ, कुनै बेला नर्क पुग्न पनि बेर लाग्दैन । संवाद पछि कि त बन्छ कि भत्कन्छ। संवादले यथास्थितिको अवस्था रहिरहन दिँदैन । परिवर्तन असल होस् या खराव ! कतिपय संवादले मान्छेको जीवनमा ठूलो परिवर्तन ल्याउने गरेको छ । दुर्व्यसनमा पल्किएको युवालाई सोध्ने हो भने उसले साथीसँगको सङ्गत र संवादलाई दोष दिने गर्छ । बिना परामर्श र संवाद कोही पनि एक्लो दुर्व्यसनी बन्न सक्दैन । चोर डाँकाहरू पनि पुराना चोर डाँकासँगको संवाद र सङ्गतपछि त्यो पेशा अपनाउने गर्छन् । ठगहरूलाई हेर्ने हो भने जड त्यही हो, संवाद । तर संवादले सबै नराम्रा कुराको मात्र जन्म हुँदैन । हरेक वस्तुमा राम्रा नराम्रा दुवै पक्ष समेटिएका हुन्छन्। त्यसैले संवादबाट दोहोरो कुरा हुनसक्छ ।
त्रेतायुगमा रावण अन्तिम अवस्थामा पुगेको समयमा रावण र लक्ष्मण बीच भएको संवादले दुनियालाई धेरै कुरा सिकाएको थियो र यो संवाद इतिहासमा लेखिन पुग्यो । द्वापर युगमा अर्जुन र कृष्ण बीचको संवाद हालसम्मकै महान संवादको रुपमा चर्चित बनेको छ । जसले गीता नाम गरेको ग्रन्थको मान्यता पायो । गीतापछि आजसम्म यस प्रकारको महान संवाद कसैका बीच पनि सम्पन्न हुनसकेको छैन।
अष्टावक्र र जनक बीचको संवाद त्यस्तै महत्वपूर्ण मानिन्छ । त्यसले पनि अष्टावक्र गीताको मान्यता पाएकै हो । यक्ष युधिष्ठिर संवाद चानचुने संवाद थिएन । त्यसलाई निकै चर्चित संवाद मान्ने गरिएको छ ।
संवादबाट नयाँ र नौलो सिद्धान्तको जन्म हुन्छ । संवादले नयाँ दर्शन जन्माउन सक्छ । यतिमात्र होईन , संवादले जनवाद जन्माउन सक्छ । खाओवाद जन्मने संवादबाट नै हो। संवादबाट परिवारवाद, आफन्तवाद, धनवादको जन्म हुन्छ । त्यसैले संवाद हरेक वाद जन्मदिने मातृ वृक्ष हो भन्दा फरक पर्दैन । व्यक्ति व्यक्ति बीच, समाज र मुलुक बीच विवाद हुने प्रमुख कारणमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका एक आपसमा हुने गरेका संवाद नै हुन । संवादमा यस्तो शक्ति हुन्छ, जसले चोरलाई साधु बनाउन र साधुलाई सुली चढाइदिन सक्छ । आपसी संवादकै कारण दुईजना मन मिलेका साथीहरू बीच फाटो आउन सक्छ । आगो बाराबार भएका दुई मित्रहरूलाई काँधमा काँध मिलाएर एउटै पथमा हिडाँउन सक्छ । यही संवादले कसैलाई दुर्व्यसनको गहिराइमा जाकिदिन सक्छ भने आपसी संवादकै कारण निकै पुरानो दुर्व्यसनी पनि दुर्व्यसनबाट मुक्त हुनसक्छ । यसो हुनमा आपसमा गरिएको संवादमा भर पर्छ । संवाद कस्तो गरिएको छ ? कसरी गरिएको छ ? यही संवादले कुनै बेला सियोको काम गर्छ भने कुनै बेला संवाद कैँची बनेर प्रस्तुत हुन्छ ।
सिक्किम देशका तत्कालीन प्रधानमन्त्री लेण्डुप दोर्जे र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी बीचको संवादले सिक्किम मुलुक, स्वतन्त्र देशबाट प्रान्तमा खुम्चिएको धेरै भएको छैन । सुन्ने गरिन्छ, राजनीतिका अधिकांश संवादहरू साँझ बिजुली पानी ग्रहण गरिसकेपछि हुन्छन् । आजभोलि हुने गरेका अधिकांश संवादमा बिजुली पानीको विशेष भूमिका रहेको हुन्छ । लगभग यही समयमा सुन देखि लसुन भित्र्याउने, दानवलाई जोगाउने देखि मानव तस्करी बारेका संवादहरू हुने गर्दछन् । वर्तमान युगमा गरिने अधिकांश संवादहरू अर्थोपार्जनका लागि हुने गरेका छन् । उहिले जस्तो ग्रन्थ तयार हुनेगरि संवाद हुन छोडेको धेरै भयो । अचेलका संवादले आपसमा वैमनस्यता बढाइदिन्छ, राजनीतिक दल फोर्ने काम गर्छ । संवादकै कारण सरकार ढल्ने र नयाँ गठबन्धन बन्ने गरेका अनगिन्ती उदाहरण खोज्न अन्यत्र कतै जानु पर्दैन । हरेक महिना, तीन महिना र छ -छ महिनामा यतै देख्न पाइन्छ ।
कहिलेकाहीँ संवाद सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन्छन्, संवाद निष्कर्षमा पुगेको घोषणा पनि हुन्छ । सँगै मर्ने र बाँच्ने कसम खाइन्छ । नर्क गए पनि स्वर्ग गएपनि सँगै जाने सल्लाह हुन्छ तर संवाद सकिनासाथ सम्बन्ध पुन: शीत युद्धमा परिणत हुन्छ भने त्यस्तो संवादलाई कलियुगी संवाद मान्न सकिन्छ । यस प्रकारको संवादमा दुवै पक्षको स्वार्थ गाँसिएको हुन्छ । तसर्थ यस्तो अवस्थामा दुबै पक्षलाई इमान्दार मान्न सकिँदैन ! मुखले एउटा कुरा भनिरहे पनि तिनले मनभित्र अर्कै तानाबाना बुनिरहेका हुन्छन् । यसलाई “मुखमा रामराम बगलीमा छुरा ” भन्ने गरिएको छ । यस्ता संवादहरू बिजुली पानीसँग प्रत्यक्ष रुपले जोडिएका हुन्छन् ।
संवादका क्रममा जुँगामा ताउ लगाउँदै संवाद भइरहेको जोडीलाई झारपात सम्झने उपक्रम गर्दा संवाद कैँची बनिरहेको हुन्छ र सम्बन्ध टुट्न जान्छ भने संवाद गर्दा आफूलाई सरल रुपमा प्रस्तुत गर्ने हो भने तत्काल त्यही संवाद सिलाउने सियोमा परिणत हुने गर्छ । जसका कारण फाटेको सम्बन्ध समेत जोडिएको पाइन्छ । त्यसैले संवाद गर्दा निकै होस पुर्याउनु पर्ने हुन्छ । टाढाबाट झार देखिने वस्तु नजिक गएर हेर्दा तुलसीको बुटो पनि हुनसक्छ । यसैगरि टाढाबाट हेर्दा अत्यन्त सुन्दर देखिने चन्द्रमा नजिक गएर हेर्दा उवडखावड भएको देखिन्छ। हचुवाको भरमा गरेको संवाद फलदायी नहुन सक्छ । संवाद गर्दा धेरै कुराको विचार पुर्याउनु पर्ने हुन्छ । संवाद त्यस्तो होस्, जसले कसैको जीवनमा सकारात्मक परिवर्तन गर्न सकियोस् । गीता जस्तो ग्रन्थ तयार हुने गरि संवाद गर्ने हो अथवा मेरो जँड्याहा साथी जस्तै मटियामेट हुने गरि संवाद गर्ने हो आफ्नै हातमा छ ।
०००
कालिका चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































