साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संवाद र बिजुली पानी

संवाद गर्दा धेरै कुराको विचार पुर्याउनु पर्ने हुन्छ । गीता जस्तो ग्रन्थ तयार हुने गरि संवाद गर्ने हो अथवा मेरो जँड्याहा साथी जस्तै मटियामेट हुने गरि संवाद गर्ने हो आफ्नै हातमा छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

एकताका हाम्रो छिमेकमा एकजना नामी जड्याहा थिए, कुनै समय ती मेरो मन मिल्ने साथी बने । जब उनीसँग भेट हुन्थ्यो बिजुली पानीको महिमा सुनाउन सुरु गर्थे । उनका अनुसार “दु:ख पीडा भुलाउने र मनमा एक प्रकारले आनन्द दिने वस्तु हो बिजुली पानी ।‌” म भने बिजुली पानीले पुर्याउने हानी बारे वर्णन गर्थेँ । हाम्रो हरेक भेटमा बिजुली पानी विषयको संवाद पहिलो प्राथमिकतामा पर्ने गरेको थियो । उनी सधैँ बिजुली पानीको पक्षमा वहस गर्थे भने म विपक्षमा वहस गर्थेँ । यो संवाद महाभारतको युद्ध भएको दिन जति अर्थात् लगभग अठारदिनसम्म जारी रह्यो । फरक यतिमात्र थियो महाभारतको युद्धमा हातहतियार र शस्त्र अस्त्रको प्रयोग भएको थियो भने हाम्रो संवाद युद्ध, कुराकानीमा मात्र सिमित थियो ।

अन्ततः अठार दिन लामो कसरतपछि संवाद ठोस निष्कर्षमा पुग्यो । साथीले त्यस युद्धमा विजय हासिल गरे म पराजित हुन पुगेँ । अहिले मलाई लाग्छ मेरो सारा जीवन लथालिङ्ग बनाउने प्रमुख जड त्यही अठारदिने संवाद थियो, जसमा मेरो पराजय भएको थियो । मेरो विजय भएको भए युद्धमा विजयी हुने ती साथी अझै यस धर्तीमा जिवितै रहने थिए । सायद तिनले बिजुली पानीको सङ्गत गर्न छोडिदिन्थे । होइन नछोड्ने हो भने पनि तिनले गर्ने गरेका बिजुली पानीको व्याख्या थप सुन्न पाइन्थ्यो । सके तिनले बिजुली पानी महिमाको ग्रन्थ पनि प्रकाशित गर्न सक्थे ! मेरो जीवन पनि निकै शानदार हुने थियो होला।

मसँगको संवाद युद्धमा उनी विजयी त बने तर उनी विजयी बनेर पनि पराजित भएका थिए । किनकि हरेक विजय स्थायी होइन क्षणिक हुन्छ । हुन त विजयी बनेर पनि पराजित हुने मध्य उनी मात्र एक्लो पात्र होइनन् । राम रावण युद्धमा विजयी बनेका रामको अवस्था त्यस्तै थियो । यही विजयका कारण रामले सीतासँग अलग भएर जीवन बिताउनु पर्यो । होनहार दुई पुत्रसँग टाढा रहनु पर्यो । वर्तमानमा समेत लडाइँ जितेर पनि हार्नेहरूको सूची निकै लामो बन्नसक्छ ।

साथीभाइसँगको संवादमा पराजित भएर बिजुली पानी नभइ बाँच्न नसक्नेहरू अनगिन्ती हुन सक्छन् । सोचनीय कुरा के हो भने यस प्रकारका मान्छेहरूले आफूलाई युद्धमा विजयी भएको सम्झन्छन् र जीवनदेखि हारिरहेका हुन्छन् । यसको मूल कारण खोतल्दै जाने हो भने कसैसँगको संवाद अगाडि देखापर्छ।

संवादका कारण मान्छेले हिँडिरहेको बाटो परिवर्तन गर्नसक्छ । बाटो परिवर्तन गर्दा कुनै बेला स्वर्ग पुगिन्छ, कुनै बेला नर्क पुग्न पनि बेर लाग्दैन । संवाद पछि कि त बन्छ कि भत्कन्छ। संवादले यथास्थितिको अवस्था रहिरहन दिँदैन । परिवर्तन असल होस् या खराव ! कतिपय संवादले मान्छेको जीवनमा ठूलो परिवर्तन ल्याउने गरेको छ । दुर्व्यसनमा पल्किएको युवालाई सोध्ने हो भने उसले साथीसँगको सङ्गत र संवादलाई दोष दिने गर्छ । बिना परामर्श र संवाद कोही पनि एक्लो दुर्व्यसनी बन्न सक्दैन । चोर डाँकाहरू पनि पुराना चोर डाँकासँगको संवाद र सङ्गतपछि त्यो पेशा अपनाउने गर्छन् । ठगहरूलाई हेर्ने हो भने जड त्यही हो, संवाद । तर संवादले सबै नराम्रा कुराको मात्र जन्म हुँदैन । हरेक वस्तुमा राम्रा नराम्रा दुवै पक्ष समेटिएका हुन्छन्। त्यसैले संवादबाट दोहोरो कुरा हुनसक्छ ।

त्रेतायुगमा रावण अन्तिम अवस्थामा पुगेको समयमा रावण र लक्ष्मण बीच भएको संवादले दुनियालाई धेरै कुरा सिकाएको थियो र यो संवाद इतिहासमा लेखिन पुग्यो । द्वापर युगमा अर्जुन र कृष्ण बीचको संवाद हालसम्मकै महान संवादको रुपमा चर्चित बनेको छ । जसले गीता नाम गरेको ग्रन्थको मान्यता पायो । गीतापछि आजसम्म यस प्रकारको महान संवाद कसैका बीच पनि सम्पन्न हुनसकेको छैन।

अष्टावक्र र जनक बीचको संवाद त्यस्तै महत्वपूर्ण मानिन्छ । त्यसले पनि अष्टावक्र गीताको मान्यता पाएकै हो । यक्ष युधिष्ठिर संवाद चानचुने संवाद थिएन । त्यसलाई निकै चर्चित संवाद मान्ने गरिएको छ ।

संवादबाट नयाँ र नौलो सिद्धान्तको जन्म हुन्छ । संवादले नयाँ दर्शन जन्माउन सक्छ । यतिमात्र होईन , संवादले जनवाद जन्माउन सक्छ । खाओवाद जन्मने संवादबाट नै हो। संवादबाट परिवारवाद, आफन्तवाद, धनवादको जन्म हुन्छ । त्यसैले संवाद हरेक वाद जन्मदिने मातृ वृक्ष हो भन्दा फरक पर्दैन । व्यक्ति व्यक्ति बीच, समाज र मुलुक बीच विवाद हुने प्रमुख कारणमध्ये सबैभन्दा महत्वपूर्ण भूमिका एक आपसमा हुने गरेका संवाद नै हुन । संवादमा यस्तो शक्ति हुन्छ, जसले चोरलाई साधु बनाउन र साधुलाई सुली चढाइदिन सक्छ । आपसी संवादकै कारण दुईजना मन मिलेका साथीहरू बीच फाटो आउन सक्छ । आगो बाराबार भएका दुई मित्रहरूलाई काँधमा काँध मिलाएर एउटै पथमा हिडाँउन सक्छ । यही संवादले कसैलाई दुर्व्यसनको गहिराइमा जाकिदिन सक्छ भने आपसी संवादकै कारण निकै पुरानो दुर्व्यसनी पनि दुर्व्यसनबाट मुक्त हुनसक्छ । यसो हुनमा आपसमा गरिएको संवादमा भर पर्छ । संवाद कस्तो गरिएको छ ? कसरी गरिएको छ ? यही संवादले कुनै बेला सियोको काम गर्छ भने कुनै बेला संवाद कैँची बनेर प्रस्तुत हुन्छ ।

सिक्किम देशका तत्कालीन प्रधानमन्त्री लेण्डुप दोर्जे र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी बीचको संवादले सिक्किम मुलुक, स्वतन्त्र देशबाट प्रान्तमा खुम्चिएको धेरै भएको छैन । सुन्ने गरिन्छ, राजनीतिका अधिकांश संवादहरू साँझ बिजुली पानी ग्रहण गरिसकेपछि हुन्छन् । आजभोलि हुने गरेका अधिकांश संवादमा बिजुली पानीको विशेष भूमिका रहेको हुन्छ । लगभग यही समयमा सुन देखि लसुन भित्र्याउने, दानवलाई जोगाउने देखि मानव तस्करी बारेका संवादहरू हुने गर्दछन् । वर्तमान युगमा गरिने अधिकांश संवादहरू अर्थोपार्जनका लागि हुने गरेका छन् । उहिले जस्तो ग्रन्थ तयार हुनेगरि संवाद हुन छोडेको धेरै भयो । अचेलका संवादले आपसमा वैमनस्यता बढाइदिन्छ, राजनीतिक दल फोर्ने काम गर्छ । संवादकै कारण सरकार ढल्ने र नयाँ गठबन्धन बन्ने गरेका अनगिन्ती उदाहरण खोज्न अन्यत्र कतै जानु पर्दैन । हरेक महिना, तीन महिना र छ -छ महिनामा यतै देख्न पाइन्छ ।

कहिलेकाहीँ संवाद सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन्छन्, संवाद निष्कर्षमा पुगेको घोषणा पनि हुन्छ । सँगै मर्ने र बाँच्ने कसम खाइन्छ । नर्क गए पनि स्वर्ग गएपनि सँगै जाने सल्लाह हुन्छ तर संवाद सकिनासाथ सम्बन्ध पुन: शीत युद्धमा परिणत हुन्छ भने त्यस्तो संवादलाई कलियुगी संवाद मान्न सकिन्छ । यस प्रकारको संवादमा दुवै पक्षको स्वार्थ गाँसिएको हुन्छ । तसर्थ यस्तो अवस्थामा दुबै पक्षलाई इमान्दार मान्न सकिँदैन ! मुखले एउटा कुरा भनिरहे पनि तिनले मनभित्र अर्कै तानाबाना बुनिरहेका हुन्छन् । यसलाई “मुखमा रामराम बगलीमा छुरा ” भन्ने गरिएको छ । यस्ता संवादहरू बिजुली पानीसँग प्रत्यक्ष रुपले जोडिएका हुन्छन् ।

संवादका क्रममा जुँगामा ताउ लगाउँदै संवाद भइरहेको जोडीलाई झारपात सम्झने उपक्रम गर्दा संवाद कैँची बनिरहेको हुन्छ र सम्बन्ध टुट्न जान्छ भने संवाद गर्दा आफूलाई सरल रुपमा प्रस्तुत गर्ने हो भने तत्काल त्यही संवाद सिलाउने सियोमा परिणत हुने गर्छ । जसका कारण फाटेको सम्बन्ध समेत जोडिएको पाइन्छ । त्यसैले संवाद गर्दा निकै होस पुर्याउनु पर्ने हुन्छ । टाढाबाट झार देखिने वस्तु नजिक गएर हेर्दा तुलसीको बुटो पनि हुनसक्छ । यसैगरि टाढाबाट हेर्दा अत्यन्त सुन्दर देखिने चन्द्रमा नजिक गएर हेर्दा उवडखावड भएको देखिन्छ। हचुवाको भरमा गरेको संवाद फलदायी नहुन सक्छ । संवाद गर्दा धेरै कुराको विचार पुर्याउनु पर्ने हुन्छ । संवाद त्यस्तो होस्, जसले कसैको जीवनमा सकारात्मक परिवर्तन गर्न सकियोस् । गीता जस्तो ग्रन्थ तयार हुने गरि संवाद गर्ने हो अथवा मेरो जँड्याहा साथी जस्तै मटियामेट हुने गरि संवाद गर्ने हो आफ्नै हातमा छ ।

०००
कालिका चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x