बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय कवि !
कविता लेखन गर्दा गोटा परेझैँ ठसठस ठस्ठसाउने मजस्ता गोबरग्याँचलाई विशेषणमा रङ्गाएर भक्कू बनाउँदा गहिरै चोट लाग्दैन र ? ‘शब्द थुपारी के हुन्छ भाव भए पो कविता हुन्छ’ भनेर पाका साँच्चैका वरिष्ठ कविको सूक्ति याद आयो ।

बद्रीप्रसाद दाहाल :
दुई— तीन कक्षा पढ्दादेखि नै कतिपयलाई कवि बन्ने चाहनाले भित्रभित्रै कोपरेको कोपर्यै हुन्छ । स्कूलमा संगठित बालक्लव, युरेस, विद्यार्थी संघसंगठन तथा अन्तर सदनात्मक काव्य प्रतियोगिताका कार्यक्रमहरूमा प्रतिस्पर्धी भएर कहिले पहिलो, कहिले दोश्रो, तेश्रो, सान्त्वना र कहिले त सहभागीमात्रको स्थानमा पनि मान मान्नपर्ने थिति आउँछ । कक्षा चढ्दै गएपछि एक दिन कवि शब्दको अर्थ के होला भन्ने जिज्ञासाले कुत्कुत्याएर नेपाली, संस्कृत गणित र अङ्ग्रेजी पढाउने आफ्ना गुरुहरूसित सोध्ने जमर्को पनि हुन्छ । कविता वा काव्यको रचना गर्ने कल्पनाशील व्यक्ति कवि हो । देवगुरु बृहस्पति, दैत्यगुरु शुक्राचार्य, स्वयं ब्रह्मा, वसिष्ठ ऋषि, सूर्यनारायण, पहिलाका रत्नाकर डाँकु पछिका वाल्मीकि, क्रान्तदर्शी (विलक्षण बुध्दि भएका, सर्वज्ञ) वा ईश्वरलाई पनि कवि भनिन्छ भनी नेपाली गुरुले बताउनु हुन्थ्यो ।
संंस्कृतका अध्यापकले ‘कवृ’ वर्णे वा ‘कुङ्’ शब्दे धातुबाट कवि बनेको हो, जो पद्य तथा गद्यमार्फत कलात्मक शैलीमा वर्णन गर्न र समसामयिक तथा कालिक आबाज ध्वनित गराउन सक्षम छ त्यही कवि हो । संस्कृत शब्दकोष अमरकोष भन्छ — ‘धीरो मनीषीज्ञः प्राज्ञः संख्यावान् पण्डितः कविः’ अर्थात् धीर, चलाख, जान्ने, प्राज्ञ,सङ्ख्यावान् र पण्डित ( विवेकशील) नै कवि हो ‘कविर्मनीषि परिभूः स्वयम्भूः ! अर्थात् कवि भनेको विद्वान्, चारैतिरको ज्ञानले घेरिएको, सर्वनियन्ता, अनादि कालदेखि आफै उत्पत्ति भएको विशिष्ट मेधावान् प्रतिभा हो । गुरुहरूले अझ थप्दै भन्नुहुन्थ्यो उदाहरण दिएर— ‘कविता वनिताचैव सरसा स्वयमागताः। बलादाकृष्यमाणा चेत् सरसा विरसायते’ । अर्थात् कविता र वनिता सरस र सहज तरिकाले स्वयं आएको राम्रो हुन्छ, धेरै कनीकुथी बलैले ल्याउने कसरत गरे कविता र वनिता ( जीवनसँगिनी दुलही) सरस नभएर निरस हुन्छ, ।
यस्ता धेरै कुरा भनेका थिए होलान् तर कच्चा उमेर र अज्ञानका कारण ती सबै संझिन सक्दैनन् विद्यार्थीहरूले । अनि अङ्ग्रेजीका गुरुले कलापक्षका पश्चिमा काव्यहस्ती कलरिजको भनाइ सुनाउनु भो — ‘poetry the best words in the best order. अर्थात् सर्वश्रेष्ठ पदावलीको सर्वश्रेष्ठ विधान कविता हो । मातृभाषा हिन्दी भएका गणितका गुरुले बाह्रसत्ताईस कुरा नगर, भन्दै तर लामो व्याख्यान दिएर अन्त्यमा भन्नुभयो — ‘जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि’ कविको दूरदृष्टि हुन्छ त्यसलाई कलात्मक भाषामा आलङ्कारिकता दिएर अभिव्यक्त गरिन्छ भनी निचोड दिनुभो ।
कविबारे यी सबै गुरुहरूका भनाइलाई सुन्दा कविमा कल्पना, विलक्षण बुध्दि, सर्वज्ञता,कलात्मक शैलीबाट वर्णन दिने क्षमता, सर्वश्रेष्ठ पदावलीमा भाव प्रकट गर्ने दक्षता, व्यापक गति, दूरदृष्टिवान्, आलङ्कारिक, प्रतिकात्मक र गेयात्मक सामर्थ्य हुनुपर्ने रहेछ । त्यसै भएर भारतका नोवल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरले ‘कवि केवल हेर्ने मात्र हैनन् प्रकाश पनि छर्छन्’ भनी जिम्मेदार बनाएका रहेछन् । भूपी शेरचनले त ‘कवि हुनु बन्दुकधारी, अत्याचारी र आक्रमणकारीहरू— लाई पुस्तकले छेक्नु, कलमले रोक्नु हो’ भनी कवितालाई अद्भूत सामर्थ्यको आलोकतिर सङ्केत गरेका छन् । रवीन्द्रनाथको प्रकाश छर्ने चुरो कुरोसित भूपी शेरचनको यो अभिव्यक्ति मेल खान्छ । दार्शनिक एवं काव्य मर्मज्ञ प्लेटोले ‘प्रणयको वेला प्रत्येक व्यक्ति कवि बन्छन्’ भनेर पेचिलो व्यञ्जनात्मक ध्वनि दिनु भएको छ ।
महाकवि देवकोटाले कविको तुलना गर्दै भनेका छन्— ‘कवि बोलोस् जसरी चराहरू बोल्छन् न कि उस्तादहरू कसरत गर्छन्, हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई’ । आधुनिक कविहरूलाई मसला दिँदै जर्मनका कवि एवं नाटककार गेटे कविलाई यसरी चिनाउँछन्— आधुनिक कविले आफ्नो मसीमा पानी धेरै मिसाइदिन्छन्’ । यो भनाइमा आधुनिक कविताको गुणस्तर खस्किएको वा बढी तरल र गतिशील भएको दुबै कुरा बुझ्न सकिन्छ ।
गेटेले महाकवि कालिदासको‘ अभिज्ञान शाकुन्तलम्’ भन्ने संस्कृत नाटक पढेर प्रभावित हुँदै ‘फाउष्ट’ भन्ने चर्चित वियोगान्त नाटक लेखेका थिए । कालिदास महाकविको शाकुन्तल नाटकप्रति यस्तो उद्गार छ उनको —‘ यदि तपाईँ यौवनको फूल, प्रौढ अवस्थाको फल र अन्य यस्तै सामग्रीहरू एकै ठाउँमा पाउन चाहनुहुन्छ वा स्वर्ग र मत्र्यलोकलाई एकै स्थानमा भेट्न इच्छित हुनुहुन्छ भने त्यो केवल अभिज्ञान शाकुन्तलमा मिल्नेछ’ । कवितात्मक आस्वाद चाख्न पाइने यो नाटक पूर्वीय संसारको गौरवपूर्ण सार्वकालिक कलात्मक वाणीऐश्वर्य हो । त्यसै भएर होला विख्यात कवि जोन किट्सले सगर्व बोले—‘पृथ्वीमा कविता कहिल्यै मर्दैन’ ।
यतिखेर हाम्रो सानो देश नेपालमा साक्षरदेखि निरक्षरसम्मका साधकहरू काव्य स्रष्टाको रुपमा देखिएका छन् । अहिले त प्रविधिमा आएको क्रान्तिले सामाजिक सञ्जालका भित्ताहरू काव्यमय भएका छ्न् । खोरिया, सुसेली, लोकवेद, हाइकु, मुक्तक, गजल, गीत, गद्य कविता, सबाइ, सेलो, वार्णिक एवं मातृक छन्दका शास्त्रीय कविताहरू, व्यङ्ग्यात्मक आधुनिक उखान आदि लयदार र गेयात्मक रूपमा पस्किएका असंख्य सिर्जनाहरू पढ्न हेर्न पाइन्छ । त्यसै गरी लघु आख्यानदेखि बृहत् आख्यानसम्म ।
समग्रमा भन्दा साहित्यका विविध विधाहरूको रसास्वादन गर्न मिल्छ । संख्यात्मक रुपमा कविताका बाढी आए पनि गुणवत्ता कायम भैसकेका छैनन् । हुन त सञ्जाल सर्जकहरूको अभ्यासको प्रयोगशाला हो । सिकारुहरूका कलमको म्याराथुन दौडको फराकिलो खेल मैदान अनि प्रणयीहरूका माया र प्रीतिका आवेग, संवेग, कुण्ठा, विरेचन गर्ने गतिलो थलो हो । विद्रोहीहरूका हुङ्कार र अहङ्कार डुग्रने मैदान । योगीदेखि भोगीसम्म, व्यापारीदेखि शिक्षक र व्यवसायीतक, कलाकार दीक्षक सबैको साझा चौतारी हो । विशेषतः वाङ्मय साधकहरूले सञ्जालमा आफ्ना सिर्जना पस्कनुअघि शुध्दता, समुचित वाक्य गठन, वाच्यहरूको उचित प्रयोग, शब्दहरूको भद्दा पुनरावृत्तिमा होसियारी, वर्णविन्यास, पदयोग र वियोग, समास, विभक्तिहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।
बाल कवि, युवा कवि, प्रौढ कवि, नारी कवि मनग्गे भएर पनि सबैमा कविताको वसन्त र शरद् उत्तिकै मुस्काउन सकेका छैनन् । छन्द न बन्दका कविता लेख्ने मजस्ता सिलोकेहरू श्लोकमा मुस्काएको देख्न पाउनुपर्छ । जे—जस्तो लेखे पनि प्रखर कवि, कविवर, काव्यहस्ती, सरस्वतीपुत्र, वरिष्ठ कविको दर्ज्यानी चिन्हमा उदघोषक महोदयहरूले फलाक्दा पहिला पहिला त मख्ख पनि परिन्थ्यो । अहिले आफूलाई आफैले पढ्दा त्यो उपाधि थाम्न तागत नभएको महसुस हुन्छ र लज्जाबोध पनि। मजस्ता तीन घण्टा लगाएर ठसठस कन्दै बलै कलम चलाउनेहरूलाई आशुकवि, द्रुत कवि, त्वरित् कवि, शीघ्र कविको टोपी लाइदिँदा कविको चहक र महकै उड्ला भन्ने पीरले अधीर छु ।
कविता लेखन गर्दा गोटा परेझैँ ठसठस ठस्ठसाउने मजस्ता गोबरग्याँचलाई विशेषणमा रङ्गाएर भक्कू बनाउँदा गहिरै चोट लाग्दैन र ? ‘शब्द थुपारी के हुन्छ भाव भए पो कविता हुन्छ’ भनेर पाका साँच्चैका वरिष्ठ कविको सूक्ति याद आयो । राष्ट्रकवि स्वर्गीय माधव घिमिरेले पनि ‘मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ । यौटा सानो सरल कृतिमा पूर्ण संसार देऊ’ ॥,भनेर सरल र संक्षिप्ततामा गम्भीर तथा विस्तृत भाव सम्प्रेषण गर्न सङ्केत गरेका छन् ।
यी दुई कविका छोटो र खँदिलो भनाइभित्र कविता के हो ? भन्ने सुकिलो सन्देश कर्णमधु भएर गुञ्जन्छ । लाग्छ : कविता शारदी झर्ना, प्रवाहमय गङ्गा, वासन्ती उपवन, दिलै हल्लाउने उत्साहको आभा । त्यसैले भन्न सकिन्छ— ठट्टा होइन साधना सफरको, बाटो छ स्रष्टा लिनु । बुझ्नै पर्दछ वारवार कवि हूँ भन्ने कुरा संझिनु ॥ अन्त्यमा स्वच्छन्दतावादका प्रणेता कवि वर्डस्वर्थको यो भनाइबाट यो लेखलाई पूर्णविराम दिन्छुु ‘कविता शान्तिको क्षणमा संस्मरण गरिने प्रबल मनोवेगको सहज उच्छलन हो’ । जय कवि ! नमन कविता लेखन !
अस्तु ।
०००
(अध्यक्ष : नीलकण्ठ प्रज्ञाप्रतिष्ठान नीलकण्ठ नगरपालिका धादिङ) ।









































युरेस हैन होला जु रे स जुनियर रेड क्रस सर्कल होला
यो त व्यङ्गो कति स्तम्मा नभएर सरलोक्ति स्तम्भमा राख्ने पर्ने खालको निबन्ध रहेछ।
यो त व्यङ्गोक्ति स्तम्भमा भन्दा पनि सरलोक्ति स्तम्भमा सुहाउँदो निबन्ध रहेछ भन्न खोजेको टाइपमा मिस्टेक भएछ।
ठिक हाे, सलाम छ यहाँलाई।