हरिशंकर परसाईंगुनासो मेरो पनि छ
सरकारसँग खुवाउने प्रबन्ध होस् नहोस् तर रुवाउने प्रबन्ध त हुनैपर्यो नि त ! विदेशी ग्यासबाट आँसु आउँदा राष्ट्रलाई लाज लाग्थ्यो भने अब आफ्नै ग्यास प्रयोग गरेर जति रोए पनि र जति रुवाए पनि भयो ।

हरिशंकर परसाईं
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
तर मेरो गुनासो वैज्ञानिकहरूले देशमै नोकरी किन पाएनन् र अनुसन्धानका सुविधा किन पाएनन् भन्ने होइन । किन उसले दोस्रो देशमा अनुसन्धान गरेर विदेशीको हैसियतमा नोबेल पुरस्कार पायो भन्ने पनि होइन । र, किन यो गौरव हाम्रो देशले पाएन भन्ने पनि होइन ।
डा. खुरानाका सम्बन्धलाई लिएर केही व्यक्तिहरूका यस्ता गुनासाहरू छन् । तर मलाई कुनै गुनासो छैन । हामी विदेशहरूबाट गहुँ, चामल आदि झिकाएर खान्छौं तर त्यसको मूल्य चुकाउने सामर्थ्य हामीसँग छ्रैन । त्यो चुकाउनकै निम्ति भए पनि हामी केही प्रतिभाहरूलाई बेचिदिन्छौं त के नराम्रो भयो ? तिमीले गहुँ दियौ भने लौ लैजाऊ यी चारजना वैज्ञानिकहरू । ममा कुनै प्रतिभा छैन र पनि यदि कसैले मेरो मूल्यमा एक किलो गहुँ दिन्छ भने म बिक्न तयार छु । प्रतिभालाई यहाँ राखेर के गर्नुहुन्छ ? त्यो खानेकुरामा पनि त काम लाग्ने होइन नि !
तर मानिसहरू भने नोकरशाहीले जिनियस (महान् प्रतिभा) लाई प्रस्फुटित हुन दिँदैन भनेर कराइरहेका छन् ।
यो निराधार गुनासो हो । मैले सुब्बासाहेबसित सोधेको छु । उनले भने, ‘वैज्ञानिकहरूसित ‘एम्प्लायमेन्ट एक्सचेन्ज’को कार्ड थियो ?’ मैले भनें, ‘धेरैजसोको थिएन ।’ सुब्बासाहेबले भने, ‘उसो भए नोकरी कसरी पाउँछन् त ? कार्ड लिएर आएका भए मैले नै कतै टाँसिदिन्थें ।’
सुब्बासाहेबले जसरी थुक लगाएर टिकट टाँस्छन् त्यसै गरी केही बढी थुक लगाएर प्रतिभालाई पनि टाँसिदिन्थे । तर कार्ड पनि चाहियो र प्रतिभामा पनि केही त गम लागेकै हुनुपर्छ । कसैलाई टाँस्न भनेर कसैले आफ्नो गम किन खर्च गरोस् त ? के मान्छेहरू पाइँदैनन् र ? यस्ता यस्ता मान्छेहरू पाइन्छन् जसको शरीरबाट गमको खोलै बगिरहन्छ ।
कार्ड त मैले नै सयपचास खुवाएर कुनै रोजगार कार्यालयबाट दिलाइदिन्थें । यसमा ‘सदाचार’ जस्ता कुरा गर्नु पनि व्यर्थ छ । मानिसहरू कराउँछन् मात्र, यसको सही अर्थ बुझ्दैनन् । एकजना साहेबले मलाई सम्झाइदिएका थिए । म उनीकहाँ पाँच सय रुपैयाँ घुस लिएर पुग्दा उनले भनेका थिए, ‘अहिले सदाचार सप्ताह चल्दै छ । केही त लाज मान्नुपर्ने हो । हजार रुपैयाँको कामका लागि जम्मा पाँच सय रुपैयाँ दिँदै हुनुहुन्छ । के तपाईंको सदाचार यही हो ?’ सुनेर म लाजले भुतुक्कै भएको थिएँ ।
प्रतिभाहरूकै ठुला हाकिमसित पनि मेरो कुरो भइसकेको छ । उनले सम्झाएका थिए, ‘बाबु, तिम्रा यी प्रतिभाशाली मानिसहरू एल.डी.सी. र यु.डी.सी.लाई फकाएर निस्किन खोज्दै छन् । एउटा वैज्ञानिकलाई त मैले टाँसि पनि दिएको थिएँ । तर एक दिन ऊ पनि निकै हतारमा कतै जाँदै थियो । हाम्रा एल.डी.सी. साहेबले उनलाई समाइहाल्नुभयो र सोध्नुभयो, ‘कहाँ जाँदै छौ ?’ उसले भन्यो, ‘एउटा राम्रो कुरा मनमा आएको छ । त्यसैले प्रयोगशाला जाँदै छु ।’
एल.डी.सी.सरले उसको हात समाएर भन्नुभयो, ‘यसरी जान पाउँदैनौ । ‘थ्रु प्रपर च्यानल’ मात्र जानुपर्छ । फर्क ।’ उसले ‘थ्रु प्रपर च्यानल’ भनेकै बुझेनछ । उसले त्यसलाई इङ्लिसको च्यानल बुझेछ र त्यहीँबाट छिरेछ । इङ्लिसको च्यानल हाम्रो प्रपर च्यानलभन्दा पनि साँगुरो छ भन्ने सुन्छु । हुन पनि हाम्रो यो ‘प्रपर च्यानल’ सयौं वर्षको परिश्रमपछि मात्र बनेको हो र तिम्रा प्रतिभाहरू त्यसलाई भत्काउन खोज्छन् । यसरी राष्ट्रिय सम्पत्ति नोक्सान गरेको त कसले सहन्छ र ?
मैले यस विषयमा एकजना मन्त्रीसित पनि कुरा गरेर हेरेको छु । उनले भने, ‘मैले त छैटौं कक्षाकै किताबमा न्युटनले स्याउ खस्दै गरेको देखेर नै कुनै कुराको खोज गरे भन्ने पढेको थिएँ । अनि वाट नामको केटाले पनि उम्लिरहेको कितलीबाटै खोजी गरेको थियो अनि त्यो को थियो रे, अर्किमिडिज, उसले त नुहाउँदानुहाउँदै नै खोज गरेको थियो रे । तर आजका यी वैज्ञानिकहरूलाई भने निकै तामझाम चाहिन्छ । म त के भन्छु भने बर्सेनि यति आँपहरू खसिरहन्छन् त तिनलाई हेरेर कसैले किन खोज गर्दैन ? वैज्ञानिकले दिनदिनै नुहाउँछ तर खोज गर्दैन । मैले त हजुर, छैटौ कक्षाको किताबमा पढेको थिएँ……..’
मैले जातिका उद्धारकसित पनि कुरा गरें । उसले भन्यो, ‘यो देश पछुतोमा मात्र बाँचिरहेको छ । यसले पछुतो खान्छ । पछुतो यसको ‘स्टेपल फुड’ (मुख्य खाद्य) हो । यदि पछुतोमा कमी आयो भने देश मर्छ । देशलाई बचाइराख्न पछुतोको नयाँ नयाँ खेती हुनु आवश्यक छ ।
यदि प्रतिभाको सम्मान हुन थाल्यो भने पछुतोमा कमी आउनेछ र देश भोकभोकै मर्नेछ । त्यसैले जे भयो त्यो देशको स्वास्थ्यका निम्ति राम्रो भयो ।
मैले सबैसित सोधेको छु । मेरो गुनासो यहाँ प्रतिभाहरूको सम्मान भएन भन्ने होइन । मेरो गुनासो त ‘इन्डियन पेनल कोड’ अर्थात् भारतीय दण्ड संहितालाई अझैसम्म नोबेल पुरस्कार किन दिइएन भन्ने हो ।
भारतीय दण्ड संहिता हाम्रो महान् महाकाव्य हो । योमात्र एउटा ‘क्लासिक’ हो । त्यो काव्य पनि हो र धर्मग्रन्थ पनि हो । सम्पूर्ण जातीय जीवन यसैबाट सञ्चालित भइरहेको छ । यसैको प्रेरणाले हामी राष्ट्रिय जीवनको एउटा मात्र भए पनि साधना गर्दै छौं । त्यसलाई भनिन्छ ‘ल एन्ड अर्डर’ अर्थात् ‘कानुन र व्यवस्था’ । सम्पूर्ण प्रतिभालाई हामीले कानुर व्यवस्थामा लगाइदिएका छौं । फेरि पनि अहिलेसम्म ‘भारतीय दण्ड संहितालाई नोबेल पुरस्कार किन दिइएन ? मेरो गुनासो यही हो ।
‘भारतीय दण्ड संहिता’ यदि महाकाव्य हो भने बेलाबेलामा लेखिने अध्यादेशहरू ललित गीतहरू हुन् । यदि यी गीतहरूको सङ्ग्रह ‘नव गीताञ्जलि’ का नामले छापियो भने पश्चिमका मनीषीहरूले ‘गीताञ्जलि’ को भ्रममा परेर यसैलाई नोबल पुरस्कार दिन सक्छन् । उनीहरूलाई लाग्नेछ रवीन्द्रनाथ आफ्नो प्रतिभाको शिखरकालमा अध्यादेश लेख्ने गर्थे । वास्तवमा कविले अध्यादेश लेख्न सक्छ कि सक्दैन भन्ने नै सच्चा कविको कसी हो ।
मेरो गुनासो के पनि हो भने जसले पुलिसको लाठीको दुबैतिर फलामको मुट्ठा लगाइदियो उसलाई भौतिकशास्त्रको नोबेल पुरस्कार किन दिइएन ?
त्यस दिन अखबारमा देश अश्रुग्यासमा आत्मनिर्भर भयो भन्ने समाचार पढेपछि त लाग्यो ‘रिनस’ (रिनासा) नै भयो । त्यसो त विगत पच्चिस वर्षदेखि यस देशमा हरेक वस्तु अश्रुग्यासमा परिणत हुँदै छ । यो अचम्मको रासायनिक क्रिया चलिरहेको छ । यस देशमा गहुँ र चिनी पनि अश्रुग्यासमा कसरी परिवर्तित भइरहेका छन् भन्ने विषयमा संसारका वैज्ञानिकहरूले अनुसन्धान गरून् । महङ्गी, कालोबजारी अनि खडेरी र बाढी पनि अश्रुग्यास बनिरहेका छन् । मलाई त सिङ्गो देश नै अश्रुग्यासको कारखाना पो हो कि भन्ने पो लाग्न थालेको छ त । हामीले संसारभरि नै निर्यात गर्न सक्छौं । फेरि पनि अश्रुग्यासको कमी भयो भनेर अर्को देशबाट आयात गर्थ्यौं । यस्ता देश पनि छन् जसको अश्रुग्यासमा अरूको आँसु निकाल्ने खुबी छ । हामी यस्ता थुप्रै ग्यासहरू विदेशबाट झिकाउँथ्यौं । सरकारसँग खुवाउने प्रबन्ध होस् नहोस् तर रुवाउने प्रबन्ध त हुनैपर्यो नि त ! विदेशी ग्यासबाट आँसु आउँदा राष्ट्रलाई लाज लाग्थ्यो भने अब आफ्नै ग्यास प्रयोग गरेर जति रोए पनि र जति रुवाए पनि भयो ।
मेरो गुनासो के पनि हो भने जसले अश्रुग्यासमा देशलाई आत्मनिर्भर बनायो त्यसलाई नोबेल पुरस्कार किन दिइएन ? पुलिसमन्त्री महाकवि हुन् । ‘मेघदूत’ लेख्छन् । उनी लेख्छन् –‘आषाढस्य प्रथम दिवसे.. (अगाडिका शब्द सरल नेपालीमा) आषाढको प्रथम दिनमा जब आकाशमा कालो बादल लागेको थियो, रमाइलो मौसम देखेर यक्षले गोली चलाउने हुकुम दिए । केही बेरमै आकाशले मानवरक्तले धर्तीको सिउँदो रँगाइदियो । यो देखेर यक्षलाई प्रियाको सम्झनाले पिरोल्न थाल्यो । उसले मेघका माध्यमबाट प्रियालाई सन्देश पठायो ।
‘हे मेघ ! तँ उडेर उत्तरमा मेरी प्रियानिर जा । जब तँ तीर्थराज प्रयाग पुग्नेछस् त्यहाँ विश्वविद्यालयमा पुलिसले अश्रुग्यास छोडिरहेको हुनेछ । तँ त्यहाँ नबर्सेस् । पानीले ग्यासको प्रभाव समाप्त पार्छ । यदि बर्सिस् भने कडा कार्बाहीमा पर्लास् । जब तँ कानपुर पुग्नेछस्, त्यहाँ लाठीचार्ज भइरहेको पाउने छस् । तँ त्यहाँ पनि नबर्सेस् । पानी खस्नाले भिड तितरबितर हुन्छ अनि पुलिसले टाउको फुटाल्ने सुख लुट्न पाउने छैन । जब तँ आगरा पुग्नेछस् त्यहाँ मुसलधारे बर्सिनू र सडकको रगत बगाइदिनू । त्यहाँ जाँचबुझ आयोग आउने भएको छ । जब तँ सुन्दर इन्द्रप्रस्थ पुग्नेछस् त्यति वेला त्यहाँ गोली चलिरहेको हुनेछ । तँ तलबाट नउड्नू । नत्र गोली लाग्न सक्छ ।
हे मेघ ! उड्दै उड्दै तँ मेरी प्रिया भएको ठाउँमा पुगेर भन्नू – ‘प्रिये ! (यो मेरो तर्फबाट भन्नू । आफ्नो तर्फबाट नभन्नू नि ! नत्र साले, तँलाई दश वर्षका लागि जेलमा कुहाइदिन्छु ।) भन्नू, यक्षले के भन्न पठाएका छन् भने अहिले यताको ‘ल एन्ड अर्डर’ को अवस्था राम्रो छैन । त्यसैले केही दिन अझै ‘कन्ट्रोल रुम’मै बस्छु ।
मेरो गुनासो के छ भने यस्तो काव्यमाथि साहित्यको नोबेल पुरस्कार किन दिइँदैन ?
०००
परसाईं रचनावली भाग ३ को ‘शिकायत मुझे भी है’ को नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest







































