साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुहोस् पोल खोलौं

। नवीनतम सृजनाको कुरा खै भनेर र बिरालोलाई मुसोलाई सोध्यो भने मुसोले सहजै भन्न सक्छ मुसाको गोठालो तिमी भन्दा भरपर्दो अरु को हुनसक्ला ? तसर्थ तिमी आफै बुझ नवीनताको कुरा।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

पोल खोल्नुको अर्थ गोप्यता भङ्ग गर्नु पो हुँदो रहेछ। गोप्य कुराको सार्वजनीतिकरण गर्नु नै पोल खोल्नु हो। बडो अजबको कुरा हो जस्तो लाग्छ यो गोप्य कुराको समाजिकीकरण गर्नु । अजबगजब तरिकाले भन्नु, सुनाउनु, छरपस्ट पार्नु, छताछुल्ल गरी दिनु । भन्न नहुने, रक्षा गर्न लायक, रक्षणीय, लुकाउनु पर्ने, लुकाउन लायक, गोपनीय कुराको पर्दाफास गर्नुलाई पोल खोल्नु भनियो। मानिसहरूका बिचमा सम्बाध टार्न, अड्को फुकाउन, गर्न नहुने काम गर्न, गल्ति कमजोरी लुकाउन, संरक्षण र सम्वर्द्धन गर्न, रणनीतिक महत्वका कुराहरू लुकाउन गरिएका संवाद सहमति, बातचित, राम्रा नराम्रा सबै प्रकारका गुह्य कुराहरुको समूहबाट बहिर्गमन गर्नुलाई पोल खोलाखोल भन्नु पर्ने देखिन आएकोले आउनुहोस् अजबको गजब बहस गरौँ पोल खोलाखोलको माध्यमबाट।

सर्पको खुट्टा देख्न सर्पै हुनुपर्छ। गोप्य कुराबारे सुसूचित हुन पनि उस्तै हुनु पर्यो नि ! उस्तै नभए कसरी गोप्य कुरा थाहा हुन्छ ? चोर नभइ चोरीको कुरा कसरी थाहा होला ? डाँका नभै डकैती बारे कसरी चाल पाइएला ? चोर चोर नमिल्दा चोरले चोरको पोल खोलेको देखेकै हो। चोर चोरमा, चोरले चोरको नेतृत्व अस्वीकार गर्न थाल्दा वा नाइकेले भने बमोजिम चल्न नमान्दा, नमान्ने चोर निस्कासनमा पर्छ र अर्को चोर ग्याङ तयार गर्छ।

पोलखोलाखोलको उधुम मच्चिन्छ। डाँका लुटेराहरूको पनि सिद्धान्त हुन्छन् । गोपनियताको सपथले मात्र कहाँ पुग्छ त्यसमा त झनै कठिन परीक्षण गराएर सदस्यताको लेनदेन हुन परेन ? कतै शुरुमै झ्याप्पै परियो भने त चोर डाँका सत्यानाश हुने भयले सजगता अपनाइन्छ होला नि! मूलदेखि नै नाश, सर्वनाश, ठुलो बरबादी हुने गरी परीक्षण विना नै त के समाहित गर्दा हुन् समूहमा । कठिनतम घडीमा पनि अविचलित हुन सक्ने अनुशासित, भरपर्दो, लायक व्यक्तिलाई मात्र हुल्दाहुन् त्यो पनि अपहरित जिनिसको बाँडफाँडमा प्रमाण बेगरको जेन्टलम्यान एग्रिमेन्ट गरेर। ल्याकत र काबिलियतता पनि हेरिँदो हो। चोरुवा र डाँकुवाका योग्यताका मापदण्ड पनि त होलान्।

एक अर्का बीचमा कुरो नमिल्दा, सिद्धान्तको परिपालना नहुँदा वा भागबन्डामा विभेद हुँदा वा नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदा डाँका समूहमा पनि पोलखोलाखोल भएर राज्य नियन्त्रित खोरमा परेका कति ज्याद्रा सक्कली उदाहरणहरु छन्।राज्य नियन्त्रणमा पनि चोर र डाँकाहरुले राम्रै नासो पठाउन्ज्याल समान्य नागरिकबाट जबरजस्ती हत्याइएको सिर्तोले मुखमिठास गर्दै जिब्रोले तल्लो र माथिल्लो ओठ लपकलपक चाड्दासम्म कसको के चल्छ ? सामसुम, गुपचुप अपहरित जिनिस अपहरण गर्नेकै हकदाबी भित्र पर्ने गरी वैधानिक अङ्गद्वारा मिलान गर्ने काम फत्ते हुन सक्छ।वैधानिक अङ्गमा विराजमानहरुले प्राप्त गरेको अधिकार उपयोग गरी अभिलेखिकरण गरेमा सकियो। भयो काम तमाम। जसको शक्ति उसकै भक्ति।शक्ति विहिनको उड्यो जायजेथा। भयो बेघरबार।

बाहिरी दुनियाँबाट पृथक, कसैले नदेख्ने, काला चस्मा आँखामा पहिराइ दिएसम्म सामसुम हुने कुराको ज्ञान कसलाई पो नहोला र यो दुनियादारीको लोकमा ? काला चस्माभित्र न अरुले देख्ने न अरुलाई देख्ने।दुवैतर्फ रतन्धोको आँधिबेरी एकैपटक आउँदा भएन त समाधान । को लुटियो, को चोरियो के मतलब बहिखाता राख्न र हिसाब किताब मिलाउन ? के मतलब कागजपत्र गराउन ? किन चाहियो अनुसन्धान र तहकिकात गर्न इहलौकिकतामा ? द्रव्यरुपी जिनिसले सबथोकमा पर्दा लागाइ दिन्छ। कहिलेकाहीँ पद र सम्मानले पनि आँखामा फुलो पारेको देखिएकै हो। द्रव्य र पदका पनि सिमितताले पोलको खोल सिलाउन र टाल्न सधै कहाँ सकिन्छ र ? सकिँदैन। अनि गर्नु परेन खोलाखोल। नगरी धर पाइयो र ? कसको खोल्ने पोल अर्को फसाद।

अन्जान नजानिएका पराइको पोल खोल्न सोचे जति सजिलो कहाँ हुन्छ र ? बडो सकस सूचनाका स्रोतको सहायता लिन पर्यो। हुन त अन्धाधुन्ध भन्दा पनि भयो। अँध्यारोमा झटारो हान्दा के थाहा पाको फल पो झर्छ कि। झरे झरोस् नझरे नझरोस् झरेकै हो भन्दा पनि त मिल्यो। भ्रमको खेतीले पनि त चाँजोपाँजो मिलाइएकै हुन्छ। गर्जो टार्ने भात्र होइन राम्रै फलिफाप भएका गतिलै उदाहरण छन्। खेती फष्टाएकै छ। को पो छ साक्षी ? के पो छ र दसी ?

जानपहिचान त आफ्नैसँग हो हुने। आफ्नो बाहेक अरुको बारेमा कसरी जानकार हुनसक्छ ? आफ्नो आफ्नो बारेमा जानकारले नै खोल्ने हो पोल। अजानकारले त पोल खोलेपछि पो पत्तो पाउँछ भागुत्ता निवासमा सर्पको आतिथ्य सत्कार, मुसाको बिहेमा बिरालो जन्ति, कुकुरको भोजमा बाघ पाहुना। कुकुरको मासु बाघलाई मिठो लाग्छ रे। बाघले कुकुर भेटाउँदा त्यसै भनेको हो र “तेलको चौंठो पाएँ, लडाइलडाइ खाएँ”।असम्मिलितले त बिजुली वा अन्य तार झुण्ड्याउन प्रयोग हुने पोल भन्ने पो बुझ्दछन्। खामो पोलमा परेका आँखा तब तिर्मिराउछन् जब यो खोलाखोल पोलको बत्ति बल्छ अँधेरी रातमा झिलिमिली। बारुदी सुरुङको कथाको पटाक्षेप हुने गरी स्वचालित बत्ति बल्न थालेपछि निभ्ने त कुरै हुन्न पोल खोलाखोलमा। अनि त खोलेपछि पो भेउ पाउँछन् भागुत्ता कति धार्निको थियो ? मुसाको बिहेमा कतिवटा बिराला जन्ति गएका थिए ? मुसाले हनिमुन मनाउँन पायो कि पाएन ? पाएको भए कुन दिशामा, कति बेला, कति समयसम्म मनायो? भ्यागुत्ताको निवासमा सर्पको  शिरानी कतापट्टि थियो ?

ब्याउलीले ब्याउलाको कन्धनी काटेर लँगौटी झार्ने। ब्याउलाले ब्याउलीको इजार छिनालेर पेटीकोट च्यात्ने। आफ्नातिर भने लँगौटी र पेटिकोटको आकारमा रंग पोत्ने। बस्त्र पहिरिएको भ्रम छर्ने। लँगौटी र पेटिकोटको रंगभेदी छाया पारेर लाज टाल्ने। एकअर्कामा आलोपालो नीति अनुसारको विधि संचलान गरी आफू र आफ्ना सुनपानी दुवो र गहुँत छर्केर चोख्याउने।वातावरणमैत्री स्वच्छ घर निर्माण गरेर भित्र्याउने । अरु र अरुकालाई दशैँको मौलामा काटिएको बोकालाई झै तातो पानीमा डुबाएर खुइल्याउने। हजार जिब्रा भएको शेष नागलाई जित्ने गरी बासुलोले जिब्रो ताछेर पत्ल्याएर वाकपटुता फुराउने। ध्वाङ लगाएर न्वारन देखिको बलमा जानेजति, भोगेजति, देखेजति, अलि थपथाप गरेर ओकल्ने। पोख्ने। सूर्यदेवको तातो शक्तिमा घरिनाले बिस्कुन सुकाए झै ओल्टाइपल्टाइ सुकाउने ।आधुनिक सामाजिक सञ्जालमा पोष्ट्याउने । पोष्ट्याउन लगाउने अनि सूचित गर्ने । भाइरल बनाउन डिजिटल खेतालाहरुको जमातलाई सक्रिय बनाउने। कलमको निभ तिखारेर पाना रंगाउने। डिजिटल्ली र म्यान्युअल्ली सबैतिर कोदोको बीउ छरे झै छर्ने। कोदो छरेर तोरी हो भन्न नबिर्सने।

आम रुपमा पोल खोलाखोल प्रतियोगिता संचालन गर्ने। प्रतियोगितामा अच्च अंक प्राप्त गर्नेलाई उचित पुरस्कारको व्यवस्था गर्ने । प्रतियोगीहरुले पोलखोलाखोल प्रतियोगिता मार्फत पारदर्शीता उन्मुख वातावरण सृजना गरी स्वच्छ र पारदर्शी समाजको निर्माण गर्न सक्नेलाई दीर्घकालीन रुपमा अगुवाको पगरी लगाउने व्यवस्था गर्ने।

पोल खोलाखोल फ्रतियोगितामा सिद्धान्तको कुरो किन उठेन भन्दै भ्यागुत्ताले सर्पसँग सोध्यो भने सर्पले सजिलै जवाफ दिन सक्छ । सर्प र भ्यागुत्तोको जस्तै हो पोल र सिद्धान्तको सम्बन्ध । सर्पले भ्यागुत्तोलाई जे गर्छ पोल खोल्नेले सिद्धान्तलाई ठ्याक्कै त्यही गरेको होला। नवीनतम सृजनाको कुरा खै भनेर र बिरालोलाई मुसोलाई सोध्यो भने मुसोले सहजै भन्न सक्छ मुसाको गोठालो तिमी भन्दा भरपर्दो अरु को हुनसक्ला ? तसर्थ तिमी आफै बुझ नवीनताको कुरा।पोल खोलाखोलमा सिद्धान्तर र नवीनता असान्दर्भिक हुने भएकाले गर्नु उपयुक्त हुँदैन। सान्दर्भिक हुँदैन।

पोल खोलाखोलमा एउटा कुरामा भने बडो सजगता अपनाउदा राम्रो होला। नभएका, नगरिएका असंलग्न पोलले भने वातावरण अझ दुषित बनाउन सक्छ। प्रदुषणमुक्त मनुवालाई समेत दुषित बनाइ नक्कली पोलको खोल ओडेर पोल खोलियो भने अवस्था गम्भीर बन्न सक्छ। बेइमानलाई निष्ठाको पगरी गुथ्नु जस्तो निष्ठावानलाई बेइमानको दर्जा दिनु उपयुक्त नहुन सक्छ। समाजिक मर्यादामा आँच आउन सक्छ। मानिसको ज्यान जान सक्छ। सुकरातलाई पनि त त्यही भएको हो।पोल खोलाखोलमा अब्बलता हासिल नगरेका, कमजोर मनस्थिति भएका, समान्य जीवन जीउनेहरुका नक्कली पोल बनाएर नखोल्दा उपयुक्त हुने जिकिर गर्न सक्नु राम्रो । गिदीलाई शीतल बनाएर ओखलमा कुटेका चामललाई चाल्नोले चालेर, सुपोले निफनेर कन, ढुटो, चामल र कनिका छुट्याए जस्तो गर्दा पोल खोलाखोलमा पनि राम्रै गणतान्त्रिक अभ्यास होला।

०००
कैलाली, हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x