साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कार तथा शास्त्रहरूको लडाइँ

कुरा त दुबै ठिक छन् । देशको पतन त भएकै हो तर घस्रिँदै भए पनि अगाडि बढेर उद्योगसम्म पुग्यो । अनि त्यहाँ उनले देशको छाला काढेर त्यसको जुत्ता बनाए बेच्नका लागि भनेर ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

मेरा एकजना मित्र छन् । वैज्ञानिक दृष्टि भएका र आधुनिक बुद्धिवादी । कट्टर मार्क्सवादी हुन् । गोडाबिसेक वर्षदेखि परिवारसित सम्बन्ध तोडेर राजनीतिको काममा लागेका छन् । उनका पनि कोही छन् कि छैनन् भन्ने मलाई थाहा थिएन । तर उनको पनि कोही त रहेछ । गएको साता प्रयागको गाडीमा उनी मुण्डन गरेको अवस्थामा भेटिए ।
सोधें, ‘कहाँ जाँदै छौ ?’
भने, ‘प्रयाग ।’
मानिसहरू चोरी गर्न जाँदा यस सहरलाई इलाहाबाद भन्छन् भने पिण्डदान गर्न जाँदा प्रयाग भन्छन् ।
सोधें, ‘किन ?’
भने, ‘फादरको मृत्यु भयो ।’
मैले भनें, ‘तपाईंका पनि फादर हुनुहुन्थ्यो भन्ने त मैले पहिलो पटक थाहा पाएँ ।’

त्यसो त कुनै नराम्रो कुरो होइन । हैसियत हुनेले त एकभन्दा बढी बाउहरू पनि राख्छन् । एउटा घरमा, एउटा कार्यालयमा, एकदुईजना बजारमा, हरेक राजनीतिक दलमा एकेक जना । यता एउटा मानिस छ अस्तिसम्म जसका पैंतिसजना बाउहरू थिए । हिँजो संयुक्त सरकार भङ्ग हुँदै गर्दा जम्मा पन्ध्र बाँकी रहे । आज फेरि त्यो सरकार थामियो अनि अठ्तिसवटा भए ।

मलाई उनका पिताको मृत्युको कुनै दुःख थिएन । मैले उनलाई चिनेको छैनँ । फेरि उहाँ असी वर्षका हुनुहुन्थ्यो त उहाँको मृत्युले कोही पनि अनाथ भएको थिएन । मित्रलाई पनि दुःख त थिएन तर केही पछुतो भने अवश्य थियो ।
मलाई चिन्ता थियो त त्यसको जसलाई उनी बिस वर्षदेखि पिता मान्दै आइरहेका थिए – अर्थात् मार्क्सवादको । उनले आफ्नै हातले मार्क्सवादको मुण्डन गरिदिएका थिए ।

उनको हातमा एउटा ससानो झोला पनि थियो । मैले सोधें, ‘यसमा के छ त ?’ उनले भने, ‘उहाँको अस्तू खरानी हो । तिमीलाई यति पनि थाहा छैन ।’
मैले भनें, ‘उसो भए यसमा त द्वन्द्वात्मक भौतिकवाद पो छ जसलाई तिमीले सङ्गममा विसर्जन गर्न जाँदै छौ ।’

पहिले त उनी रिसाए । अनि भने, ‘यार, यो निकै अप्ठ्यारो सङ्घर्ष हो । पहिलो संस्कार अनि परिवारको भावना ।’
मैले यो सङ्घर्ष नबुझेको होइन । काकाको मृत्युपछि मैले किरिया नगर्ने घोषणा गरेको थिएँ । अनि मेरो जुन छिःछिः भयो त्यो त मलाई मात्र थाहा छ । उहाँको किरिया गर्नेहरू त अरू पनि थिए । काका मेरै भरमा त परलोक जानुभएको थिएन नि ! मजस्ताको भरमा त कसैले परलोक त के यो लोक पनि बनाउन्न ।

मेरो मनमा एउटै जिज्ञासा थियो । यदि कुनै सामाजिक क्रान्तिमा बौद्धिक विश्वासले लागेको छ र त्यसै बेला उसकी काकीले, ‘बाबु, तिम्रा काकाको आत्मालाई दुःख हुन्छ । परलोकमा उहाँको दुर्गति हुन्छ ।’ भनिन् भने त्यस क्रान्तिकारीले के गर्ला ? परिवारको भावनाको पनि त रक्षा गर्नु छ नि ! त्यति बेला के उसले ‘लौ त काकी, उसो भए म तपाईंको यस भावनाका लागि क्रान्ति नै छाडिदिन्छु ।’ भन्ला त ?

मेरा अर्का पनि एकजना मित्र छन् । मभन्दा बढी वैज्ञानिक दृष्टिसम्पन्न अनि विचार र कर्म दुबैले क्रान्तिकारी । मैले नै उनीबाट ज्ञान र प्रेरणा लिइरहेको छु । एक दिन मैले उनलाई धोेती फेरेर र पलेंटी कसेर सत्यनारायणको कथा वाचन गरिरहेको अवस्थामा समातें ।

मलाई एम्बुलेन्सको गाडीले मलाई नै किचिदिएजस्तो भयो ।
अर्को दिन मैले उनलाई सोधें, ‘असत्यनारायण, यो तिम्रो कस्तो हरकत हो ?’ उनले भने, ‘यार मदर इन ल (सासू)ले निकै कर गर्नुभएको थियो के !’

यी मदर इन ल पनि क्रान्तिका शत्रु नै हुन् । क्रान्तिकारीको पहिलो र सबैभन्दा ठुलो सङ्घर्ष त यिनै मदर इन लसित भिड्नु हो । वास्तविक कुरो त के हो भने उनले पत्नी दिएकी हुन्छिन् । पत्नीले पनि कर्तव्यलाई अघि बढाउँदै सन्तान दिन्छिन् । अनि मदर इन लले आएर भन्छिन्, ‘बाबु, आफ्नो नभए पनि सन्तानको त ख्याल गरे हुन्थ्यो ।’
अनि बाबुको क्रान्तिकारिता भ्रान्तिकारितामा फेरिन्छ ।

मदर इन लको सिकार बनेका बिसपच्चिस क्रान्तिकारीहरूका हाडखोर मसँग पनि थन्किएका छन् । अरूसँग पनि होलान् ।

संस्कार तथा शास्त्रको लडाइँ निकै रोचक हुने गर्छ । संस्कार र अर्थशास्त्रको लडाइँ त मैले स्पष्ट देखेको छु ।
दुई वर्षपहिले एउटा सहरको कुनै सांस्कृतिक आयोजनामा गएको थिएँ । एकजना साहित्यिक रुचि हुने सज्जन मेरो घरमा चिया खान जाऊँ त जाऊँ भनेर पछि परिरहे । अनि प्रत्येक आग्रहमा उनी सरिताले पनि भनेकी छन् भन्ने कुरो थप्न बिर्सिँदैनथे । मलाई लाग्यो सरिता यिनकी पत्नी होलिन् साहित्य पढ्दी होलिन् । केही कवितासविता पनि लेख्दी होलिन् । तर चिया खान पुगेपछि उनले बैठकबाट पर्दातिर फर्केर म आएको कुराको घोषणा गरे । दुविधाग्रस्त अद्र्धआधुनिक परिवारमा यसपछि के हुन्छ भन्ने कुराको राम्रो अनुभव छ मलाई । पत्नी आउँछिन् । नमस्ते गरेपछि पहिले नै तयार गरिएका वाक्यहरू बोल्छिन् –‘मैले तपाईंका कथाहरू पढेकी छु ।’ यो सुनेर यति हाँसो उठ्छ कि भनेर साध्य छैन । यसै बेला उनलाई ‘दाम्पत्य संहिता’को नियम ७.३को सम्झना हुन्छ जसमा भनिएको हुन्छ –‘पत्नीले आफ्नो स्वतन्त्र मत प्रकट गर्नु हुँदैन । यदि प्रकट गर्नु नै परेछ भने त्यसमा पतिलाई पनि सहभागी बनाउनुपर्छ ।’ उनले पतिलाई पनि सहभागी बनाउँछिन् र सोध्छिन्, ‘भन्नुस् त हामीले गएको साता कुनचाहिँ कथा पढेका थियौं ?’

यदि केटाकेटी छन् भने पनि उनीहरूबाट ‘अङ्कल’ लाई नमस्ते गराइन्छ अनि भनिन्छ, ‘अङ्कलले तिमीलाई रमाइलो कथा सुनाउनुहुने छ । अनि कहिलेकाहीँ त मलाई त्यहीँनिर त्यस बालक वा बालिकालाई कथा सुनाउन आग्रह पनि गरिन्छ । मसँग उपाय त सबै कुराको रहन्छ । प्रौढहरूका निम्ति मधुमेहको कुरा पनि राखेको हुन्छु भने केटाकेटीका लागि कुकुरकाँसोकोे पनि । मैले उसलाई तत्काल राक्षसको कथा सुनाइदिन्छु । आग्रह भयो भने त उनका ससुरालाई पनि कृष्ण र सुदामाको कथा सुनाउन सक्छु ।

बैठकमा बस्दै गर्दा मैले सोचें, अब सरिताजी आउने छिन् र उही यान्त्रिक चर्चा थालिने छ । तर निकै समय लाग्यो । सरिताजी त के ? त्यहाँ ढलिनीजी पनि आइनन् । सोचें, चिया लिएरै आउलिन् । तर केही बेरपछि ढोकाको सिक्री बज्यो अनि पति महोदयले भित्र गएर चियाको ट्रे लिएर आए ।

भित्रबाट एउटी बिराली निस्की । त्यस घरमा पर्दाभित्र नलुक्ने महिलामा एकमात्र त्यही बिराली थिई ।
सिक्री भने धातुको युगदेखि नै प्रयोगमा आइरहेको घरेलु कलबेल हो । सरिताजीले केही संस्कारहरू माइतबाट लिएर आएकी हुँदी हुन् भने केही यहाँ पनि पाइन् होला । जब उनका पाउ सँगारतिर लम्किन्छन् त्यति बेलै उनको हात पनि सिक्रीतिर तन्किन्छ ।

तर जब यही अवस्था थियो भने ती मान्छेले बारम्बार सरिताले पनि आउन भनेकी छन् भनेर किन भने त ? यस दृश्यमा त सरिताको भूमिका भनेको नेपथ्यबाट सिक्री बजाउने मात्र रहेछ ! यदि यी व्यक्तिले सरिताजीलाई पनि मञ्चमा ल्याउनु छ भने त त्यो सिक्री फुकालेर मिल्काउनुपर्छ । तर त्यसपछि पनि उनले थाल ठटाउन थालिन् भने ?
दुई वर्षपछि फेरि म त्यस सहरमा गएँ । उनले फेरि मलाई चिया खुवाउन लगे । तर यसपालि भने उनले सरिताले पनि भनेकी छन् भनेर भनेनन् । हुन सक्छ उनले नेपथ्यवाला अंश नाटकबाट काटिदिएका होलान् । म बैठकमा पुगें । उनले पर्दातिर फर्केर म आएको घोषणा गरेनन् । तर केही बेरपछि नै सरिताजी ट्रे लिएर बाहिर आइन् । एकदुईवटा औपचारिक कुरा गरिन् अनि घडी हेरिन् र बोलिन्, ‘तपाईंहरू चिया खाँदै गर्नुस् । मेरो भने स्कुल जाने समय भयो ।’ अनि चप्पल पड्काउँदै भर्‍याङबाट ओर्लिन् ।

श्रीमान् सरितापतिले भने, ‘स्कुलमा नोकरी गर्न थालेकी छन् । अचेल एउटाको कमाइले काम चल्दैन ।’
मैले अर्थशास्त्रले संस्कारलाई धोबीपछार लगाएको कुरो बुझें ।

हाम्रो समयमा नारीले जेजति मुक्ति पाएका छन् त्यो किन पाएका छन् त ? आन्दोलनबाट ? आधुनिक दृष्टिले ? हैन, त्यस मुक्तिको कारण महङ्गी हो । नारीमुक्तिको इतिहासमा ‘एउटाको कमाइले घर चल्दैन ।’ भन्ने वाक्य अमर हुनेछ ।
अर्थशास्त्रले संस्कारको छातीमा चढेर घाँटी थिच्दै छ । यता एउटा केटाले एउटी केटीलाई उसकै इच्छाले भगाएर सरकारी बिहे गरेछ । केटो योग्य पनि सुन्दर पनि र सरकारी नोकरी पनि भएको । पहिले केटीकी आमाका संस्कारहरूले उफ्रिपाफ्री मच्चाए । तर अर्थशास्त्रले यो सहन सकेन र उसले संस्कारहरूलाई पछारिदियो । आमाले सोचिन्, दाइजो दिन भनेर जोगाइराखेको पन्ध्र हजार त बच्यो नि ! अनि पन्ध्र हजार दिएर पनि यति राम्रो केटो त के पाइन्थ्यो र ? उनले कार्ड बाँडेर भोज गरिन् ।

कुनै असल केटाले उनकी छोरीलाई भगाएर बिहे गरेपछि थाहा दियो भनेर एउटी असल आमाले प्रीति भोज पनि नगरुन् त ?

लडाइँ त शास्त्रहरूको पनि हुन्छ आपसमा । जब अर्थशास्त्र धर्मशास्त्रमाथि चढेर बस्छ तब गोरक्षा आन्दोलनका नेता पण्डित द्वारकानाथले जुत्ताको पसल खोल्छन् र धेरै मात्रामा ‘लेदर’ (बाच्छाको छाला) का जुत्ता बेच्छन् । गाईको बाच्छाको छालाले बनेको जुत्तालाई हातमा भागवतको किताब समातेझै समाएर ग्राहकसित भन्छन्, ‘यो जुत्ता निकै नरम हुन्छ ।’ पहिले काफ लेदर बेलायतबाट आउँथ्यो अहिले भने आफ्नै देशमा पनि काढिन थालेको छ । हाम्रो देश पनि निकै अघि बढिसकेको छ ।

जब सडकमा जुलुसमा निस्केका हुन्छन् त्यति बेला भने भन्छन्, ‘गोहत्याका कारण देशको पतन भएको छ ।’ अनि जब पसलमा हुन्छन् त्यति बेला भन्छन्, ‘बाच्छाको छाला काढ्ने गर्नाले देश अघि बढेको छ ।’ कुरा त दुबै ठिक छन् । देशको पतन त भएकै हो तर घस्रिँदै भए पनि अगाडि बढेर उद्योगसम्म पुग्यो । अनि त्यहाँ उनले देशको छाला काढेर त्यसको जुत्ता बनाए बेच्नका लागि भनेर ।

०००
परसाई रचनावली ३ को ‘संस्कारों और शास्त्रों की लडाई’बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x