हरिशंकर परसाईंसंस्कार तथा शास्त्रहरूको लडाइँ
कुरा त दुबै ठिक छन् । देशको पतन त भएकै हो तर घस्रिँदै भए पनि अगाडि बढेर उद्योगसम्म पुग्यो । अनि त्यहाँ उनले देशको छाला काढेर त्यसको जुत्ता बनाए बेच्नका लागि भनेर ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
मेरा एकजना मित्र छन् । वैज्ञानिक दृष्टि भएका र आधुनिक बुद्धिवादी । कट्टर मार्क्सवादी हुन् । गोडाबिसेक वर्षदेखि परिवारसित सम्बन्ध तोडेर राजनीतिको काममा लागेका छन् । उनका पनि कोही छन् कि छैनन् भन्ने मलाई थाहा थिएन । तर उनको पनि कोही त रहेछ । गएको साता प्रयागको गाडीमा उनी मुण्डन गरेको अवस्थामा भेटिए ।
सोधें, ‘कहाँ जाँदै छौ ?’
भने, ‘प्रयाग ।’
मानिसहरू चोरी गर्न जाँदा यस सहरलाई इलाहाबाद भन्छन् भने पिण्डदान गर्न जाँदा प्रयाग भन्छन् ।
सोधें, ‘किन ?’
भने, ‘फादरको मृत्यु भयो ।’
मैले भनें, ‘तपाईंका पनि फादर हुनुहुन्थ्यो भन्ने त मैले पहिलो पटक थाहा पाएँ ।’
त्यसो त कुनै नराम्रो कुरो होइन । हैसियत हुनेले त एकभन्दा बढी बाउहरू पनि राख्छन् । एउटा घरमा, एउटा कार्यालयमा, एकदुईजना बजारमा, हरेक राजनीतिक दलमा एकेक जना । यता एउटा मानिस छ अस्तिसम्म जसका पैंतिसजना बाउहरू थिए । हिँजो संयुक्त सरकार भङ्ग हुँदै गर्दा जम्मा पन्ध्र बाँकी रहे । आज फेरि त्यो सरकार थामियो अनि अठ्तिसवटा भए ।
मलाई उनका पिताको मृत्युको कुनै दुःख थिएन । मैले उनलाई चिनेको छैनँ । फेरि उहाँ असी वर्षका हुनुहुन्थ्यो त उहाँको मृत्युले कोही पनि अनाथ भएको थिएन । मित्रलाई पनि दुःख त थिएन तर केही पछुतो भने अवश्य थियो ।
मलाई चिन्ता थियो त त्यसको जसलाई उनी बिस वर्षदेखि पिता मान्दै आइरहेका थिए – अर्थात् मार्क्सवादको । उनले आफ्नै हातले मार्क्सवादको मुण्डन गरिदिएका थिए ।
उनको हातमा एउटा ससानो झोला पनि थियो । मैले सोधें, ‘यसमा के छ त ?’ उनले भने, ‘उहाँको अस्तू खरानी हो । तिमीलाई यति पनि थाहा छैन ।’
मैले भनें, ‘उसो भए यसमा त द्वन्द्वात्मक भौतिकवाद पो छ जसलाई तिमीले सङ्गममा विसर्जन गर्न जाँदै छौ ।’
पहिले त उनी रिसाए । अनि भने, ‘यार, यो निकै अप्ठ्यारो सङ्घर्ष हो । पहिलो संस्कार अनि परिवारको भावना ।’
मैले यो सङ्घर्ष नबुझेको होइन । काकाको मृत्युपछि मैले किरिया नगर्ने घोषणा गरेको थिएँ । अनि मेरो जुन छिःछिः भयो त्यो त मलाई मात्र थाहा छ । उहाँको किरिया गर्नेहरू त अरू पनि थिए । काका मेरै भरमा त परलोक जानुभएको थिएन नि ! मजस्ताको भरमा त कसैले परलोक त के यो लोक पनि बनाउन्न ।
मेरो मनमा एउटै जिज्ञासा थियो । यदि कुनै सामाजिक क्रान्तिमा बौद्धिक विश्वासले लागेको छ र त्यसै बेला उसकी काकीले, ‘बाबु, तिम्रा काकाको आत्मालाई दुःख हुन्छ । परलोकमा उहाँको दुर्गति हुन्छ ।’ भनिन् भने त्यस क्रान्तिकारीले के गर्ला ? परिवारको भावनाको पनि त रक्षा गर्नु छ नि ! त्यति बेला के उसले ‘लौ त काकी, उसो भए म तपाईंको यस भावनाका लागि क्रान्ति नै छाडिदिन्छु ।’ भन्ला त ?
मेरा अर्का पनि एकजना मित्र छन् । मभन्दा बढी वैज्ञानिक दृष्टिसम्पन्न अनि विचार र कर्म दुबैले क्रान्तिकारी । मैले नै उनीबाट ज्ञान र प्रेरणा लिइरहेको छु । एक दिन मैले उनलाई धोेती फेरेर र पलेंटी कसेर सत्यनारायणको कथा वाचन गरिरहेको अवस्थामा समातें ।
मलाई एम्बुलेन्सको गाडीले मलाई नै किचिदिएजस्तो भयो ।
अर्को दिन मैले उनलाई सोधें, ‘असत्यनारायण, यो तिम्रो कस्तो हरकत हो ?’ उनले भने, ‘यार मदर इन ल (सासू)ले निकै कर गर्नुभएको थियो के !’
यी मदर इन ल पनि क्रान्तिका शत्रु नै हुन् । क्रान्तिकारीको पहिलो र सबैभन्दा ठुलो सङ्घर्ष त यिनै मदर इन लसित भिड्नु हो । वास्तविक कुरो त के हो भने उनले पत्नी दिएकी हुन्छिन् । पत्नीले पनि कर्तव्यलाई अघि बढाउँदै सन्तान दिन्छिन् । अनि मदर इन लले आएर भन्छिन्, ‘बाबु, आफ्नो नभए पनि सन्तानको त ख्याल गरे हुन्थ्यो ।’
अनि बाबुको क्रान्तिकारिता भ्रान्तिकारितामा फेरिन्छ ।
मदर इन लको सिकार बनेका बिसपच्चिस क्रान्तिकारीहरूका हाडखोर मसँग पनि थन्किएका छन् । अरूसँग पनि होलान् ।
संस्कार तथा शास्त्रको लडाइँ निकै रोचक हुने गर्छ । संस्कार र अर्थशास्त्रको लडाइँ त मैले स्पष्ट देखेको छु ।
दुई वर्षपहिले एउटा सहरको कुनै सांस्कृतिक आयोजनामा गएको थिएँ । एकजना साहित्यिक रुचि हुने सज्जन मेरो घरमा चिया खान जाऊँ त जाऊँ भनेर पछि परिरहे । अनि प्रत्येक आग्रहमा उनी सरिताले पनि भनेकी छन् भन्ने कुरो थप्न बिर्सिँदैनथे । मलाई लाग्यो सरिता यिनकी पत्नी होलिन् साहित्य पढ्दी होलिन् । केही कवितासविता पनि लेख्दी होलिन् । तर चिया खान पुगेपछि उनले बैठकबाट पर्दातिर फर्केर म आएको कुराको घोषणा गरे । दुविधाग्रस्त अद्र्धआधुनिक परिवारमा यसपछि के हुन्छ भन्ने कुराको राम्रो अनुभव छ मलाई । पत्नी आउँछिन् । नमस्ते गरेपछि पहिले नै तयार गरिएका वाक्यहरू बोल्छिन् –‘मैले तपाईंका कथाहरू पढेकी छु ।’ यो सुनेर यति हाँसो उठ्छ कि भनेर साध्य छैन । यसै बेला उनलाई ‘दाम्पत्य संहिता’को नियम ७.३को सम्झना हुन्छ जसमा भनिएको हुन्छ –‘पत्नीले आफ्नो स्वतन्त्र मत प्रकट गर्नु हुँदैन । यदि प्रकट गर्नु नै परेछ भने त्यसमा पतिलाई पनि सहभागी बनाउनुपर्छ ।’ उनले पतिलाई पनि सहभागी बनाउँछिन् र सोध्छिन्, ‘भन्नुस् त हामीले गएको साता कुनचाहिँ कथा पढेका थियौं ?’
यदि केटाकेटी छन् भने पनि उनीहरूबाट ‘अङ्कल’ लाई नमस्ते गराइन्छ अनि भनिन्छ, ‘अङ्कलले तिमीलाई रमाइलो कथा सुनाउनुहुने छ । अनि कहिलेकाहीँ त मलाई त्यहीँनिर त्यस बालक वा बालिकालाई कथा सुनाउन आग्रह पनि गरिन्छ । मसँग उपाय त सबै कुराको रहन्छ । प्रौढहरूका निम्ति मधुमेहको कुरा पनि राखेको हुन्छु भने केटाकेटीका लागि कुकुरकाँसोकोे पनि । मैले उसलाई तत्काल राक्षसको कथा सुनाइदिन्छु । आग्रह भयो भने त उनका ससुरालाई पनि कृष्ण र सुदामाको कथा सुनाउन सक्छु ।
बैठकमा बस्दै गर्दा मैले सोचें, अब सरिताजी आउने छिन् र उही यान्त्रिक चर्चा थालिने छ । तर निकै समय लाग्यो । सरिताजी त के ? त्यहाँ ढलिनीजी पनि आइनन् । सोचें, चिया लिएरै आउलिन् । तर केही बेरपछि ढोकाको सिक्री बज्यो अनि पति महोदयले भित्र गएर चियाको ट्रे लिएर आए ।
भित्रबाट एउटी बिराली निस्की । त्यस घरमा पर्दाभित्र नलुक्ने महिलामा एकमात्र त्यही बिराली थिई ।
सिक्री भने धातुको युगदेखि नै प्रयोगमा आइरहेको घरेलु कलबेल हो । सरिताजीले केही संस्कारहरू माइतबाट लिएर आएकी हुँदी हुन् भने केही यहाँ पनि पाइन् होला । जब उनका पाउ सँगारतिर लम्किन्छन् त्यति बेलै उनको हात पनि सिक्रीतिर तन्किन्छ ।
तर जब यही अवस्था थियो भने ती मान्छेले बारम्बार सरिताले पनि आउन भनेकी छन् भनेर किन भने त ? यस दृश्यमा त सरिताको भूमिका भनेको नेपथ्यबाट सिक्री बजाउने मात्र रहेछ ! यदि यी व्यक्तिले सरिताजीलाई पनि मञ्चमा ल्याउनु छ भने त त्यो सिक्री फुकालेर मिल्काउनुपर्छ । तर त्यसपछि पनि उनले थाल ठटाउन थालिन् भने ?
दुई वर्षपछि फेरि म त्यस सहरमा गएँ । उनले फेरि मलाई चिया खुवाउन लगे । तर यसपालि भने उनले सरिताले पनि भनेकी छन् भनेर भनेनन् । हुन सक्छ उनले नेपथ्यवाला अंश नाटकबाट काटिदिएका होलान् । म बैठकमा पुगें । उनले पर्दातिर फर्केर म आएको घोषणा गरेनन् । तर केही बेरपछि नै सरिताजी ट्रे लिएर बाहिर आइन् । एकदुईवटा औपचारिक कुरा गरिन् अनि घडी हेरिन् र बोलिन्, ‘तपाईंहरू चिया खाँदै गर्नुस् । मेरो भने स्कुल जाने समय भयो ।’ अनि चप्पल पड्काउँदै भर्याङबाट ओर्लिन् ।
श्रीमान् सरितापतिले भने, ‘स्कुलमा नोकरी गर्न थालेकी छन् । अचेल एउटाको कमाइले काम चल्दैन ।’
मैले अर्थशास्त्रले संस्कारलाई धोबीपछार लगाएको कुरो बुझें ।
हाम्रो समयमा नारीले जेजति मुक्ति पाएका छन् त्यो किन पाएका छन् त ? आन्दोलनबाट ? आधुनिक दृष्टिले ? हैन, त्यस मुक्तिको कारण महङ्गी हो । नारीमुक्तिको इतिहासमा ‘एउटाको कमाइले घर चल्दैन ।’ भन्ने वाक्य अमर हुनेछ ।
अर्थशास्त्रले संस्कारको छातीमा चढेर घाँटी थिच्दै छ । यता एउटा केटाले एउटी केटीलाई उसकै इच्छाले भगाएर सरकारी बिहे गरेछ । केटो योग्य पनि सुन्दर पनि र सरकारी नोकरी पनि भएको । पहिले केटीकी आमाका संस्कारहरूले उफ्रिपाफ्री मच्चाए । तर अर्थशास्त्रले यो सहन सकेन र उसले संस्कारहरूलाई पछारिदियो । आमाले सोचिन्, दाइजो दिन भनेर जोगाइराखेको पन्ध्र हजार त बच्यो नि ! अनि पन्ध्र हजार दिएर पनि यति राम्रो केटो त के पाइन्थ्यो र ? उनले कार्ड बाँडेर भोज गरिन् ।
कुनै असल केटाले उनकी छोरीलाई भगाएर बिहे गरेपछि थाहा दियो भनेर एउटी असल आमाले प्रीति भोज पनि नगरुन् त ?
लडाइँ त शास्त्रहरूको पनि हुन्छ आपसमा । जब अर्थशास्त्र धर्मशास्त्रमाथि चढेर बस्छ तब गोरक्षा आन्दोलनका नेता पण्डित द्वारकानाथले जुत्ताको पसल खोल्छन् र धेरै मात्रामा ‘लेदर’ (बाच्छाको छाला) का जुत्ता बेच्छन् । गाईको बाच्छाको छालाले बनेको जुत्तालाई हातमा भागवतको किताब समातेझै समाएर ग्राहकसित भन्छन्, ‘यो जुत्ता निकै नरम हुन्छ ।’ पहिले काफ लेदर बेलायतबाट आउँथ्यो अहिले भने आफ्नै देशमा पनि काढिन थालेको छ । हाम्रो देश पनि निकै अघि बढिसकेको छ ।
जब सडकमा जुलुसमा निस्केका हुन्छन् त्यति बेला भने भन्छन्, ‘गोहत्याका कारण देशको पतन भएको छ ।’ अनि जब पसलमा हुन्छन् त्यति बेला भन्छन्, ‘बाच्छाको छाला काढ्ने गर्नाले देश अघि बढेको छ ।’ कुरा त दुबै ठिक छन् । देशको पतन त भएकै हो तर घस्रिँदै भए पनि अगाडि बढेर उद्योगसम्म पुग्यो । अनि त्यहाँ उनले देशको छाला काढेर त्यसको जुत्ता बनाए बेच्नका लागि भनेर ।
०००
परसाई रचनावली ३ को ‘संस्कारों और शास्त्रों की लडाई’बाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































