
तपाईं नभनी मपाई
एकजनाले मुख खोली हाले-म्याडम डण्ट वरी...तपाईले बोल्नुपर्ने कुरा हामी नै लेखेर तपाईलाई दिन्छौं... बस त्यही कागत हेर्दै वक्तव्य गर्नुहोस्। बस्, साँप पनि मर्ने लट्ठी पनि नभाँचिने।

नगिता लेप्चा राई :
अचेल त म पनि अलिक चङ्खी भएकी छु। किनभने हिजोआज चङ्खो भएन भने त मोराहरूले थाङ्नामै सुताउन खोज्दा रहेछन् अन्त। त्यसैकारण, आजकल म पहिलेभन्दा अलिक चङ्ख भएकी छु।
अरुले मलाई तपाईं भनोस् कि नभनोस्… त्यसको मलाई कुनै वास्ता र परवाह छैन। म चाहिँ आफैँ मपाई पो हुन थालेकी छु । अरुले मलाई कुनै ठाँउमा बोलाएकै छैन भने पनि आफ्नोमा भएको केही आर्थिक रुपमा सघाएर भए पनि मलाई त्यो कार्यक्रममा जानैपर्ने हुन्छ। त्यस्तो कार्यक्रम आयोजक महोदयलाई सामान्य रुपमा भए पनि आर्थिक सहयोग गरेपछि त आजकल जुनसुकै कार्यक्रम होस् चाहे घरको पारिवारिक कार्यक्रम होस् या कुनै साहित्यिक कार्यक्रम नै किन नहोस् अलिकति चखाए पछि त अघिल्लो पङ्क्तिमा आसन दिई हाल्छन। यो सबै मनीकै खेल हो। भनिन्छ नि मनी इज हनी, नो मनी इज रन्थनी।
हिजोआज त नाम कमाउनलाई पढ्नैपर्छ भन्ने पनि केही देखिनँ हौ मैले त। ज्ञान, बुद्धि, क्षमता होस् या नहोस् आर्थिक सहयोगको मिसाइल पड़्काए पछि जतासुकै नामै नाम। बस यसभन्दा अरु के चाहियो र?
अस्ति त एउटा साहित्यिक कार्यक्रममा गएकी थिएँ। बेसी त होइन पाँच हजार चाहिँ मैले सघाएकी थिएँ। म त्यहाँ पुग्नसाथ ती महान् महान् बिभुतिहरू जस्ले साहियमा आफ्नो पूर्ण जीवन नै बिताउनु भयो त्यस्ता भीआइपी मान्छेहरूले मलाई पर्खेर बसेका रहेछ्न् । त्यतिबेला छक्कै परेँ… हे भगवान्! पैसा भए सबै रहेछन् भन्ने कुरा स्पष्ट भयो मलाई।
कार्यक्रमको अन्तिमसम्म बसेर कार्यक्रम सञ्चालक जस्ले मेरोबाट आर्थिक सहयोग लिएका थिए उनी मेरो छेउमा आउनुभयो अनि भन्नुभयो. म्याडम. सानो वक्तब्य दिनुपर्छ हजूरले। आफूलाई त केही आँउदैन। यस्तो सुर्तामा परेँ म, केही क्षणपछि सञ्चालक महोदय फेरि मकहाँ आउनुभयो अनि सानो चिट दिँदै मलाई भन्नुभयो. म्याडम यस्मा जस्तो लेखेको छ त्यस्तै पढ्नुहोस्। मोराले किन मलाई यति स्याहार्दैछन् भन्ने सोचेंको त त्यस्का बाजेको मैले दिएको पाँच हजार चाहिँ सर्जकको नाममा मागेर आफैले गुट्मुटाएका रहेछ्न् नि त। हाय हाय सञ्चालक महोदय।
आहा म त गजक्कै भएँ। यस्तो कार्यक्रममा त वक्तव्य पनि रेडिमेड पाइँदो रहेछ नाराण। आफू लेख्नु त्यति पारा ल्याउँदिनँ तर मलाई ढुक्क छ म एक महिनामै एकै पटकमा दुइवटा किताब पनि निकाल्न सक्छु। किनभने मसँग पैसा छ। पैसा भए त आजकल हाम्रा बिद्वानहरूले पैसा दिएपछि आफ्नोमा भएको ज्ञान अरुको नाममा लेखिदिइ हाल्दा रहेछन्। किन दुःख गर्नु आफूले बित्थामा। भन्दा भन्दै मेरो बोल्ने पालो आयो। म पनि फुर्की भएर गएँ मञ्चतर्फ। अघि पोडियममा अनि बोल्न पऱ्यो भनेर अहम्म्म्म्म…. गरेर खोकेकी मात्रै थिएँ…. आमामाम्मा थपड़ीको आवाज जोड्ले आयो। छक्कै परेँ। म त नबोली त यस्तो बोलेपछि झन् के होला भन्ने सोँचेर गजक्कै भएँ।
एउटा कार्यक्रमको निम्ति जीवनमा पहिलोपल्ट के आर्थिक सहयोग गरेकी थिएँ….अतिथिको आसनमा मञ्चमा गजधम्मै। यसरी जीवनमा पहिलोपल्ट मञ्चमा अतिथि आसनमा बस्नु मात्र होइन फूलमालाले वरण हुन पाउँदा यो संसारमा अतिथि हुने लायककी ममात्रै रहेछु भन्ने गर्व लाग्नु स्वाभाविकै हो। आफू माथि मञ्चमा तल चाहिँ मेरै गाउँका मेरै सेखी गर्नेहरूको अनुहार माथिबाट मैले भिजेको बिरालो झैँ नै देखिरहेँ। यस्तो अवस्थामा मलाई कसैले तपाई नभने पनि वास्ता छैन….तर आफू मपाई हुन ता पाइन्छ होइन।
जीवनमा पहिलोपल्ट मपाई हुनु सिकेकी वा जानेकी यही कार्यक्रमबाट नै हो। त्यसपछि त हाम्रो गाउँ-घरमा मात्र होइन अन्य गाउँ, शहर मात्र होइन बाहिरी ठाउँबाट पनि कार्यक्रम आयोजन गर्ने कार्यकर्ताहरू मेरो घरमा धुइरो लाग्ने थाले। सधैं महिनामा मात्रै आधा किलो चिनी लाग्ने…अचेल त महिनामा दस किलो चिनीले पनि पुग्दैन…पुग्दैन जस्तो पो हुनथालेको छ। मेरो घरमा यति धेर चिया बनिएको देखेर पनि मपाई नहुनु ता मूर्खता हो भन्ने लाग्ने थालेको छ।
मलाई पनि हिजोआज बड़े बड़े साहित्यिक, सङ्गीत तथा फुटबल म्याचको अतिथि भएर मञ्चमाथि बस्ने धुन सवार भएको छ। नोकरीको कालमा छक्का पञ्जा गरी हुसुरेको पैसा जति अतिथि आसनकै निम्ति उड़ारहेछु। यति नगरे पनि समाजमा बिग स्ट्याटसवाला हुन नसकिँदो रहेछ। हुन त…अतिथि भएर साउँ-सूद केही पाइँदैन त्यो मलाई राम्ररी थाहा छ…तर साउँ-सूद भने पनि आउट इन्कम भने पनि कार्यक्रममा सयौं मानिसहरूको छेउमा माथि अतिथि आसनमा बस्नु मात्र होइन फूलमालाले वरण हुनु पाउनु नै लाइफ टाइम इन्कम हो भन्ने लाग्न थालेको छ। हुन पनि सबैको भाग्यमा अतिथि हुने भाग्य जुर्दैन। अतिथि हुनलाई मोटो रकम खन्याउनैपर्छ। र त मज्जाले आफू खुसी मपाई हुन पाइन्छ। मपाई हुनु पनि त्यसै त कहाँ हुँदोरहेछ।
लाजै नमानी भनुँ भने, आफूलाई न त भाषा साहित्यको ज्ञान छ, न सङ्गीतको नै न त फुटबलको नै। अघि नै भने मोटो रकम आयोजकवर्गलाई खन्याएपछि आजीवन अतिथि। कुनै पनि विषयमा ज्ञान नभए पनि अतिथिको आसनमा बसेपछि वक्तव्य नदिएरै भो र? जीवनमा वक्तव्य भन्ने कुरो कहिल्यै नदिएकी, कसैको वक्तव्य सुन्नुपऱ्यो कि कार्यक्रम हलबाट बाहिर जाने निहुँले टाप कस्ने मैँ हुँ। तर अतिथिको आसनमा बसेपछि केही त बोल्नैपर्छ भन्ने आयोजकवर्गको अनुरोध भएपछि मेरो सातोपुत्लो उड्नु स्वाभाविकै हो। मैले कतिपल्ट म बोल्दिनँ भन्दा आयोजकवर्ग पटक्कै मान्दैन मानेन्। एकजनाले मुख खोली हाले-म्याडम डण्ट वरी…तपाईले बोल्नुपर्ने कुरा हामी नै लेखेर तपाईलाई दिन्छौं… बस त्यही कागत हेर्दै वक्तव्य गर्नुहोस्। बस्, साँप पनि मर्ने लट्ठी पनि नभाँचिने।
कुरा ठिक लाग्यो। मैले नजानिँदो पाराले मुण्टो हल्लाइदिएँ। तर त्यसबिचमा एकजनाले भने, म्याडम वक्तव्य हामी लेखिदिन्छौं म्याडमले हाम्रो कार्यक्रममा लञ्चको व्यवस्था गरिदिनु भए उत्तम हुनेथ्यो। नजानैको विषयमा, बड़े बड़े विद्वान, गाउँकाजोरीपारी माझ अर्काले लेखिदिएको वक्तव्य सुनाएर आफूलाई त्यस विषयको ज्ञान रहेछ भनी धाक देखाउनु मज्जा नलाग्न कुरै आएऩ।
अर्काले तयार पारिदिएको वक्तव्य सुनाएँ… मैरो नै अर्ग्यानिक वक्तव्य जस्तो गरी। वक्तव्य सकिएपछि तल दर्शकासनमा बसेका दर्शकदीर्घाबाट गुञ्जेको थपड़ीको गगनभेदी आवाजले मेरो मपाई फुर्केर केही थिएन। पैसा खर्च गरेपछि यहाँ कार्यक्रम चल्दो रहेछ…र अतिथि हुन पाउँदोरहेछ भन्ने कुरा सोँच्दै आफू मपाईको धाक देखाउँदै मञ्चबाट ओर्लेको मेरो स्टाइल हेर्नु लायकको नै थियो जस्तो लाग्यो।
बस्….मलाई अरु थोक केही चाहिएन…मपाई हुन पाएँ…भैगयो…अरुले तपाई भनोस् कि नभनोस्…ड्याम केयर।
०००
सिलगडी (भारत)
Subscribe
Login
0 Comments
Oldest