साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मकै फूल उठे पनि कराइ त रित्तै

आकाशमा उल्का पिण्ड खस्दा जस्तै, नयाँ बर्षमा सिड्नीमा आतसबाजी गरे जस्तै, कराइबाट पट्याँग र पुटुँग गरेर, उफ्रिएर, मकैहरु यत्रतत्र सर्वत्र छरिए । हेर्दाहेर्दै चुलोमा कालो कराइ मात्र बाँकी रह्यो ।

Nepal Telecom ad

पराशर रिजाल :

कहिलेकाहिँ खाजा खानेबेलामा ठूला थालभरि सेतो फूलैफूल भएको मकै ल्याउँथिन् उनले । पहिला पहिला त यति धेरै किन ल्याएको भनेर सुरुमै शिकायत गर्थें । खाँदै जाउँ न हजुरलाई नरुचे म आफैं खाउँला नि भनेर उनले मेरो सिकायतलाई बुजो लगाउँथिन् ।

दुख गरेर ल्याएको अलिअलि त सघाउनै पर्यो भन्ने लाग्थ्यो र साथ दिन्थें । उनले एउटा दुइटा मिलाई मिलाइ बिस्तारै खान्थिन् । म ज्ञान आर्जनको लागि किताबतिर ध्यान मग्न थिएँ । थालतिर हेरिरहने फुर्सद नभएकोले ध्यान नदिइ मुठिमा जति आउँछ गर्याम्म झिक्यो, कुरुम कुरुम चबायो खाम्लाँग खुम्लुँग निल्यो, फेरि पनि त्यसै गर्यो गर्दै साथ दिन्थें । ध्यान चाहिँ किताबतिरै हुन्थ्यो । खाँदैजाँदा एकैछिनमा थालभरिका मकै पुरै रित्तिन्थ्यो । राम्ररी खाँदै– नखाइ, चाख्दा–चाख्दै बेहोसिमै कतिबेला हो दिल बस्यो मकैमा । अब जिब्रोले बेला कुबेला खोज्न थाल्यो उही फूल मकै ।

एक दिन उनी नभएको मौकामा फूल मकै सम्झेर जिब्रो अनायाशै लप्लपायो । छुद्दे जागेर आएछ, मन पुरै भाँडियो । चुप लगाउँन कोशिस नगरेको होइन, केही गरे मानेन । जब्बर छ यो मन पनि । अर्काको लागि भए के उठ्थ्यो यो ज्यान । शरीरले हलचल नगरि धरै पाएन । बसेको ठाउँबाट जुरुक्कै उठायो ।

किचेनमा गएँ । नजर दौडाएँ । अब मकै कहाँ छन् त ? भाँडाकुँडाहरु यी यतातिर राखिएका छन् । दाल चामल ति त्यतातिर देखिदैछन् । तरकारी उता रहेछ, दैनिक प्रयोग गर्ने मसलाको सेक्सन त उ पर छुट्टै प्रष्ट देखिँदैछ, मकै चाहिँ कता हुन्छ त ? एकछिन् सोचें । फ्रिज भित्र हुँदैन क्यारे । बक्स दराजभित्र राख्ने कुरै भएन । र्‍याकहरुतिर कतै हुनसक्छ कि भन्ने लाग्यो । र्‍याकभित्र खोलेर हेरेको त्यहाँ धेरैवटा बट्टाहरु लस्करै मिलाएर राखिएका देखिए । यतै कतै हुनु पर्छ भन्ने लख काटें । पालैपालो बिर्को खोल्दै हेर्दै गरें । अहँ छैन ।

एक पटक उनलाई फोन लगाउने बिचार गरें । त्यहिँ खोज्नु नि त्यत्ति पनि देखिँदैन र भन्छिन् कि भन्ने पनि डर छ । आ ! देखिन भन्दिन्छु । देखि–देखि कसले पो सोध्छ र भन्दै फोन लगाएँ । फोन लाग्यो । सोधें होइन मकै कहाँ पो राख्ने गरेको छ ? कस्तो मकै ? भुट्ने मकै । अनि किन चाहियो त अहिले ? भुट्या मकै खान मन लाग्यो क्या ! ए त्यहिँ होला नि हेर्नु न किचेनमा, मैले त बोकेर आएकी छैन त किचेन ! मैले अपेक्षा गरे अनुसार नै कडा डाइलग आयो । होइन, हेरेर पनि पत्ता लागेन र पो सोधेको त, नजिस्कि भनन, मैले गम्भीरतासाथ दोहोर्‍याएर सोधें । त्यहिँ कतै हेर्नु न चुलामुनि र्‍याकको कुनातिर होला कि । ए ए, ल म हेर्छु नि त भन्दै फोन राखें र फेरि मकैको तलासीमा लागें । कुनातिर खोजेको भेटियो । दुइ मुठी जति एउटा थालमा झिकें । आगो बालें । कराइ बसाएँ र मकै खन्याएँ । कप्टेरा खोज्छु, मरिगए भेटिँदैन । आपत पर्‍याे, फेरि फोन नलगाई भएन ।

तुरुन्तै फोन लगाएँ । फोन पनि भनेको बेलामा कहाँ लाग्छ र । तपाईंले डायल गर्नु भएको नम्बरमा सम्पर्क हुन सकेन भनेर दुइ पटक त निराश नै बनायो । उपाय थिएन डायल गर्न छोडिन । तेश्रो रिँगमा फोन लाग्यो । हतारहतार सोधें मकै त पत्ता लाग्यो तर कप्टेरा खोइ त ? हँ ! त्यो त थाहा छैन । फोन अफ फ्रेन्डलाई धेरै पटक प्रयोग गर्न पाईंंदैन, अब सकियो भनेर उनी जिस्किन्छिन् । आफ्नो र यता हालत छ । नजिस्किकन भनन ! मकै डढ्न आँट्यो क्या । मलाई त यहाँ आपत परेको छ त, मैले समस्याको गम्भीरतालाई बुझाउने कोशिस गर्दै भने । हैन त्यहिँ कतै छैन र ! एक छिन् रोकिएर .. भनिन् ए …ए …फ्रिजको कुनातिर हेर्नु त । फर्किएर हेरेको त्यहिँ रहेछ, पुलुक्क देखियो । थुइक्क ! यी आँखाहरु पनि के भएका ? ए ए ल ल भेट्टाइयो भन्दै फोन काटी दिएँ । कराइ तातो भैसक्यो । मकै पट्कन थाले हतार हतार कप्टेराले चलाएँ । कतिवटा त अघि नै काला भैसकेछन् । सबैतिर घुमाइघुमाइ मजाले चलाएँ । अब त सेता फुल उठ्नु पर्ने भन्ने लाग्छ तर जति चलाउँदै जान्छु मकै त अझै काला, झन् काला हुँदै जान्छन् । अन्त्यमा डढेर अँगार जस्तै भए । साँच्चै नै डढेछन् । फेरि कराई समात्ने हन्मेर्नु खोइ त ? खोजेको बेला भेटिँदैन । त्यसलाई खोज्न पनि फोन नै लगाउनु जस्तै भयो । तर ढिलो गर्ने छुट थिएन । हतारहतार टोपी झिकेँ र कराइ समातें । टोपी लगाउँदा पनि आपत बिपतमा काम लाग्ने रहेछ भन्ने लाग्यो । मकै खन्याएँ । सबै अँगार भएछन् ।

के तरिका मिलेन त एक पटक फोन लगाएर सोध्नु पर्यो भन्ने लाग्यो । फेरि फोन लगाएँ र सोधें हैन आज के भयो र मकै त जति भुटे पनि फूल नै उठेन त, सबै डढेर गयो । उनले हाँस्दै रहस्य खोलिन् – ए ..ठेट्ना मकै परेछ नि, त्यसको कहाँ फूल उठ्छ त ! त्यहीँ सँगै थियो त फूल उठ्ने मकै पनि, हेर्नु पर्छ नि राम्ररी । राम्ररी कहाँ नहेरेको हो र । आफूले त जतिसुकै राम्ररी हेरे पनि कसरी छुट्याउने र । नेपाल आउने कुइरेहरु कुन देशका हुन् भनेर सामान्य नेपाली आँखाले छुट्याउन सकिन्छ र ? सबै उस्तै देखिन्छन् । अँ खोज्दै जाँदा अर्को बट्टामा पनि मकै भेटियो । आफ्ना आँखाले अघिका मकै र अहिलेका दुवै उस्तै देख्यो ।

यस पटक पनि ट्राइ गर्न मन लाग्यो । आखिर कराइ छँदै थियो । कप्टेरा कहाँ छन् भन्ने पनि पिरलो थिएन । हन्मेर्नु स्टोभकै साइडमा राखेको रहेछ, भर्खरै भेटियो । पुरा सर्दामको बन्दोबस्त भएपछि आँट पनि अझै बलियो भयो । स्टोभ बालें । कराइ बसाएँ । मकै हालें र थालें भुट्न । अलिबेर पछि एउटा मकै पिटिक्क गरेर पड्कियो र सेतो फुल उठ्यो । ल सफल भैयो भनेर मन फुरुँग भयो । तुरुन्तै दोश्रो मकै पड्कियो र बाहिर उछिट्टियो । ए ए उछिट्टिने पो रहेछ भन्दै कराइको चलाउन छोडेर बाहिर उछिट्टिएको मकै टिप्न दौडिएँ । त्यो टिप्न भ्याएको थिइन अरु तीनचारवटा पड्किएर कराइ बाहिर चारैतिर उफ्रिए । त्यसपछि त थामिनसक्नु गरि मकैको चौतर्फी वर्षा नै भयो । आकाशमा उल्का पिण्ड खस्दा जस्तै, नयाँ बर्षमा सिड्नीमा आतसबाजी गरे जस्तै, कराइबाट पट्याँग र पुटुँग गरेर, उफ्रिएर, मकैहरु यत्रतत्र सर्वत्र छरिए । हेर्दाहेर्दै चुलोमा कालो कराइ मात्र बाँकी रह्यो । हतार हतार स्टोभ निभाएँ र शोकमा परेको जस्तो कोठाको एक कुनामा पुगेर झोक्राएँ । त्यतिबेलै उनी आइपुगिछन् । त्यसपछिको मेरो हालत के भयो होला । तपाईंहरु आफैं अनुमान गर्न सक्नु हुन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x