
आगो र पानी
कसैले तलाउमा अगुल्टोले हान्दा पानीलाई केही नोक्सान पुग्छ र ? जलको सम्पर्कमा आएपछि निभ्नुबाहेक आगोसँग अर्को विकल्प हुन्छ र ?

युवराज भण्डारी :
कोही सामु आएर
घृणाको पोकोले नै किन नहानोस्
लिनुपर्नेले नलिएपछि
हान्नेको केही लाग्दैन
जसरी सिसामा परेको प्रकाश फर्किन्छ
त्यसरी नै फर्किन्छ—
जसले हानेको हो, उसैतिर
जताबाट आएको हो, उतैतिर
परावर्तित प्रकाशजस्तै ।
शत्रुलाई दिन चाहेको अपमान
आफैँले बोकेर घर फर्किनुपर्छ
आफ्नै झोलामा ।
कसैले तलाउमा अगुल्टोले हान्दा
पानीलाई केही नोक्सान पुग्छ र ?
जलको सम्पर्कमा आएपछि
निभ्नुबाहेक
आगोसँग अर्को विकल्प हुन्छ र ?
०००
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)
Subscribe
Login
0 Comments
Oldest