साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मैले भन्न खोजेको के हो भने…’

यस्तो आनन्दमय माहौलमा‚ मलाई भने धैर्यको बाँध फुट्ने रोगले विस्तारै सताउला जस्तो लाग्नश थाल्यो। कसैले अनाहकमा समय खाइदिन थाल्यो भने मलाई धैर्यको बाँध फुट्ने रोगले अप्ठ्यारो पार्ने गर्छ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

“खै भ्याउछ कि भ्याउदैन‚ कैले हो ? कार्यक्रमका निम्ताहरु त थुप्रै छन्- फेरि सबैमा केही बोल्दिनै पर्छ भनेका छन्…।” जानु कतै नभए पनि‚ खास कसैले खोज्ने नभए पनि‚ आफ्नो भाउ त बढाउछन् नै “प्राध्यापक” “डाक्टर”हरु। मैले अदबसाथ भने- “ओहो सर त्यसो भन्न भएन हजुरले त। यस पटक हामीले चस्मा-साहित्यकै बारेमा कार्यक्रम राखेका छौं‚ सरलाई नै सम्झेर। सरको पिएचडी पनि त्यसैमा नै हो। त्यस विषयमा त सर नै हो नि आधिकारिक व्यक्ति- पहिलो विद्यावारिधि‚ अरु को छ र ?” यति भनेपछि उताबाट जवाफ आयो- “ल पख्नुस् त‚ भरे मलाई फोन गर्नु होला। म उता मिलाउछु‚ किनकी त्यो त मेरो पनि प्राथमिकताको विषय हो। अरुले त त्यो विषयमा केही बुझेका पनि छैनन‚ हावाको भरमा गफ ठोक्दिन्छन् फेरि।”

चस्मा-साहित्यको बारेमा बोल्न प्रमुख वक्ताको रुपमा उपस्थितिका लागि अनुरोध गर्न चस्मा-साहित्यमा विद्यावारिधि गर्नु भएका एक मात्र “डाक्टर” एवम् निवृत्त प्रध्यापकसँगको फोन वार्ता हो माथिको। जानु कतै नभए पनि‚ खास कसैले खोज्ने नभए पनि‚ आफ्नो भाउ त बढाउछन् नै “प्राध्यापक” “डाक्टर”हरु। चस्मा-साहित्य त्यस्तो व्यस्तै रहनु पर्ने गरि कार्यक्रम हुने खालको कुनै विषय त थिएन। तर के गर्ने- आफूलाई पनि यहि चस्मा-साहित्य प्रतिष्ठानको महासचिव बनाइदिएका छन्। बर्षको एकपटक त यसो केही कार्यक्रम गर्नै पर्यो। अध्यक्षको कुनै भूमिका पनि छैन‚ त्यत्तिकै रहर गरेकाले राखिदिएको न हो। खादा लाएर मञ्चमा बस्न पाए पुग्छ उनलाई। अरु सदस्यहरु चाहिँ केही न केही भूमिका खोज्ने हुन् अनि आफ्नो मान्छेलाई मञ्चमा राखेर चाकडी बजाउन पाए दङ्ग हुन्छन्। गर्ने फुट्टी केही होइन‚ यो भएन र त्यो भएन भन्ने बाहेक।

कार्यक्रमको ढाँचा तयार गर्न उस्तै गाह्रो छ। शनिवार विदाको दिन पार्न हुँदैन वरिष्ठ र निवृत्तहरुलाई। विहानको खाना खाएपछिको लगभग एघार बजेपछि तीन बजेसम्मको समय चाहिन्छ उनिहरुलाई। त्यसो भएपछि सुविस्ताले खाइवरी‚ घरबाट विस्तारै निस्कन पाइने‚ समय विताउन अनि उज्यालैमा घरभित्र छिर्न पनि पाइने। तर अफिस वा पढ्न पढाउन जानु पर्नेहरु अर्थात् काम भएकाहरुका लागि भने यो कुनै उपयुक्त समय होइन। त्यसैले यिनै वरिष्ठ भनिएकाहरु र निवृत्त बाहेक अरु उपस्थित हुने संभावना पनि रहेन। भेडा भेडासँग‚ बाख्रा बाख्रासँग। अनि कहाँबाट‚ कसरी चस्मा-साहित्यको महत्व‚ ऐतिहासिक भूमिका र देन नयाँ पुस्तामा हस्तान्तरण हुने ? न कुनै मिल्दो र पायक पर्ने समयमा कार्यक्रम हुन्छ न श्रोता-मैत्री वक्ताहरु नै हुने गर्छन्। फेरि यिनै विद्वानहरु गुनासो गर्छन्- आजकालका युवाहरुलाई यस्ता विषयहरुमा रुचि नै छैन भनेर। विडम्बना भनेको यहि नै त होला।

कार्यक्रम विहानको साढे एघारबजे सुरु हुने भनिएको थियो। विस्तारै जम्मा हुँदै गर्दा बाह्र बजेतिर बल्ल कुर्सिहरुमा केही मानिसहरु देखिन थाले। “अब हाम्रो कार्यक्रम सुरु हुनै लाग्यो‚ एकै छिन धैर्य गरिदिनु होला।” माइकबाट आउने नरम आवाज भन्दा आफ्नै कर्कश स्वरलाई अझै चर्को बनाएर कराए प्रतिष्ठानका महासचिव‚ कार्यक्रमका उद्घोषक। “आजका विशिष्ट अतिथि हुनुहुन्छ फलानो फलानो मन्त्रालय सम्हालिसकेका भूतपूर्व मन्त्री एवम् मूर्धन्य साहित्यकार। पार्टीको अति जरुरी बैठकमा रहनु भएकोले अलि ढिलो हुन गएको हो। नत्र उहाँ समय बुझेको र समयको अत्यन्तै ख्याल गर्ने मान्छे हुनुहुन्छ। उहाँ आउने वित्तिकै हामी सुरु गरि हाल्छौं‚ कृपया धैर्य गरिदिनु होला।”

उपस्थित प्रायः सहभागीहरुलाई लगभग तीन बजेसम्मको निमित्त कुनै अप्ठ्यारो थिएन र हतार पनि थिएन। आपसमा गफमै मस्त थिए। कार्यक्रम सुरु भए पनि र नभए पनि उनीहरुलाई फरक पर्ने अवस्था थिएन। झुक्किएर‚ विद्वानहरुको कुरा सुन्नकै लागि समय मिलाएर पुगेका एकाधलाई भने धर्म संकट पर्ने नै भयो तर त्यसको लेखाजोखा हुने अवस्था थिएन। चाहे बस‚ चाहे जाउ।

कहिलेकाहिँ त त्यस्ता एकाधलाई पुषको चिसो मै पनि पसिना आउने अवस्था हुन्छ। कार्यक्रमका आयोजक‚ “प्राध्यापक” र “डाक्टर”लाई “विद्वान” वा “विज्ञ” हुँ भन्ने लागिसकेपछि सिक्न र सुध्रन पर्ने हुँदो रहेनछ र यो पक्ष चाहिँ रमाईलो र मज्जाको लाग्छ मलाई- आफू पनि यी तिनै अर्थात् आयोजक‚ “प्राध्यापक” र “डाक्टर”को नजिकै पुगेको‚ अर्थात् विद्वानै हुँ भन्ने महशुस भएकैले पनि होला। अरुले हेर्दा चाहिँ यो पनि विडम्बना नै हुनसक्छ तर घोषित “विद्वान”को अगाडि कसको के लाग्छ र ?

कार्यक्रम सञ्चालकले मञ्चमा बोलाउन थाले। आजका विशिष्ट अतिथि- नाम थर‚ विगत देखिको पद‚ योगदान‚ पहिलेको गाउँ‚ हाल राजधानीमा बसोबास गरिरहेको ठेगाना र उहाँको विद्वता। त्यसै गरी वेलिविस्तार सहित चस्मा-साहित्य प्रतिष्ठानका कार्यसमितका सबै सदस्यहरुले सुझाएका आ-आफ्ना अर्थात् “हाम्रा” विशिष्टहरु‚ ठ्याक्कै पन्ध्र जनालाई मञ्चमा आसिन गराउदै खादा र माला लगाउदै गर्दा समय छुसीको त के भाउ रहने भयो र ? भीमकाय विशिष्टहरुको अघिल्तिर त्यो मरन्च्यासे समय कता हरायो हरायो‚ कसैलाई पत्तो पनि भएन र त्यसको मतलब पनि भएन।

बल्लतल्ल स्वागत भाषणको पालो आयो। प्रतिष्ठानका उपाध्यक्ष- विद्वान‚ प्राध्यापक अनि डाक्टर पनि‚ विस्तारै उठे र निहुरिदै पोडियमतर्फ लागे। मञ्चासिन सबैको बेलिविस्तार सहित सम्बोधन गर्ने त उनको दायित्व नै भै गयो। त्यसपछि उनको विनम्रता विस्तारै प्रवेश गर्यो- “मलाई थाहा छ यहाँ मभन्दा विद्वानहरु मञ्चमा हुनुहुन्छ र त्यत्तिकै विशिष्टज्यूहरु तल दर्शकदीर्घामा हुनुहुन्छ। मैले धेरै बोलेर आफैँलाई सानो पार्नु छैन।” उनले आफूलाई कति भीमकाय बनाए वा कति मुसो बनाए त्यसको लेखाजोखा हुने कुरै भएन। धेरै बेर आफ्नो अगाडिको माइक र तल मेचमा फ्रेम हालेर राखिएको चस्माको तस्बिरमा हेर्दै उनले आफ्नो विद्वताको थोरै छनक मात्र प्रस्तुत गरे र बोलिरहे…।

अन्तमा बडो हार्दिकताका साथ “आफ्नो दुई शव्द”लाई थन्काए। तर बडो गाह्रो मान्दै आफ्नो अघिल्तिरको माइकसँग विदा हुँदै गर्दाको क्षण चाहिँ निकै मार्मिक थियो। मानौँ कुनै सैनिक जवान ड्यूटीमा जानको लागि आफ्नी नवविवाहित पत्नीसँग छुट्टिरहेछ। उनले पोडियम छोडदा‚ माइक पनि धरमरिएर ढल्यो- गुन्द्रुङ आवाज आयो। कस्तो लोभ लाग्दो प्रेम‚ विद्वान वक्ता र माइक बिचको। प्रेम होस् त यस्तो।

अब विशिष्ट वक्ताको पालो आयो चस्मा-साहित्यको बारेमा बोल्ने। विद्वानहरुको बिचका विशिष्ट वक्ता न ठहरिए‚ गजक्क पर्दै बिस्ताऽऽरै उठे। कोटको फेर ताने र दर्शकदीर्घातिर नजर घुमाए। पोडियम छेउ पुगेपछि माइकमा फू फू गरे‚ ढुक्क भए माइक चलेको छ भन्नेमा। त्यसपछि सम्बोधनबाट सुरु गर्दै आयोजकले उनलाई खबर गरेको अवधि तयारीका लागि कम भएको‚ आफू अति व्यस्त रहेको र कार्यक्रममा गहन विषयमाथि बोल्नका लागि दिइएको समय पनि थोरै भएको जस्ता प्रसंगहरुको बेलिविस्तार सहितको औपचारिकता पुरे गरे विशिष्ट वक्ताले।

त्यसपछि विस्तारै विषयवस्तुको पेटारो खोल्न थाले- “चस्मा भनेको के भन्नु होला भने…” तर त्यति नै बेला संझिए‚ अघि नै भन्नु पर्ने‚ अत्यन्तै महत्वपूर्ण र सान्दर्भिक कुरा- “म त चस्मा-साहित्यमै पिएचडि गरेको मान्छे‚ नेपालमै पहिलो र अहिलेसम्म एक मात्र”। त्यति भनेपछि विस्तारै अगाडि बढे- “मलाई थाहा छ चस्मा नाकमा अड्याउने वस्तु हो बुझ्नु भो ? तर कान दरिलो भएन भने यो अडिन सक्दैन” उनले थपे- “चस्माको कान भाँचियो भने त्यसलाई डोरीले बाँधेर पनि लाउन सकिन्छ र ढलान बाँध्ने तारले अड्याउन पनि मिल्छ भन्ने कुरा त मैले नै हो प्रमाणित गरेरै देखाएको। त्यो मेरो थेसिसको किताब छापिएको छ‚ त्यसमा पढ्न सक्नु हुन्छ।” धेरै पटक उनले आफ्नो थेसिसको किताब छापिएको र त्यसलाई किनेर पढ्न सकिने उल्लेख गरे। चस्माको अनुसन्धान गरेर चस्मा-साहित्यमै नयाँ कुरा पत्ता लगाएको जिकीर गरे।

गहन सिद्धान्तको व्याख्या गर्ने क्रममा‚ बोल्दा बोल्दै कहाँ पुगे र के भन्दै थिए‚ उनी आफैँ पनि अलमलिन्थे। त्यसैले उनी बिचबिचमा भनिरहन्थे- “मैले भन्न खोजेको के भनेँ…।” तर उनले भन्न खोजेको के थियो भन्नेमा कसैको चासो भएको देखिएन। यदि कसैले “के थियो ?” भनेर प्रतिप्रश्न गरेको भए फेरी वक्ता नै अलमलिएको अवस्थामा रहेको बुझिन्थ्यो। उनले के बोलिरहेछन् भन्नेतिर कसैको ध्यान थिएन जसरी श्रोताहरुले आफूलाई नसुनेर किन हल्ला गरेका होलान् भन्नेमा वक्ताको। यो पनि विडम्वना नै त होला।

कार्यक्रम सञ्चालकको चिन्ता भने अर्कै थियो। वक्ताले “मैले भन्न खोजेको के भनेँ…”‚ भन्दै गर्दा कार्यक्रम सञ्चालक भने विशिष्ट वक्तालाई आफ्नो भनाई टुङाउनका लागि चिट दिइरहेका देखिन्थे। धेरै पटक नजिकै गएर वक्ताको कानैमा खुसुखुसु पनि गरिरहे र पटक पटक उनको छेवैमा हात बाँधेर उभिएर भाषण छोट्याउन दवाव पनि दिइरहे तर भर्खर चस्माको कानको व्याख्या सुरु गरेका विद्वान प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीले चस्मा-साहित्यको आविष्कार र उत्पति कसरी भयो भन्ने विषद चर्चा गर्न त बाँकी नै थियो। अझ उनले बेला बेलामा श्रोताहरुलाई लोभ्याउदै पनि थिए- चस्मा-साहित्यको बारेमा उनले लेखेका मौलिक एवम् अप्राप्य कविताहरु सुनाइदिन्छु भनेर। उनको व्याख्यान पछि चस्मा-साहित्यको बारेमा लेखिएको पुस्तक विमोचन गर्न र त्यसको चर्चा गर्न त बाँकी नै थियो।

ओभरकोट र रातो गलबन्दी लगाएका पुट्ट उकासिएको भुँडीमाथि कागज राखेर टिपोट गरिरहेका मञ्चासिन विद्वानहरुका “संक्षिप्त” शुभकामना मन्तव्यहरु पनि एकदमै अनुशासित भएर आफ्नो पालो पर्खिरहेका देखिन्थे। यस्तो आनन्दमय माहौलमा‚ मलाई भने धैर्यको बाँध फुट्ने रोगले विस्तारै सताउला जस्तो लाग्नश थाल्यो। कसैले अनाहकमा समय खाइदिन थाल्यो भने मलाई धैर्यको बाँध फुट्ने रोगले अप्ठ्यारो पार्ने गर्छ। त्यसैले उद्धारको लागि सहयोग पाइन्छ कि भन्ने आशयले‚ मभन्दा अगाडि बसिरहेका एकजना चिनेको साथीलाई मेसेज गरेँ- “ए सर के गर्ने हो ?” उहाँले पछाडि हेर्नु भयो। आँखाको इशारा मिल्यो। दुबै जना बाहिर निस्क्यौँ। कार्यक्रमस्थलको क्यान्टिनमा बसेर चिया खायौँ। उहाँले मलाई उद्धार गर्न चाहनु भयो। अनि उहाँकै स्कुटर चढेर चस्मा-साहित्यको कार्यक्रमलाई माथि हलमै छोडेर हामी बाहिरियौं। तर मनमा भने थकथक लागिरह्यो- केही विद्वान साहित्यकारहरुसँगको भेटघाट र कार्यक्रमपछिको खाजा छुटेकोमा। वास्तवमा यति लेखिसकेपछि मैले पनि भन्नै पर्ने हुन्छ- “मैले भन्न खोजेको के भनेँ…।”

०००
२०८१ फागुन ६ गते
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
1 year ago

तितो एथार्थ र अमूर्त व्यङ्ग सर ! रमाइलो लाग्यो 🙏😀

Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x