शिवप्रसाद जैशीगति र मतिले मर्त्यलोकको बाटो
आगो रोपेर पानीको मूल फुटाउने कुचेष्टाको होडबाजीले मनुवाको मात्र होइन सारा पृथ्वीको रुप परिवर्तन नहोला कसरी भन्ने ! परिवर्तित रुपले दिने नतिजा पनि त परिवर्तन नै होला। आगो र पानीको गति र मति बीचको सम्मति कस्तो होला ?

शिवप्रसाद जैशी :
के होला यो गति र मति भनेर घोल्तिन खोज्दै जाँदा अर्थ र भावाअर्थतिर पो पुगियो कि जस्तो पो लाग्दैछ। शब्दकोशले गति भनेको आचारण, व्यवहार, ईश्वरीय स्वरुप, मोक्ष, मुक्ति, एक स्थिति वा रुपबाट अर्को स्थिति वा रुपमा परिवर्तन, एक ठाउँबाट अर्को ठाउँमा गमन, चाल, हिँडाइ, सराइ, वेग क्रियाशीलता र यसको सीमा, क्षमता, जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था, प्रवेश, पहुँच, मार्ग बाटो, मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिन सम्मको काजक्रिया, वस्तु वा प्राणीको विभिन्न दशा, अवस्था, यात्रा, वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो, श्वासको क्रम, नाडीजस्ता माने लगाएको पाइयो। मति भन्नाले इच्छा, अभिप्राय, ज्ञान, बुद्धि, समझ, राय, मत, सम्मति भेटियो। अर्थ बुझ्दै जाँदा यो गति र मतिको बीचमा गजबको सम्मति चाहिने देखियो। खास गरेर पृथ्वीमा भएका प्राणीहरु मध्ये यो मनुवा जातिको गति र मतिको सम्मति हुनै पर्ने देखिन आयो। गति र मतिको अनियन्त्रित दौड र असम्मतिले मनुवाले आफ्नो खाडलमात्रै खन्दै छैन बरु पृथ्वीको गति र मति दुवैलाई भडकालोमा हालेर सबै सन्ततिहरुलाई अन्त्यष्टितिर लग्ने संकेतहरु देखा पर्दैछन्।
आउनुहोस् अनियन्त्रित बेलगाम कुदेको मानिसरुपि घोडा, ब्रेक फेल भएको गाडी, दिशाहीन जहाज र उल्टो बगाउन खोजिएको खोलाको मतिमा गति मिसाउदा नाडी सुक्न थालेको, बुद्धिमा खियाले खाएको, समझले आतङ्क मच्चाएको, मत, राय र सम्मतिले खोक्रो पारिएको बोक्रारुपी पृथ्वीमा आफ्नै चिहान निम्त्याउन बेर नलागाउने रोचक कथाको कुइनेटोले घोच्केटो लगाउँ। इच्छाले गगन परिक्रमा गर्दा धर्तिको चुच्चे महलबाट गोडा हराएर, हावाको घोडामा कुदेर, ग्रह उपग्रहको उत्खननका माध्यमाट प्राकृतिक प्रणीलामा भाँजो हाल्दै नियमित गतिलाई उल्टो मतिको सहायताले बङ्याइ मनको धोको पुरा गर्न उद्दत छ यो मानिस भनाउँदो जन्तु। मतिले गतिलाई साथ दिँदादिँदै सुरजले तेजका छर्रा पस्किरहेको बेला पनि अन्धो बनेर वेगले द।न दुई गुणा रात चौगुणाका दरले हुइँकिएको मानिस हुत्तिएर श्वास बन्द भै सुइँकिने सम्मको काम स्वआर्जनबाट गर्ने वन्दोबस्त मिलाउँदै छ।
मान्नमीको धुलो आकाशमा पुर्यािएर बादलको प्रतिस्थापनमा लागेको छ।प्रतिस्थपित धुलोले मतिलाई घानमा पारेर मन्द गतिमा मर्त्यलोकतिर धकेलाधकेल नगरेर के बासुरी र पियानो बजाएर बस्ला त? हुस्सु र तुषारोको दोहोलो काट्न मेघको अस्तु बगाउन मलामी जाने मति सहितको गतिमा रमाएको यो प्राणीको अस्थित्वसँगै अन्य जीवजीवात्माहरुको शेष नराख्ने कसम खाएको अब लुक्दैन। लुकाउनु पर्दैन। ठुस्स फुस्काउने धुवाँको तुवालोले रातापिरा आँखा पारी अन्धो बनाउन लागिसक्दा पनि यसको मतिको घाँटीमा समझ अड्किएला जस्तो छैन। समझ नअड्किएर मतिको चालमा गति भड्किएर उत्ताउलो पाराले नदीका बाटाहरु दुलोभित्र छिराउदै पर्या प्रणालीको अन्त्यष्टीको जात्राले यात्रा गरेर यो मानिसले स्वभूचलन भन्दा निर्मित भूचलनको क्षमताले निम्त्याउने खतराको बाजो कानका जालि फुटेर बहिरो बनाउने गरी घन्काउन थालेको गतिलाई रोक्न कुनै संकेत देखाएको छैन।
स्वचालित प्रणालिलाई नियन्त्रित बन्धनमा राखेर असिमित गतिको मतिमा दौड प्रतियोगिता चलाएको चलायै छ। असझमता परीक्षण गर्दागर्दै प्रकृतिको दुधमात्र पिएको छैन बल्कि यसको निश्चित गतिमा समेत मति लगाएर परिवर्तन गरिसकेको छ।पृथ्वीका कैयौं पुत्रादि र पुत्रीहरुको उठिवास लगाउन थालेको त उहिल्ये देखि नै हो। मनुवाको बिग्रिएको मति र अनियन्त्रित गतिले बचेखुचेका मध्ये केहीलाई लोपउन्मुखमा दर्ज गरिसकेको छ भने केहीलाई त्यतै धकेलेको धकेल्यै छ।
समुद्र धमिल्याएर बिषादीको फाँचोले समुद्रलाई घर बनाएर बसेका जीवहरुको अस्थित्व संकटमा धकेल्ने मति र गति पनि मानिसकै हो। वाष्पिकरणका माध्यमबाट आकाशबाट झर्ने पानीको बाटो रोकावटाका लागि पनि मति र गतिको वेगले बिजय प्राप्त गरेपछि आकाशले पनि अश्रुधाराको गति र मति दुवै परिपर्तन गरी मानिसको गति र मतिसँग मिसाउदै अतिबृष्टि, अनाबृष्टी र खण्डबृष्टीमा परिणत गर्नु अस्वभाविक भएन।तापको माप मानिसको मति र गतिसँगै द्रुत गतिमा बढेर अभिलेख ब्रेक गर्दै सिँढी चढ्दै नयाँ पिँढी बनाउदै छ। तापको नयाँ पिँढीले मानिसको नयाँ पिँढीलाई आच्छुआच्छु पार्दै शितलताको ओतको खोजीमा भौतारीन बाध्य पार्दैछ।शीतलताको ओत टाढिएर माथिमाथि उकालो लाग्दैछ।उकालोले दिने छहारी पनि मतिल र गतिले सत्यानाश गर्दैछ।
जीवहरुको पनि जीव, जीवका नसा चिस्याउन र वनस्पतिका जराहरु सिन्च्याउन प्राणीहरुको अस्थित्वका लागी पानीको पूर्ति गरिरेहेका हिमालहरुको हिउँ पगाली हिउँ हत्या गरी सक्यो।हिमाल निमिट्यान्न पारेर काला अग्ला पत्थररुपी चुचुरामा परिणत गर्न पनि मनुवाको बिग्रेको मतिको गतिले नै हो भन्दा गह्रो साह्रो अप्ठ्यारो जे पेरपनि पर्छ परेको व्यहोर्ने शर्तमै गति र मतिमा बिर्को नलगाए पनि प्वाल सानो पार्नु पर्ने देखिन आएको छ।प्वाल सानो पार्न समझ सफा गर्ने भाँडो विकास गरेर मति र गतिमा धितो राखिएको बुद्धि सफा गर्ने कुचो अविस्कार गर्न ढिलो गर्न किञ्चित हुदैन।कुचो पनि अरुथोक को होइन बर्खामा हरियो देखिएर हिउँदमा सुकेर खेर जाने बाबियाको बनाउनु पर्छ वा अम्रिसोको नै भएपनि हुन्छ। बाबियो र अम्रिसो दुवै थरी हिउँदमा सुकेर खेर जाने नै हो।मति बिग्रिएर प्लाष्टिकको रसी उत्पादनका माध्यमबाट बाबियोको डोरोको हत्यामा संलग्न मानिसको मतिको खतिलाई गतिलै झापड हानेर बाबियो प्रेमी बनाउन सके पिङ खेल्ने देखि सिङ् बाँध्ने काम समेत गरिरहेको बाबियोमा खुसी भरियो र हिउँदमा घर भरियोको रमाइलो देख्न पाइन्थ्यो।
मानिस प्रविधिको गतिको मात चढेर मैमत्ता गतिको तिब्रताका लागि मतिमा असमझ घोल्दै लम्केको लम्क्यै छ। बुद्धि र समझले गतिको तिब्रतालाई डोर्यािदै लगेकाले गति समात्ने होडमा मानिस एन्जाइटी र डिप्रेशनको बिप्रेशणमा चुर्लुम्म डुबी अशान्तिको खोल ओडेर घाटको सीमा नजिक पुग्दैछ।। गति र मतिले मन भाँडेको छ। मति र गतिको तिब्रता बाँडेको छ। शब्दकोशले अर्थ दिए जस्तै कतै मानिस जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था, प्रवेश, पहुँच, मार्ग बाटोतिर धकेलिएर आफ्नै दाहसंस्कारको दशदिने काज क्रियामा सामेल त हुँदैछैन ?
हो गुड्ने र उड्ने होडमा गतिमको वेगमान मति दौडाइ रहेको मानिसले के चाँही बाँकी राख्यो र के के गर्न खोज्दैन भन्नेमा समान्य समझले काम गर्न छोडेको धेरै भयो। निरन्तर सुविधाको चाँङ थपेर द्रततर गतिमा मति फैलाउदा कहाँनेरको घुमारोमा जकडिएर उत्तानो टाँङ लगाउछ पत्ता पाउन गाह्रो होइन महा गाह्रो हुँदैछ।
उहिले ऋषिहरुले तपस्या गरी स्वर्ग प्राप्त गर्न खोज्दा इन्द्रले अप्सराहरु पठाएर तपस्या भंग गराउथे। लौन इन्द्र अहिले पनि त्यस्तै केही गररे यो मानिसको गति र मतिमा नियन्त्रणको लगाम लगाउने उपाय सिकाएर यो पृथ्वी लोकलाई दिगो हुने व्यवस्था मिलाइ देउन भनेर नालिस दिनु पर्ने स्थिति आइसक्यो।हुन त चन्द्रमामा बास बसाएर ब्रह्माण्डको फन्को मार्ने सम्मको यात्रामा निस्केको मानिसलाई रुपवती पाउन इन्द्रले के खटन पटन गर्नु पर्थ्यो र? इन्द्रले थाहै नपाउने गरी नारदको सूचना प्रविधिलाई थान्को लगाएको मानिसले के बुझ्थ्यो!
मानिसले दिगो बिरुवाको जङ्गल फाँडेर आगोको रोपाइँगर्दा उब्जिने अन्नले भोकको भकारी कसरी भर्छ हेर्न नपाउँदै यहलिला समाप्त नहोला भनेर ठोकुवा कसरी गर्न सकिन्छ। मतिको गतिले जे रोप्यो उब्जने त्यही हो।
आगो रोपेर पानीको मूल फुटाउने कुचेष्टाको होडबाजीले मनुवाको मात्र होइन सारा पृथ्वीको रुप परिवर्तन नहोला कसरी भन्ने ! परिवर्तित रुपले दिने नतिजा पनि त परिवर्तन नै होला। आगो र पानीको गति र मति बीचको सम्मति कस्तो होला ? आगो र पानी दुवै विपरित वस्तु हुन्। आगो बालेर पानीको नतिजा निकाल्न उद्दत यो पृथ्वीवासी मानिसको मति र गतिमा स्वचालित ब्रेकले नियन्त्रण नगर्ने हो भने हुन सक्ने सम्भावित परिदृष्यको पुनर परीक्षण भइसकेको हुनाले थप जटिलताका लागि सचेत होइन तल्लिन हुन जरुरी छ। अन्तिम सत्यतिर पदार्पण हुन भन्दा पहिले नै मति र गतिको पाङ्ग्राको घुमाइको चालमा ब्रेक लागाउन ढिला न गर्नु नैं जाती होला।
०००
थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































