साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाैलाे तन्त्रकाे खाेजीमा पिलन्धरे कान्छाे

भविष्यमा फरक पर्ला भन्ने आशा पनि कसरी गर्ने ? प्रजातन्त्र परजा तन्त्र भएपछि, लाेकतन्त्र जाेकरहरूकाे जाेकतन्त्र भएपछि, गणतन्त्र घाँटी अठ्याउने गलगाँड तन्त्र भएपछि अब कुन तन्त्रकाे अपेक्षा गर्ने ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

राणातन्त्र भाेगेका अनुभवहरू पनि छन् यहाँ । याे पिलन्धरे कान्छाले पनि अलिकति राजतन्त्र भाेग्याे । प्रजातन्त्र , लाेकतन्त्र र गणतन्त्र भाेगाइका अनुभव अलिक ज्यादा लिएकाे छ । पिलन्धरे कान्छाले जस्तै यी सबै अनुभव भाेग्नेहरूका मनहरू सधैं पहेंली भित्ताका घामजस्तै टिठलाग्दा र ओसिला देखिएका छन् । विभिन्न तन्त्रहरूकाे उदय र अस्तयमा जनताहरू सधै साक्षी छन् ।

पिलन्धरे कान्छाले देख्याे ; अग्रगामी छलाङ मार्ने यात्रीहरू जङ्घार तरेर काेशाैं अगाडि पुगिसके । तिनलाई तारिदिने माझीहरू केही भङ्गालाेलाई अङ्गालाे मार्दै अस्ताए । काेही घाटमा अझै अलपत्र सुस्ताउदै छन् । खाेला तर्नु अघि सपना देखाउने यात्रीहरू रङ्गिन संसारमा रगमगाइरहेछन् । तिनले देखाएका सपनाका कारण माझीहरू यमपुरीकाे यात्रा तय गरिरहेछन् ।

केही मानिसहरूले भन्ने गरेका छन् , “हामीले देशमा शान्ति र स्थिरता ल्याउन के मात्रै गरेनाैं ? विराेध, हड्ताल ,आन्दोलन र क्रान्ति गर्याें । जेलनेल भाेग्याैं । लात्ती र लाठी खायौं । गाेेलीका छर्रा खायौं । निर्दयी काेर्रा खायौं । हाम्रै बलिदानले राणा फाल्याै । राजा फाल्याैं । निरङ्कुशता ढाल्याैं । पञ्चायत फाल्याैं ।

कसले कसलाई फाल्याे , कसलाई ढाल्याे ? पिलन्धरे कान्छालाई अत्तोपत्तो छैन । आन्दाेलन वा विद्राेहहरूमा मारिनेहरू अरू नै थिए । युद्धका नाइकेहरू काेही महलभित्र टहल गर्दे थिए । काेही सुरूङभित्र बसेर बाहिर अरूलाई भुरूङसरि नचाइरहेका थिए । काेही छिमेकीको चाकडीमा तन, मन लगाइरहेका थिए ।

पिलन्धरे कान्छालाई झिनाे याद छ । सडकमा मान्छेहरू झण्डा हल्लाउँदै नारा लगाउथे । झण्डावालाहरूलाई पुलिसले डण्डा लगाउथे । सडकमा निस्किएको नाराकाे सिकाे गर्दै पिलन्धरे कान्छाले आमाकाे पछ्याैरीलाई झण्डा बनाएकाे थियाे । बाेली नफुट्दै जिन्दाबात र मुर्दाबात भनेकाे थियाे । केही दिनपछि मान्छेहरूले बउदल आयाे भनेका थिए । पिलन्धरे कान्छाे तन्नेरी हुँदै गर्दा मान्छेहरूले उसै गरी भनेका थिए बउदल आयाे भनेकाे त बउला दल पाे आएछ । मान्छेहरू अलमलिएको माैकामा माइला दाइले माैकामा चाैका हाने ।

माइला दाइकाे चाैकाकाे नाैका पनि समयकाे छालले उत्तानो टाङ् लगाइदियाे । मान्छेहरूले भने अब लाेकतन्त्र आयाे । हेर्दाहेर्दै लाेकतन्त्रकाे लाेकताले गणतन्त्र नामकाे नयाँ अवतार लियाे । मान्छेहरू अटसपटस भएकाे पिलन्धरे कान्छाले देख्याे । गाइँगुइ चलेकाे सुनियाे ,” याे गणतन्त्र नभएर गनतन्त्र हाे । जहाँ शक्ति प्रदर्शन हुन्छ । याे जनतन्त्र हाेइन धनतन्त्र हाे । जहाँ सम्पत्ति प्रदर्शन हुन्छ । याे लाेकतन्त्र हाेइन लुटतन्त्र हाे । जहाँ केवल लुट्ने मात्रै काम गरिन्छ । बरू याे खाेकतन्त्र हाे । यहाँ अरू कामकाे तुलनामा खाेक्ने काम ज्यादा गरिन्छ । याे गुटतन्त्र हाे । यहाँ दलहरूका गुटहरू छन् । त्याेभन्दा ज्यादा दलभित्रै उपगुटहरू छन् । याे झुटतन्त्र हाे । यहाँ जसले जति झुट बाेले पनि छुट छ । जसले जति झुट बाेल्याे उति पावरफुल हुन्छ । यस्ता अरू थुप्रै उपनामहरू सुनिएका छन् ।जसकाे यहाँ वर्णन सम्भव छैन ।

पिलन्धरे कान्छालाई थाहा छ । देशमा अनेकथरि तन्त्र ल्याउँदा नारीहरूले सिन्दुर ,चुरा , पाेते फालेका थिए । पुरूषहरूले मायालु साथ र दरिलाे हात फालेका थिए । बाआमाहरूले बृद्धावस्थाकाे साहारा र भराेसा फालेका थिए । सन्तानहरूले आमाबाकाे काख फालेका थिए । साथ फालेका थिए। फाल्नेहरूले सबथाेक फालेका थिए । सहस्र धारा आँसु फालेका थिए । आँसुसित हाँसाे फालेका थिए ।इच्छा , चाहना , आकाङ्क्षा र रहरहरू फालेका थिए । लाग्छ ,फाल्नेहरूसँग आफैलाई फाल्न बाहेक शेष बाँकी रहेकाे थिएन र छैन । जनताले सबथाेक फालेर , गुमाएर परिवर्तन ल्याएपछि दुलाबाहिर निस्केका स्यालहरूले सधैभरि भन्ने गरे “हामीले आमूल परिवर्तन ल्यायाैं ।”

कुरूक्षेत्रकाे युद्ध समाप्ती पश्चात् याेद्दाहरूमा अभिमान पलायाे । सबैले आफ्नाे पुरूषार्थप्रति गाैरव गरे । आफ्नो पराक्रमप्रति अहमता प्रकट गरे । यस्ताे अवस्था देखिएपछि श्री कृष्णले पाण्डव लगायतका वीर याेद्दाहरूलाई बर्बरिक सामु लागे । शिर छेदन गरिएका बर्बरिकले श्री कृष्णकाे वरदानस्वरूप महाभारतकाे युद्दलाई नजिकबाट नियालेका थिए । उनले यस युद्दमा केवल श्री हरिकाे सुदर्शन चक्रले सारा संहार गरेकाे हुँदा अरूले घमण्ड गर्नु व्यर्थ रहेकाे बताए । यस तीताे यथार्थले सबैकाे शिर लज्जाले निहुरिनु परेकाे थियाे । तर पिलन्धरे कान्छाकाे देशमा लाज पनि लजाएर भागिसकेकाे छ । जे दाबी गरे हुन्छ । जतासुकै हाबी भए हुन्छ ।

केही वर्ष भयाे पिलन्धरे कान्छाकाे गाउँमा केही मान्छेहरू बुर्कुुसी मार्दै हिड्ने गरेका छन् । भन्छन् -“देशमा संघीयता आयाे ।” पिलन्धरे कान्छाकाे बुझाइमा राम आयाे भनेजस्तै संघीयता आयाे भनेपछि एउटामात्र आउनु पर्ने हाे। `आयाे´ एक वचन भन्ने लागेकाे थियाे । गाम्लेहरूका कुरा सुन्दै जाँदा पिलन्धरे कान्छाले बुझ्दै गयाे संघीयता बहुरूपी रहेछ । गाम्लेहरूकाे नजरमा संघीयता संघीयता नभएर सलह रहेछ । केही गाम्लेहरूले भाषा, धर्म,संस्कृति, परम्परा आदि मुटुकलेजा खाएर सर्वश्व गर्याे भन्ने गरेका छन् । कसैले भन्ने गरेका छन् ” प्रदेशहरू परदेश जस्तै भए । अब यी सेता हात्तीहरू पाल्न सकिँदैन । फाल्नु पर्छ । दुलैपच्छेका मुसाका दरबारहरू टाल्नु पर्छ । अब एउटा ठाेस कदम चाल्नु पर्छ ।”

पिलन्धरे कान्छालाई एक दिन कसैले भन्याे “याे संघीयता हाेइन । सङ्घी यता र सङ्घी उता हाे । संघीयताले काेही सङ्घी यता काेही सङ्घी उता भएका छन् ।साथी सङ्घीहरू नै टुटाउने र फुटाउने याे संघीयता अब किन चाहियाे ? यसलाई अब फाल्ने हाे पिलन्धरे !”

आज पालेकालाई फाल्ने हाे कि ? हिजाे फालेकालाई पाल्ने हाे ? पिलन्धरे कान्छाे बिलखबन्दमा परेकाे छ । जसलाई फाले पनि जसलाई पाले पनि अहिलेसम्म पात्र र प्रवृत्ति फरक परेकाे देखिएन । भविष्यमा फरक पर्ला भन्ने आशा पनि कसरी गर्ने ? प्रजातन्त्र परजा तन्त्र भएपछि, लाेकतन्त्र जाेकरहरूकाे जाेकतन्त्र भएपछि, गणतन्त्र घाँटी अठ्याउने गलगाँड तन्त्र भएपछि अब कुन तन्त्रकाे अपेक्षा गर्ने ? तसर्थ पिलन्धरे कान्छाकाे भगवानसँग प्रार्थना छ ,”फ्लप खाइसकेका तन्त्रहरूभन्दा अरू कुनै नाैलाे तन्त्रकाे खाेजी गर्ने मन्त्र देऊ भगवान् !”

०००
२०८१।११।११
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x