साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाैलाे तन्त्रकाे खाेजीमा पिलन्धरे कान्छाे

भविष्यमा फरक पर्ला भन्ने आशा पनि कसरी गर्ने ? प्रजातन्त्र परजा तन्त्र भएपछि, लाेकतन्त्र जाेकरहरूकाे जाेकतन्त्र भएपछि, गणतन्त्र घाँटी अठ्याउने गलगाँड तन्त्र भएपछि अब कुन तन्त्रकाे अपेक्षा गर्ने ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

राणातन्त्र भाेगेका अनुभवहरू पनि छन् यहाँ । याे पिलन्धरे कान्छाले पनि अलिकति राजतन्त्र भाेग्याे । प्रजातन्त्र , लाेकतन्त्र र गणतन्त्र भाेगाइका अनुभव अलिक ज्यादा लिएकाे छ । पिलन्धरे कान्छाले जस्तै यी सबै अनुभव भाेग्नेहरूका मनहरू सधैं पहेंली भित्ताका घामजस्तै टिठलाग्दा र ओसिला देखिएका छन् । विभिन्न तन्त्रहरूकाे उदय र अस्तयमा जनताहरू सधै साक्षी छन् ।

पिलन्धरे कान्छाले देख्याे ; अग्रगामी छलाङ मार्ने यात्रीहरू जङ्घार तरेर काेशाैं अगाडि पुगिसके । तिनलाई तारिदिने माझीहरू केही भङ्गालाेलाई अङ्गालाे मार्दै अस्ताए । काेही घाटमा अझै अलपत्र सुस्ताउदै छन् । खाेला तर्नु अघि सपना देखाउने यात्रीहरू रङ्गिन संसारमा रगमगाइरहेछन् । तिनले देखाएका सपनाका कारण माझीहरू यमपुरीकाे यात्रा तय गरिरहेछन् ।

केही मानिसहरूले भन्ने गरेका छन् , “हामीले देशमा शान्ति र स्थिरता ल्याउन के मात्रै गरेनाैं ? विराेध, हड्ताल ,आन्दोलन र क्रान्ति गर्याें । जेलनेल भाेग्याैं । लात्ती र लाठी खायौं । गाेेलीका छर्रा खायौं । निर्दयी काेर्रा खायौं । हाम्रै बलिदानले राणा फाल्याै । राजा फाल्याैं । निरङ्कुशता ढाल्याैं । पञ्चायत फाल्याैं ।

कसले कसलाई फाल्याे , कसलाई ढाल्याे ? पिलन्धरे कान्छालाई अत्तोपत्तो छैन । आन्दाेलन वा विद्राेहहरूमा मारिनेहरू अरू नै थिए । युद्धका नाइकेहरू काेही महलभित्र टहल गर्दे थिए । काेही सुरूङभित्र बसेर बाहिर अरूलाई भुरूङसरि नचाइरहेका थिए । काेही छिमेकीको चाकडीमा तन, मन लगाइरहेका थिए ।

पिलन्धरे कान्छालाई झिनाे याद छ । सडकमा मान्छेहरू झण्डा हल्लाउँदै नारा लगाउथे । झण्डावालाहरूलाई पुलिसले डण्डा लगाउथे । सडकमा निस्किएको नाराकाे सिकाे गर्दै पिलन्धरे कान्छाले आमाकाे पछ्याैरीलाई झण्डा बनाएकाे थियाे । बाेली नफुट्दै जिन्दाबात र मुर्दाबात भनेकाे थियाे । केही दिनपछि मान्छेहरूले बउदल आयाे भनेका थिए । पिलन्धरे कान्छाे तन्नेरी हुँदै गर्दा मान्छेहरूले उसै गरी भनेका थिए बउदल आयाे भनेकाे त बउला दल पाे आएछ । मान्छेहरू अलमलिएको माैकामा माइला दाइले माैकामा चाैका हाने ।

माइला दाइकाे चाैकाकाे नाैका पनि समयकाे छालले उत्तानो टाङ् लगाइदियाे । मान्छेहरूले भने अब लाेकतन्त्र आयाे । हेर्दाहेर्दै लाेकतन्त्रकाे लाेकताले गणतन्त्र नामकाे नयाँ अवतार लियाे । मान्छेहरू अटसपटस भएकाे पिलन्धरे कान्छाले देख्याे । गाइँगुइ चलेकाे सुनियाे ,” याे गणतन्त्र नभएर गनतन्त्र हाे । जहाँ शक्ति प्रदर्शन हुन्छ । याे जनतन्त्र हाेइन धनतन्त्र हाे । जहाँ सम्पत्ति प्रदर्शन हुन्छ । याे लाेकतन्त्र हाेइन लुटतन्त्र हाे । जहाँ केवल लुट्ने मात्रै काम गरिन्छ । बरू याे खाेकतन्त्र हाे । यहाँ अरू कामकाे तुलनामा खाेक्ने काम ज्यादा गरिन्छ । याे गुटतन्त्र हाे । यहाँ दलहरूका गुटहरू छन् । त्याेभन्दा ज्यादा दलभित्रै उपगुटहरू छन् । याे झुटतन्त्र हाे । यहाँ जसले जति झुट बाेले पनि छुट छ । जसले जति झुट बाेल्याे उति पावरफुल हुन्छ । यस्ता अरू थुप्रै उपनामहरू सुनिएका छन् ।जसकाे यहाँ वर्णन सम्भव छैन ।

पिलन्धरे कान्छालाई थाहा छ । देशमा अनेकथरि तन्त्र ल्याउँदा नारीहरूले सिन्दुर ,चुरा , पाेते फालेका थिए । पुरूषहरूले मायालु साथ र दरिलाे हात फालेका थिए । बाआमाहरूले बृद्धावस्थाकाे साहारा र भराेसा फालेका थिए । सन्तानहरूले आमाबाकाे काख फालेका थिए । साथ फालेका थिए। फाल्नेहरूले सबथाेक फालेका थिए । सहस्र धारा आँसु फालेका थिए । आँसुसित हाँसाे फालेका थिए ।इच्छा , चाहना , आकाङ्क्षा र रहरहरू फालेका थिए । लाग्छ ,फाल्नेहरूसँग आफैलाई फाल्न बाहेक शेष बाँकी रहेकाे थिएन र छैन । जनताले सबथाेक फालेर , गुमाएर परिवर्तन ल्याएपछि दुलाबाहिर निस्केका स्यालहरूले सधैभरि भन्ने गरे “हामीले आमूल परिवर्तन ल्यायाैं ।”

कुरूक्षेत्रकाे युद्ध समाप्ती पश्चात् याेद्दाहरूमा अभिमान पलायाे । सबैले आफ्नाे पुरूषार्थप्रति गाैरव गरे । आफ्नो पराक्रमप्रति अहमता प्रकट गरे । यस्ताे अवस्था देखिएपछि श्री कृष्णले पाण्डव लगायतका वीर याेद्दाहरूलाई बर्बरिक सामु लागे । शिर छेदन गरिएका बर्बरिकले श्री कृष्णकाे वरदानस्वरूप महाभारतकाे युद्दलाई नजिकबाट नियालेका थिए । उनले यस युद्दमा केवल श्री हरिकाे सुदर्शन चक्रले सारा संहार गरेकाे हुँदा अरूले घमण्ड गर्नु व्यर्थ रहेकाे बताए । यस तीताे यथार्थले सबैकाे शिर लज्जाले निहुरिनु परेकाे थियाे । तर पिलन्धरे कान्छाकाे देशमा लाज पनि लजाएर भागिसकेकाे छ । जे दाबी गरे हुन्छ । जतासुकै हाबी भए हुन्छ ।

केही वर्ष भयाे पिलन्धरे कान्छाकाे गाउँमा केही मान्छेहरू बुर्कुुसी मार्दै हिड्ने गरेका छन् । भन्छन् -“देशमा संघीयता आयाे ।” पिलन्धरे कान्छाकाे बुझाइमा राम आयाे भनेजस्तै संघीयता आयाे भनेपछि एउटामात्र आउनु पर्ने हाे। `आयाे´ एक वचन भन्ने लागेकाे थियाे । गाम्लेहरूका कुरा सुन्दै जाँदा पिलन्धरे कान्छाले बुझ्दै गयाे संघीयता बहुरूपी रहेछ । गाम्लेहरूकाे नजरमा संघीयता संघीयता नभएर सलह रहेछ । केही गाम्लेहरूले भाषा, धर्म,संस्कृति, परम्परा आदि मुटुकलेजा खाएर सर्वश्व गर्याे भन्ने गरेका छन् । कसैले भन्ने गरेका छन् ” प्रदेशहरू परदेश जस्तै भए । अब यी सेता हात्तीहरू पाल्न सकिँदैन । फाल्नु पर्छ । दुलैपच्छेका मुसाका दरबारहरू टाल्नु पर्छ । अब एउटा ठाेस कदम चाल्नु पर्छ ।”

पिलन्धरे कान्छालाई एक दिन कसैले भन्याे “याे संघीयता हाेइन । सङ्घी यता र सङ्घी उता हाे । संघीयताले काेही सङ्घी यता काेही सङ्घी उता भएका छन् ।साथी सङ्घीहरू नै टुटाउने र फुटाउने याे संघीयता अब किन चाहियाे ? यसलाई अब फाल्ने हाे पिलन्धरे !”

आज पालेकालाई फाल्ने हाे कि ? हिजाे फालेकालाई पाल्ने हाे ? पिलन्धरे कान्छाे बिलखबन्दमा परेकाे छ । जसलाई फाले पनि जसलाई पाले पनि अहिलेसम्म पात्र र प्रवृत्ति फरक परेकाे देखिएन । भविष्यमा फरक पर्ला भन्ने आशा पनि कसरी गर्ने ? प्रजातन्त्र परजा तन्त्र भएपछि, लाेकतन्त्र जाेकरहरूकाे जाेकतन्त्र भएपछि, गणतन्त्र घाँटी अठ्याउने गलगाँड तन्त्र भएपछि अब कुन तन्त्रकाे अपेक्षा गर्ने ? तसर्थ पिलन्धरे कान्छाकाे भगवानसँग प्रार्थना छ ,”फ्लप खाइसकेका तन्त्रहरूभन्दा अरू कुनै नाैलाे तन्त्रकाे खाेजी गर्ने मन्त्र देऊ भगवान् !”

०००
२०८१।११।११
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x