साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिठो खाने मुख

म न्वारानदेखिको बलले भाग्दै थिएँ तर अगाडि एउटा खाडल रहेछ । हिलै हिलो भरिएको। म पासोमा परें, समातिएँ एवं चल्यो मारमुङ्ग्री सिन्कीको झोलमा पनि कति तागत हुँदो रहेछ... ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

मिठो खाने नशाले मलाई न छोएको होइन। यो सोख त हाम्रो खान्दानियाँ हो। तसर्थ घरभित्रको गह्रुङ्गाे माललाई हलुंगो भाउमा फालेर भए पनि काम चलाएको छु तर न थपे कुवेरको भण्डार पनि सकिन्छ भने मेरो सम्पत्ति कति पो दिन टिक्थ्यो र ? मेरो अचल सम्पत्तिसमेत अर्काको हातमा चलायमान भो। अब न त स्वास्नीका गहना बचे, न त मेरो हातको घडी-औँठी। सुन चाँदीका थाल बेचेर अरहरको दाल, ढोकाको पल्ला बेचेर कुखुरा चल्ला आदि खाएकै छु। अब एउटा घर छ- फर्निचररहित। मौका परे घर बेचेर भए पनि रहर पूरा गर्ने हिम्मत थियो। तर के गरूँ ? घर बेचिदिए बरको रुखमुनि रात काट्नु पर्ने हुँदा चुप लाग्नु परेको छ।

मेरो स्थिति सप्रदै सप्रेन। यहाँसम्म कि हाम्रो खाना ससुरालीबाट आउने स्थिति आयो । “दही नभए पनि महीले स्वाद मेटिन सक्छ” मनेर सालो सधैं एक ठेकी मही बोकेर आउन थाल्यो । स्वास्नीले कसै गरी पैँचो आदि लिएर काम चलाउँदै थिई। दिनेले पनि दिई नै राखेका थिए। कुन्नि किन ? उनको मन मेरी पत्नीका सुन्दरताले दयार्द्र हुन्थ्यो अथवा – उनका आँखा मेरो पक्की घर देखेर चम्किन्थे कि तर मलाई यसको रहस्य खोतल्न मन लागेन किन भने मिठो खान पाइएकै थियो। एनकेन प्रकारेण हाम्रो गृहस्थीको टेम्पो चलिरहेको थियो ।

तर एक दिनको कुरो हो, भान्छामा खान गएको त सेतोको नामै नास्ति । सालोले आज मही ल्याएनछ। गाउँमा अन्न पैँचो गर्न गएको, मकैको पिठो बाहेक केही मिलेनछ त्यो पनि थोरै । आफूले खाए छोरा छोरी भोकै, छोराछोरीको मोह गरे आफू चिलिम। आफू भोकै रहने त कुरै भएन तर समस्या थियो- यो नमिठो खाना कसरी खाने ? न त स्वादिलो अचारै छ न त अरहरको दाल । सिन्कीको ग‌ङ्गाजले झोलसित यो ढिंडो कसरी निल्ने ? म भित्रभित्रै उम्लिन थालें। स्वास्नीलाई गोर्खे लौरी दिउँ कि जस्तो लाग्यो । पोइलाई मिठो खान नदिने के को स्वास्नी ? स्वास्नीले त आफ्नो ज्यान इमान गुमाएर भए पनि पोइको सम्मान गर्नुपर्छ। आफू भाेकाए पनि पोइलाई मिठो खानाले सत्कार गर्नु पर्छ। झर्कें-“यो पनि मान्छेले खाने खाना हो ?” उसले पनि प्रश्नमाथि प्रश्न पो थपी “मान्छेको परिभाषा थाहा छ ?”

मेरो गिदी त अब सात आकाशमाथि पुग्यो। यसको यो हिम्मत ? पोइको मुख लाग्ने ? किन सारी चाहियो, गुन्यु लाए भएन ? सारी किन्ने मोल मिठो खाने कुरामा लगाए हुन्नथ्यो ? बडो मसँग मान्छेको परिभाषा पो सोध्छे ए ? तर केही बाेलिन। बरु उसँगको क्रोध देखाएँ- थाल पछारेर । क्रोध र असंयमता अझ बढ्यो र पानीको गिलास पनि हुत्याएँ कता हो कता। पानीको घैँटामा पो लागेछ। माटोको घैँटा दुई फ्याक पर्याे एवं त्यसमा भएको पानी भुइँभरि छताछुल्ल भो। केटाकेटी भयले घरै उचाली रुन थाले। म क्रोधले काम्दै जुरुक्क उठेर जान थालें । तर त…र..र धम्म। म उत्तानु परेंछु- पानी पोखिएर बनेको हिलोमा। स्वास्नी आएर मलाई उठाई। सबै लुगा हिलाम्य। अनुहारमा पनि हिलो पानीको पालिस । मेरो बहुरङ्गी हुलिया देलेपछि केटाकेटी रुन बिर्सेर हाँस्न थाले। म यो नयाँ प्रहारले आतिएँ तसर्थ एकै फड़कोमा भन्ऱ्याडको याप्लो कुच्न गै पुगें।

जब क्रोध सुस्त सुस्त “विनसित्तै गरेंछु को भावमा परिणत हुन थाल्यो- पेटले कराएर आफ्नो अस्तित्वको दुन्दुभि फुक्यो। छोरोको “खुत्रुके” सुस्तरी फोडेँ र सम्पूर्ण पैसा कोटको गोजीमा हुलेर भन्ऱ्याड ओर्लें। स्वास्नी घैँटाका टुक्रा र पोखिएको पानी उठाउँदै थिई। छोराछोरी मैले पछारेको ढिँडो खोसाखोस गरेर खाँदै थिए। स्वास्नीतिर न फर्केर “म आठ-दस दिन आउँदिन” भनेर फुत्त बाहिर निस्केँ ।

सरासर होटेल पसेँ। मेरो मन परेको खाना किमा कलेजी र बिरयानी पेटभरि खाएँ। मलाई अचम्मको तृप्ति भो तसर्थ कति चित न दुखाई रुपियाँ तिरेर होटेल बाहिर निस्कें । अब कता जाऊँ ? घर जाने त कुरै भएन। बरु कतै मिठो खान जानु पर्याे । ससुराल जाऊँ भने दुई-तीन दिन मात्रै त भएको छ त्यहाँ गएको। मामाघर पनि भएन किनभने झगडा गरेकाले – “मेरो दैलो न कुल्चेस् कुला‌ङ्गार” पो भनेका छन् । म अन्योलमा परेको बेला एकाएक मेरो स्मृतिमा कसैको खित्खित् हाँसो पौडियो यो त मेरो प्रिय मित्रको हाँसो पो हो। हामी प्राइमरीदेखि कलेजसम्म सँगै पढेका थियाैं। हाम्रो रोटी-भाेटी लड्‌गौटी सबै साझा थियो । हामी दुवैको यौटै बानी थियो मिठो खाने ।अब त धेरै भैसक्यो भेट नभएको। कम से कम मेरोजस्तै छ सात वटा प्याउसा प्याउसीको बाबु त अवश्य भैसकेको होला उसैकहाँ जाने निधो गरें। मलाई थाहा थियो कि कसैको घरमा जाँदा केटाकेटीका लागि केही लैजानु पर्छ। यसको बडो राम्रो असर पर्छ अर्थात् घरका मान्छेले आफ्नो सत्कारमा कुनै कमी गर्दैनन् तसर्थ एक रुपियाँको चकलेट किनेर खल्तीमा हालें एवं मित्रको घरतिर प्रस्थान गरें।

सौभाग्यवश मित्र घरमै रहेछन्। पहिले त मलाई देखेर झस्के तर तुरुन्तै मुखमा मुस्कान ओढेर मतिर लम्के। केही भलाकुसारी पछि हामी घरभित्र पस्याैं। भित्र मित्र पत्नी बसेर कटहरको तरकारी काट्न थालेकी। आहा क क कटहर ? मेरो जिबो सर्सरायो । मित्र पत्नीलाई निहुरेर नमस्कार बजारें। औपचारिकता निभाउन केही त भन्नै पर्याे भनेर भन्न खोजें- “तपाईंहरूको दर्शन गर्न आएँ” भन्न पुगेछु “मिठो खान आएँ।” कुरा अब फर्केर आउने होइन । तर मित्र-पत्नीको मुखारविन्दमा एक अचम्मको प्रतिक्रिया भो। उनको अनुहार उसै त कालो- अरू कालो भइन्। सायद भन्न खोजी हुन् “मिठो खाएको भए यस्तै अनुहार हुँदो हो ?”

झट्ट सम्झै बिग्रेको कुरा सपार्ने युक्ति अर्थात् खल्तीको चक्लेट । गोजीबाट झिकेर केटाकेटीलाई बोलाएँ तर के आउँथे ? आमासँग टाँसिएर मलाई क्वारक्वार्ती हेर्न थाले । उनको अनुहारमा डर, आश्चर्य र लोभको मिश्रित भाव नाच्दै थियो। मैले हातको सबै चक्लेट उनीहरू छेउ हुत्याइदिएँ। परेवामा वाज झम्टेझै उनीहरू चक्लेटमाथि झम्टे तर “चटाख्” लौ को कसको टाउको त फुट्यो बावै । एकै छिनमा रुवावासी चल्यो। मैले चक्लेट दिएर केटाकेटीहरूलाई हसाउँछु भनेको त एकदम उल्टो भो। कुन्नि मित्र-पत्नीले केटाकेटीको हातबाट सबै चक्लेट खोसेर बाहिर फाली दिइन् ।

कसरी कसरी साँझ परेछ। भान्छामा भात पाक्दै थियो। मित्रलाई उसको छोराले बोलाएर भित्र लग्यो। मेरो मनमा खुल्दुली जाग्यो। भित्तोमा कान थापेर भित्रको संवाद सुन्ने प्रयास गरें-

पति- के गर्छ्याै त ? मेरो मित्र हो प्राइमरीदेखि कलेजसम्मको ।
पत्नी – यस्तो घिनलाग्दो दाह्रीवाल मोरो मित्र रे ? अझ “मिठो खान आएको भन्छ । त्यसको मिठो खाने मुख… ।
पति- के गरुँ त कलेजमा छँदा उसको पैसामा खुब मोज उडाएको हुँ… तर भोलि त गै हाल्छ नि ? आजलाई जस्तो परे पनि सहनु पर्याे ।”

म सोच्न थालें- “आठ-दस दिन न सही, भोलि बिहानसम्म त मिठो खान पाइने नै भयो। पछि देखा जाला ।”

निकै लामो प्रतीक्षापछि भान्छा तयार भो। खान गएँ तर जति आँखा घुमाउँदा पनि कटहरको भाग देखिएन। दिन बिर्से कि ? प्याच्च मुख फोडिहालें “कटहर त दिनै बिर्सनुभएछ ।” पति-पत्नी मुखामुख गर्न थाले तर पत्नीले तत्काल उत्तर पड्‌काइन् “भाेलि बिहान पकाउने भनेर राखी छोडेकी।” म पूर्ण आश्वस्त भएँ- भाेलि त अवश्य खान पाइने नै भयो भनेर ।

बिहानै मित्र कता गैसकेका रहेछन् । मित्र-पत्नी पनि देखापरिनन् । केटाकेटी मात्रै यता-उता उफ्री रहेका । सुस्तसुस्त समय बित्दै गयो तर मित्र आएनन्। मलाई भोक लाग्न थालिसकेको थियो। चिया नास्ताको त कुरै छोडौं, भात खाने समयसमेत खुस्किन थालेको थियो । प्रतीक्षाको विरही घडी गन्दा गन्दै एघार बजिसकेछ, तर भान्छा भो भन्ने शब्द सुन्ने आशमा मेरो सास जान थाल्यो। खपी न सक्नु भएपछि घिच्राे तानेर भान्छातिर हेरेको त चिसो चुल्होले गिज्यायो । अब के गरुँ ? सोधुँ केटाकेटी सामु पर्दैनन्। होटेल जाऊँ साथमा फुटेको कौडी छैन तर यत्तिकैमा एउटा केटो यतै आउन थालेको देखेर आश र सास दुवै जाग्यो। “मेरो खाने व्यवस्था के भएको छ बाबु, सोध त ?” मैले केटोलाई अह्राएँ तर उसले हाँसेर जवाफ दियो “खै, कुन्नि ? दाइ बजार गएको उही फुपूको घर खाने रे। भाउजूले चाँहि हाम्रो घर खाने भो।” आफ्ना आँखा हसाउँदै केटो गयो ।

आफ्नो शरीरमा अब एक थोपा पनि रगत शेष न रहेको भान भो मलाई। भोकले हो वा झाेकले हो, म धरथर काम्न थालेंछु केटाकेटी मेरो यो नयाँ रूप देखेर भागे। मेरो पेट भोकले दग्ध त थियो नै तसर्थ खाने कुरा केही छ कि भनेर यता-उता खोज्न थालें तर दुर्भाग्यवश एउटा केटोको आँखा ममाथि परेछ। ‘चोर चोर’ भन्दै ऊ चिच्याउन थाल्यो । कताकताबाट अरू आठ/दस जना केटाकेटी जम्मा भएर उसकै स्वरमा स्वर मिलाएर गुहार माग्दै चिच्याउन थाले। म यो नयाँ विपत्तिले त्राहिमाम् भएर भाग्न थालें। यसो पछाडि फर्केर हेरेको त देखें एक जमात गाउँलेहरू भाला बर्छीसहित “चोरचोर समात” भन्दै मेरो पछि-पछि दगुरेका । म न्वारानदेखिको बलले भाग्दै थिएँ तर अगाडि एउटा खाडल रहेछ । हिलै हिलो भरिएको। म पासोमा परें, समातिएँ एवं चल्यो मारमुङ्ग्री सिन्कीको झोलमा पनि कति तागत हुँदो रहेछ भन्ने कुराको अनुमान सिक्न गाउँलेको पहलमानी मुक्काबाट सहजै लाग्थ्यो । फुस्रा आँखा पल्टाएँछु । ‘लौ, गुल्टियो क्यार” भनेर गाउँलेहरू फर्के। केही बेरपछि म पनि लुरुलुरु घरतिर लागें।

भाेको त्यसमाथि पिटाइ ? सय मिल जति हिँडेको थकाइ बोकेर म घरसम्म आइपुगें। घर सुनसान थियो । खानेकुरा केही छ कि भनेर यताउता खोजें। छोराछोरीका लागि राखेको बासी ढिँडो बाहेक केही थिएन। तर अहिले ढिँडो र बासमतीमा फरक छुट्‌याउन मौकै थिएन। भोकले नीति र भावनाको स्तरलाई मेटाई दियो। मैले धैर्यलाई तिलाञ्जलि दिएर थालभरिको ढिँडोलाई छिनभरिमै रित्याई दिएँ। सत्ते, यति धैर्यहीन भए त हिजो मैले विरयानी र किमा कलेजी पनि खाएको थिइनँ। यही अधैर्यता नै तृप्तिको प्रथम चरण हो कि जस्तो लाग्यो किनकि आज मिठो र न मिठोको पूर्वाग्रहले नयाँ मोड लिएको थियो। पश्चातापले हो कि खुसीले हो. मेरा आँखामा आँसु आएछ। झट्ट वर्सौंदेखि बैठक कोठाको भित्तामा ट‌ङ्गाइराखेको गान्धी बुढाको तस्विरमाथि आँखा टक्क अड्‌यो। उनका चम्किला र भावपूर्ण आँखामा मेलै मान्छेको परिभाषा खोज्न थालें ।

०००
मधुपर्कः प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x