
गोडूँ यो मनको झार !!
कबाफको अझै अर्को रबाफ मनको घर जली भस्म भई उड्नु पर्ने हुन्छ अझै पर ! जम्मै विद्रुपका गेडा मनबाट हटी झरे म नै देवत्वको स्वर्ग म नै धरा धमाक रे !!

कलानिधि दाहाल :
मलाई मनको साझा आँगनमा सधैँ सजूँ
उम्रेका झार गोडेर बाँसुरी नित्यमा बजूँ !
मन नै मनको शत्रु अर्को शत्रु कहाँ छ र
द्वेष नै पहिलो पत्रु अर्को पत्रु कहाँ छ र ??
मन घोप्टे भए ओठ कालो बन्छ शरीरको
जिउँदै छ चिता गोठ सर्प टोक्छ शरीर यो !
पत्नी देख्छ महारानी पुत्र देख्छ जुहारमा
पुत्री काँध सजाएर घरको छ अँगारमा !!
माता देवी पिता देव ओठले बर्बराउँछ
मनको झार हुर्केर झारमै लर्बराउँछ !
भट्टी जाँड सबै देख्छ अमृतका घडा ठुला
कोही असल देखेमा उफ्रन्छन् दुलही दुला !!
अझै झार बढे देख्छ स्वार्थको दरिलो घर
माकुरे छल फैलन्छ सुकेको बनी गोबर !
झरी यो ठगको छम्की स्याउ किरा सजाउँछ
मन नै दुष्ट हो आफ्नो आफैँ खिल्ली उडाउँछ !!
प्रशंसा अन्यले ह्वैन आफैँभित्र उबाउँछ
चर्का माइकमा उफ्री आफ्नै खिल्ली उडाउँछ !
नगरे पनि क्यै कार्य गरेँका गीत गाउँछ
अहङ्कार झिकी आफैँ आफूबाट बिलाउँछ !!
न गरी कर्मको खेती बाला टिप्ने भएपछि
झूठका बिरुवामाथि सत्य लिप्ने भएपछि !
जिब्रो नै तनको बन्छ महाँ शत्रु मिजासको
आफैँभित्र घृणा थुप्री हुन्छ यो अट्टहासको !!
ठगी फल्ने सबै बोट उखेलूँ सुकूँ बेसरी
अहङ्कार हुने ढालूँ मनका गजकेशरी !
अरू घोच्ने छली चोया आगो झोसी बलेपछि
सच्चा मान्छे म नै हुन्छु सफा खाल खलेपछि !!
कबाफको अझै अर्को रबाफ मनको घर
जली भस्म भई उड्नु पर्ने हुन्छ अझै पर !
जम्मै विद्रुपका गेडा मनबाट हटी झरे
म नै देवत्वको स्वर्ग म नै धरा धमाक रे !!
उम्रने झारको ब्याड सुम्पने छ पुरातन
अन्धविश्वासको पाउ फालिनु पर्छ धड्कन !
अर्को लोभ महाचोर बासबाट उता झिकूँ
नव आलोकको बस्ती शत्रु हुन्न कुनै सिकूँ !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest