साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेथितिको आगोमा प्रविधिको घिउ

बेतिथि प्रेमीले प्रेम पत्रको अग्रलेखन गर्नुभन्दा पहिले नै उत्ताउलो प्रविधिको डढेलोको स्वादले भविश्यका कुलाहरु भत्कायो भने बुर्की छर्न एकमुठी धानका गेडा पनि नपाइएला । सेतोघरका साहुसँग माग्नु पर्ला ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

बेथिति भनेको थितिको उल्टो। थिति नभएको। अव्यवस्थित। अस्तव्यस्तताको स्थिति। राम्रो गरी नमिलाइएको नराम्रो प्रबन्ध। थिति नमिलेको चाल र गति।असरल्ल अवस्था अर्थात बेथिति। यो थितिको उल्टो बेथितिले घर देखि घाटसम्म कुरुप अवस्था देखाउछ। ओशोले सम्भोगदेखि समाधि सम्म भने जस्तै हो। मानिस, समाज वा राष्ट्रलाई डोर्याोउने गतिलो माध्यम थिति हो। नियमित रुपमा थिति मिलाएर जीन्दगी चलाउन खोज्ने मानिसहरुको जीवनशैली भन्दा थिति विहीन मानिसको जीवनशैली फरक हुन्छ।हुनु पर्छ। दैनिक रुपमा थिति सहितको मिति तोकेर अघि बढ्ने मानिसहरुको प्रगतिको गति पनि सलल बगेको हुन्छ।व्यवस्थित चालमा हिँडेको हुन्छ। समाज पनि त्यस्तै हो। निश्चित सिद्धान्त, रीतिथिति, चालचलनमा बाँधिएर बसेको समाज र बेथितिमा अराजकतापूर्ण अवस्थामा चलेको समाज साँच्चिकै फरक हुन्छ। अराजकतापूर्वक मनोमानी ढंगले चलिरहेको समाजमा थिती; अमनचैंन र शान्ति हुँदैन। राष्ट्र पनि त्यस्तै हो।

निश्चित प्रणालीका तोकिएका सिद्धान्त, नियम कानुनमा रही थिति अनुसार चलेको राष्ट्रमा भेदभावरहित समाजको निर्माण हुन्छ र शान्ति अमनचैंन कायम हुन्छ। मानिसहरु हाँसी खुसी आफ्नो लग (इलम) मा लागि राखेका हुन्छन्। जिविकोपार्जनमा तल्लिन हुन्छन्  ।जिविकोपार्जनमा तल्लिन भै आफ्नो लगमा लागेका मानिसको अर्थोपार्जनका माध्यबाट राष्ट्र सम्पन्न बन्न पुग्छ।पृथ्वी नारायण शाहले भनेजस्तै “प्रजा मोटा भया दरबार बलियो हुन्छ”। आजको युगमा पृथ्वी नारायण शाहकै शब्द सापटी लिँदा “जनाता सम्पन्न भए राष्ट्र बलियो हुन्छ”। इतिहासले भन्छ थिति बसालेकै कारण नामै थाहा नभएका मानिसको नाम जयस्थिति मल्ल रह्यो। राजा जयस्थिति मल्ल बन्न पुगे।

प्रविधिको अर्थ काम गर्दाको अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया। कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सिप, ढङ्ग वा कौशल, वा तकनिकी अथवा खास शिल्प अनि विशेष कला। यो कला, सिप र पद्धति समाजको गति, मानिसको चेताना, विकासको गति, शिक्षाको स्तर, र सन्दर्भ समूह अनुसार परिवर्तन हुँदै जान्छ । अनुसन्धान, नवप्रवर्तन र अविस्कारको माध्यमबाट प्रविधि युग अनुकुल परिष्कृत हुदै जान्छ।

थिति र प्रविधि एक अर्काका परिपूरक हुने भएकोले समाज विकासको क्रमसँगै परिवर्तन हुन्छन्। प्रविधिसँग एकाकार हुन नसक्ने मानिस, समाज र राष्ट्र पछि पर्नु स्वभाविक हुन्छ। थिति भने परिवर्तनीय र स्थिर हुन सक्छ। जस्तो कि समाजिक संस्कार, रीतिथिति समाजिक रुपले पालन गर्ने पर्ने बाध्यात्मक अवस्था पनि हुन सक्छ। यस्तो बाध्यात्मक अवस्थालाई प्रविधिबाट जोगाउन जरुरी हुन्छ किनकी थिति हरेक समाजका फरक हुन्छन् भने प्रविधि सबैको लागि एउटै हो।

अहिलेको समाज भने प्रविधिमा हुडुलिएकोले थिति र बेथितिको गहिराइमा पुग्दैन केवल प्रविधिको सहायताले बेथितिका मकै भुटेर छरपस्ट पार्दैछ।प्रविधिको असिनाले वारी बाँझोमात्र पारेको छैन बचेखुचेको कार्तिकको धान र बैशाखको गहुँ सोत्तर पारेर मानिसको निर्यात गर्ने कारखाना खोल्न सहयोग गर्दैछ। मानिसले आफ्नै विपतिको गति नियाल्दैछ।आफू बेथितिमा चल्दा संसार बेथितिमा चलेको देखिरहेको छ। अरुको बेथिति कोट्याएर आफ्नो लुकाउन खोज्दाखोज्दै प्रविधिले धोती खुस्काएको पत्तो पाउँदैन। बेथितिको रतन्धोले अन्धोपन सृजना भएको मानिसले सबैको आँखामा बेथितिकै फुलो परेको देख्नु अस्वभाविक भएन, हुँदैन।

बेथितिमा चलेकोले थितिमा चल्न सिकाउला भन्नु र बाघले मासु खाँदैन, बिरालोले दुध चोखै राख्यो भन्नु जस्तै हो। बाघले घाँस खायो, कुकुरले दही चोर्न थाल्यो भने अनौठो मान्नु नपर्ने गरी बेथितिको रोपाइँमा प्रविधिको धान कटाइ भएको पलपलमा देखिँदैछ । मानिसको सहयोगीको रुपमा विकास गरिएको प्रविधिको सुइले मानिसको नै बन्ध्याकरण गर्योल भने अनौठो मान्नु पर्दैन। यसको झिल्कोले तालुमा दियालो जलायो भन्दा पनि अचम्म नहोला।

बाहिरी शरीरमा लागेको हिलो पखाल्न साउने संक्रान्तिमा मानिसले रोपाइँबाट उम्किएर हिलो पखालेकोलाई बैशाकमा सिस्नो चिलायो र बैशाखमा सिस्नो चिलाएकोलाई साउनमा हिलो पखालेको बनाउन प्रविधिको टुप्पी निधारतिर जोडिँदैछ। वर्षभरीको मन पखाल्न, छाला शुद्ध गर्न, पिला खटिराबाट छुटकारा पाउन नयाँ वर्षको पहिलो दिन बैशाख १ गते सुदूरपश्चिमतिर बिसुसंग्राँतीमा चिलाएर मनाउछन्।सिस्नुले छाला जन्य रोगको निरोध गरेर नयाँ वर्षमा छाला शुद्ध रहोस् भन्ने प्रतिकात्मकतामा जोडिएको छ- यस पर्वमा।बेथितिमा पनि प्रविधिको सिस्नु चिलाएर बेथितिका पिला खटिरा सफा गर्नु त कति जाती कति जाती।को नमनाउला खुसीको पर्व ?

सानातिना आउन सक्ने सम्भावित पिला खटिरा भए पो सिस्नुको चिलाइले सम्भावनाको गर्जोटार्दो हो। छालाबाट भित्र पसेर मन, मस्तिष्क, मुटु कलेजो खाइसकेको बेथितिको ट्युमरको उपचार सिस्नु रुपी प्रविधिले गर्नु भनेको पिपलको फेदमा कुकुरले पुजा गर्योो भने जस्तै हो।सिस्नु निरोधात्मक मात्र हो। उपचारात्मक कार्य भने गर्दैन। उपचार गर्न त अप्रेसन थियटरमा लगेर कैंचि नचालएसम्म शारीरिक ट्युमरको बोझ कसरी हट्ला! शारीरिक ट्युमर भन्दा बडो गजबको मानसिक ट्युमर बेथितिको भोक अन्तहिन प्यासको उपचार भने अप्रेसन गर्ने प्रयोगशालामा पनि सम्भव छैन।

निरन्तर चलाइरहेन बेथितिको महलमा आरामको शैयन कक्ष बनाएर पुस्तौंपुस्ता सुखको निद्रामा सुताउने प्यासले ल्याउने सत्यानासको आगोमा प्रविधिको चाहिने जति घ्युले जलाउने दन्दनाहटको रापको खरानीले उत्पादन गर्ने भनेको अस्तु हो।अस्तु बगाउन चाहिने भनेको केही लिटर पानीमात्र हो वा दहन गर्ने परे एक फिट जमिन होला वा लियो टोल्सटायले लेखेजस्तै मानिसलाई चाहिने छ फिट जमिन हो भन्ने कुरा प्रविधिको सिस्नोले चिलाउदा नपुगेर प्रविधि पनि बेथितिमा परिणत भयो कि भन्ने लाग्दैछ। छालाको लुतोको कन्याइ जस्तो कलेजोको ट्युमर र मस्तिष्कको द्रव्य प्रेमी गानो सिस्नो जाबोको एक छिनको झन्झनाहटबाट के निको हुन्थ्यो? थितिको प्रतिनिधित्व बाहेक सिस्नोले उपचार कसरी गर्थ्यो ?

लियो टोल्स टायको कथा “हाउ मच ल्याण्ड डज ए म्यान निड?” को पात्र पाहोमलाई पनि बिना मेहनेतको दौडबाट प्राप्त हुने जमिनको प्यासले नै मृत्यु मुखमा धकेलेको थियो। पाहोमको आखाँले देख्ने जती जमिन आफ्नो बनाउने सपना तब तुह्यो जब उसले परिकल्पनाको लोभको भोकले उसको शारीरिक अन्त्यष्टी भयो। भुपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे त्यसै कहाँ आएको थियो? यो पनि भुपीको दिमागमा समाजिक बेथितिको अगेनोको रापले सृजना भएको हो।

“लोभले लाभ लाभले बिलाप” भन्ने उखानको हाँगा नीतिको थिति भित्र बेथितिको खिचढी पकाएर सुनसानमा हसुरेको दौलतको धज्जी प्रविधिले उडाउँदा पनि घैंटोमा घाम नलाग्ने स्थितिको मुकुण्डमोमा प्रविधि भित्रै बेथितिको बादलले घेरपछिको अवस्थाले भविश्यको बान्तालाई कसरी आँकलन गर्न सकिएला? बान्तामात्रैले बाँच्ने अवस्था पनि आफ्नो हातमा राज्यको हतियार भएसम्म मात्र हो। त्यसपछि त त्यो हतियार मतियारमा परीणत भएर फिर्ता फर्केर बिर्ता पो खोज्छ। बिर्ता सम्म पनि ठिकै हो। सास फिर्ता माग्यो भने सातो फर्काउने झाँक्री पनि बिटुलो देख्छ भएन त घटौती! भेद गर्ने स्याउलोले पनि छोइछिटो माग्छ। नुन पानीले पुग्दैन सुनपानी खोज्छ।

हनहनी तताइरहेको सय माथिको तापमानको के पचास एम जि को सिटामोलले समाजको ज्वरो झर्ला र! राष्ट्रको ट्युमरको अपरेशन अक्तियारको भक्तिमा गर्न नसकेर बगरेको काठको ठुटोमाथी खसीको फिलो छप्काउने हतियारले गर्ला त? छाला काड्ने कर्दाको धार ढुङ्गाको सिलीमा पलाएको दृष्य प्रविधिको चमकमा देखा पर्दाको अवस्था नजाने कस्तो हुन्छ हिटलरले बुझेर नै संसार जीत्न खोज्ने मेरा हात सबैलाई देखाएर अन्तिम यात्रा गर्न अर्ति दिएका थिए ।

धारिलो कर्दाको प्रयोगका माध्यमबाट लाइटरको सिठी फुकेर बेथितिको जङ्गलमा प्रविधिको डढेलो सल्काउँदा बच्ने चाहिँ के होला ! बेतिथि प्रेमीले प्रेम पत्रको अग्रलेखन गर्नुभन्दा पहिले नै उत्ताउलो प्रविधिको डढेलोको स्वादले भविश्यका कुलाहरु भत्कायो भने बुर्की छर्न एकमुठी धानका गेडा पनि नपाइएला । सेतोघरका साहुसँग माग्नु पर्ला। उत्तर दक्षिणका छिमेकीसँग हत्केला फिजाएर अजौली जधौ गर्नु पर्ला।बेलैमा सोच्नु।नसोचे आफ्नै कन्चडमा स्वचालित बन्दुकले घोचेर तिथको यात्रा गर्नु राम्रो मानिदैन।काल प्राकृतिक हो। स्वकाल भने कृतिम र अपराधिक हो। प्रविधिको कैँची घर भित्रको थैलीमा पस्यो भने लिस्नो चाहिँ बाँसकै हो।

०००
कैलाली, हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x