डा. छायादत्त न्यौपाने ‘बगर’पत्याउनु भाे !
हाे, महाशय यस्तै यस्तै घर बाघ, बाहिर बिरालाे बनेर भइपरिआउने दाउपेच हत्याउने चतुरकला भएकैले हाे म सिपालु छु भनेर स्वघाेषणा गरेको । कला नभई दाबी गर्ने आँट आउँछ र ? अहिलेलाई यति भनेँ ।

डा. छायादत्त न्याैपाने :
म मान्छे सिपालु । हाे, नपत्याउनुभा ? हेर्नू न मेरा कामकाज । सुन्नु न मेरा भाषणबाजी । म कति साेझा मान्छे निमुखा जनता थर्काउन खप्पिस छु । म घुस कमिसनमा हात लाउन्नँ । तपाईंलाई थाहा हुनुपर्ने हात लाउने विश्वास पात्र छन् । सुरक्षा गर्न बैंक खाता । म त साँझ परेपछि दिनभरिकाे हिसाब किताब बुझेर खाता रुजु गर्ने खजान्ची मात्र पाे त हजुर ! अनुमान गरेभन्दा बढी, साेचेभन्दा ज्यादा, आवश्यकता भन्दा अधिक स्राेतहीन आमदानी देखिए पारि पठाउने हाे । याे व्यवस्था पनि मिलाउन सक्ने साथी छन् । उपयुक्त विधि मिलाकाे छ अनि ! अनि त महाशय ! सिप नभई यस्तो अद्भुत तारतम्य मिल्छ ?
हाे, नि पक्कै हाे , हिजाे भूमिगत बसेर सिकेका यी घुस खाने, जुस पिउने, एक्लै रमाउने विधि प्रक्रिया हुन् । आफैलाई माग्न पाे लाज, जनता देखाएर माग्नु, आएकोबाट भागबिलाे लाउनु, खर्चविवरणबाट अलिकति बचाउनु त सिपकै देन हाे । कतिपटक जेल परेर निस्कियाे त्यसकाे साँवाले चित्त बुझाउने कुरा भएन । क्षतिपूर्तिको लागि व्याज, स्याज, प्याज जाेडजाड गरेर असुल्नु पनि त कम्ता हाेसियारी हाेइन । यी सामान्य विषय तपाईंजस्तो भित्री पत्रकारलाई भलीभाँती थाहा हुनुपर्ने ! तपाईंको जिज्ञासा सुनेर त मेरो मान्छे हाेइन विपक्षीकाे पत्रकार पर्नुभाे कि क्या हाे ? शङ्का लाइराछ त !
हैन के हाे याे ? कतै म आफै भ्रममा त छैन ? मैले ऊ बेलादेखि चिनकाे, मेरो पुरानो पत्रकार ! मेरै दानापानीले माेटा-मान्छेले मैलाई असजिलो प्रश्न ? अलिक नमिल्ने क्या ! हिजो परिस्थिति फरक । ढुङ्गा हान्नु आवश्यक थियो तालिम लिइयाे दिइयाे, बेला न कुबेला साथीभाइका डेरामा पसेर दिनु दुख दिइयाे, कति व्यापारीसँग मदत लिइयाे, कतिलाई धम्क्याइयाे, कति छाक भाेकै सुतियाे , के गरिएन ? लेखाजोखा पछि गरौंला ।
अब मदत दिनेले औलाे बङ्ग्याएर घिउ झिक्न बल गर्छन् त यसमा अनौठो के छ ? वातावरण नमिलाई भाे त ! अब त धमक्याएकालाई पनि सुमसुम्याउनुछ । आज कहाँबाट कति आउँछ पत्तो पाउनुछ । आफूलाई मात्र आउने हाे कि भागबलाे मिलाउनुपर्ने हाे ? चलेकाे चलनचल्तीले विधिव्यवहारमा ल्याएका कुरा मान्नु छ । माैका चिनेर सडकबाट, सदनबाट रक्षार्थ काम गर्नेहरूलाई पनि चाराे पुर्याउनुछ । कहाँ काेसँग कस्तो मुद्दामा भिक्षाटन गर्ने हाे दाउ हेर्नुछ, अभिनय फेर्नुपर्ने हुन्छ कि। सुरुमा साख्खै बनेर आउने कति तौलकाे विश्वास बाेकेर आछ ! जाँचपडताल गर्नुपर्छ । काम त कति कति ? यी निजी सुखका धेरै काम समयमा फत्ते गर्नुछ ।
यता बाटाेघाटाे पुलपुलेसातिर पनि अलिकति कनिका छर्नुपर्छ नत्र गरे गरे जस्तो कामले डाम्न पाइँदैन । भित्र जे जे गरे पनि बेलाँ दाँत देखाउन बिर्सनु हुन्न । किसानले क्यै पाएनौं भने भने अर्को तनाब हुन्छ । चुनावमा चुनौती थपिन्छ । हिजो सघाउने र बाटो छेक्ने दुवै थरीसँग सँगसँगै पौंठेजाेरी खेल्नुछ । आज पनि बच्नु बचाउनुछ । जीवन हाे थरीथरी रङले सजाउनुछ । ल तपाईं आफै भन्नुस् के यी सबै म सिपालु हुनुका सशक्त र सामयिक उदाहरण हुन सक्तैनन् ?
अँ, तपाईं भन्नुहाेला सर्वसाधारण जनतालाई के दियो तपाईंको सिपले र ? याँमाकाे सिपालु भकाे छु भनेर फुर्ती लाउने ? लौ साँच्चै मान्छे हाे तपाईं भने देखाउनु त नैतिक मूल्य कहाँ छ ? खै मानवीय संवेदना ? बेथिति र बेइमानी बढाएर जनता त्रासमा पार्नेले बड्क्याइँ छाँट्ने ? लौ,अहिलेलाई यस्ता कुरा पाेकाे पार्ने हाे । यी त विस्तारै हुने कुरा हुन् । ठाउँ पा-बेलाँ त दुनाे साेझ्याउने जिउ माेटाउने हाे नि ! फेरि हिजो आफैसित जेलमा माटाे खन्नेहरूले भाग पाएनन् भने पदबाट गलहत्याउन खाेज्छन् । जाेगिन तराततुरुत चुहाउन पनि जान्नुपर्छ । कम गाह्राे छ कमाउन !
अर्को उस्तै गाह्रो पाटाे छ कहिलेकाहीँ त कूटनीतिले पनि तान्छ । विदेशी थुमथुम्याउनुपर्ने अवस्था आउँछ । यस्ता अनन्त चुनौती थेगेर अनुहारमा कालाे पाेती पाेती इतिहासको कलङ्क बनेर कानुन छली छली सुकिलिनु सिप हाेइन ? यतिविघ्न समस्या झेलेर काम देखाउने हाे । आफू व्यवस्थित र सुरक्षित रहने हाे, म कुनै मनहुस हाे र ? देश र जनताकाे पिर लिएर टाउको दुखाउनलाई ? अँहँ ! यस्तो गल्ती गरिँदैन ।
के भर ! कतिखेर के हुन्छ ? भाेलि पदबाट गलहत्तिएपछि अख्तियार र अनुसन्धान बिउराेले च्याप्प पार्ने प्वाल नटाली छाड्नु भाे ? हुँदै हुन्न यस्तो त्रुटि मबाट हुनै सक्दैन । काेही इमानदार साहसी जन्मेर आयाे भने त घाेक्रेठ्याक लाउँछ । छाेरानाति नछाड्न के बेर ? उनीहरूलाई याे अवसर त दिनुभएन नि !
म मन छामेर दान दिन जानेको मान्छे हुँदा न हाे झाेपडीबाट महलमा राज गर्न पाकाे ! हिजो गाेजाँ रुपैयाँ नभा मान्छे , आज सय, हजार, लाख हाेइन कराेड उछिनेर अरबौंकाे हिसाब किताबसम्म पुगेँ । याे काममा सफल हुन कति सिप खाँचाे पर्ला अनुमान गर्नु त , सिपालु नभई याे सब सम्भव हुन्छ ?
तपाईं गनगन गर्नुहाेला समाजमा व्याप्त लुटपाट, थिचोमिचो , राष्ट्रघात, सुरक्षानिकायमा हस्तक्षेप भाे यस्ताे बिगबिगी मच्चाएर पनि ठुलठुला गफ दिने ? भनेर । यस्ता गफ दिएर त आजीवन पद खाइरहन सकिन्छ । ९/१० पटक चुनाव जित्ने दाउपेचे खेलाडी त्यसै भइन्छ र ? जनता झुक्याएर चुनाव जितिरहने कलालाई कम मूल्यवान् नठान्नुहाेला याे मेरो जनहितमा जारी सुझाव अनि खबरदारी पनि हाे महाशय !
शिक्षा, स्वास्थ्य, सामाजिक न्याय भताभुङ्ग नपारी बहादुर भइँदैन भन्ने गुढ समयमा बुझेर त्यसैअनुसार नीति निर्माण गरी पद,पैसाकाे छेलाेखेलाे गरियाे । हाे, महाशय यस्तै यस्तै घर बाघ, बाहिर बिरालाे बनेर भइपरिआउने दाउपेच हत्याउने चतुरकला भएकैले हाे म सिपालु छु भनेर स्वघाेषणा गरेको । कला नभई दाबी गर्ने आँट आउँछ र ? अहिलेलाई यति भनेँ । आशा गर्छु म सिपालु मान्छे भएको कुरा तपाईंले पत्याउनुभाे ! म सफल ! अस्तु ।
०००
पर्वत, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































