साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिना डिकाका चन्दन टीका

पशुपतिमा रहेका ज्योतिषीहरुमध्ये ८० प्रतिशत ज्योतिषीहरु नक्कली रहेको फेला पारिएको थियो एकताका। नजानी नजानी ग्रह, दशा, कुण्डली हेर्नेदेखि धोतिमै छेर्नेसम्मका ज्योतिषीहरु पनि छन् यहाँ।

Nepal Telecom ad

अमर अधिकारी :

पूजा पाठमा भन्दा पनि फूलपातीको टोकरी समाएर मन्दिर अगाडि उभिएर फोटो खिचाएर फेसबुकमा पोस्ट्याएपछि मात्र सबैभन्दा ठूलो धर्म प्राप्त हुन्छ जस्तो ठान्छन् र सेल्फी हान्छन्। नभए अरुले खिचेकव तस्विरलाई मान्छन्। यो प्रचलन स्मार्ट फोनको प्रयोगबाट शुरु भएको हो। जाबो एउटा फोटो फेसबुकमा राख्नका लागि मनकामना, पाथीभरा, चतरा, दन्तकाली, बागेश्वरी, काक्रेविहार, त्रिपुरासुन्दरी जानुपर्छ र त्यत्रो पैसो खर्च गरेर ? दन्तकालीको सट्टा दक्षिणकाली, भद्रकाली गए भैगो नि ! गढीमाई जानुभन्दा त टेबहालको संकटामा गए भैगो नि ! नौडाँडापारीको सुनदेवी जानुभन्दा बालुवाटारको चुनदेवी गए भैगो नि।

अहिले मन्दिर धाउनेको भन्दा आश्रम वा धाम धाउनेहरुको लर्को छ, भ्रमजालहरु चर्को छ। खास गर्ने जोगी भनद् नास गर्ने जोगीहरुको बिगबिगी छ यहाँ। हेर्दा रोडपति जस्ता देखिए तापनि करोडपतिसम्मका जोगीहरु पाइन्छन् अचेल। धोकेबाज र पाखण्डी बाबाको अगाडि लम्पसार परेको फोटो पनि कताकतै फेसबुकमा पोष्ट्याएको देखिन्छ। त्यस्ता बाबाले यहाँ रहेका अन्धभक्तहरुको रक्त चुसेर सत्यानास त पार्छन् नै, मन लुट्छन् र धन पनि लुटेर सीमापारीका तारे होटलमा लगेर शेयरमा लगानी गर्छन् त्यो धनलाई। अन्धभक्तहरु भने “जय गोरुदेव !” भन्नमै मस्त छन्। दाम चढाएर ढोग्छन्, त्यतिले नपुगेर सारा दुःख भोग्छन् ढोँगीहरुका खातिर।

चेलीको सम्वेदनशील अंग सुमसुम्याएर मुद्दा खेपेका भारतीय एक गुरुको आश्रम पनि मजाले चलेकै छ नेपालमा। अन्धभक्तहरु निजलाई भगवानरुपी वा फलानो भगवानको अवतार ठान्दै जयजयकार गर्ने र उनकै भजन गाउने गर्छन्। ती अन्धभक्तहरु शिव मन्दिर, कृष्ण मन्दिर, नारायण मन्दिरमा जानु ठूलो कुरा मान्छन्। अझ खासमा भन्दा त्यस्ता सन्तलाई छोडेर अन्त जाँदैनन्। लामो समयसम्त सेवा गरेर पनि ढोँगीबाट भुटिभाङ उपलब्धि नभएपछि उनीहरु घुम्तका लागि बागलुङको बुर्तिबाङतिर लाग्छन्। करोडपति जोगीका धन्दा चलाउने आश्रमहरु थरिथरिका !

कसैले सेवक वा भक्तलाई तेर्सो चन्दन लगाइदिने त कसैको लाम्चो चन्दन लगाइदिने अनि भने ॐ आकारको चन्दन लगाइदिने। कसैको चन्दन कस्तो कसैको कस्तो, भक्त पनि भेँडा जस्तो। केही नेपालीहरु बिना डिकाका चन्दन टिकामा मस्त, नचाहिँदा धार्मिक रोगले ग्रस्त। नबुझिकन त्यसै पाखण्डीको पाउ छुने, उता आफ्नो बाउको पाउ छुन हिचकिचाउने। कसैको त झन चन्दनको धर्को पनि कति लामो हो, खुइलिएको तालुदेखि नाकको टुप्पोसम्म। कोही तेर्सो परेको चन्दन लगाउँछन् त कोही ठाडो परेको चन्दन, तर छैन नियमको बन्धन। कोही धर्से टीका लगाउँछन् त कोही वर्षदिनको दशैमा लगाउने वर्षे टीका जस्तो लगाउँछन्।

टीका र फूल लिएर सडकछेउँमा हिँड्दै पशुपतिको प्रसाद भन्दै टीका लगाइदिदै दक्षिणा थाप्नेको पनि कमी छैन यहाँ। कोही केही भिडाएर अन्तै टाप्नेको कमी छैन यहाँ। एकजनाले मलाई अयोध्याका राजा रामचन्द्रको पालाको सिक्का भनेर दशहजारमा भिडाउन लागेका थिए नारायणहिटी दरबार छेउँमा। पछि भाउ घटाउँदै घटाउँदै पाँच सयमा झरे भारतीय मुलका उनी। मैले सुइकुच्चा ठोकेपछि उनी छक्क परे। ठगहरु पनि कस्ता कस्ता कुच्चिएका टिनका पाता जस्ता। कोही लट्टा पालेका कोही कुर्ताको गोजीमा गट्टा हालेका कसैले पानको बट्टा हालेका हट्टाकट्टा जोगीहरु पनि फेला पर्छन् यहाँ। बुढानिलकण्ठको एक कुनामा डाक्टरले निको नपारेको रोग यहाँ निको पारिन्छ भनेर ढ्याङ्ग्रो ठोक्दैगरेको मान्छेको फोटो भएको साइनबोर्ड झुण्डाएका छन्। नयाँ बजारमा त नेपाल झाँक्री सघको साइनबोर्ड नै देखिन्छ।

पशुपतिमा रहेका ज्योतिषीहरुमध्ये ८० प्रतिशत ज्योतिषीहरु नक्कली रहेको फेला पारिएको थियो एकताका। नजानी नजानी ग्रह, दशा, कुण्डली हेर्नेदेखि धोतिमै छेर्नेसम्मका ज्योतिषीहरु पनि छन् यहाँ। लुटेको पैसाले किनेको खाद्यवस्तु धेरै घिचेका र सरकारी कानून मिचेका ठगहरुको पनि कमी छैन हाम्रो मुलुकमा। सर्वसाधारणलाई अन्धा बनाउने जोगीका धन्दाहरु पनि बुझिनसक्नुको छ। भाग्यफल देखाउने सफ्टवेयर भएको ल्यापटपले गर्दा झनै आकर्षित भएका छन् मान्छेहरु। ज्योतिषीले आधा मिलाउने आधा नमिलाउने त हो नि। उनीहरुकोमा गए पनि नगए पनि उस्तै हो।

“देवताहरुको पनि देवता हूँ” भन्ने पाखण्डीहरु पनि यहाँ छन्। आश्रम खोलेर मीठो बोलेर शब्द हानेर तन-मन-धन तानेर सीमापारीका तारे होटेलमा शेयर लगानी गर्ने तोर्पेहरु पनि नभएका होइनन्। डाम्नाहरुले अन्धभक्तहरुको गोजी छाम्ना मात्रै गर्छन्। कोही अन्धभक्त त लठ्ठिएर मजाले खट्टिएर उसकै लगौँटी बन्ने सुरसारमा देखिन्छन्। आफू चङ्गुलमा फसेँ भन्ने हेक्का नराख्ने र धर्मको नाममा ठगी खान ठेक्का लिने ढोँगीले दिनदहाडै ठगिरहेछन्, नेपालीहरुको पैसा दक्षिणतिर बगिरहेका छन्।

कतिपय नेपालीहरुले भारतको विहारबाट उहिल्यै पाकेटमारी, डकैती, चोरी सिके र नेपाली चेलीहरु बम्बैका कोठीहरुमा बिके। त्यस्तै पछिल्लो समय ठग जोगीको जगजगी र ठग ज्योतिषीको बिगबिगी छ यहाँ। अस्ति भर्खरै यो व्यङ्ग्यकारले एउटा साइनबोर्ड देखेको थियो- ‘फलानो ज्योतिष तथा वास्तु केन्द्र प्रा.लि.’ भनेर लेखिएको। ज्योतिष र वास्तुले नाफामुखी काम गर्ने होइन, सेवामुखी काम गर्ने हो। साइनबोर्डमा संस्थाको नामको पछाडि किन प्रा.लि. जोड्नुपरेको होला। प्रा.लि. बनाएपछि त कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नियमित अद्यावधिक गर्नुपर्छ, नत्र ठोक्छ जरिवाना लाखका लाख। अनि हुँदैन त रित्तो काख ?

जसले जे जे धन्दा गर्नुपर्ने हो सही परामर्शदाताको सम्पर्कमा आउन नसक्दा फस्छन् व्यवसायीहरु। हुन त पान पसल पनि कम्पनीमा, चिया पसल पनि कम्पनीमा दर्ता गरिदिन्छन् दलालहरुले। साना व्यवसायीहरु वाणिज्य, घरेलु र वडाहरुमा दर्ता गरे पुग्छ, नत्र धनराशी नाश भएर दिमाग दुख्छ। नारायण ! हरि ॐ !!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x