ठाकुर बेलबासेलाेकतन्त्रकाे शक्ति
म लाेकतन्त्रकाे शक्ति देखेर सधैं उर्जावान शक्तिशाली बनिरहेको हुन्छु ! बद्लाकाे भाव त निरङ्कुशसँग मात्रै हुन्छ !

ठाकुर बेलवासे :
हामी हाँस्दै थियाैँ
उसले हाम्रो हाँसाेमा
आँसुकाे बाढी पठाइदियाे
हामी बाेल्न खाेज्दै थियौँ
उसले हाम्रो जिब्रो काटिदियाे
हामी हिड्न थाल्दै थियौँ
उसले बाटाेमा पहिराे हालिदियाे !
ऊ हामीलाई
तालिम प्राप्त आज्ञाकारी पशुजस्तो
बनाउन चाहन्थ्याे !
हामीले
उसका बिरूद्द आफ्नै रगतको खोलो बगायौं
आफ्नै ज्यानको मसाल सल्कायौं
अन्ततः
उसका सबै हठहरू खरानी भए !
अहिले ऊ
खरानीबाट विस्तारै उठ्दैछ!
अब ऊ
हिड्ने छ !
बाेल्ने छ !
खितखपताउने छ !
चिच्याउने छ !
दाैड्ने छ !
उसलाई हिँड्न /हाँस्न /बाेल्न
कतै राेकताेक हुने छैन !
किन कि
याे लाेकतन्त्र हाे !
लाेकतन्त्रले मान्छेसँगै
सम्मपूर्ण प्राणीलाई सोच्दछ !
ढुङ्गा, माटाे, पानी, हावा
र पातपतिङ्गरकाे कुरा गर्ने
लोकतन्त्रले
निरङ्कुशका पनि कुरा सुन्छ !
म
लाेकतन्त्रकाे शक्ति देखेर
सधैं उर्जावान शक्तिशाली बनिरहेको हुन्छु !
बद्लाकाे भाव त
निरङ्कुशसँग मात्रै हुन्छ !
लाेकतन्त्र हावा हाे
सूर्य हाे
माटाे / ढुङ्गा र पानी हाे !
०००
काठमाडाैं







































आहा कति राम्रो रचना