सञ्जय साह मित्रबाँदर आन्दोलन
पानी र बियरको बोतलदेखि बिदेशी सोमरस सबै बाँदरका हातमा । मासुको पोका लिएर गएको बाँदरले झोला च्यातेर छरिदियो । गाजर, काँक्रा र मुलाको के कुरा ।

सञ्जय साह मित्र :
जंगलको छेउमा गाउँ र गाउँको छेउमा जंगल भएको ठाउँको कथा हो ।
त्यहाँ घरी बाँदरले दुःख दिन्थ्यो मान्छेलाई त घरी बाँदरले दुःख पाउँथ्यो मान्छेबाट । मान्छेले योजना बनाउँथे बाँदर धपाउने तर कतिपय मानिस बाँदरबाट आजित भएर गाउँ छाड्थे ।
बाँदर अध्ययन समिति, बाँदर भगाऊ संघ, बाँदर पीडित संघ, बाँदर क्षतिपूर्ति समाज आदि के के नामको संस्था गठन विघटन भइरहन्थे । बाँदरले जन्माएको संस्था बाँदरले बनाउने घरजस्तै हुनु स्वाभाविक हो ।
धेरैले करकर गरेपछि म पनि अध्यक्ष भएँ – बाँदर आन्दोलन परिवारको । बाँदरबाट पीडित परिवार हुनुपर्ने थियो तर बाँदरविद वा विद्वान बाँदरविदबाट जुराइएको नाम बाँदरमैत्री भयो ।
परिवारको निर्णय भयो – पिकनिकमा गएर बाँदर भगाउने योजना बनाउने । पिकनिकमा बुढाबुढी नै जाने भइयो । जोडी नभए जान नपाइने भएकोले खोजेर भए पनि जंगलमा भोजको मंगल गर्ने निर्णय भएको थियो ।
अध्यक्षपत्नीको फूर्ति नै धेरै, बाँदरर्नीलाई पनि मात दिने । वनमा भोज खान जाने महिलाहरुको फेसन कुनै अधिवेशनभन्दा कम थिएन ।
गाउँबाट निक्लेर जंगल र जंगलबाट निक्लेर गाउँ जानुपर्ने सडक । अलिकति टाढा जानुपर्ने थियो बाँदरको पहुँच नभएको ठाउँमा । अलिकति के निस्केका थियौँ, पिसापले निकासको निसाप माग्न थाल्यो । गाडी रोकियो । जहाँ गाडी रोकिन्छ त्यहाँ सबैको काम परिहाल्छ ।
अलमलको समयमा बाँदरको चलमल बढ्यो । गाडीको छतमा रहेका सामानहरु क्षतविक्षत पार्न थालिहाल्यो । चिउरा र भुजाको पोका एकै छिनमा रुखमा । पानी र बियरको बोतलदेखि बिदेशी सोमरस सबै बाँदरका हातमा । मासुको पोका लिएर गएको बाँदरले झोला च्यातेर छरिदियो । गाजर, काँक्रा र मुलाको के कुरा ।
हेर्दाहेर्दै सबै सखाप । ठुलो हुल थियो । केही बाँदरलाई केही पनि पुगेन अनि थाल्यो आन्दोलन । दाह्रा किटेर साह्रा बनाएर हामीलाई झम्टन र लखेटन के थालेको थियो, बल्लतल्ल गाडीमा छिरेर भाग्यौँ । अझै पनि बाँदरले लखेटेकै छ हामीलाई ।
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest







































