हरिशंकर परसाईंअभिनन्दन
यस अभिनन्दनले मलाई उत्तेजित बनायो । अब म यस पवित्र कार्यलाई आफ्नो दायित्व मान्ने मानिसहरूको खोजीमा छु । यदि छिटै त्यस्तो कोही भेटिएन भने कुनै अखबारमा ‘बोलपत्र’ (टेन्डर) आह्वानको विज्ञापन दिनुपर्ला । यति ठुलो देश छ त कहीँ त होलान् नि भलादमीहरू पनि ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
पहिले त मेरो सोचै अर्कै थियो । लेखकले आदरणीय बन्नुबाट जोगिनुपर्छ भन्ने सोच्थेँ । मैले एक दिन एकजना लेखकसित सोधेँ, ‘दादा, केही दिनदेखि तपाईंको लेखन भइरहेको छैन ?’ उनले भने, ‘पोहोरै मेरो अभिनन्दन भएको हो भन्ने तिमीलाई थाहा छैन र ? तिमी साहित्यमा छौ कि किराना व्यापार गर्छौ ?’
म साहित्यमै थिएँ र त्यहीँ टिकिरहन पनि चाहन्थेँ । मैले आफूलाई कहिल्यै आदरणीय बन्न नदिने निर्णय पनि गरँे । जहिले जहिले आदरणीय बन्ने खतरा उत्पन्न हुन्थ्यो मैले कुनै न कुनै मूर्खता या छुस्क्याइँ गरिहाल्थेँ । मानिसहरूले भनिरहे, ‘अझै केटाकेटीपन गएको छैन ।’ साना सहरहरूमा आदरणीयताबाट बँच्ने सबैभन्दा सजिलो तरिका आदरोत्सुकहरूका बिचमा बसेर मुखबाट अल्कोहलको ह्वास्स सुगन्ध निकाल्नु नै हो । यसो भयो भने केही वर्षका लागि सम्मान कार्यक्रम स्थगित हुनेछ । हिन्दीपरम्परामा अल्कोहलको गन्ध छोड्ने व्यक्तिभन्दा पाँच वर्षपहिले भाङको नसामा झल्लिने सम्मानित हुन्छ । ठुला सहरमा भने आदर गर्नेहरू पनि निकै थोरै हुने हुँदा त्यहाँ यो उपाय कामलाग्दो हुँदैन । त्यहाँ प्रतिभालाई आदरबाट नभएर आदर पाउने प्रयासमा लाग्नेहरूबाट खतरा हुन्छ । थुपै्र बुज्रुक साहित्यकारहरू यिनै ठुला सहरमा छन् जसको पुरै दिन अनादर गर्नेहरूसित कसरी बदला लिने भन्ने उपायको खोजीमा लागेका हुन्छन् ।
तर यो मेरो सोच उहिलेको हो जुन खुइलिसकेको छ । अहिले त जतिसक्दो चाँडो आफ्नो सम्मान या अभिनन्दन गराइहाल्न चाहन्छु । बितेका दुईतीन वर्षमा थुप्रै अभिनन्दनहरू भए । यिनमा केहीको मैले जानकारी मात्र पाएँ भने केही देखेँ पनि । पचास वर्ष पुगेकाहरूको भयो । हिन्दीमा अभिनन्दनको उमेर पनि घट्दै छ । पहिले पचहत्तर वर्षमा हुने गर्थ्यो । अब भने लेखकमा दम भए पचासै वर्षमा हुन्छ । यता म चालिसबाट अघि बढिसकेँ भने उता अभिनन्दनको उमेर पनि घट्दै छ । जुन गतिमा मेरो उमेर बढ्दै छ त्यसै गतिमा अभिनन्दको उमेर पनि घट्ने हो भने मेरा कारणले सहरमा मालाको मूल्य बढ्ने सुनौलो दिन आउन समय लाग्दैन । त्यति गरेपछि आफूलाई फाइदा पुर्याएको भनेर नगरका मालीहरूका तर्फबाट पनि एउटा माला मेरो कण्ठमा पर्न सक्छ । साहित्यभन्दा बाहिर पनि माला लगाइदिने मानिसहरू राख्नुपर्छ । साहित्यवालाको त कुनै भर छैन । अभिनन्दन गर्नेहरू नै दुई गुटमा बाँडिएर र मेरो अभिनन्दनकै दिन लडेर समारोह नै चौपट पारिदिन सक्छन् । त्यसैले सिपालु साहित्यकारले आफूसँगै केही पसले, हलकारा, प्रहरी, रक्सीपसले र थानेदारलाई आफूसँगै राख्छन् ।
तर अभिनन्दन गराउनु छ भने त्यसको पृष्ठभूमि पनि सुनाउँदै रहनुपर्छ र सङ्केतहरू छोड्दै गर्नुपर्छ । एक दिन हामी केही मानिसहरू बसेकै ठाउँमा दुईजना साहित्यिकहरू आपसमा यस्ता कुरा गर्दै थिए –
–मैले पनि पचास पुरा गरेँ ।
–पचास त मैले पनि पुरा गर्दै छु ।
–साहित्यको सेवा गरेको पनि तिस वर्ष भयो ।
–मेरो पनि तिसेक वर्ष भयो ।
–अब त युवकहरूले आफ्नो कर्तव्य बुझ्नुपर्छ नि ।
–अँ, हामीले त आफ्नो कर्तव्य गर्यौँ, अब युवकहरूले आफ्नो कर्तव्य गरून् ।
युवकहरूले सुनेछन् । इसारालाई बुझेछन् । आफ्नो कर्तव्यका बारेमा सोच्न थालेछन् । पाँचछ पटक युवकहरूलाई यस प्रकारका कर्तव्यका बारेमा सम्झाइयो भने चाँडै नै दुवै जनाको अभिनन्दन हुनेछ । बाँकी जीवनमा यहाँ सुखैसुख र पछि आत्माको पनि सद्गति । तर हरेक युवकले आफ्नो कर्तव्य बुझेकै हुँदैन । केही युवकहरू त यस्ता पनि छन् जसलाई उनीहरूको कर्तव्य सम्झाउने हो भने उल्टै तपाईंलाई साहित्यबाट बहिष्कृत गरिदिन्छन् । उनीहरू यसैलाई आफ्नो कर्तव्य ठान्दछन् । त्यसैले मैले तिनै सुशील व्यक्तिहरूसित कुरा गरेको छु जो प्रायः सम्मानहरू गरिरहन्छन् ।
मैले भनेँ, ‘मैले साहित्यको सेवा गरेको पनि निकै समय बित्यो । अब त मेरो पनि केही न केही त हुनुपर्यो नि !’
उनले सोधे, ‘के हुनुपर्यो ?’
मैले भनेँ, ‘यही, सम्मान अभिनन्दन आदि ।’
उनले भने, ‘पचास वर्ष पुरा गर अनि सोचौँला ।’
मैले भनेँ, ‘मित्र ! त्यसका लागि त समय निकै टाढा छ । देह क्षणभङ्गुर छ । रोगहरू फैलिरहेका छन् । सडकमा ट्राफिक बढेको छ । यदि पचास नपुग्दै सिलटिमुर खाइयो भने त आत्माको सद्गति नहोला नि ?’
उनले भने, ‘हामी के गरौँ त ? यति छिटै कसरी गरौँ ? मानिसहरूले के भन्लान् ?’
मैले भनेँ, ‘सरकारी नोकरीमा त कसैको उमेरको मिलान पनि गरिन्छ नि । अर्थात् कसैको उमेर बढी भए घटाएर नियुक्ति दिइन्छ भने साहित्यमा उमेर थपथाप गरेर अभिनन्दन गर्न मिल्दैन ?’
उनले भने, ‘मिल्न त मिल्छ
र हामीले गरेका पनि छौँ तर तिम्रो भने गर्न सकिन्न किनभने न त तिमीले कसैलाई फाइदा पुर्याउन सक्छौ न नोक्सान पुर्याउन । अनि तिम्रो नाम लिएर त कसैले चन्दा पनि दिँदैन र पैसै उठ्दैन ।’
यो त सरासर धाँधली हो । जबसम्म यो अभिनन्दन गर्ने कुरो व्यक्तिगत हातमा रहन्छ तबसम्म यो धाँधली चलिरहन्छ । सरकारले अभिनन्दनको राष्ट्रियकरण गर्नुपर्छ । उसले शिक्षा तथा संस्कृति मन्त्रालयलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ । अझै गृह विभागको जिम्मा लगाउनु उत्तम हुन्छ । उसले आफ्नो प्रहरी लगाएर जसलाई चाहन्छ उसैलाई अभिनन्दन गर्छ– जसरी हालसालै मध्यप्रदेश तथा उत्तरप्रदेशका पुलिसहरूले त्यहाँका कलेजहरूमा पसेर आचार्यहरूको (प्राध्यापक) अभिनन्दन गरेका थिए ।
यदि यो अभिनन्दन भन्ने कुरो व्यक्तिगत क्षेत्रमै रहिरह्यो भने त मेरो अभिनन्दन कहिल्यै हुँदैन । सामर्थ्य नै छैन । सामर्थ्यवान्को त हुन्छ र मैले भएको देखेको पनि छु । एकजना ठुला नेता र हिन्दीसेवीको अल इन्डियामा समय समयमा केही न केही भएकै हुन्छ । यो कसरी हुन्छ भन्ने कुरो त त्यति वेला मात्र थाहा पाएँ जब एकजना मित्रले उनको चिठी मलाई देखाए । त्यसमा यस्तो लेखिएको थियो – ‘तपाईले आफ्नो सहरमा मेरो जन्मदिवस मनाउन भनेर मसित तीन सय रुपैयाँ लैजानुभएको थियो तर न त तपाईंले समारोह नै गर्नुभयो न पैसा फिर्ता गर्नुभयो । कम्तीमा पैसा त फिर्ता गरिदिनुस् ।’
माई गड ! एउटा सहरमा गराउन मात्र तीन तीन सय रुपैयाँ लाग्छ ? म त एउटा टोलको खर्च पनि बेहोर्न सक्दिनँ । पुरै जीवन आदर गरेरै बित्ने भयो ।
मेरा एकजना मित्रले मलाई अभिनन्दन पनि तीन प्रकारका हुन्छन् भनेर सम्झाए । एकथरी त आफैँ हुन्छन् जसमा सम्माननीयले माला लगाउनु र मुस्कुराउनुबाहेक केही गर्नै पर्दैन । केही गराइन्छन् जसमा पैसा बटुल्ने र अभिनन्दनपत्र छपाउनेसम्मका सबै काम सम्माननीयले नै गर्नृुपर्छ र कहिलेकाहीँ त टेन्ट लगाउन लगाउने कामसमेत उसैले गर्नुपर्छ । पछि माला लगाएर मुस्कुराउनु पनि पर्छ । केही अभिनन्दन मिश्रित पनि हुन्छन् । जस्तै केही व्यक्तिहरू जो अभिनन्दन लिन उत्सुक हुन्छन् उनीहरूले अरूलाई प्रोत्साहित गर्नुपर्छ र सहयोग पनि गर्नुृपर्छ । यिनमा पहिलो प्रकारको अभिनन्दन निकै कम मात्रामा हुने गर्छ । अधिकांश अभिनन्दनका पात्रहरूले त आफ्नै पुरुषार्थमा निर्भर रहनुपर्छ ।
मेरो निराशा कम गर्नका लागि मेरा मित्रले भने, ‘तिमी साहित्यिकका पछि किन लागेका छौ ? यदि उनीहरूले गर्दैनन् भने अरूबाट नै गराऊ न त ! फलाना सरलाई चिनेका छौ नि ! उनले राजनीतिमा सम्मान नपाएपछि साहित्यमा सम्मान गराए । एकजना अर्का सज्जन छन् जसले चुनावमा कहिल्यै टिकटसम्म पनि पाएनन् तर उनी निराश भएनन् । उनले आफ्नो टोलको सेवा समितिबाट सम्मानपत्र ग्रहण गरे । तिमीले चाह्यौ भने आफ्नो टोलको सहकारीबाट सम्मानपत्र लिन सक्छौ । सम्मान पाउने के एउटा मात्र बाटो छ र ? एउटा मोर्चामा हार्दै छौ भने अर्को मोर्चा खोल । जब साहित्यकारहरू साहू र नेताहरूलाई सम्मान गर्न सक्छन् भने लेखकले प्रयास गर्यो भने ‘च्याम्बर अफ कमर्स’ बाट पनि सम्मानपत्र पाउन सक्छ । अन्य सबै क्षेत्रबाट पिटिएको मान्छेले जब साहित्यबाट सम्मान पाउन सक्छ भने साहित्यमा पिटिएकाले पनि अन्य क्षेत्रमा ट्राई मार्नुपर्छ ।
मलाई केही धैर्य भयो । तर मैले भनेँ, ‘यार, साहित्यको सम्मानको कुरै छुट्टै छ । जस्तो सम्मान उनीहरू गर्छन् त्यस्तो अरूले गर्नै सक्दैनन् । कोअपरेटिभका मान्छेले मेरो प्रशंसामा कविता लेख्न त सक्दैनन् नि ! यो साहित्यकारले मात्र सक्ने काम हो । व्यापारी पनि मूल्य बढाउने काममा जतिसुकै खप्पिस भए पनि कविले झैँ अतिशयोक्ति गर्न सक्दैन । यसैले ठुल्ठुला देवताहरू पनि साहित्यिक सम्मानका लागि लालायित रहन्छन् ।
मैले आफ्नो रहरलाई मारेँ । यसो विचार गरेँ, ईश्वरको मर्जी भयो भने मात्र मेरो सम्मान होला नत्र मजस्तो सामर्थ्यहीन मान्छेको पहुँचभन्दा बाहिरको कुरो हो यो । तर फेरि कुनै दिन मैले एउटा अभिनन्दन समारोह देखेपछि मेरो रहरको आगो फेरि दन्क्यो ।
एकजना श्रद्धेयको सम्मान थियो । उनी साँच्चिकै धेरै जनाका लागि श्रद्धाका पात्र हुन् । श्रद्धा मनमा भयो भने त केही छैन तर जब त्यो प्रकट हुन थाल्छ तब भने हास्यास्पद बन्न पुग्छ । यस समारोहमा श्रद्धाको प्रस्तुतीकरण दुर्लभ मनोरञ्जनको कारण बनिरहेको थियो । सबैभन्दा राम्रो कुरो त के थियो भने अश्रद्धा नै श्रद्धाभन्दा बढी कराइरहेको थियो ।
श्रद्धेय व्यक्ति विद्वान् ब्राह्मण हुन् । उनको नाम कृष्णको पर्यायवाची हो । उनी उपकुलपति पनि हुन् । श्रद्धा प्रकट गर्नेहरूमा एकजना कायस्थ पनि थिए । उनले भने, ‘श्रीकृष्णले काम त ठुला ठुला गरे तर उपकुलपति भने हुन सकेनन् र अहिले यो रूपमा आएर उपकुलपति बने । (मेरो मुखबाट ‘उस्स्..’ निस्क्यो ।)
यो सुनेर हलमा उपस्थित विद्वान् ब्राह्मणहरू त गद्गद् भए तर कायस्थ विद्वान् खिन्न भए । जति जति विद्वान्को बढोत्तरी हुन्छ उति उति जातपातको बोध पनि बढ्दै जान्छ र यसैलाई ज्ञान भनिन्छ अनि यसैले आत्मालाई पनि चिन्दछ ।
मेरो हृदयमा एउटा दृश्य अङ्कित भएको छ । पाइन्ट लगाएका श्रद्धालुहरूले उनको चरणस्पर्श गर्दै थिए । जब उनीहरू जसरी तसरी निहुरिन्थे तब मलाई कतिखेर पाइन्ट ध्यार्रै च्यातिने हो भन्ने डर लागिरहन्थ्यो । जुन समाजमा पाइन्ट लगाउने चलन छ उनीहरूमा चरणस्पर्शको चलन छैन । हामीले भने चरणस्पर्श पनि गर्नु छ र पाइन्ट पनि लगाउनु छ । यसबाट पाइन्ट च्यातिने खतरा उत्पन्न हुन्छ । त्यसैले जब मेरो अभिनन्दन होला तब मैले नै जसले मेरो चरणस्पर्श गर्न चाहन्छ उसले कृपा गरेर पाइन्ट नलगाओस् भनेर एउटा सर्कुलर निकाल्नुपर्ला । वास्तवमा म मेरो अभिनन्दनमा कुनै अश्लील दृश्य उपस्थित नहोस् भन्ने चाहन्छु ।
यस अभिनन्दनले मलाई उत्तेजित बनायो । अब म यस पवित्र कार्यलाई आफ्नो दायित्व मान्ने मानिसहरूको खोजीमा छु । यदि छिटै त्यस्तो कोही भेटिएन भने कुनै अखबारमा ‘बोलपत्र’ (टेन्डर) आह्वानको विज्ञापन दिनुपर्ला । यति ठुलो देश छ त कहीँ त होलान् नि भलादमीहरू पनि ।
०००
परसाई रचनावली भाग ३,को ‘अभिनन्दन’ शीर्षकबाट नेपालीमा अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































