साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनन्दन

यस अभिनन्दनले मलाई उत्तेजित बनायो । अब म यस पवित्र कार्यलाई आफ्नो दायित्व मान्ने मानिसहरूको खोजीमा छु । यदि छिटै त्यस्तो कोही भेटिएन भने कुनै अखबारमा ‘बोलपत्र’ (टेन्डर) आह्वानको विज्ञापन दिनुपर्ला । यति ठुलो देश छ त कहीँ त होलान् नि भलादमीहरू पनि ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

पहिले त मेरो सोचै अर्कै थियो । लेखकले आदरणीय बन्नुबाट जोगिनुपर्छ भन्ने सोच्थेँ । मैले एक दिन एकजना लेखकसित सोधेँ, ‘दादा, केही दिनदेखि तपाईंको लेखन भइरहेको छैन ?’ उनले भने, ‘पोहोरै मेरो अभिनन्दन भएको हो भन्ने तिमीलाई थाहा छैन र ? तिमी साहित्यमा छौ कि किराना व्यापार गर्छौ ?’

म साहित्यमै थिएँ र त्यहीँ टिकिरहन पनि चाहन्थेँ । मैले आफूलाई कहिल्यै आदरणीय बन्न नदिने निर्णय पनि गरँे । जहिले जहिले आदरणीय बन्ने खतरा उत्पन्न हुन्थ्यो मैले कुनै न कुनै मूर्खता या छुस्क्याइँ गरिहाल्थेँ । मानिसहरूले भनिरहे, ‘अझै केटाकेटीपन गएको छैन ।’ साना सहरहरूमा आदरणीयताबाट बँच्ने सबैभन्दा सजिलो तरिका आदरोत्सुकहरूका बिचमा बसेर मुखबाट अल्कोहलको ह्वास्स सुगन्ध निकाल्नु नै हो । यसो भयो भने केही वर्षका लागि सम्मान कार्यक्रम स्थगित हुनेछ । हिन्दीपरम्परामा अल्कोहलको गन्ध छोड्ने व्यक्तिभन्दा पाँच वर्षपहिले भाङको नसामा झल्लिने सम्मानित हुन्छ । ठुला सहरमा भने आदर गर्नेहरू पनि निकै थोरै हुने हुँदा त्यहाँ यो उपाय कामलाग्दो हुँदैन । त्यहाँ प्रतिभालाई आदरबाट नभएर आदर पाउने प्रयासमा लाग्नेहरूबाट खतरा हुन्छ । थुपै्र बुज्रुक साहित्यकारहरू यिनै ठुला सहरमा छन् जसको पुरै दिन अनादर गर्नेहरूसित कसरी बदला लिने भन्ने उपायको खोजीमा लागेका हुन्छन् ।

तर यो मेरो सोच उहिलेको हो जुन खुइलिसकेको छ । अहिले त जतिसक्दो चाँडो आफ्नो सम्मान या अभिनन्दन गराइहाल्न चाहन्छु । बितेका दुईतीन वर्षमा थुप्रै अभिनन्दनहरू भए । यिनमा केहीको मैले जानकारी मात्र पाएँ भने केही देखेँ पनि । पचास वर्ष पुगेकाहरूको भयो । हिन्दीमा अभिनन्दनको उमेर पनि घट्दै छ । पहिले पचहत्तर वर्षमा हुने गर्थ्यो । अब भने लेखकमा दम भए पचासै वर्षमा हुन्छ । यता म चालिसबाट अघि बढिसकेँ भने उता अभिनन्दनको उमेर पनि घट्दै छ । जुन गतिमा मेरो उमेर बढ्दै छ त्यसै गतिमा अभिनन्दको उमेर पनि घट्ने हो भने मेरा कारणले सहरमा मालाको मूल्य बढ्ने सुनौलो दिन आउन समय लाग्दैन । त्यति गरेपछि आफूलाई फाइदा पुर्‍याएको भनेर नगरका मालीहरूका तर्फबाट पनि एउटा माला मेरो कण्ठमा पर्न सक्छ । साहित्यभन्दा बाहिर पनि माला लगाइदिने मानिसहरू राख्नुपर्छ । साहित्यवालाको त कुनै भर छैन । अभिनन्दन गर्नेहरू नै दुई गुटमा बाँडिएर र मेरो अभिनन्दनकै दिन लडेर समारोह नै चौपट पारिदिन सक्छन् । त्यसैले सिपालु साहित्यकारले आफूसँगै केही पसले, हलकारा, प्रहरी, रक्सीपसले र थानेदारलाई आफूसँगै राख्छन् ।

तर अभिनन्दन गराउनु छ भने त्यसको पृष्ठभूमि पनि सुनाउँदै रहनुपर्छ र सङ्केतहरू छोड्दै गर्नुपर्छ । एक दिन हामी केही मानिसहरू बसेकै ठाउँमा दुईजना साहित्यिकहरू आपसमा यस्ता कुरा गर्दै थिए –
–मैले पनि पचास पुरा गरेँ ।
–पचास त मैले पनि पुरा गर्दै छु ।
–साहित्यको सेवा गरेको पनि तिस वर्ष भयो ।
–मेरो पनि तिसेक वर्ष भयो ।
–अब त युवकहरूले आफ्नो कर्तव्य बुझ्नुपर्छ नि ।
–अँ, हामीले त आफ्नो कर्तव्य गर्‍यौँ, अब युवकहरूले आफ्नो कर्तव्य गरून् ।
युवकहरूले सुनेछन् । इसारालाई बुझेछन् । आफ्नो कर्तव्यका बारेमा सोच्न थालेछन् । पाँचछ पटक युवकहरूलाई यस प्रकारका कर्तव्यका बारेमा सम्झाइयो भने चाँडै नै दुवै जनाको अभिनन्दन हुनेछ । बाँकी जीवनमा यहाँ सुखैसुख र पछि आत्माको पनि सद्गति । तर हरेक युवकले आफ्नो कर्तव्य बुझेकै हुँदैन । केही युवकहरू त यस्ता पनि छन् जसलाई उनीहरूको कर्तव्य सम्झाउने हो भने उल्टै तपाईंलाई साहित्यबाट बहिष्कृत गरिदिन्छन् । उनीहरू यसैलाई आफ्नो कर्तव्य ठान्दछन् । त्यसैले मैले तिनै सुशील व्यक्तिहरूसित कुरा गरेको छु जो प्रायः सम्मानहरू गरिरहन्छन् ।

मैले भनेँ, ‘मैले साहित्यको सेवा गरेको पनि निकै समय बित्यो । अब त मेरो पनि केही न केही त हुनुपर्‍यो नि !’
उनले सोधे, ‘के हुनुपर्‍यो ?’
मैले भनेँ, ‘यही, सम्मान अभिनन्दन आदि ।’
उनले भने, ‘पचास वर्ष पुरा गर अनि सोचौँला ।’

मैले भनेँ, ‘मित्र ! त्यसका लागि त समय निकै टाढा छ । देह क्षणभङ्गुर छ । रोगहरू फैलिरहेका छन् । सडकमा ट्राफिक बढेको छ । यदि पचास नपुग्दै सिलटिमुर खाइयो भने त आत्माको सद्गति नहोला नि ?’
उनले भने, ‘हामी के गरौँ त ? यति छिटै कसरी गरौँ ? मानिसहरूले के भन्लान् ?’
मैले भनेँ, ‘सरकारी नोकरीमा त कसैको उमेरको मिलान पनि गरिन्छ नि । अर्थात् कसैको उमेर बढी भए घटाएर नियुक्ति दिइन्छ भने साहित्यमा उमेर थपथाप गरेर अभिनन्दन गर्न मिल्दैन ?’
उनले भने, ‘मिल्न त मिल्छ

र हामीले गरेका पनि छौँ तर तिम्रो भने गर्न सकिन्न किनभने न त तिमीले कसैलाई फाइदा पुर्‍याउन सक्छौ न नोक्सान पुर्‍याउन । अनि तिम्रो नाम लिएर त कसैले चन्दा पनि दिँदैन र पैसै उठ्दैन ।’

यो त सरासर धाँधली हो । जबसम्म यो अभिनन्दन गर्ने कुरो व्यक्तिगत हातमा रहन्छ तबसम्म यो धाँधली चलिरहन्छ । सरकारले अभिनन्दनको राष्ट्रियकरण गर्नुपर्छ । उसले शिक्षा तथा संस्कृति मन्त्रालयलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ । अझै गृह विभागको जिम्मा लगाउनु उत्तम हुन्छ । उसले आफ्नो प्रहरी लगाएर जसलाई चाहन्छ उसैलाई अभिनन्दन गर्छ– जसरी हालसालै मध्यप्रदेश तथा उत्तरप्रदेशका पुलिसहरूले त्यहाँका कलेजहरूमा पसेर आचार्यहरूको (प्राध्यापक) अभिनन्दन गरेका थिए ।

यदि यो अभिनन्दन भन्ने कुरो व्यक्तिगत क्षेत्रमै रहिरह्यो भने त मेरो अभिनन्दन कहिल्यै हुँदैन । सामर्थ्य नै छैन । सामर्थ्यवान्‌को त हुन्छ र मैले भएको देखेको पनि छु । एकजना ठुला नेता र हिन्दीसेवीको अल इन्डियामा समय समयमा केही न केही भएकै हुन्छ । यो कसरी हुन्छ भन्ने कुरो त त्यति वेला मात्र थाहा पाएँ जब एकजना मित्रले उनको चिठी मलाई देखाए । त्यसमा यस्तो लेखिएको थियो – ‘तपाईले आफ्नो सहरमा मेरो जन्मदिवस मनाउन भनेर मसित तीन सय रुपैयाँ लैजानुभएको थियो तर न त तपाईंले समारोह नै गर्नुभयो न पैसा फिर्ता गर्नुभयो । कम्तीमा पैसा त फिर्ता गरिदिनुस् ।’

माई गड ! एउटा सहरमा गराउन मात्र तीन तीन सय रुपैयाँ लाग्छ ? म त एउटा टोलको खर्च पनि बेहोर्न सक्दिनँ । पुरै जीवन आदर गरेरै बित्ने भयो ।

मेरा एकजना मित्रले मलाई अभिनन्दन पनि तीन प्रकारका हुन्छन् भनेर सम्झाए । एकथरी त आफैँ हुन्छन् जसमा सम्माननीयले माला लगाउनु र मुस्कुराउनुबाहेक केही गर्नै पर्दैन । केही गराइन्छन् जसमा पैसा बटुल्ने र अभिनन्दनपत्र छपाउनेसम्मका सबै काम सम्माननीयले नै गर्नृुपर्छ र कहिलेकाहीँ त टेन्ट लगाउन लगाउने कामसमेत उसैले गर्नुपर्छ । पछि माला लगाएर मुस्कुराउनु पनि पर्छ । केही अभिनन्दन मिश्रित पनि हुन्छन् । जस्तै केही व्यक्तिहरू जो अभिनन्दन लिन उत्सुक हुन्छन् उनीहरूले अरूलाई प्रोत्साहित गर्नुपर्छ र सहयोग पनि गर्नुृपर्छ । यिनमा पहिलो प्रकारको अभिनन्दन निकै कम मात्रामा हुने गर्छ । अधिकांश अभिनन्दनका पात्रहरूले त आफ्नै पुरुषार्थमा निर्भर रहनुपर्छ ।

मेरो निराशा कम गर्नका लागि मेरा मित्रले भने, ‘तिमी साहित्यिकका पछि किन लागेका छौ ? यदि उनीहरूले गर्दैनन् भने अरूबाट नै गराऊ न त ! फलाना सरलाई चिनेका छौ नि ! उनले राजनीतिमा सम्मान नपाएपछि साहित्यमा सम्मान गराए । एकजना अर्का सज्जन छन् जसले चुनावमा कहिल्यै टिकटसम्म पनि पाएनन् तर उनी निराश भएनन् । उनले आफ्नो टोलको सेवा समितिबाट सम्मानपत्र ग्रहण गरे । तिमीले चाह्यौ भने आफ्नो टोलको सहकारीबाट सम्मानपत्र लिन सक्छौ । सम्मान पाउने के एउटा मात्र बाटो छ र ? एउटा मोर्चामा हार्दै छौ भने अर्को मोर्चा खोल । जब साहित्यकारहरू साहू र नेताहरूलाई सम्मान गर्न सक्छन् भने लेखकले प्रयास गर्‍यो भने ‘च्याम्बर अफ कमर्स’ बाट पनि सम्मानपत्र पाउन सक्छ । अन्य सबै क्षेत्रबाट पिटिएको मान्छेले जब साहित्यबाट सम्मान पाउन सक्छ भने साहित्यमा पिटिएकाले पनि अन्य क्षेत्रमा ट्राई मार्नुपर्छ ।

मलाई केही धैर्य भयो । तर मैले भनेँ, ‘यार, साहित्यको सम्मानको कुरै छुट्टै छ । जस्तो सम्मान उनीहरू गर्छन् त्यस्तो अरूले गर्नै सक्दैनन् । कोअपरेटिभका मान्छेले मेरो प्रशंसामा कविता लेख्न त सक्दैनन् नि ! यो साहित्यकारले मात्र सक्ने काम हो । व्यापारी पनि मूल्य बढाउने काममा जतिसुकै खप्पिस भए पनि कविले झैँ अतिशयोक्ति गर्न सक्दैन । यसैले ठुल्ठुला देवताहरू पनि साहित्यिक सम्मानका लागि लालायित रहन्छन् ।

मैले आफ्नो रहरलाई मारेँ । यसो विचार गरेँ, ईश्वरको मर्जी भयो भने मात्र मेरो सम्मान होला नत्र मजस्तो सामर्थ्यहीन मान्छेको पहुँचभन्दा बाहिरको कुरो हो यो । तर फेरि कुनै दिन मैले एउटा अभिनन्दन समारोह देखेपछि मेरो रहरको आगो फेरि दन्क्यो ।

एकजना श्रद्धेयको सम्मान थियो । उनी साँच्चिकै धेरै जनाका लागि श्रद्धाका पात्र हुन् । श्रद्धा मनमा भयो भने त केही छैन तर जब त्यो प्रकट हुन थाल्छ तब भने हास्यास्पद बन्न पुग्छ । यस समारोहमा श्रद्धाको प्रस्तुतीकरण दुर्लभ मनोरञ्जनको कारण बनिरहेको थियो । सबैभन्दा राम्रो कुरो त के थियो भने अश्रद्धा नै श्रद्धाभन्दा बढी कराइरहेको थियो ।

श्रद्धेय व्यक्ति विद्वान् ब्राह्मण हुन् । उनको नाम कृष्णको पर्यायवाची हो । उनी उपकुलपति पनि हुन् । श्रद्धा प्रकट गर्नेहरूमा एकजना कायस्थ पनि थिए । उनले भने, ‘श्रीकृष्णले काम त ठुला ठुला गरे तर उपकुलपति भने हुन सकेनन् र अहिले यो रूपमा आएर उपकुलपति बने । (मेरो मुखबाट ‘उस्‌स्‌..’ निस्क्यो ।)

यो सुनेर हलमा उपस्थित विद्वान् ब्राह्मणहरू त गद्गद् भए तर कायस्थ विद्वान् खिन्न भए । जति जति विद्वान्‌को बढोत्तरी हुन्छ उति उति जातपातको बोध पनि बढ्दै जान्छ र यसैलाई ज्ञान भनिन्छ अनि यसैले आत्मालाई पनि चिन्दछ ।

मेरो हृदयमा एउटा दृश्य अङ्कित भएको छ । पाइन्ट लगाएका श्रद्धालुहरूले उनको चरणस्पर्श गर्दै थिए । जब उनीहरू जसरी तसरी निहुरिन्थे तब मलाई कतिखेर पाइन्ट ध्यार्रै च्यातिने हो भन्ने डर लागिरहन्थ्यो । जुन समाजमा पाइन्ट लगाउने चलन छ उनीहरूमा चरणस्पर्शको चलन छैन । हामीले भने चरणस्पर्श पनि गर्नु छ र पाइन्ट पनि लगाउनु छ । यसबाट पाइन्ट च्यातिने खतरा उत्पन्न हुन्छ । त्यसैले जब मेरो अभिनन्दन होला तब मैले नै जसले मेरो चरणस्पर्श गर्न चाहन्छ उसले कृपा गरेर पाइन्ट नलगाओस् भनेर एउटा सर्कुलर निकाल्नुपर्ला । वास्तवमा म मेरो अभिनन्दनमा कुनै अश्लील दृश्य उपस्थित नहोस् भन्ने चाहन्छु ।

यस अभिनन्दनले मलाई उत्तेजित बनायो । अब म यस पवित्र कार्यलाई आफ्नो दायित्व मान्ने मानिसहरूको खोजीमा छु । यदि छिटै त्यस्तो कोही भेटिएन भने कुनै अखबारमा ‘बोलपत्र’ (टेन्डर) आह्वानको विज्ञापन दिनुपर्ला । यति ठुलो देश छ त कहीँ त होलान् नि भलादमीहरू पनि ।

०००
परसाई रचनावली भाग ३,को ‘अभिनन्दन’ शीर्षकबाट नेपालीमा अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x