धनराज गिरीमहागुण्डा !
हजुरको अर्ती र उपदेश काम लाग्यो । जबसम्म बदमास थिएँ, कसैले पनि छोएन । अब सही बाटोमा लाग्छु भनेर कसम खाएपछि यहाँ लिएर आए । गुरुदेव, यही हो न्याय ?

धनराज गिरी :
हेर्दाहेर्दै सज्जनराज गौतम बिरालोबाट बाघ भयो क्याम्पसमा । नाम सज्जन, तर यति दुर्जन भयो कि तह लगाउनै सकेनन् कसैले पनि । अति बलियो । धेरैलाई पिट्यो । धेरै धनीबाट पैसा असुल्यो । एउटा धर्म, नारीप्रति सदा उदार रह्यो । कहिल्यै कुनै पनि युवतीलाई जिस्क्याएन । छोएन । धनीको छोराहरूलाई खोजी खोजी धूलो बनायो।
अराजक, महागुण्डा, नाम पायो। पुलिस पनि, खोई किन हो, नजीक नपर्ने ! कसैले रिपोर्ट पनि गरेन । एक दिन, प्रोफेसर रत्ननारायण सुमेधाश्री गिरोपाध्यायको फेला पर्यो । किन ?हो किन यस्तो भएको सज्जन ? एकान्तमा सम्झाए । कारण बतायो । गुरुको चित्त बुझ्यो। कारण थियो, “आर्थिक शोषण र यौन शोषण ” एक सामन्तीद्वारा । न्याय पाएन। अनि ठोक्यो। समन्तीको हात भाँचेर छोडिदियो, सवुत नपाउने गरी । कानून उसले पनि बुझेको थियो ।
“हस् गुरुदेव, यस्तो जिन्दगी मलाई पनि मन परेको छैन, म पनि आफ्नो नामानुसार सज्जन हुन्छु।” कसम खायो।
तर, ऊ सरल र सज्जन त भयो, नक्कली आरोपमा जेलमा पुर्याइयो । सात वर्ष ! गुरु गए भेट्न। “महागुण्डा म, गुरुदेव, यो समाज यस्तै हो । हजुरको अर्ती र उपदेश काम लाग्यो । जबसम्म बदमास थिएँ, कसैले पनि छोएन । अब सही बाटोमा लाग्छु भनेर कसम खाएपछि यहाँ लिएर आए । गुरुदेव, यही हो न्याय ?”
“सज्जन, म छु । म पनि बुझ्दछु कानून । पीर नमान्नू ।”
प्रोफेसरले उसलाई छुटायो । पढायो, र आज ? १२ साल बित्यो। “प्रा डा सज्जनराज गौतम, अङ्ग्रेजी विभाग, कैलालीमा । यतिखेर “भिजिटिङ्ग प्रोफेसर बनेर” लण्डन पुगेको छ।
“महागुण्डा” यसरी कायाकल्प भयो, वाल्मीकि — उत्तरआधुनिक। “लीला यार नारायण लीला !” प्रोफेसर सुमेधाश्रीले नारायण अधिकारी धरावासीलाई यो कथा सुनायो।” प्याराडक्स दाजी, प्याराडक्स ! लीला, आजको गजल गज्जब !” नारायण ।
०००
चितवन, हाल : क्यानडा
Subscribe
Login
0 Comments
Oldest





































