साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्वविशिष्टलाई शिष्ट सुविधा किन ?

पूर्व विशिष्टहरूलाई शिष्टतापूर्वक दुई चार सय करोड रुपैयाँको सुविधा दिँदैमा मुलुककको ढुकुटी रित्तिने होइन, मुलुकवासी कङ्गाल हुने पनि होइनन् । फेरि यो सुविधा धुतेर विशिष्टहरु बिटुलिने पनि होइनन् । यो सर्वथा जायज र पुण्य काम हो । त्यसैले यसमा कसैले दखल नदिऊँ ।

Nepal Telecom ad

युगल बसेल :

बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूको घर बनेको पनि रुचाउँदैन भनेझैँ जसले राज्यबाट कुनै सुविधा पाउँदैनन् तिनै आरिसेहरू अरूले सुविधा पाएको क फुटेको आँखाले देखि सहन्नन् । बन्दै गरेको विशिष्टको उत्कृष्ट सुविधा प्रावधानलाई अनिष्ट हुने गरी व्यवधानमा पार्न खोज्नेहरू पनि त्यही वानर प्रवृत्तिका नर हुन् भन्ने मलाई लाग्छ । मजस्तो पूर्वविशिष्ट, वर्तमान विशिष्ट र भविष्यका विशिष्टको उत्कृष्ट वफादार प्रशंसक हुन्थे भने तिनीहरूले किमार्थ विरोध गर्ने थिएनन् बरु विगतका विशिष्टलाई आगतमा अझ सुविधा थपौँ भनेर राँक्किने थिए ।

विशिष्टलाई अवशिष्ट वा उछिष्ट कुरामा कुकुर्क्याउन हुँदैन भनेर कुर्लने थिए । होला कि ले बुलाकी लायो, बुलाकीले नाक कान खायो भनेझैँ गरेर ओहोदामा पुगी आफ्नो सर्वस्व गुमाएका पूर्वविशिष्टहरूकै सुविधाको डाहा, ईर्ष्या गर्ने अशिष्टहरू कडै मनोरोगले सिकिस्त भएका छन् भन्ने मेरो ठम्याइ छ ।

कतिपय आफूलाई लालबुझक्कड ठान्ने विशिष्ट नादानहरूले पूर्वविशिष्टको गणतन्त्र ल्याउनमा के योगदान थियो र ? भनेर प्रश्न तेर्साउने गर्छन् । गणतन्त्र प्राप्तिमा पूर्वविशिष्टको कति ठूलो योगदान थियो भन्ने कुरा साबित गर्नु यहाँ जरुरी पनि छ । अछ्युँ खाएँ बछ्युँ खाएँ ,झुसे बारुलो भनेझैँ त्यो साबित गर्न मलाई रौँ बराबर कठिन पनि छैन । यस्तो मुद्दा उठाउनेहरूलाई म मेरा देहायका शब्दका गोलीले ठहरै पार्न चाहन्छु – गणतन्त्रका लागि २०६२/ ६३ सालमा भएको १९० दिने जनआन्दोलनको समाचार पूर्वविशिष्टहरूले कहिल्यै नछुटाई बडो चाखका साथ ५१ इन्चीको टिभीको पर्दामा हेरेका थिए। गणतन्त्रवादी आन्दोलनकारीको अगाडि उभिएर उनीहरूले गणतान्त्रिक आन्दोलनको कहिल्यै कत्ति पनि विरोध गरेका थिएनन्। उनीहरूको यही विशिष्ट चाख र शिष्ट सहयोगका कारण गणतान्त्रिक आन्दोलन सफल भएको थियो भन्ने कुरामा रत्तिभर सन्देह छैन ।

उपर्युक्त कथन म पूर्वविशिष्टका विरोधीहरूका कान चर्कने गरी सुनाउन चाहन्छु । यस्ता लवजका गोली वा शब्दवाण मसित कति छन् कति तर ती सबै एकैचोटि प्रहार गर्न म चाहन्नँ किनकि म अलिकता बढी संयमी छु र शब्द तथा मन्त्रको जथाभावी प्रयोग गर्न हुन्न भन्ने कुरामा सचेत पनि छु ।

उनीहरूले विशिष्ट पदमा रहँदा के सास्ती भोगेका थिए, के घाहा झेलेका थिए र उनीहरूलाई पूर्वविशिष्ट बनिसकेपछि पनि पोसिरहनु पर्यो, घाहापोस दिनुपर्योे, मुआब्जा वा राहत दिनुपर्यो भनेर प्रश्न उठाउने अर्का थरी छन् । उनीहरूलाई पनि म बोल बोल मछडी, मुखभरि पानी जस्तो दशामा पुर्याएर निराशाले जकडाइदिन चाहन्छु । याद गर्नुहोस्- पूर्वविशिष्टहरूले बेला कुबेला अनेक थात थलामा गएर कति भारी भर्कम माला भिर्नुपरेको थियो ? वजनदार मालाको भारले गर्दन कति मर्काउनु परेको थियो ? त्यसको हिसाब किताब कुनै नाथे आरिसेले गरेको छ ? म चुनौती दिन्छु ।

आफ्नो अद्भुत भाषण कलाले श्रोतालाई मन्त्रमुग्ध पारेर भुसुभुसु निदाउने अवस्थासम्म पुर्याउन बिचराहरूले कति लामा लामा भाषण गर्नुपरेको थियो, कति घाँटी सुकाउनु परेको थियो ? त्यसको लेखाजोखा कुन सुविधा विरोधीले गरेको छ ?

त्यसैगरी जङ्गी सलामी स्वीकार्नका लागि घरी घरी हर्थुङ्गो पुर्पुरोमा टाँस्दा हात पाट्टिएर कति तकलीफ र सास्ती झेल्नुपरेको थियो ? त्यसको आँकलन गर्न कोही विरोधी माईको लाल अगाडि सरेको छ ? यस व्यथाको अन्दाजा बरु पिर्के सलामी खानेले लगाउन सक्छन् किनकि लुगा धुने छोरीको व्यथा आमाले र छाना छाउने छोराको कष्टको कथा बाउले मात्र अन्दाजा लगाउन सक्छन् ।

फेरि विशिष्टको पदमा बन्दी भएर बहाल रहँदा इच्छा लागेको ठाउँमा मनमोजी तरिकाले हिँडडुल गर्न ,विचरण गर्न पनि बबुराहरुले कत्ति पाएका थिएनन् । सेना ,प्रहरीले जसो भन्छन् उसै गरी अबोध प्राणी जस्ता भएर कार्गेटमा डोरिएर उनीहरुले आवतजावत गर्नुपरेको थियो । आफ्नो बाल्यकालमा बिन्दास भएर राँगामाथि चढेर वनपाखामा बाँसुरी फुक्दै गोठालो बनेका , शोक न सुर्तासँग डाँडापाखा ,चौर,मैदानमा बुर्कुसी मारेका मान्छेलाई त्यसरी कैदी झैँ चारैतिरबाट घेरिएर हिँड्नुपर्दा, बस्नुपर्दा कम्ता सकस भएको थियो ? त्यसैगरी सदर खोरदेखि कुखुराको खोर (धुम) सम्म काठे साँघुदेखि वक्राकारआर्क ब्रिजसम्म र बिग मलदेखि पानपसलसम्म रिबन काटेर उद्घाटन गर्न धाउँदा धाउँदा खिइएका पूर्वविशिष्टका पैताला हेर्ने हो भने टीठले जोसुकैका गहभरि आँसु छचल्किन सक्छन्।

अझ उहाँहरूले ज्यान हत्केलामा राखेर पूरा गरेको ओहोदा अनुसारको काम कर्तव्य याद गर्ने हो भने कस्तै पत्थरवाला मन पनि कोमलिएर, गलेर नौनी बनिहाल्छ। ज्यान जोखिममा राखेर उहाँहरु गुड्ने सवारीमा मात्र होइन, उड्ने बडेमानका जेट सवारीमा कावा खाँदै देश विदेशमा पुगेर ताली ठोक्ने र गालीका कोसेली बोक्ने महत्त्वपूर्ण काम गर्नुपरेको थियो। त्यो आकाश मार्गमा बिनापखेटा उड्दा तलवितल परेको भए उहाँहरूको गाथको कस्तो दुर्दशा हुन्थ्यो होला ? जमिनमा घुइकिँदा त केही उल्टापुल्टा परे पनि बाँच्ने आशा रहन्छ तर आकाशमा हुइकिँदा केही गडबड भइहाल्यो भने देहमा प्राण बाँकी रहन्छ ? कुनै पनि हालतमा रहँदैन। त्यसरी ज्यानको परवाहै नगरी कैयौँ पटक विमानबाट गरेको ओहोरदोहोर झलझली सम्झँदै उहाँहरूका लागि ढुकुटी बाँड्ने मुठीलाई जति सक्दो खुकुलो पार्न एकदमै जरुरी छ।

पूर्वविशिष्टहरूको अपूर्व योगदानको चर्चा गरिरहँदा बिर्सनै नहुने अझ अर्को पाटो पनि छ। ओहोदामा बसेर दर्जामुताबिककै काम कारबाही गरेबापत उहाँहरूले एक ताली पाउँदा सय गाली सँगसँगै खप्नु परेको थियो । शून्य ताली र अगण्य गाली सुन्दा सुन्दा उहाँहरूको आत्मा त्यतिबेला कति रोए होला ? ती महान् दुःखी आत्माहरूको आँसु कार्यकालपछि भए पनि पुछिदिने कर्तव्य सबै सच्चा नेपाली नागरिकको होइन र ?

अर्को कुरा, कतिले अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै यसबारेमा गम्भीर विचार विमर्श गर्नु जरुरी छ भनेर बखेडा झिक्न थालेका छन् । कस्ता कस्ता धनी मुलुकमा पूर्वविशिष्टहरूले पनि अवकाशपश्चात् जीविकाको लागि जागिर वा व्यवसाय गर्छन् भन्ने दलिल उनीहरूले अघि सारेका छन्। तर म उनीहरूलाई सोध्न चाहन्छु- के हामीले सधैं पराईकै देखासिकी मात्रै गर्ने हो ? सधैँ अरूको पुच्छर भएर बाँच्ने हो ? के अग्रगामी बन्ने हक हामी नेपालीको छैन ? कतै नचलेका अभ्यास हामीले चलाउन हुँदैन ? हामीले असल अभ्यास सुरु गरेर अरूलाई त्यसको नक्कल गर्नका लागि जोडदार दबाब दिन मिल्दैन भन्ने कुरा के अन्तर्राष्ट्रिय कानुनमै लेखिएको छ र ?

मेरो गम्भीर थनथन र मन्थनपछिको निष्कर्ष के छ भने पूर्वविशिष्टहरूलाई छेलोखेलो हुने गरी सुविधा दिनैपर्छ । हाम्रो करामत देखेर वैभवशाली र शक्तिशाली मुलुकका पूर्व र वर्तमान तथा भविष्यका विशिष्टहरू प्रेरित होऊन् र त्यहाँ हाम्रो असल अभ्यास बहाल गर्न अआफ्ना सरकारलाई दबाब दिएर विवश पारून् अनि बेजोड नवप्रवर्तनका लागि नेपाललाई धन्यवाद दिऊन् ।

पूर्व विशिष्टहरूलाई शिष्टतापूर्वक दुई चार सय करोड रुपैयाँको सुविधा दिँदैमा मुलुककको ढुकुटी रित्तिने होइन, मुलुकवासी कङ्गाल हुने पनि होइनन् । फेरि यो सुविधा धुतेर विशिष्टहरु बिटुलिने पनि होइनन् । यो सर्वथा जायज र पुण्य काम हो । त्यसैले यसमा कसैले दखल नदिऊँ । अझ उचित त के हुन्छ भने पूर्वहरूको योगदानको चिरकालतक पहिचान राख्न र यादगार बनाउन कम्तीमा विशिष्टका तीन पुस्तालाई यस्तो सुविधा दिनुपर्छ । नत्र त बुढा मरे भाका सरे भन्ने अवस्था अवश्य आइलाग्छ, पूर्वहरूको योगदानको पहिचान एक पुस्तामै मेटिन्छ।

मेरो यो गहन ओजस्वी विचारयुक्त र उच्च कदर लायक तर्कपूर्ण आलेख पढेपछि कस्तै तुच्छ अविवेकीको मनमा पनि आमूल परिवर्तन आउनेछ र धमिलिएको मनमा सङ्लिएको उग्र सुविधा विरोधलाई उसले चटक्कै छाडेर पूर्वविशिष्टको परिपोषणको निम्ति ती सुविधा वृद्धि गर्ने कार्यका लागि नयाँ जोगीले बाक्लो खसानी घसेझैँ गरेर आवाज बुलन्द पार्दै अग्रसर हुनेछ भन्ने कुरामा म आशावादी मात्र होइन पूर्ण विश्वस्त पनि छु, अस्तु ।

०००

सन्धिखर्क, तुम्कोट, अर्घाखाँची

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Janakbasyal
Janakbasyal
1 year ago

Good sandes news

Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x