साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बखतेको सपना

यतिन्जेलमा चन्चली पनि उठीवरी म्याक्सी लाएर कपालको जुरो बाँध्नतिर लागि । बखतेले ढोका खोल्नासाथ देख्यो - दुईजना बर्दीधारी पुरुष । बखतेलाई बेलुकाको धङ्धङीले छोडेर अगिल्लो दिउँसोको दंगाफसादको झल्कोले रन्थन्यायो ।

Nepal Telecom ad

भाेजराज रेग्मी  ‘मुखाले’:

पूर्वपहाडी गाउँबाट भागीबिहे गरेको तीन वर्ष नाघेको भए पनि बखतेको जोडीले भुराभुरी जन्माउने आँट गर्न बाँकी नै थियो । काठमाडौँको कुनै गल्लीको डेराको बसाइ । चैतको आधाउधि हुँदैथ्यो । बिहान ओछ्यानमै ढल्केर यसो फेसबुक चलाउँदै थियो बखते । पलङ छेउको प्लाष्टिकको टुलमाथि कालोचिया ट्यास्स राखेर चन्चली च्याँठ्ठिई : “हैन, कि तिमी जाऊ कि मलाई जान देऊ , यस्तो ल्याङ्ल्याङे पाराले त अब चल्दैन बाबै ! बिना पैसो घरव्यवहार कसरी चल्छ ? भन त ।”

औँसी- पूर्णे बाउँठिने बानी लागेकी- नागरिकता प्रमाणपत्रकी “बाटुली बिष्ट” को एक्कासी तेर्सिएको पटकाबमजस्तो प्रश्नले बखतेलाई रन्थन्यायो । “राजा ल्याउन पाए विदेशसिदेस कतै जानै पर्थेन ता नि, के गर्नु ! राजा आउनै नपाई चन्चलीले पुच्छर निमोठेर मार्न लागी ।” मनमा खेलेको कुरो मुखबाट हुलुक्क बाहिर निस्किन खोज्दैथ्यो, चन्चलीले सङ्ग्राम मच्चाउली भन्ने डरले थर्कमान हुँदै जिब्रोको टुप्पोमा आईपुगेको कुरो बखतेले भित्रै फिर्ता पठायो । अनि कुरा बहलाउने पाराले आफ्नो पुरानै सूत्र लगायो बखतेले , फेरि फकायो,”अब हाम्रा दु:खका दिन सकिनै लागेको छ क्या डार्लिङ, न आत्तिउन भन्या !”

“उस् ! तिम्रो मुखको मह चाट्न थालेको बयालिस महिना भयो । न अघाएँ न चाट्न छोड्न नै सकेँ । माइती त्यागेर तिम्रो पछि नलाग्या भए उहिलै छोडेर हिँडिसक्थेँ । के गर्नू ! आफ्नो त खप्परै उस्तो !”- चन्चलीले बिरह पोखी ।

“लु भो, भो ! धेरै गरुडपुरान नसुना ! बरु चाँडो गरेर भात पका । बेलैमा तयारीसहित भेला हुने उर्दी भाछ । आजको आन्दोलन सफल भो भने हाम्रा मार्सी दाइ घटीमा पनि अन्चलाधीश पक्का ! म उनको निर्विरोध पिए । तँ पिएकी म्याडम । सर्कारी क्वाटरको रासोबासो । हाकिमहरू र व्यापारीले गर्ने हप्तावारी पार्टी । केके हो केके ! ” मीतभान्दाइले उहिलै गफ लडाएको मेसो पक्रेर बखतेले अन्तिम पटक स्वास्नी फकाउने चेष्टा गर्‍यो ।

महिनामा बल्लतल्ल एकचोटी बोइलरको मासुको झोलसँग एकथाल भात लुड्याउँन पाउने बाटुलीले खानेपार्टीको कुरो सुनेपछि परारसाल बखतेले भगाएर ल्याउँदा काठमाडौँमा चहारेका रेष्टुरेन्टका माछामासुको आइटम सम्झेर घुटुक्क थुक निली मात्रै, यसपल्ट मुख चलाइन । बरु पोइलाई कर्केआँखा तरेर ओठ लेप्य्राउँदै भान्साका भाँडा बजाउन थाली ।

मुखमा गुट्खा फ्वाक्फ्वाक पारेर बखते फुत्त बाथरुम छिर्‍यो । बाथरुमको ऐना हेर्‍यो । नौरथाको जमराजस्ता दाह्री मुसार्‍यो । आन्दोलनमै जान त दाह्रीसाह्री पनि के खौरिनु हौ भन्ने सोचेर चित्त बुझायो र मुख्य काम छिन्न कमोडमा थ्याच्च बस्यो ।

आन्दोलन शुरु भएको पहिलो दिनमै अचम्म, उदेक र उल्का भयो । सरकारका केही मन्त्रीहरूले राजावादी आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता जनाउँदै सामूहिक राजीनामा दिए । सेना र प्रहरीले आन्दोलनकारीसँग आत्मसमर्पण गरे । सिँगौरी खेल्न तम्सिएको सरकारले लत्तो छाड्यो । प्रमुख पार्टीका मुख्य नेताहरूले आपत्कालीन बैठक गरेर राजतन्त्र स्वीकार गर्ने निर्णय गरे । सिङ्गो देश राजावादी भयो । “सबै नेपाली राजावादी, सबै राजावादी नेपाली” नाराले देश गुन्जायमान भयो ।

नागार्जुनबाट हाललाई निर्मलनिवास फर्किबक्सने दिनदेखि लगातार तीनदिन देशभर सार्वजनिक विदा दिइयो । हिजोका जंगली र मङ्गलीहरू नेताकम रैतीको रूपमा आफ्नो बाँकी जीवन बिताउन हत्ते हाल्न थाले । महाराजको स्वागतमा चर्को घाममा लाइन लागेका ज्ञानी नेताहरू महाराजको फिर्ती सवारीले पुलकित हुँदै सरकारको पाउमा दाम चढाएर फर्किंदै थिए ।

दरबारको गेटमै अत्यन्त हर्षविभोर मुद्रामा हल्लिएर हाउभाउ गरिरहेको चल्तीको पत्रकार काजुमास्टरले यौटा प्रश्न तेर्स्याइहाल्यो — “मैले भनेको थिएँ …. नि , ऐले कस्तो फिल गरिरहनु भएको छ ? ल भन्नुस् त , जनता जान्न चाहन्छन् ।”

टाउकोमा पहेँलोटोपी र घाँटीमा गुलाफी टाइ झुण्ड्याएको एउटो नेता अघि सरेर अत्यन्त हर्षित हुँदै मुखरित भयो -“मने — हामीले बीस वर्ष अघिदेखि नै भन्दै आएकै हो । हामी नोकरसँग हैन, मालिकसँग वार्ता गर्छौँ भनेर । पछि मैले फेरि पनि भन्दै आएको छु – राजाको पालामा शानमान नै अर्को । ऐले त खै –। त्यसैले अब हामी घुमिफिरी रुम्जाटार भनेझैँ तीस वर्ष अघिकै अवस्थामा पुग्ने र श्रीपेचकै छत्रछहारीमा बस्ने मानसिकता बनाएर तीन दिनअघि नै गोप्य माइन्युट गरिसकेका छौँ । मने अब जे हुन्छ राम्रै राम्रो हुन्छ ।”

नयाँ व्यवस्थाको प्राप्तिसँगै नयाँ सरकारको लागि नयाँ नेताहरूलाई होस्टेमा हैंसे गर्दै पुराना नेताहरू पनि हस्याङ्फस्याङ गरिरहे । रात रहे अग्राख पलाउँछ भनेरै होला , राती नै भजनलाल भगौडाको नेतृत्वमा नयाँ सरकार गठन भयो । मार्सीराम गफाडीले गृहमन्त्रालय पड्काए ।

नयाँ मन्त्रीपरिषद्को तात्तातो बैठकले तरल हुँदै गएको शान्तिसुरक्षालाई तह लाउन पुरानो अञ्चलाधीश अध्यादेश जारी गरियो । बखतबहादुर बुर्लाकोटी राजधानी हाँक्ने अञ्चल हाकिम नियुक्त भएको कुरा रेडियो, टीभीले फुके ।

अन्चलाधीशको पिए मात्रै हुन पाउने आश गरेको बेला उल्का भएर आफैँ अन्चलाधीश हुनु भनेको चानचुने सौभाग्य होइन । जे काम गर्‍यो त्यही काम लोधर लागेर असफल हुँदै गएकोले बखतेलाई केही वर्षदेखी भगवानसँग नै रीस उठेर मन्दिरको बाटो पनि हिँड्न छोडेको थियो । डढेलोले खाएको ठुटो पलाएझैँ भगवानप्रतिको आस्था र विश्वास एक्कासी पलाएर झ्याङ्गियो । दैवको दिलमा पनि मूल फुटेरै आयो । बखतबहादुरको मनमा ईश्वरप्रतिको भक्तिभाव उर्लेर आयो । हेर्दाहेर्दै बाटुली बिष्ट पनि “जनजिविका व्यवस्थापन आयोजना” को कार्यकारी निर्देशक भई ।

बखतेका जोईपोइले तीन वर्षअघि गाउँघर छाड्दा एक शब्द नबोलेका दाजुभाइ , आफन्त र साथीभाइहरूले पनि फोन गरीगरी उपद्रै खातिरदारी गरे ।

बखतबहादुर र बाटुलीको दैनिकी व्यस्तमस्त भयो । एकदिन बाहिरको विशेष कार्यक्रममा जाने तयारी हुँदैथ्यो, एक्कासी ढोका हल्लियो, भैँचालो ! भैँचालो भनेर बखतबहादुर आत्तिए र दैलोको चुकुल खोले ।
….
“हन , बौलायौ कि क्या हो ? बूढा ! भाततिउन पाकिसक्दा पनि ट्वाइलेटबाट निस्किनु छैन । यत्राबेरसम्म ढोका ढक्ढक्याउँदा पनि चाल नपाउने । लु, हेर त सुद्धी ! कट्टु पनि पो नलाईकन के जात्रा देखाको ? । हन, एक्कासी के भो यस्तो ? होशै उड्ने गरी हँ ?” – बाटुलीले पुरानो तुष पनि यसैमा मिसाएर पोखी र बखतेको झाँको झारी ।

बखते छाँगाबाट खसेझैँ भो । आफ्नै पारा सम्झेर लाज र रीसले रातोपिरो हुँदै हातमुख धोयो र चूपचाप भात खान बस्यो ।
“हुँदा – हुँदा अब त दिउँसै सपना देखेर ट्वाइलेट भित्रै राजा ल्याईवरी मार्सीदाइको पिए भएरै छाड्यौ कि क्या हो ?” – बाटुलीले आफ्नो भात खाइसकेर उठ्दै पोइलाई व्यङ्ग्य हानी ।

“जिन्दगीमा एउटा मीठो सपना त पूरै देख्न दिइनस् – दिइनस् , अब झटारो हानेर मेरो टाउको पनि फुटाउन खोज्दैछेस् हैन तँ ?” – बखतेले रुन्चे मुख फोर्‍यो ।

यसपल्ट चन्चली चूँ पनि नगरी भाँडा माझ्न थाली । बखते लुगा- जुत्ता लगाएर केही नभनी फुत्त बाहिर निस्क्यो ।
साँझ नपर्दै पिठिउँमा गह्रुँगो झोलो बोकेर बखते डेरा फर्क्यो । ढोका ढक्ढ्क्याउने बित्तिकै भान्साको मीठो वासना बखतेको नाकमा पस्यो । “हैन, आज के उल्का भो त हँ ?”- बखतेले स्वास्नीको हँसिलो मुख देखेर सोध्यो ।

“लोग्नेले राजा ल्याउन आँटेको खुशियालीमा आज खसीकै मासु पकाको नि ! तिम्लेचाहिँ झोलोमा के बोकेर ल्यायौ नि ?”- रिसाएको पोइ फकाउन बाटुलीले जानिसकेकी थिई ।

“जुलुसमा हिँडेको पैसा तैंले पनि भेट्टाइस् कि क्या हो ? मैले पनि आज साथीहरूसँग मिलेर आन्दोलनमा निकै ठूलो योगदान गरेँ ।
भाटभटेनी लुट्नुसम्म लुटे साथीहरूले । अरू लागे अर्थोकतिर एउटो साथी र मेरोचैँ रक्सीतिर आँखा गयो । ई : हेर्न खालखाल्को ब्राण्डेड रक्सी र बियर बोकेर ल्याको छु । यति भएपछि आन्दोलन अब अगाडि बढ्छ । तँलाईचैँ बियर हो नि ! खै ! भुटुवा झिक् त , खाईहालौँ !” भुराभुरीलाई दशैँ आएजस्तै भो बखतेलाई ।

बाटुलीले पनि फर्‍याकफुरुक गर्दै एउटो थालमा चिउराभुजिया र दुईडाडू भुटुवा हाली । बखतेले ह्विस्कीको बोतल खोलेर एउटा गिलासमा हाल्यो । चन्चलीले अर्को गिलास थापेर म पनि चाखौँ न त भनी र मुसुक्क हाँसी । बखते पनि एक्कासी उत्तेजित भयो र चन्चलीको गालामा च्वाप्प म्वाँइ खाएर चियर्स ! भन्यो, पोइको चोचोमा जोईले पनि मोचो मिलाई । धेरैदिनदेखि भदौरे झरीपछि मौसम खुलेर छ्याङ्ङ भएझैँ भयो । तीनवर्ष लभ गर्दा पनि नफुरेको रोमाण्टिक मुक्तक र गजलका शेरहरूको बिस्कुन लाग्यो । चन्चलीले आफ्नो पोइ कोहीभन्दा कम नभएको बखान गरी । जवाफमा बखतेले पनि आफ्नी प्यारीको रूपलावण्य र बुद्धिमानीको मुक्तकण्ठले प्रशंसा गर्‍यो । बखतेका जोईपोइले खुलेरै रोमान्स गरे ।
००

भोलिपल्ट बाहिर कल्याङ्मल्याङ्को आवाज आएको कानमा परेपछि बखतेको निद्रा खुल्यो । आँखा मिच्दै उठ्यो , र देख्यो चन्चलीको सर्वाङ्ग नग्न शरीर। पलङ्बाट झरेको ब्ल्याङ्केट तानेर हत्त न पत्त ओढाइदियो र आफूले पनि गम्छा बेरेर ढोका खोल्न लाग्यो । बखतेले ढोकाको आग्लो खोल्नु र बाहिरबाट ढक्ढक्याउनु सँगसँगै भो । यतिन्जेलमा चन्चली पनि उठीवरी म्याक्सी लाएर कपालको जुरो बाँध्नतिर लागि । बखतेले ढोका खोल्नासाथ देख्यो – दुईजना बर्दीधारी पुरुष । बखतेलाई बेलुकाको धङ्धङीले छोडेर अगिल्लो दिउँसोको दंगाफसादको झल्कोले रन्थन्यायो ।

“बखतबहादुर बुर्लाकोटी तपाईं नै हैन ?”- एउटा बर्दीले सातो लिने गरी सोध्यो ।
“हो… इन । किन र सर ?”
” हिजोको लुटपाटमा तपाईं पनि संलग्न हुनुभएको देखियो, तपाइँको नाउँमा पक्राउपूर्जी काटिएको छ । लु खुरुक्क हामीसँग हिँड्नुस् !”
चन्चली रुन चिच्याउन लागी । बखतेले नारा लगायो -“प्रहरी दमन बन्द गर ! राजतन्त्र जिन्दावाद ! गणतन्त्र मूर्दावाद !”

०००
पेप्सीकाेला, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
0
Would love your thoughts, please comment.x
()
x