साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तृतीय श्रेणीका श्रद्धेय

‘अब मान्छेमाथि नै भर छैन । केही निश्चित छैन । अब त हनुमानजीसित प्रार्थना गर्छु कि हे प्रभु, यस पालि रामको कामले गन्धमादन पर्वतमा जानुभयो भने मेरा लागि आउँको औषधी लिएर आउनुहोला ।’

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

बुद्धिजीवी निकै थोरैमा पनि सन्तुष्ट हुन्छ । उसलाई प्रथम श्रेणीको भाडा दिनुस् ताकि उसले तृतीय श्रेणीमा यात्रा गरेर पैसा बचाउन सकोस् । एकाध माला लगाइदेऊ, केही श्रोता जुटाइदेऊ अनि भाषणपछि अलिकति प्रशंसा गरिदेऊ यत्तिकैमा उसले मानिहाल्छ । म पनि विश्वविद्यालयमा भाषण दिएर सन्तुष्ट थिएँ । आयोजकहरूले उनीहरूका पाहुना त तृतीय श्रेणीमा आए भन्ने अपमान सहन नपरोस् भनेर त्यस सहरको बिस मिल वरबाट मैले तृतीय श्रेणी छोडेर प्रथम श्रेणीमा यात्रा गरेको थिएँ । उनीहरूले मलाई नदेख्दासम्म म रेलको ढोकामा ह्यान्डिल समातेर उभिइरहेँ । पहिले पहिले त कस्तो पनि भएको छ भने उता आयोजकहरू मेरो स्वागतमा प्रथम श्रेणीका अगाडि उभिएका हुन्थे भने म सुटुक्क तृतीय श्रेणीबाट ओर्लेर उनीहरूलाई खोजिरहन्थेँ । जब हामी भेटिन्थ्यौँ तब भने दुवैले लज्जाको बोध गर्थ्यौँ । उनीहरू सोच्थे, छ्या ! कस्तो तृतीय श्रेणीको मान्छेलाई बोलाइएछ र म सोच्थेँ, हत्तेरिका ! यिनीहरूले मलाई फेला पारिहाले ! अनि कहिलेकाहीँ मौका मिल्यो भने सरक्क प्रथम श्रेणीका सामु आइपुग्थेँ र उनीहरूलाई देखिन्थेँ अनि आयोजकले यो तृतीय श्रेणीको हो भन्ने थाहा नपाउने गरी टिकटजाँचकीलाई पनि सुटुक्क टिकट दिन्थेँ ।

श्रद्धेयहरूका पनि श्रेणीहरू हुन्छन् । तृतीय श्रेणीको श्रद्धेयले प्रेरणा दिँदैन, लज्जा दिन्छ । गान्धीजीको कुरो छुट्टै थियो । उनले तृतीय श्रेणीलाई पनि प्रथम श्रेणीकै महिमा दिन्थे । हामी भने प्रथम श्रेणीमा बसेर पनि तृतीय श्रेणीको हीनता अनुभव गर्छौँ । सन्त र बुद्धिजीवीमा यही अन्तर छ । मैले भने विशेष सावधानी अपनाउनुपर्छ । पाठ्यक्रममा आइसकेको छु । कोर्सको लेखक भएको छु । कोर्सको लेखक त त्यो चरो हो जसका खुट्टामा घुँघरु बाँधिएको हुन्छ । उसले हिँड्दा पनि नाचेझैँ गरेर हिँड्नुपर्छ । यी घुँघरु गहना पनि हुन् र खुट्टाका नेल पनि हुन् । लेखकस्व पाउन थालेपछि त लाग्छ, लेख्ने नै भए ‘सत्साहित्य’ मात्रै लेख जसबाट केटाकेटीहरूको चरित्रनिर्माण होस् । आचार्यगणले त्यसलाई तुरुन्त अँगाल्ने छन् । तर समस्या त के छ भने यो ‘सत्साहित्य’ त केवल आठदश वाक्यमा सकिन्छ, जस्तो – सत्य बोल, कसैलाई दुःख नदेऊ, ब्रह्मचर्यमा बस, पराई नारीलाई आमा मान आदि ।

एक त बुद्धिजीवी, त्यसमाथि कोर्सको बुद्धिजीवी – त्यसैले मैले विशेष सावधानी देखाउनुपर्ने हुन्छ । बुद्धिजीवी जतिसुकै प्रखर भए पनि यदि तृतीय श्रेणीबाट ओर्लिएको देखियो भने उसको मनोबल घट्छ । तृतीय श्रेणीबाट ओर्ल्यो अनि बुद्ध (हैन, अबुद्ध) शाकाहारी होटलमा बस्यो भने त्यो बुद्धिजीवी आधा त निभिसकेको हुन्छ । मैले मनोबल उच्च राख्नका लागि भए पनि पन्ध्र बिस मिल वरबाट प्रथम श्रेणीमा यात्रा गर्छु र पेटले पचाउन सकोस् नसकोस् तर मांसाहारी होटलमा नै डेरा बिसाउँछु । वास्तवमा बुद्धिजीवीलाई प्रखर बनाउने कुरा भनेकै प्रथम श्रेणीको यात्रा र मासु हुन् ।

फर्किने वेलामा भने म रातिको समयमा प्रथम श्रेणीमा असुरक्षा हुन्छ भनेर तृतीय श्रेणीमा चढ्छु । बुद्धिजीवीको मिश्रित अर्थव्यवस्था यही हो जुन देशको मिश्रित अर्थव्यवस्थाअनुरूप नै हुन्छ । बुद्धिजीवीहरू देशका विषयमा निकै सचेत छन् । उनीहरू प्रथम श्रेणीबाट झरेर तृतीय श्रेणीमा उक्लिन्छन् ।

मेरो भाषणको विषय थियो, ‘स्वतन्त्रताका पच्चिस वर्ष’ । अगाडिपट्टि ती केटीहरू बसेका थिए जसको विवाह दाइजोका कारण नहुने भएको थियो । गोरु किनेझैँ बजारमा उनीहरूका लागि दुलाहा किन्नैपर्ने छ । बेहुलाको बाउले जाँच्नेसम्मको खर्च जोडेर लिनेछ । नारीका निम्ति अझै पनि पत्नी पदको नोकरी सबैभन्दा सुरक्षित मानिन्छ । अनि, केही केटाहरू पनि थिए जसले डिग्री लिएपछि केवल सिनेमाघरहरूमा ढुङ्गा हिर्काउने काम मात्र पाउनेवाला थिए । स्वतन्त्रताका पच्चिस वर्षहरूको हिसाब यही हो । तर पछिल्ला दुई वर्षदेखि देशमा क्रान्ति भइरहेको हल्ला गरिँदै छ । बुद्धिजीवीले यसलाई बुझ्नुपर्छ र यस प्रक्रियामा सहयोगी बन्नुपर्छ । अनि क्रान्तिको कुरै गर्नका लागि त बुद्धिजीवीको के पो जान्छ र ?

उसले सबै रिस सरकारमाथि पोखिदिन्छ । यसले गर्दा वाहवाही पाइन्छ अनि उसलाई साहसीको उपाधि प्राप्त हुन्छ र लोकप्रिय पनि बन्छ तर यो छद्म क्रान्तिकारिता हो । यस्तो लेखकले सरकारमाथि नाटकीय हमला गरेर सम्पूर्ण क्रान्तिविरोधी बुर्जुवा शक्तिलाई बचाउँछ । यसरी ऊ बुर्जुवासमर्थक बन्दछ । लुकाचको निष्कर्ष त यही हो । माग भएकैले मैले क्रान्तिकारिताको कुरो गरेको हुँ । प्रथम श्रेणीको भाडा र पेटमा कुखुराले बुद्धिजीवीलाई क्रान्तिकारी बनाइदिन्छन् । कुखुराले नै हरेक दिन सबैभन्दा पहिले क्रान्तिको आह्वान गर्छ । क्रान्तिको उद्घोष गर्छ र कसिङ्गरको थुप्रामा गएर दाना बिन्न थाल्छ । भारतीय बुद्धिजीवीको अवस्था पनि यही हो । क्रान्तिको उद्घोष, कसिङ्गरबाट दाना टिप्नु अनि रेटिने प्रतीक्षा गर्नु । त्यसो त दुध र कलाकन्द खानेहरू (हैन, सेवन गर्नेहरू) पनि आफूलाई क्रान्तिकारी बुद्धिजीवी भन्ने गर्छन् तर म मान्दिनँ ।

फर्किनका लागि स्टेसनमा पुगेपछि घुम्दै गर्दा सोचेँ, के दिए त यी पच्चिस वर्षहरूले ? यति वेलाको मेरो चिन्ता के हो ? के म क्रान्तिका कुरा सोचिरहेको छु त ? हैन, मलाई यात्राको चिन्ता छ । बर्थको चिन्ता छ । मैले पटक पटक टिकट झिकेर हेरेको छु । आजकै त हो ? कतै नक्कली त हैन ? रिजर्भेसन सही छ कि छैन ? कुनै भरोसा छैन ।

मलाई गाडीको समयको चिन्ता छ । मैले टाँसिएको समयसारणी हेर्छु । तर मलाई यसमाथि पनि विश्वास छैन । यो त पुरानो पनि हुन सक्छ । मैले त्यहीँ उभिएको कर्मचारीलाई सोध्छु । उसले भन्छ, ‘तपाईंले भर्खरै त त्यो टाँसिएको समयतालिका हेर्नुभएको हो नि !’ म भन्छु, ‘टाँसिएकाको के विश्वास ? पच्चिस वर्षदेखि के के पो टाँसिएनन् र यस देशमा ? संविधानका निर्देशक सिद्धान्तहरू टाँसिए तर तिनमा अमल भएन । गान्धीजीको वाक्य पनि टाँसिएको छ – स्वराज्यमा हरेक आँखाको आँसु पुछिने छ ।’ तर अहिलेसम्म रुवाउने को हो भन्ने नै निश्चित हुन सकेको छैन । ‘लौ, अनि स्वराज्यका आँखाको आँसु पुछ ’ भनेर पच्पन्न करोडका हातमा एउटा एउटा रुमाल दिइएको छ । टाँसिएको कागजको के भरोसा ? समाजवादी ढङ्गको नारा टाँसिएको थियो तर सबै ढङ्ग बेढङ्ग भइरहेको थियो । फेरि ‘जनतान्त्रिक समाजवाद’ टाँसियो । अनि ‘समाजवाद’ टाँसियो । अहिले ‘गरिबी निवारण’ टाँसिएको छ । तर मूल्यवृद्धि तीव्र छ । त्यसैले टाँसिएको कागजको कुनै भर छैन ।’

कर्मचारीले मलाई गाडीको समय भनिदिन्छन् तर मैले कर्मचारीमाथि पनि विश्वास गर्दिनँ । नागपुरमा यस्तै एउटाको विश्वास गरेर भोगिसकेको छु । उसले यो गाडी बैतुलमा रोकिन्छ भनेर भनेको थियो । तर पछि नरोकिने भनेर थाहा पाएँ । मैले अर्को कर्मचारीलाई सोध्छु र केही आश्वस्त हुन्छु । मैले अब कालो पाटीमा हेर्छु । त्यहाँ, राइट टाइम लेखिएको रहेछ । तर मलाई विश्वास हुँदैन किनभने गाडी समयभन्दा पहिले पनि आउन सक्छ र पछि पनि आउन सक्छ ।

अब मलाई समयको चिन्ता लागेको छ । रेलवेको घडीको भर हुँदैन । यी घडीहरू त महिनौँसम्म पनि बन्द रहन्छन् । आफ्नो घडी हेर्छु तर त्यसमा पनि मलाई विश्वास लाग्दैन । के थाहा दम दिएँ कि दिइनँ र दिएँ भने कहिले दिएँ ? फेरि यी घडीहरूको पनि के ठेगान ? मैले अरू एकदुई जनासित समय सोध्छु ।

अब मैले प्लेटफर्ममा उभिएर गाडीको प्रतीक्षा गर्दै छु । मलाई थाहा छ गाडी आउने पूर्वबाट हो तर मैले भने पश्चिमतिर पनि हेरिरहन्छु । दुवैतिरबाट गाडीको प्रतीक्षा गर्छु । कुनै ठेगान छैन । पूर्वतिरबाट आउने गाडी पश्चिमबाट पनि आउन सक्छ ।

सोच्छु – मलाई के भएको हो ? यति अनिश्चय र यति अविश्वास ? के स्वतन्त्रताका पच्चिस वर्षहरूले यही अनिश्चय र अविश्वासको मानसिकता नै दिएको हो त हाम्रो पुस्तालाई ? अनि हामीले आउँदो पुस्तालाई पनि उत्तराधिकारमा यही दिँदै छौँ !

जुन मार्गमा हिँडिरहेका छौँ त्यो ‘समाजवाद मार्ग’ हो तर त्यसले डोर्‍याएको भने अर्कैतिर छ । महात्मा गान्धी मार्गमा जति छन् सबै ठग छन् । रवीन्द्र मार्गमा वधशाला खुलेको छ । परीक्षामा कुनै बस्छ तर पास कुनै हुन्छ । पुरै देशमा चिनीको भाउ दुई रुपैयाँ किलो निश्चित गरिएको छ तर घोषणा हुनासाथ त्यसको भाउ चार रुपैयाँबाट सवा चार हुन जान्छ । सहकारी पसलका अगाडि लाइनहरू लागेका छन् तर जस्केलो ढोकाबाट सामानको कालोबजारी भइरहेको छ । क्षेत्रमा काम एउटाले गर्छ तर टिकट अर्काले पाउँछ । हामी कसैलाई महान् भ्रष्टाचारी घोषित गर्छौँ तर त्यसलाई सदाचारी अधिकारी बनाइन्छ ।

अनिश्चय र अविश्वास !
औषधीको सिसीमा दाम त सही छ तर के खाइरहेका छौँ भन्ने थाहा छैन । मेरो एउटा ‘हनुमानभक्त’ मित्रले भन्छ, ‘अब मान्छेमाथि नै भर छैन । केही निश्चित छैन । अब त हनुमानजीसित प्रार्थना गर्छु कि हे प्रभु, यस पालि रामको कामले गन्धमादन पर्वतमा जानुभयो भने मेरा लागि आउँको औषधी लिएर आउनुहोला ।’

गाडी आउँछ । तृतीय श्रेणीका श्रद्धेय जब आफ्नो सुरक्षित बर्थमा पुग्छन् तब के देख्छन् भने त्यहाँ त अर्कैले ओछ्यान लगाइसकेको छ ।

०००
हरिशंकर परसाईको परसाई रचनावली भाग ३ को ‘तीसरे दर्जे के श्रद्धेय’ बाट अनुदित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x