हरिशंकर परसाईंतृतीय श्रेणीका श्रद्धेय
‘अब मान्छेमाथि नै भर छैन । केही निश्चित छैन । अब त हनुमानजीसित प्रार्थना गर्छु कि हे प्रभु, यस पालि रामको कामले गन्धमादन पर्वतमा जानुभयो भने मेरा लागि आउँको औषधी लिएर आउनुहोला ।’

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
बुद्धिजीवी निकै थोरैमा पनि सन्तुष्ट हुन्छ । उसलाई प्रथम श्रेणीको भाडा दिनुस् ताकि उसले तृतीय श्रेणीमा यात्रा गरेर पैसा बचाउन सकोस् । एकाध माला लगाइदेऊ, केही श्रोता जुटाइदेऊ अनि भाषणपछि अलिकति प्रशंसा गरिदेऊ यत्तिकैमा उसले मानिहाल्छ । म पनि विश्वविद्यालयमा भाषण दिएर सन्तुष्ट थिएँ । आयोजकहरूले उनीहरूका पाहुना त तृतीय श्रेणीमा आए भन्ने अपमान सहन नपरोस् भनेर त्यस सहरको बिस मिल वरबाट मैले तृतीय श्रेणी छोडेर प्रथम श्रेणीमा यात्रा गरेको थिएँ । उनीहरूले मलाई नदेख्दासम्म म रेलको ढोकामा ह्यान्डिल समातेर उभिइरहेँ । पहिले पहिले त कस्तो पनि भएको छ भने उता आयोजकहरू मेरो स्वागतमा प्रथम श्रेणीका अगाडि उभिएका हुन्थे भने म सुटुक्क तृतीय श्रेणीबाट ओर्लेर उनीहरूलाई खोजिरहन्थेँ । जब हामी भेटिन्थ्यौँ तब भने दुवैले लज्जाको बोध गर्थ्यौँ । उनीहरू सोच्थे, छ्या ! कस्तो तृतीय श्रेणीको मान्छेलाई बोलाइएछ र म सोच्थेँ, हत्तेरिका ! यिनीहरूले मलाई फेला पारिहाले ! अनि कहिलेकाहीँ मौका मिल्यो भने सरक्क प्रथम श्रेणीका सामु आइपुग्थेँ र उनीहरूलाई देखिन्थेँ अनि आयोजकले यो तृतीय श्रेणीको हो भन्ने थाहा नपाउने गरी टिकटजाँचकीलाई पनि सुटुक्क टिकट दिन्थेँ ।
श्रद्धेयहरूका पनि श्रेणीहरू हुन्छन् । तृतीय श्रेणीको श्रद्धेयले प्रेरणा दिँदैन, लज्जा दिन्छ । गान्धीजीको कुरो छुट्टै थियो । उनले तृतीय श्रेणीलाई पनि प्रथम श्रेणीकै महिमा दिन्थे । हामी भने प्रथम श्रेणीमा बसेर पनि तृतीय श्रेणीको हीनता अनुभव गर्छौँ । सन्त र बुद्धिजीवीमा यही अन्तर छ । मैले भने विशेष सावधानी अपनाउनुपर्छ । पाठ्यक्रममा आइसकेको छु । कोर्सको लेखक भएको छु । कोर्सको लेखक त त्यो चरो हो जसका खुट्टामा घुँघरु बाँधिएको हुन्छ । उसले हिँड्दा पनि नाचेझैँ गरेर हिँड्नुपर्छ । यी घुँघरु गहना पनि हुन् र खुट्टाका नेल पनि हुन् । लेखकस्व पाउन थालेपछि त लाग्छ, लेख्ने नै भए ‘सत्साहित्य’ मात्रै लेख जसबाट केटाकेटीहरूको चरित्रनिर्माण होस् । आचार्यगणले त्यसलाई तुरुन्त अँगाल्ने छन् । तर समस्या त के छ भने यो ‘सत्साहित्य’ त केवल आठदश वाक्यमा सकिन्छ, जस्तो – सत्य बोल, कसैलाई दुःख नदेऊ, ब्रह्मचर्यमा बस, पराई नारीलाई आमा मान आदि ।
एक त बुद्धिजीवी, त्यसमाथि कोर्सको बुद्धिजीवी – त्यसैले मैले विशेष सावधानी देखाउनुपर्ने हुन्छ । बुद्धिजीवी जतिसुकै प्रखर भए पनि यदि तृतीय श्रेणीबाट ओर्लिएको देखियो भने उसको मनोबल घट्छ । तृतीय श्रेणीबाट ओर्ल्यो अनि बुद्ध (हैन, अबुद्ध) शाकाहारी होटलमा बस्यो भने त्यो बुद्धिजीवी आधा त निभिसकेको हुन्छ । मैले मनोबल उच्च राख्नका लागि भए पनि पन्ध्र बिस मिल वरबाट प्रथम श्रेणीमा यात्रा गर्छु र पेटले पचाउन सकोस् नसकोस् तर मांसाहारी होटलमा नै डेरा बिसाउँछु । वास्तवमा बुद्धिजीवीलाई प्रखर बनाउने कुरा भनेकै प्रथम श्रेणीको यात्रा र मासु हुन् ।
फर्किने वेलामा भने म रातिको समयमा प्रथम श्रेणीमा असुरक्षा हुन्छ भनेर तृतीय श्रेणीमा चढ्छु । बुद्धिजीवीको मिश्रित अर्थव्यवस्था यही हो जुन देशको मिश्रित अर्थव्यवस्थाअनुरूप नै हुन्छ । बुद्धिजीवीहरू देशका विषयमा निकै सचेत छन् । उनीहरू प्रथम श्रेणीबाट झरेर तृतीय श्रेणीमा उक्लिन्छन् ।
मेरो भाषणको विषय थियो, ‘स्वतन्त्रताका पच्चिस वर्ष’ । अगाडिपट्टि ती केटीहरू बसेका थिए जसको विवाह दाइजोका कारण नहुने भएको थियो । गोरु किनेझैँ बजारमा उनीहरूका लागि दुलाहा किन्नैपर्ने छ । बेहुलाको बाउले जाँच्नेसम्मको खर्च जोडेर लिनेछ । नारीका निम्ति अझै पनि पत्नी पदको नोकरी सबैभन्दा सुरक्षित मानिन्छ । अनि, केही केटाहरू पनि थिए जसले डिग्री लिएपछि केवल सिनेमाघरहरूमा ढुङ्गा हिर्काउने काम मात्र पाउनेवाला थिए । स्वतन्त्रताका पच्चिस वर्षहरूको हिसाब यही हो । तर पछिल्ला दुई वर्षदेखि देशमा क्रान्ति भइरहेको हल्ला गरिँदै छ । बुद्धिजीवीले यसलाई बुझ्नुपर्छ र यस प्रक्रियामा सहयोगी बन्नुपर्छ । अनि क्रान्तिको कुरै गर्नका लागि त बुद्धिजीवीको के पो जान्छ र ?
उसले सबै रिस सरकारमाथि पोखिदिन्छ । यसले गर्दा वाहवाही पाइन्छ अनि उसलाई साहसीको उपाधि प्राप्त हुन्छ र लोकप्रिय पनि बन्छ तर यो छद्म क्रान्तिकारिता हो । यस्तो लेखकले सरकारमाथि नाटकीय हमला गरेर सम्पूर्ण क्रान्तिविरोधी बुर्जुवा शक्तिलाई बचाउँछ । यसरी ऊ बुर्जुवासमर्थक बन्दछ । लुकाचको निष्कर्ष त यही हो । माग भएकैले मैले क्रान्तिकारिताको कुरो गरेको हुँ । प्रथम श्रेणीको भाडा र पेटमा कुखुराले बुद्धिजीवीलाई क्रान्तिकारी बनाइदिन्छन् । कुखुराले नै हरेक दिन सबैभन्दा पहिले क्रान्तिको आह्वान गर्छ । क्रान्तिको उद्घोष गर्छ र कसिङ्गरको थुप्रामा गएर दाना बिन्न थाल्छ । भारतीय बुद्धिजीवीको अवस्था पनि यही हो । क्रान्तिको उद्घोष, कसिङ्गरबाट दाना टिप्नु अनि रेटिने प्रतीक्षा गर्नु । त्यसो त दुध र कलाकन्द खानेहरू (हैन, सेवन गर्नेहरू) पनि आफूलाई क्रान्तिकारी बुद्धिजीवी भन्ने गर्छन् तर म मान्दिनँ ।
फर्किनका लागि स्टेसनमा पुगेपछि घुम्दै गर्दा सोचेँ, के दिए त यी पच्चिस वर्षहरूले ? यति वेलाको मेरो चिन्ता के हो ? के म क्रान्तिका कुरा सोचिरहेको छु त ? हैन, मलाई यात्राको चिन्ता छ । बर्थको चिन्ता छ । मैले पटक पटक टिकट झिकेर हेरेको छु । आजकै त हो ? कतै नक्कली त हैन ? रिजर्भेसन सही छ कि छैन ? कुनै भरोसा छैन ।
मलाई गाडीको समयको चिन्ता छ । मैले टाँसिएको समयसारणी हेर्छु । तर मलाई यसमाथि पनि विश्वास छैन । यो त पुरानो पनि हुन सक्छ । मैले त्यहीँ उभिएको कर्मचारीलाई सोध्छु । उसले भन्छ, ‘तपाईंले भर्खरै त त्यो टाँसिएको समयतालिका हेर्नुभएको हो नि !’ म भन्छु, ‘टाँसिएकाको के विश्वास ? पच्चिस वर्षदेखि के के पो टाँसिएनन् र यस देशमा ? संविधानका निर्देशक सिद्धान्तहरू टाँसिए तर तिनमा अमल भएन । गान्धीजीको वाक्य पनि टाँसिएको छ – स्वराज्यमा हरेक आँखाको आँसु पुछिने छ ।’ तर अहिलेसम्म रुवाउने को हो भन्ने नै निश्चित हुन सकेको छैन । ‘लौ, अनि स्वराज्यका आँखाको आँसु पुछ ’ भनेर पच्पन्न करोडका हातमा एउटा एउटा रुमाल दिइएको छ । टाँसिएको कागजको के भरोसा ? समाजवादी ढङ्गको नारा टाँसिएको थियो तर सबै ढङ्ग बेढङ्ग भइरहेको थियो । फेरि ‘जनतान्त्रिक समाजवाद’ टाँसियो । अनि ‘समाजवाद’ टाँसियो । अहिले ‘गरिबी निवारण’ टाँसिएको छ । तर मूल्यवृद्धि तीव्र छ । त्यसैले टाँसिएको कागजको कुनै भर छैन ।’
कर्मचारीले मलाई गाडीको समय भनिदिन्छन् तर मैले कर्मचारीमाथि पनि विश्वास गर्दिनँ । नागपुरमा यस्तै एउटाको विश्वास गरेर भोगिसकेको छु । उसले यो गाडी बैतुलमा रोकिन्छ भनेर भनेको थियो । तर पछि नरोकिने भनेर थाहा पाएँ । मैले अर्को कर्मचारीलाई सोध्छु र केही आश्वस्त हुन्छु । मैले अब कालो पाटीमा हेर्छु । त्यहाँ, राइट टाइम लेखिएको रहेछ । तर मलाई विश्वास हुँदैन किनभने गाडी समयभन्दा पहिले पनि आउन सक्छ र पछि पनि आउन सक्छ ।
अब मलाई समयको चिन्ता लागेको छ । रेलवेको घडीको भर हुँदैन । यी घडीहरू त महिनौँसम्म पनि बन्द रहन्छन् । आफ्नो घडी हेर्छु तर त्यसमा पनि मलाई विश्वास लाग्दैन । के थाहा दम दिएँ कि दिइनँ र दिएँ भने कहिले दिएँ ? फेरि यी घडीहरूको पनि के ठेगान ? मैले अरू एकदुई जनासित समय सोध्छु ।
अब मैले प्लेटफर्ममा उभिएर गाडीको प्रतीक्षा गर्दै छु । मलाई थाहा छ गाडी आउने पूर्वबाट हो तर मैले भने पश्चिमतिर पनि हेरिरहन्छु । दुवैतिरबाट गाडीको प्रतीक्षा गर्छु । कुनै ठेगान छैन । पूर्वतिरबाट आउने गाडी पश्चिमबाट पनि आउन सक्छ ।
सोच्छु – मलाई के भएको हो ? यति अनिश्चय र यति अविश्वास ? के स्वतन्त्रताका पच्चिस वर्षहरूले यही अनिश्चय र अविश्वासको मानसिकता नै दिएको हो त हाम्रो पुस्तालाई ? अनि हामीले आउँदो पुस्तालाई पनि उत्तराधिकारमा यही दिँदै छौँ !
जुन मार्गमा हिँडिरहेका छौँ त्यो ‘समाजवाद मार्ग’ हो तर त्यसले डोर्याएको भने अर्कैतिर छ । महात्मा गान्धी मार्गमा जति छन् सबै ठग छन् । रवीन्द्र मार्गमा वधशाला खुलेको छ । परीक्षामा कुनै बस्छ तर पास कुनै हुन्छ । पुरै देशमा चिनीको भाउ दुई रुपैयाँ किलो निश्चित गरिएको छ तर घोषणा हुनासाथ त्यसको भाउ चार रुपैयाँबाट सवा चार हुन जान्छ । सहकारी पसलका अगाडि लाइनहरू लागेका छन् तर जस्केलो ढोकाबाट सामानको कालोबजारी भइरहेको छ । क्षेत्रमा काम एउटाले गर्छ तर टिकट अर्काले पाउँछ । हामी कसैलाई महान् भ्रष्टाचारी घोषित गर्छौँ तर त्यसलाई सदाचारी अधिकारी बनाइन्छ ।
अनिश्चय र अविश्वास !
औषधीको सिसीमा दाम त सही छ तर के खाइरहेका छौँ भन्ने थाहा छैन । मेरो एउटा ‘हनुमानभक्त’ मित्रले भन्छ, ‘अब मान्छेमाथि नै भर छैन । केही निश्चित छैन । अब त हनुमानजीसित प्रार्थना गर्छु कि हे प्रभु, यस पालि रामको कामले गन्धमादन पर्वतमा जानुभयो भने मेरा लागि आउँको औषधी लिएर आउनुहोला ।’
गाडी आउँछ । तृतीय श्रेणीका श्रद्धेय जब आफ्नो सुरक्षित बर्थमा पुग्छन् तब के देख्छन् भने त्यहाँ त अर्कैले ओछ्यान लगाइसकेको छ ।
०००
हरिशंकर परसाईको परसाई रचनावली भाग ३ को ‘तीसरे दर्जे के श्रद्धेय’ बाट अनुदित ।
Subscribe
Login
0 Comments
Oldest





































