साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक पित्काे प्रेम

"कन्चनबारी झर्ने कोही छ ?" खलासी करायो । "म छु ।"- साली सिटबाट चुपचाप उठिन् र मलाई ढेप्दै ढोकामा पुगेर गाडी रोक्न लगाइन् र ओर्लिन्, सिटी चढिन् र ओझेल परिन् । म झ्यालबाट बाहिर हेरेको हेरै भएँ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

अहिले जताततै प्रेम भन्ने जिनिस कतै निकै सस्तो र कतै निक्कै महँगो भएर प्रेम बजार नै अस्तव्यस्त भएको देखेर मलाई झण्डै तीन दशक अघि यात्रामा भएको एक पित्को प्रेमको झल्को आइरहेको छ ।

कुरा ०५३ साल कात्तिकको हो । बडादशैँको विदा मनाएर सोलुको अड्डाका आफ्ना हाकिमले अह्राएको विशेष कामको सिलसिलामा म आफ्नो घरगाउँ रूपनगरचोकबाट विहानको अप्सरा ट्राभल्समा चढेर विराटनगर जाँदै थिएँ । गाडीमा यात्रुको चाप थियो । अनाथ बालबालिकाझैँ सडकको लम्पसार जिउभरी घाउ नै घाउ थिए । गरीब किसान – मजदुरका चर्चरी फुटेका कुर्कुचाझैँ महेन्द्र राजमार्गको छाती पनि छियाछिया भएको थियो । सडक-बाटाका खाल्डाखुल्डीहरूमा गाडीहरू धर्मराउँदै हिँड्थे । बाटो असुरक्षित र अस्तव्यस्त नै थियो । यात्रीहरू बाटो लागेपछि बाटोभरी बस वा सानागाडीमा चण्डीपाठ गर्दै बस्नु पर्दथ्यो भने घरबाट विदा गर्नेले हनुमानचालिसा पाठ गरेर यात्राको शुभकामना गर्नु पर्दथ्यो ।

भान्टाबारीमा चियाखाजा ख्वाएर धाइफल ठोकेको बसले हामीलाई एकघण्टाभित्रै इनरुवा पुर्‍याएर लामो सास फेरेको थियो । यत्तिकैमा यात्रु नाम गरेका केही निर्धानिमुखा मनुवाहरू कोचकाच पारेर अपानवायु छोड्दै बस सकिनसकी हिँडेजस्तो गरिरहेको थियो । झुम्का पुगेपछि गाडीले खुइय्य गर्‍यो भने ड्राइभरले मडुवासुर्ती माड्न थाल्यो । गाडीमा घरी स्याल र घरी बिरालोको डबल रोल गरिरहेको खलासी फेरि करायो – “ए बा, ए दाइ , ए दिदी ! लु है सीट खालि छ, एक्सप्रेस विराटनगर जाने हो, ससुरालीमा मासुभात खाने हो ।”

यात्रु नाम गरेका केही बाध्यताहरू हस्याङ्फस्याङ गर्दै हाम्रै गाडीमा कोचमकोच गर्दै चढिरहेका थिए । म बसको पुछारको लामो सिटको बीच्चमा अर्थात् प्यासेजको केन्द्रमा बसेको थिएँ । मेरै छेउको एउटा बूढो मान्छे ओर्लिसकेकोले सिट खालि थियो ।

केही वर्षदेखि बिहे गर्न केटी हेर्दै, छोड्दै गएर बूढोकुमार भैसकेको मेरो कुमारमन कुनै रुपसी तरुनीको आश गरेर कल्पिँदै थियो – “मेरै छेउमा कुनै राम्री तरुनी आएर बसे गफ लडाउँदै टाइमपास गर्न त हुन्थ्यो नि ! कतै लभम्यारेज नै गर्न जुरेर यता भत्कोस् मात्रै लागेको हो कि त ।”

तँ चिता म पुर्‍याइदिन्छु भन्छन् रे भगवानले । बसको ढोकाबाट टुपुक्क परेकी राम्री तरुनी फ्याट्ट छिरिन् र गाजलु आँखाले खालि सिटको खोजी गर्न लागिन् । मैले एक्कासी देउता भाकेँ र नकचरो पाराले ती केटीलाई यता आएर बस्न इशारा गरेँ । मदारीले नचाएको बाँदरर्झैँ ती केटी लुरुलुरु मनेर आइन् र कर्के आँखाले ठुङ मारेर मलाई थ्याङ्क्यु भन्दै सँगै बसिन् । आफैँसँग टाँसिएर बसेकी रुपसीलाई लजालु आँखा र मुस्कानले सुम्सुम्याउँदै थिएँ म ।

” हजुर कहाँदेखी आउनु भएको नि ?”- आफ्नै गाउँको चुरेवनको मैना बोलेजस्तै लाग्यो मलाई ।

“म रूपनगरबाट चढेको । अफिसको कामले विराटनगर जाँदैछु । अनि, तपाईं नि ?” – म मुस्काएँ

“म मामाघर – इनरुवा आएकी थिएँ, अहिले काकाको घर कन्चनबारी हिँडेकी ।” – उनले भुइँमा लत्रिएको आफ्नो कुर्थाको सल सम्हालिन् । उनको सलको फुर्कोले मेरो आँखामा झ्याप्प लाग्यो । उनले सरी ! भन्दै मेरो आँखामा फुकिदिइन् । तरुनी श्वासको वासनाले मेरो मनै हरर भयो ।

“ओहो !! कति ख्याल गर्ने गम्भीर स्वभावकी केटी रहिछन् यी ।”- मैले मनमनै मुक्तकण्ठले उनको प्रशंसा गरेँ ।

“ए !! कहाँ ? कुन अफिसमा जागिर हो नि हजुरको ?”- उनले गफको तान लाउने सुर गरिन् ।

“म सोलुखुम्बूको शिक्षा कार्यालयमा ।” – किस्ता-किस्तामा जवाफ दिएर म यिनीलाई व्यस्त बनाउन चाहन्थेँ ।

“ए !! त्यहाँ त मेरो भिनाजु पनि हुनुहुन्छ नि !”- उनी हल्का उत्तेजित भइन् ।
“ए !! हो र !! भिनाजुको नाम भन्नुस् त !”- म अझै टाँस्सिएँ ।
“विष्णु खत्री ।” – उनी पनि मसँग लिसो लागिरहिन् ।
“ए !!!! विष्णुदाइ तपाइँको साक्ख्ये भिनाजु ? – उदेक, उल्का र अचम्म मान्ने पालो मेरो थियो ।
“हो नि ।”- उनको मुखमुद्रामा लाली पोतिएर आयो ।
“उसो भए आज हाम्रा देउताको प्लान रहेछ है, सोल्टा- सोल्टीको भेट गराउने ।” – जिस्किने बाटोको ट्य्राक खोलेँ मैले ।
“उम् ! म त भिनाजुको भाइलाई भिनाजु नै भन्छु नि है ?” – उनले नजानिदो गरी कुइनो ठोकाइन् र मसक्क मस्किइन् ।

एकछिन अघि मैले श्रीगणेशजीलाई भाकेको पेश्की लड्डुमाथि फेरि लोकल गाईको शुद्ध दूधको एक डबको खीर पनि थपेँ । मलाई देउदेउताको भाकलले राम्रै काम गरेको मीठो अनुभव थियो । म भएभरका देवीदेउता सम्झेर बाटोमा यसरी अनायास भेटिएकी मस्तकी सोल्टिनीलाई पोल्ट्याउने काममा सफलता पाउन देउताको रुचि अनुसारका भाकल गरिरहेको थिएँ ।
“हैन, भिनाजु त निदाउनु भो कि क्याहो ? बोल्नै छोड्नु भो त !”- उनको कटाक्षपूर्ण मुस्कानले मलाई औडाहा भो ।

“हैन नि ! विराटनगरमा गर्ने काम सम्झिरहेको थिएँ ।”- मैले लाज बचाउन ढाँटेँ ।
“अनि, भिनाजुको शुभनाम ?” – उनले कुराको पोयो थपिन् ।
“म मदन केसी । तपाइँको नि ?” – मैले उनको नशालु आँखामा एक फन्को लाएँ ।
“म मुना थापा “- उनी मुसुक्क हाँसिन् ।
“ए ! साँच्चै ?”- मेरो कुमार मन जुरुक्कै उठेर अँगालो हालुँ कि जस्तो गर्‍यो ।
“उत्ताउलो मोरो !”- मेरो अन्तर्मनले हप्कायो ।

“आज मदन र मुनाको अनायासै भेट हुने दिन रहेछ है ?!”- उनले आफ्नो पुखलो बानी देखाइन् ।
“तबैता !!”- मसक्क मस्किएर सही थापेँ मैले ।
“उम् !!! आज पूर्वजन्मको प्रेमीसँग भेट हुन लेख्यारहेछ है !”- सिलौटोमा लसुन- अदुवा क्याच्च पारेझैँ उनले आफ्नो तल्लो ओठ क्याच्च पारिन् ।

उनले क्याच्च पारेको तरुनी ओठ देखेपछि मलाई औडाहा भो । त्यो औडाहा शमन गर्न मैले ध्यान अन्यत्र मोडेँ । गाडी लखरलखर गर्दै इँटहरी पुगेर विराटनगरतिर मोडिइसकेको रहेछ । हाम्रा छेउमा बसेका मान्छे पनि कुन सड्को साटिएर अर्कै आएछन् । थाहापत्तो केही पाइएन । यो बाटेमायाले गर्नु गरेछ । अल्लि लाज पनि लाग्यो । मैले उनलाई पुलुक्क हेरेँ । यही साइतमा उनले पनि मलाई टुलुक्क हेरिन् । नुवाकोटको बट्टारमा गोरुजुधाईजस्तै हाम्रा आँखा एकछिन जुधिरहे । हामीले मज्जा मानिरह्यौँ ।

ट्राफिकमामाको आँखा छलेर ड्राइभर र खलासी भान्जाले केही फट्याइँ गरेको फेला परेको र संजोग भनौँ, गाडीको पछाडिको दुइटै पाङ्ग्रो पन्चर भएकोले पाङ्ग्रो र भान्जाहरूको मर्मत कार्य आआफ्ना मिस्त्रीबाट हुँदै गरेकोले यही मौकामा सहयात्री सोल्टिनीलाई संकेत गरिकन आफ्नो दाहिने हातको कान्छी औँलो देखाएर म गाडीबाट ओर्लेँ । यसो खुलामा कुनाकानी हेरेर लघुशंका निवारण गरिसकेपछि ताजा पत्र-पत्रिका किन्ने सुरले अल्लिपर्तिरको पत्रिका पसल पुगेर कान्तिपुर दैनिक र दृष्टि साप्ताहिक किनेर गाडीमा फर्किएँ । सँगैकी सोल्टिनीलाई कान्तिपुर दिएँ र आफूलेचाहिँ दृष्टिका पानामा दृष्टि दिन थालेँ ।

“ए ! सानो काम भनेर झर्नु भएकोथ्यो, ठूलै कुरा पो बोकेर आउनु भएछ त !”- सोल्टिनीको शाकाहारी कटाक्ष मिठ्ठो लाग्यो मलाई ।
“म त खानेकुराकोभन्दा पढ्ने-लेख्ने कुराको सौखिन छु नि ।”- पुलुक्क मुख हेरेँ सालीको ।
“मैले पत्याएँ त ।” अघिसम्मको मुस्काने मुहारमा एक्कासी उगाल आएजस्तो लाग्यो मलाई ।

यत्तिन्जेल ट्राफिकमामाले कण्टेक्टर भान्जाको मिस्त्रीले गाडीको मर्मत गरिवरी पोइको रीसले राँकिएर माइत हिँडेकी आइमाईजस्तै गाडीले धाइफल ठोकेर ट्ङ्कीसिनुवारी पुगिसकिएछ ।

“ए !! यत्तिकी पुख्खली सालीसँग छुट्टिने बेला भैसकेछ पो लौ ! फेरि गाडी बिग्रेर अझै ढिलो भए पनि हुन्थ्यो ता नि !”- मेरो मनले कल्प्यो । मैले पुलुक्क सालीको मुखमा हेरेँ । आफ्नो हातको पत्रिकामाभन्दा मेरो हातको पत्रिकामा तिनको ध्यान मोडिएको देखेर चकित भएँ म ।

“तपाईं संगठनको हो ? “- उनले एक्कासी वचनको वारुद पड्काइन् ।
“किन त्यसरी सोधेको नि ? ” – सालीको नाडी छामेँ मैले ।
“त्यस्तै लागेर ।” – उनले झ्यालबाहिर हेर्दै भनिन् ।
“ठ्याक्कै पो मिलाउनु भो त !” मैले फेरि जिस्केर भनेँ ।
“ज्योतिषीकी छोरी हुँ नि त ।” – उनी फेरि झ्यालतिरै फर्किन् ।
उनी जिस्केको र नजिस्केको भेउ पाउन हम्मे पर्‍यो मलाई ।

अघिसम्म गुराँशझैँ फुलेको उनको मुहार तुरुन्तै ओइलाएको सागझैँ देखियो ।
“कन्चनबारी झर्ने कोही छ ?” खलासी करायो ।
“म छु ।”- साली सिटबाट चुपचाप उठिन् र मलाई ढेप्दै ढोकामा पुगेर गाडी रोक्न लगाइन् र ओर्लिन्, सिटी चढिन् र ओझेल परिन् ।
म झ्यालबाट बाहिर हेरेको हेरै भएँ ।

०००
मनाेहर वस्ती, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x