चिरञ्जीवी दाहालद्रव्यपिशाच
सबैभन्दा आश्चर्यको कुरा के भने, यी द्रव्यपिशाचहरू रुचुन्जेल रुपियाँ चुसेर पनि बाह्रैमास खाने बेला डोकाले छोपेका जस्तै भोका देखिन्छन् । मन भुसुनाको जस्तो जिउ हात्तीको जस्तो देखिने द्रव्यपिशाचहरू सँधैँ असन्तोकी हुन्छन् ।

चिरञ्जीवी दाहाल :
एक्कासि हनहनी ज्वरो आउँथ्यो, खाना रुच्दैन थियो रुचिहाले पनि पच्दैन थियो । धमिलो आकृति देखिए पनि अनुहारमा विकृति भएको बडेमानको जन्तुले शरीरका तन्तुहरू हल्लिने गरी घेरा हालेर डेरा जमाएछि मनभित्र डरले घर गर्थ्यो र ओठमुख टपक्कै सुक्थ्यो सुल उठे झै पेट दुख्थ्यो । त्यसपछि शरीरमा रगतको मात्रा स्वाट्टै घट्थ्यो र फ्याट्टै जिउ पँहेलो हुन थाल्थ्यो ।
जब गाउँका धामीझाँक्रीलाई देखायो तिनले खोल्सीको मरुवा पिशाच लागेको भन्दै शिरदेखि पाउसम्म वडेमानको कुचोले झारीदिन्थे र पँहेला अक्षताले झ्यामका झ्याम अनुहारमा डाम पारिदिन्थे अनि पिशाच कुलेलम ठोक्थ्यो र च्वाट्टै निको हुन्थ्यो । तिनै धामीझाँक्रीको भनाइ मान्ने हो भने यी पिशाचहरू खोल्सीको अँधेरो, पानीको पँधेरो र भिर पाखा र हरिया माखा घुम्ने ठाउँतिर बस्ने गर्थे । सबै कुरा परिवर्तन हुँदै गयो । पिशाचको मुहार मात्र बदलिएन, रूपरङ, जिउडाल, लवाइखुवाइ र सारा स्वरूप नै बदलियो । पिशाचहरू उहिलेका जस्ता फिटिक्कै रहेनन् । सायद पिशाचहरू खोल्सीबाट कौसीतिर बसाइँ सरे, अँध्यारो गाउँबाट उज्यालो ठाउँमा झरे । डहरबाट महलमा पुगे, खरबारीको बारबाट सहरको दरवारमा पुगे । रगत चुस्ने पिशाचले रुपैयाँ चुस्न थाले ।
उबेला पिशाच भन्नासाथ हाम्रो दिमागमा झम्के साँझतिर ठुलाठुला दाँत भएका जिङ्ग्रिङ्ग दाह्री कपाल भएका र कालो लुगा लगाएका डरलाग्दा आकृति मस्तिष्कमा आउँथ्यो । तर आज म तपाईंलाई अचानक परिवर्तन भएका तिनै पिशाचको कथा सुनाउँदैछु, ती पिशाचहरू साँझपख होइन, दिनदहाडै घुमेर मान्छेका मुख थुनेर दिनसम्म दु:ख दिने गर्छन् । यिनको आकृतिसँगै पोसाक पनि बदलियो । आजभोलि पिशाचहरू राजसी पोसाकमा ठाँटिने गरेका छन् । तिनले उहिले उपियाँले जस्तै बिरामीको रगत होइन, मजाले रुपियाँ चुस्छन् र निरोगीलाई द्रव्यरोगी बनाइदिन्छन् । पिशाचहरूले यसरी रुपियाँ चुस्छन् कि बाउआमालाई दाँत गाडेर चुस्दा पेटमा भएका तिनका सन्तान पनि द्रव्यरोगी बनेर जन्मन्छन् र जन्मसँगै तिनका थाप्लामा समेत द्रव्यरोगको स्पष्ट निशानी पाइन्छ ।
पिशाचहरूले तासको खालबाट व्यापारको सेयर बजारसम्म, ठेला धकेल्ने देखि तवेलामा काम गर्ने मजदुरसम्म र झोला बोक्ने यात्रुदेखि बेलुनमा लोलाको कारोबार गर्ने मेलाका जात्रु सम्मलाई छोड्दैनन् । “भाँङ पेल धतुरो पेल ले मेरो तेल” भन्ने उखान जस्तै द्रव्यपिशाचहरूको धन्दा, रुपैयाँ चुस्ने मात्र हुन्छ । रुपियाँ चुस्न पाए यिनले आफ्नै आमा, मामा र सानीमासँग पनि पैसा असुल गर्छन् । भन्छन्, मान्छे पो नातेदार पैसा नातेदार होइन क्यारे ! कलाकारदेखि साहित्यकारसम्म, अग्ला पुरेत देखि कुरेतका विद्यार्थीसम्म सबैतिर गन्ध सुँघ्दै हिँड्छन् । केही सालअघिसम्म पँधेराको खोल्सीमा बस्ने तिनै पिशाचहरू हुन् अचेलका द्रव्यपिशाच । जता पैसाको बास्ना चल्छ, जुम्रा जस्तै त्यतै सल्किन्छन् र रुपियाँ छउन्जेल उतै पल्किन्छन् ।
यसरी द्रव्यपिशाचले कतै र कसैसँग केही दाम छ भन्ने भेउ पाएपछि अरू काम छोडेर पनि तिनैका पछि लाग्छन् र तिनलाई सजिलै आर्थिक मुक्का प्रहार गरेर भुक्का बनाइदिन्छन् । बरू कालले छोड्ला तर द्रव्यपिशाचले छोड्दैनन् । लाग्छ, द्रव्यपिशाचहरूले जादु पनि जानेका हुन्छन् । होइन भने ढुकुटी भित्र राखेको द्रव्य, विना साँचो खुरुक्क झिक्न सक्ने खुबी यिनीहरूमा नहुनु पर्ने थियो ।
द्रव्यपिशाचहरूले जन्मिएदेखि बाल्यावस्थासम्म पैसा चिनेका थिएनन् । तिनीहरू पनि अरू सामान्य बच्चाजस्तै ढुङ्गा कुँदेर गोलो सिक्का जस्तै बनाउँथे र बडेमानको लक्कु बनाएर आफू धनी भएको नाटक गर्थे, चङ्गा उडाउँथे, गुच्चा खेल्दै हिँड्थे र यदाकदा मोजाको भकुण्डो बनाएर फुटबल खेल्थे । अनि सस्तो पिपलगेडी मिठाइ चेपेर मुख मिठ्याउँदै मुस्कुराइ रहेका भेटिन्थे । जति ठुलो हुँदै गए, तिनले जीवनको परिभाषा बदल्दै जानथाले । पायल चप्पल लगाउने पिशाचहरू ब्राण्डेड जुत्तामा देखिन थाले । सबै बदल्ने क्रममा यिनले जीवनको परिभाषा पनि बदलेका छन् । “जीवन भनेको बैंक खाताको आँकडाले नापिने चीज हो ।” यसपछि तिनको नाम परिवर्तन भयो र उनीहरू औँसीमा देखिने मरुवा पिशाचबाट रातारात कौसीमा देखिने द्रव्यपिशाच बने ।
द्रव्यपिशाचहरूको लक्षण एकदमै अनौठो हुन्छ । तिनले कसैलाइ भेटाइहाले भने पहिलो प्रश्न यही सोध्छन्, “कति कमायौ ? आफ्नो त डामाडोल छ ।” कसैसँग प्रेम प्रस्ताव राख्दा पनि यी द्रव्यपिशाचहरूले सोध्ने गर्छन्, “आम्दानीको श्रोत के हो ?” जब दह्रो आम्दानीको श्रोत भएको निधो हुन्छ यिनले तब मात्र ‘आई लभ यु’ भन्छन् रे ।
जब कसैले विदेश बस्छु, पेन्सन बुझ्छु, व्यापार गर्छु, जागिर खाँदैछु अथवा खेतीपाती दह्रो छ भन्छन्, अब द्रव्य पिशाचले छोडेनन् भन्ने बुझे हुन्छ । यिनले पक्डिए पछि धुनलागेको कपडा निचोरे जस्तै निचोर्छन् र उखुको लाँक्रो जसरी चिथोर्छन् अनि बिना रसको छोक्रा जस्तै बनाएर मिल्काइदिन्छन् । यिनले निचोरेका बिरामीको लक्षण भने उहिले लाग्ने मरुवा पिशाचकै आक्रमणमा जस्तो देखिन्छ । शरीर केरा पाके जस्तै पँहेलो, साथमा १०४ डिग्री ज्वरो र फनफनी रिङटा लागिरहने ।
सबैभन्दा आश्चर्यको कुरा के भने, यी द्रव्यपिशाचहरू रुचुन्जेल रुपियाँ चुसेर पनि बाह्रैमास खाने बेला डोकाले छोपेका जस्तै भोका देखिन्छन् । मन भुसुनाको जस्तो जिउ हात्तीको जस्तो देखिने द्रव्यपिशाचहरू सँधैँ असन्तोकी हुन्छन् । पेट भरिएर पनि मन नभर्न नसक्ने द्रव्यपिशाचहरूलाई चुसेको रुपियाँले कहिले पनि शान्ति दिँदैन । बरु उल्टै तिनलाई अर्को मानिससँग तुलना गरेर जलन गर्ने खुराक मिल्छ । यीनले राती निन्द्रा नलाग्ने रोग पाल्छन्, जुन रोग हो– “अरूभन्दा धनी नहुनुको पीडा ।” कहिलेकाहीँ लाग्छ, यी द्रव्यपिशाचहरू कहिले मान्छे बन्लान् ? यिनलाई सम्झाउने कोसिस गर्ने हो भने तिनले जवाफ दिन्छन्– “आजकल भावना बेच्ने बजार छैन, पैसा छ भने प्रेम पनि खरिद गर्न सकिन्छ ।” पैसा झर्ने भए पाउपर्न पनि पछि नपर्ने द्रव्य पिशाचहरू पैसा नझर्ने देखिए मुटुमा घाउ बनाएर मान्छेलाई सुताइ दिन्छन् ।
अचेल हाम्रो समाजमा यस्ता द्रव्यपिशाचहरू छ्यापछ्याप्ती भेटिन्छन् । अनुहार र वाचनकलामा बुद्ध देखिने द्रव्यपिशाचहरू, भित्र भित्र अङ्गुलीमाल स्वभावका हुन्छन् । अधिकांश समय मोबाइलमा अनलाइन बैंकिङ हिसाब हेरिरहने पिशाचहरू, फेसबुके म्यासेन्जरको घण्टी बज्दा पनि बैङ्क खातामा पैसा थपिएको सम्झँदै मोबाइलको म्यासेजमा आँखा लगाइरहेका हुन्छन् ।
यिनीहरू झ्वाट्ट हेर्दा त मानिसजस्ता लागे पनि, भित्र भित्र शरीरवाला द्रव्यपिशाच नै हुन्छन् । जब यी मरुवा पिशाचबाट द्रव्यपिशाच बने भयङ्कर शक्तिशाली बने । अचेल यिनलाई धामी झाँक्रीको पँहेला अक्षेताले छुँदैन । कुचोले जति झम्काए पनि यिनले छोड्दैनन् ।
आशा गरौं, एक दिन यी द्रव्यपिशाचहरूलाई पैसाको धुवाँले होइन, राष्ट्रियता, माया र मानवताको उज्यालोले तर्साउने दिन पनि आउनेछ । अनि बल्ल त्यस दिन यिनीहरूलाई चेत पस्ने छ र लाग्ने छ, थुक्क किन द्रव्यपिशाच बनिएछ !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































