युगल बसेलमैले पुरस्कार किन पाएँ ?
मेरो बकपत्रमा भएका तथ्यहरू र तर्कहरू अन्य प्रत्याशीको भन्दा वजनदार भएर नै निर्णायकहरू मलाई पुरस्कृत गर्ने टुङ्गोमा पुगेका हुन् भन्ने पाठ म मेरा प्रतिवादीलाई पढाउन चाहन्छु।

युगल बसेल
कत्रो जोड जुलुम र महाभारत पछि बल्ल तल्ल नाथे एउटा मामुली पुरस्कार के लमर्काएथेँ, के निहुँ पाऊँ कनिका बुकाऊँझैँ गरेर मान्छेहरूले मलाई बधाई ज्ञापन गर्ने , खुसियाली मनाउन मबाट फिला-सुराको माग गर्ने बान्छनीय कार्यको साटो चियापसलदेखि दारुभट्टीसम्म र बाटाघाटा देखि हाटबजारसम्म नाना थरी अवाञ्छित कुराहरु काट्न थालेका छन् भन्ने सुईँको मैले पाएको छु । समुद्रको भन्दा खोलाको स्वर ठूलो भनेझैँ गरेर पुरस्कार पाउनेले भन्दा भन्दा पुरस्कार नपाउनेले पुरस्कारका कुरा जिब्राबाट उछाल्नु एक गम्भीर असामाजिक कार्य हो र यसले सामाजिक सद्भावमा खलल पुर्याउँछ भन्ने मेरो दाबी छ। तसर्थ तीन तोलाको जिब्रो फड्कार्नुभन्दा एक धार्नीको टाउको हल्लाउनु बेस हो भन्ने सुझाव म मेरा विपक्षीलाई दिन चाहन्छु।
सामाजिक सद्भाव खल्बलिने यस नाजुक हालतलाई दृष्टिगत गरेर सामाजिक सुव्यवस्थालाई थप खलबलिन नदिन मैले आफू पुरस्कृत हुनुको कारण स्पष्ट पार्नु एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने कुरालाई आत्मसात् गरी आज म यो श्वेतपत्र जारी गर्दैछु। यसबाट सबै व्यहोरा जाहेर हुनेछ र कुराका छुरा चलाउनेहरूको मुखमा पुराका पुरा भोटे ताल्चा लाग्नेछ भन्ने मलाई यकिन छ, लेकिन हुने के हो त्यो चाहिँ भोलिकै गर्भमा छ ।
मैले पुरस्कार पाउनुको पहिलो कारण त मेरो पुरस्कारप्रतिको भोक हो । मेरो भोकलाई रोक लगाउनबाट जोगाउन धेरै थोक गरियो र बल्ल यो कामयाबी मिलेको हो । जेजस्ता हत्कण्डा अपनाएर भए पनि यसपालि मेरो नाममा इनाम पारेरै छोड्छु भन्ने मेरो अजेय धेय थियो र त्यो धेय अनुसन्धेय भने थिएन भन्ने कुरा म आफ्ना कुरौटे विरोधीहरूलाई यस खुलासाका लवजहरू समेटिएको श्वेतपत्रबाट छर्लङ्ग पार्न चाहन्छु ।
पुरस्कारको भोक नभएकाहरूले अरुले भोक मेटाएको हेर्नुको विकल्प छैन भन्ने कुरा पनि म खुलस्त पार्न चाहन्छु । भोक नभएका जो पायो उसैले पुरस्कृत हुन कदापी सम्भव छैन भन्ने कुरा अज्ञात अनुसन्धाताको अनुसन्धानबाट समेत ज्ञात हुन आएको कुरा पनि म यहाँ नछुटाउन चाहन्छु।
मान्छेहरू आफू पुरस्कृत नभएको झोँकमा अनर्गल कुराहरु गर्दै हिँड्छन् ,तीतो पोख्दै हिँड्छन् तर पुरस्कार पाउनका लागि जुन त्याग र तपस्याको आवश्यक पर्छ त्यसका लागि कहिल्यै तयार हुन्नन् । पुरस्कार पाउनको लागि सबैभन्दा बढी समयको त्याग गर्नुपर्छ । सरोकारवाला वा भनौँ पुरस्कार निर्धारण गर्नमा अहम् भूमिका निर्बाह गर्नेहरूका दैला दैलामा गएर खिसिक्क हाँस्दै हात मलेर समय त्यागको निम्ति कति धामा गर्नुपर्छ भन्ने कुरा त्यागी तपस्वीलाई मात्र थाहा हुन्छ । आफू नगरी नमरी स्वर्ग देखिन्न भनेजस्तै त्याग तपस्याको अभ्यास नगरी यसको मर्म राम्ररी बुझ्न सकिन्न । पुरस्कार भिराउनेहरूले कसको निन्दा र कसको तारिफ मन पराउँछन् भन्ने यकिन गरेर साँझ बिहान कसैको जयगान र निम्ती बदनाम गान गर्ने कलामा म कुनै माइको लाल भन्दा कम छैन। समयको त्यागले नपुगे लाज सरम त्याग गर्न पनि म माहिर नै छु । त्यसैले त म पुरस्कारको पुरापुरा हकदार हुन पुगेको हुँ ।
माथी उल्लेख गरेजति मात्रै त्याग गरेर पनि पुग्दैन, हातका मैला ठानिएका सुनका थैला त्याग गर्न पनि पुरस्कारका प्रत्याशीले दिलो ज्यानले तयार हुनुपर्छ । प्रदान गरिने पुरस्कार समितिको बैठक भत्ता, खाजा खर्च, भ्रमण खर्च र रसपान खर्च का लागि उल्लेखनीय प्रशासनिक खर्चा आवश्यक पर्नी भएकाले पवित्र त्याग गर्न पुरस्कारको दावेदार तयार हुनुपर्छ । ओछ्यान ला ओछ्यान ला भन्ने, दौरा नफुकाल्ने किरन्टोकीले पुरस्कारको अपेक्षा गर्नु किमार्थ जायज हुँदैन ।
अर्को गाँठी कुरा के हो भने सबै थरी पुरस्कारका लागि राज्यले भार थेग्न सक्दैन । न त मन्त्री वा आफ्नो क्षेत्रबाट निर्वाचित सांसद्ले नै आवस्यक सँख्यामा पुरस्कारको व्यवस्था गरिदिन सक्छ। त्यसैले यसका लागि लागत सहभागिता जुटाउनु जरुरी हुन्छ। जो पुरस्कृत नै हुने होइन उसबाट लागत सहभागिता खोज्नु सोझै नाजायज ठहर्छ । गोठालो पनि जाँदिनँ, बिगौती पनि खाँदिनँ भन्ने मनोदशा भएकाहरूको यहाँ बाहुल्य छ। तसर्थ सुराका ढाडमा काँडाले पनि कोतर्दैन भन्ने मूल मन्त्र जप्दै पुरस्कार वितरण समारोहलाई समेत मध्येनजर गरेर पुरस्कार थापुवा मनुवा उचित धनराशि त्याग गर्न तयार हुनुपर्छ ।
अर्कोतिर जुनसुकै योजना वा कामकारबाहीमा लागत सहभागिता भएन भने त्यसको प्रभावकारिता र दिगोपन निस्तेज हुन्छ भन्ने मान्यता सर्वत्र स्थापित भइसकेको छ । अर्काको पाऊँ त तीन माना खाउँ, आफ्नो खुवाऊँ त मै मरिजाउँ भन्ने मनोदशा राख्नेहरू लागत साझेदारिका लागि कदापी तयार नहुने भएकाले पुरस्कारमा उनिहरूको कहिल्यै हकदैया पुग्न सक्दैन ।
यहाँ मैले प्रष्ट पार्न खोजेको कुरा के हो भने लागत सहभागिताका लागि म शीर्षस्थानमा भएकाले नै मेरो पोल्टामा पुरस्कार परेको हो । यो महत्त्वपूर्ण कुरा म यहाँ लुकाउन चाहन्नँ । पुरस्कार पाउनका लागि गाड पस्ने तर तिघ्रा कमाउनेहरूले अरूले पाएको पुरस्कारको आरिस गर्नु बाहेक अन्य कुनै विकल्प छैन। अब म पुरस्कार पाउन योग्य कसरी भएँ भनेर मेरो खेदो खन्नेहरूका बकबकका परिप्रेक्ष्यमा गहन तर्क प्रस्तुत गर्न चाहन्छु ।
पहिलो त म वंशजका नाताले सच्चा नेपाली नागरिक हुँ र चाहिएको बखत जुनसुकै बेला सक्कलै नागरिकता प्रमाणपत्र पेस गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन । त्यसैले नेपाली माटोमा हुर्केका पुरस्कारहरू पाउन म अत्यन्त योग्य छु भन्ने मेरो जोडदार दलील छ ।
दोस्रो, नाबालिग भएका कारणले मैले पुरस्कार नपाउनु पर्ने पनि होइन, छैन । म बकाइदा उमेर पुगेको बालिग नागरिक हुँ। म मात्र होइन मेरी श्रीमतीसमेत बालिग नागरिक हुन् र उनीसित मेरो विवाह रितपूर्वक भएकाले म पुरस्कारको सोह्रै आना हकदार हुँ । यी तथ्यहरूलाई केलाएपछि म पुरस्कारका लागि योग्य थिइनँ भन्ने मेरा विपक्षीको फिरादमा दाबी पुग्ने अवस्था छैन भन्ने कुरा म यहाँ जाहेर गर्न चाहन्छु ।
तेस्रो, म कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा बात कसुर लागेर अहिलेसम्म दोषी प्रमाणित भएको अवस्था पनि छैन । ममाथि तमाम अभियोग लगाइएका त छन् तर ती अभियोगहरू प्रमाणित हुन भने बाँकी नै छ। मुलुकमा कसुर प्रमाणित भएकाले समेत बेलाबेलामा लाभको पद धारण गर्ने अभ्यास रहेको अवस्थामा कसुर साबित नै नभएको परिप्रेक्ष्यमा पुरस्कारमा मेरो सयका सय दाबी पुग्छ भन्ने मेरो दलिल पनि मेरा विपक्षीको गिदीमा घुस्नु जरुरी छ ।
अर्को कुरा मैले के योगदान गरेँ र पुरस्कृत भएँ भनेर औँलो ठड्याउने मेरा प्रतिवादीलाई म बोल बोल मछडी मुखभरि पानी भन्ने अवस्थामा पुर्याँउन चाहन्छु । मैले मेरो पैत्रिक सम्पत्तिमा मनग्गे योग पनि गरेको छु र बेलाबेलामा दान पनि गरेको छु। मैले योगदान गरिनँ भन्नेहरूलाई म विभिन्न प्रश्नहरू तेर्स्याउन चाहन्छु । शक्तिवालाको भक्ति गर्न म पछाडि परेँ कि ? शासक वा प्रशासकका घरमा कुराउनीका कोर्का (पोका ) र घिउका हर्पे, भुत्ले साग (भाले ) वा घोर्ले खसी पुर्याउन म हच्केँ कि ? नेताका चुनावी खर्चमा साझेदारी गर्न तर्केँ कि ? जो जित्छ उही मेरो भाले भन्दै हिँड्न खुट्टा कमाएँ कि ? जुनसुकै दल सत्तासीन भए पनि त्यसको खाँटी कार्यकर्ता मै हुँ भन्दै घाँटी जोड्नका लागि दाबी गर्न सकिनँ कि ? आवश्यक परेको ठाउँमा सम्बन्धितका विरुदावली गाइनँ कि ? मैले योगदान गरेका घोर्ले खसी पाउनेले घरको खसी साग बराबर भन्दै त्यसको अवमूल्यन गर्दा परेको गहिरो चोट पचाइनँ कि ? के मात्रै योगदान गरिन मैले ?
मेरा विपक्षीले मैले पाएको पुरस्कारको डाहा गर्दै मलाई सत्तोसराप गरेर धारे हात लगाउँदै ममाथि विष वमन गरे भनेर म निराश भने भएको छैन किनकि पिठ पछाडि त कमाराले पनि खसमलाई सराप्छ। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । दुश्मनहरू जल्दै गरुन् सराप्नेले सराप्दै गरुन् मलाई विस्मात छैन । झिँगाको सरापले डिङ्गा मर्ने पनि होइन । यो गाँठी कुरा पनि यस श्वेतपत्रमा म प्रष्ट पार्न चाहन्छु। कुकुर भुके हजार, हात्ती लम्के बजार भन्ने पवित्र सुक्तिलाई स्मरण गर्दै म यस खालका पुरस्कार थाप्दै जान हच्किनेवाला छैन भन्ने मेरा प्रिय आलोचकहरूले राम्ररी बुझून् ।
अर्को दमदार कुरा के छ भने मैले पाएको यो पुरस्कार मेरो मन्जुरीबेगर जबर्जस्ती भिराइएको पनि होइन। कुनै करकाप वा दबाबमा नपरि पुरस्कार स्वीकार गरेको हुँ, झुट्टा ठहरे सहुँला ,बुझाउँला भनेर टाउकैको सहीछाप गर्नुपर्छ भनेर कसैले भन्छ भने पनि म त्यसका लागि तयार छु।
ओखलमा हात हाल्नेले मुसलको घाहा छल्नुपर्छ भन्ने कुरा मैले राम्ररी मनन गरेरै पुरस्कार जिप्टाएको हुँ ।जस्तासुकै वचनवाणका घाहा छल्नका लागि छल प्रपञ्चको जोहो गर्न परेमा त्यसका लागि पनि म हरहमेसा तयार छु भन्न म कत्ति पनि धक मान्दिनँ ।
यो नेपाली ठिटो,
खान्छ मीठो मीठो,
पिर नमानी धक नमानी
हिँड्छ छिटो छिटो
भन्ने पङ्क्ति बरोबर फलाक्ने जवाँ मर्द पो हुँ त, मामुली हुँ र गाँठे !
पुरस्कार पाउनको लागि गर्नुपर्ने उद्योग पनि मैले सबै पूरा गरेको छु। मलाई पुरस्कारको खाँचो किन छ भन्ने विषयका मौखिक कार्यपत्र समेत मैले ठाउँ ठाउँमा प्रस्तुत गरिसकेको छु। मेरो बकपत्रमा भएका तथ्यहरू र तर्कहरू अन्य प्रत्याशीको भन्दा वजनदार भएर नै निर्णायकहरू मलाई पुरस्कृत गर्ने टुङ्गोमा पुगेका हुन् भन्ने पाठ म मेरा प्रतिवादीलाई पढाउन चाहन्छु।
मैले पुरस्कार किन पाएँ भन्ने कुराको पुष्टि यस लिखतमा चित्तबुझ्दो तरिकाले मेरो बर्कत बुताले भ्याएको हदसम्म प्रस्तुत गरेँ भन्ने मेरो ठम्याइ छ l विपक्षीले रिस इबी साध्दै मेरो कमजोर चरित्रलाई अझ कमजोर पार्ने चेष्टा गर्नु ऐन सवाल ब मोजिम ठिक होइन, छैन भन्ने मेरो दाबी छ। अब उपरान्त देशका विद्यमान कानुन, नियम, कार्यविधि र प्रचलित अभ्यासको अध्ययन नगरी ममाथि यस खालका इलजाम नलगाइयोस्, लगाइएमा त्यसको कडा प्रतिवाद हुनेछ भन्ने हिदायत मेरा प्रिय विपक्षीहरूलाई दिँदै फड्के किनाराका पुरस्कार निर्णायक साक्षीको रोहोबरमा यस श्वेतपत्रको बिट यहीँ मारेको छु । इति सम्बत् २०८१ साल फाल्गुन महिना रोज ६ मा शुभम् ।
०००
तुम्कोट, सन्धिखर्क -१, अर्घाखाँची
rajeshkhanal82@gmail.com
Subscribe
Login
0 Comments
Oldest







































