रामकृष्ण ढकालदोष
फालानो मुन्तरीले, ढिस्कानो नेताले अर्को दलको दलदलमा फसेको राम्रो गर्न कम्मर कसेको, ऊ उसलाई अनि त्यसलाई यस्तो भनेर उस्तोमा गनेर खोकेर कनेर दोष लगाउनुभयो ।

रामकृष्ण ढकाल :
बिगारे नि सारा काम आफूले, दोषजती लिइदिउन् अरूले… संसारकै महाबुद्धुमान जाति मनुवाको आम स्वभाव । यसो गरे यता बिग्रन्छ त्यसो गरे त्यता बिग्रन्छ । आफू परिन्छ साह्रै नै भेडो नाच्न नजान्ने आँगन चाहिँ टेडो हो कि होइन ? बिचरो आँगनले समेत आँ नगरिकनै दोष पायो । त्यसले आफैं बोल्न सक्तैन भुइँचालो नआए चल्न सक्तैन, बाढी पहिरो नआए गहिरोतिर ढल्न सक्तैन तै पनि दोष पाउँछ टेढो भनेर ।
आँगनै दोषी भएपछि त्यही आँगनमा सुकाएको बिस्कुनलाइ एक्काईस पल्ट कुटेर बाईस पल्ट बत्ताएर तेईस मिनेट पकाएर चौबिस मिनेट पनि नपुग्दै चपाएर गरेपछि चपाउनको लागि आँ गर्ने चाहिँ कस्तो होस् । अरूलाई एक औंलोले देखाउँदा आफूलाई तीन औंलाले देखाइ रहेका हुन्छन् भनेर त्यसै भनिएको होइन । बिचरो गिदी नभएकोले होला कहिले कसको कहिले कसको लिदी सोहोर्ने भए पनि हातले कुरो बुझ्छ ।
फेरि अर्कालाई दोष दिएर ठूलो भैँदैन । नत्र त केचना कलनले कालिगण्डकीको गल्छीले समुद्र ? पिँधले अर्कालाई दोष दिँदै आफू चाहिँ सगरमाथा भन्दा ठूलो हुन्थे होला । अर्कोतर्फ यो दोष भन्ने कुरो कति ज्याद्रो हुँदोरहेछ भने तिलस्मी चालले धोती लगौंटी फाल अनि हेर हाल बनाइदिँदो रहेछ । क्षेत्रफलको हिसाबले अज्ञानिक विकाशको हिसाबले हतियार र मतियारको हिसाबले, छलकपट, षड्यन्त्र तिगडमको हिसाबले आफूलाई एकदम मात्र होइन सयदम हजारदम महान मान्नेहरूको गोलीजस्तो बोली बेकार र अपकारको व्यवहार दुष्कर्मपृयता आदिलाई हेर्ने हो भने सानालाई दोषी देखाएर अनेक प्रकारको किचोमिचोथिचो गर्दा त्यै दोषले तिनको धोती लँगौटी त के छाला समेत उधारेको दुखी संसारले दन्त्यकथाको नग्न राजको शरीर एउटा बालकले देखेजत्तिकै देखेकै छ ।
तर यो दोषको पनि खेतिनै हुन्छकी क्याहो ? कोहि कसैको त कामै बिउबिनानै अरूमा दोष टन्नै उमारिहाल्छन् । कि त हामीले नबुझेको हो… आजकल जुम्राभन्दा भैंसी असाध्यै हलुका आविष्कार भएका छन् भनेर । तथाकथित ठूला भनाउँदाहरू देश हुन् कि शेष, खत्तम हुन् कि बेस सबैले आफूभन्दा साना भयो कि दोष लगाउनै पर्ने ? कुन देशको संविधानमा छ यो ? जिल्ल छक्क ट्वाल्ल पकरल्ल परिन्छ बा कुरो सुन्दा पनि ।
कहिले र समाचारहरू पनि दोषाचार नै भएर बज्छन् । फालानो मुन्तरीले, ढिस्कानो नेताले अर्को दलको दलदलमा फसेको राम्रो गर्न कम्मर कसेको, ऊ उसलाई अनि त्यसलाई यस्तो भनेर उस्तोमा गनेर खोकेर कनेर दोष लगाउनुभयो । यो दोष भन्ने कुरो पनि हात, लिन नमिल्ने तर दिन चैं मिल्ने कुन अज्ञानिकले आविष्कार गरेको होला कुन्नी ? अहिलेको जमानामा सहि र सत्य देवहरूको कुरो गर्यो भने अन्धविश्वासी भन्दा हामीलाई नै दोषको भारी बोकाउँछन् ।
त्यसैले कोरोना ब्याक्टेरिया भाइरस पारामेसियम जस्ता पाङ न पुच्छरका कथा बनाउनेहरूको उल्लेख गरेको । नत्र त ऋषिमुनिका सन्तानहरू बाँदरका छाउराहरूभम्दा कति उच्च छन् छन् । बिचरी बाँदर्नी ब्याइ भने पश्चिमाका लागि मान्छे पाइदिन्छे अरे । हाम्रोतिर त हनुमान पनि पाउँदिन । सोझै आफूले आफ्नै व्यवहार हेरेर म बाँदर, हामी बाँदर भन्नुभन्दा उतापटिबाट घुमाएर आफूले आफैंलाई दोष दिएको पनि हामीले नबुझेको भने हुन सक्छ !!
०००
२०८२ वैशाख १८
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































