चिरञ्जीवी दाहालकि बिस्कुट दिनु पर्छ कि भकुर्नुपर्छ
भुस्याहा कुकुरहरूलाई कि दुईचार चक्की बिस्कुट दिएर भुलाउनु पर्छ कि त बलियो लाठीले भकुर्नुपर्छ । यसपछि कुकुरले झम्टियो भने मलाई भन्नु , कुकुरहरूलाई कसरी तह लगाउने हो, रोजाइ तिम्रो ।

चिरञ्जीवी दाहाल :
मैले यो रहस्य बुझ्न अनेक प्रयास गरेँ तर अहँ , जति प्रयास गरे पनि बुझ्न सकेको भए मरीजाम्, फिटिक्कै बुझेको छैन । के कुरा होला भन्नु होला , कुरो आफ्नै हो । अचेल म जब ठाडो गल्लीबाट बजारतिर अघि बढिरहेको हुन्छु, गल्लीको कुनामा निदाइरहेका केही कुकुरहरूले मलाई अनौठो नजरले हेर्ने गर्छन् । मानौँ म कुनै भुत, प्रेत, पिशाच या मसान हुँ । अन्यथा म कुनै ग्रहबाट भर्खर आइपुगेको एलिएन हुँ ! होइन भने यिनीहरूले केही महिना अघिसम्म म बाटोमा हिँड्दा यसरी भुक्दैन थिए । यदि तिनीहरूले यस्तो नसोचेको भए मेरो अनुहार हेर्न लायक छैन र तिनीहरू मसँग तर्सिएर भुक्ने र झम्टने गरेको हुनुपर्छ ।
खैर यसलाई सामान्य मानिदउँला केही थिएन । अनौठो कुरा अचेल म यसरी बाटोमा हिँड्दा यिनले भुक्न त भुके भुके मलाई देखेर गल्ली छेउका रुखका हाँगामा बस्ने कौवा र डाँग्रेहरूले समेत ठुँग्ने प्रयास गर्न थालेका छन् । म आफ्नो सुरमा हिँडिरहेको हुन्छु, यिनीहरू एकजुट भएर भुक्न थाल्छन् । मलाई थाहा छ, यिनीहरूको अलग-अलग र अनगिन्ती समुह छ । यिनले भुक्ने मात्र हो भने मेरो पिँडौलाको रौँ पनि हल्लिदैन थियो । हुँदाहुँदा यिनले आज भोलि मेरो बाटो पनि विथोल्न थालेका छन् । जब मलाई यिनले एक्लै देख्छन् मेरो अगाडि आएर घेरा हाल्छन् ! म आजित भैसकेको छु । कतै ननिस्कौं भनेपनि यदाकदा पुग्नुपर्ने हुन्छ ।
तिनले मलाई यसरी घेरा हाल्न थालेको केही समय भयो । एकदिन म काम विशेषले कतै जाँदै थिएँ , पशुपतिका बाँदरले जस्तै यिनले मैले बोकिरहेको झोलामाथि अप्रत्यासित रूपमा हमला गरे । धन्न झोलामा कुनै महत्वपूर्ण सामाग्री थिएन र त्यति नोक्सान हुन पाएन । यो क्रम बढ्दै गएपछि मेरो मनमा एउटा शङ्काले घर गर्न थालेको छ । मैले ऐेना नहेरेको निकै समय भएको थियो , कता न अचेल मेरो अनुहार देख्दा साँच्चै डराउने खालको त भएको छैन ? मान्छेहरू भन्छन् संसार परिवर्तनशिल छ । यसरी हुने परिवर्तनले मेरो अनुहार पनि डरलाग्दो हुने गरि परिवर्तन भएको पो छ कि ?
त्यसदिन म काममा जान सकिन । सरासर घरमा आएँ अनि बैठक कोठामा राखेको अर्धकद शरीर देखिने ऐेना हेर्न लागेँ । तर अहँ मेरो अनुहारमा त्यस्तो कुनै पनि प्रकारको विकृति थिएन, न म कुरुप नै थिएँ । म उहिले, जस्तो थिएँ वर्तमानसम्म आइपुग्दा पनि उस्तै थिएँ । मेरो अनुहार कत्तिपनि बदलिएको थिएन । अलिकति फरक भनेको मेरा गालाका छाला चाउरिएका थिए । अगाडिका केही दाँत झरेका थिए । म उहिले जस्तो हट्टाकट्टा थिइन । यति जाबो फरक हुँदैमा कुकुरहरूले यति साह्रै खेदो खन्न त नपर्नु पर्ने थियो ! समग्रमा मेरो अनुहार देखेर कुनै पनि कुकुर र कौवाहरू यसरी उतर्सिनु पर्ने कारण केही पनि नहुनु पर्छ ।
साँच्चै भन्ने हो भने एलिएन जस्तो त म कुनै कोणबाट हेर्दा पनि देखिन्न थिएँ । होइन यी कुकुरहरू मलाई देख्दा किन यसरी भुक्छन् ? मेरालागि यो विषय एउटा नबुझिने पहेलीका रूपमा रहिरह्यो ।
त्यसको भोलिपल्ट मैले एकाबिहानै नुहाइधुवाइ गरेँ र आफ्नो ओठमा भएका झुसिलकिरा जस्ता टाटेपाटे जुँगा खौरिएँ । दाह्री पनि मसिनो गरि फालेँ । एकपटक भित्तामा झुण्डिएको ऐेनामा पुनः अनुहार हेरँ , लाग्यो यत्तिको अनुहार भएको मान्छेलाई अब कुकुरहरूले पनि झम्टिने छैनन् र डाँग्रे र कौवाहरू पनि तर्सिदैँनन् । म ढुक्कसँग सडकमा निस्किएको मात्र थिएँ निस्कने बित्तिकै एकहुल कुकुरहरूले सधैँको भन्दा आक्रामक शैलीमा झम्टिए । जति पर गयो कुकुरको संख्या थपिँदै गएको देखिन्थ्यो । भुस्याहा कुकुरहरूबाट जिउ जोगाउन चिनजानको आफन्तको घरमा शरण लिने उद्देश्यले तिनका आँगनमा पुगेको मात्र थिएँ, तिनका घरमा बडेमानको साँङ्लोले बाँधेर राखेको उन्नत, जर्मन सेफड जातको कुकुरले साँङ्लै चुँडाउने गरि झम्टियो । ठूलो भाग्यले बाँचेँ । भुस्याहा कुकुरहरूले त भुके भुके, आखिर यी उन्नत जातका भनिएका कुकुरहरूले समेत भुक्न थालेपछि भने मेरो हंसले ठाउँ छोड्न लाग्यो । अब म के गरौँ ? कतै निस्कन समेत डर लाग्न थालेको छ ।
यी कुकुरहरूले मलाई मात्र हो या अन्य मान्छेहरूलाई पनि भुक्ने र झम्टिने गर्छन् ? त्यसको निर्क्यौल गर्ने मनसायले एकदिन म घरको झ्यालमा बसेर बाहिरको गतिविधि नियाल्दै थिएँ । सडकबाट निकै मान्छेहरू हिँडिरहेका थिए । मलाई जस्तै कुकुरहरूले उनीहरूलाई पनि झम्टिँदै थिए । मैले हेर्दाहेर्दै एकजना मान्छेको त तीघ्राको मासु नै लुछेर कुकुरहरूले “सडकभोज” गर्न थाले । मलाई लाग्यो कम्तिमा पनि मेरो त आजसम्म तिघ्राको मासु लुछिएको छैन, मेरो सातोपुत्लो उँड्यो । लामो सास फेरेँ । मैले सोचे जस्तै होइन रहेछ , मेरो घरको ऐना विलकुल बेइमान थिएन । उसले मेरो अनुहार सम्पादन गरेर देखाएको होइन रहेछ । ऐनाले मेरो अनुहार जस्तो थियो त्यस्तै देखाएको रहेछ ।
मेरो अनुमान शतप्रतिशत हावादारी सावित भयो । किनकि म भन्दा सुन्दर अनुहार भएका मान्छेहरूलाई पनि कुकुरहरूले झम्टिइ रहेका थिए , लखेटिरहेका थिए । सायद परिवर्तन मान्छेमा हुन सकेन , भुस्याहा कुकुरहरूमा भएछ । यिनीहरू अचेल छोइनसक्नु भएका छन् । यिनले त सडक र गल्तीलाई आफ्नो साम्राज्य ठान्न थालेछन् । गल्लीमा हिँडिरहेको मलाई मात्र होइन, यिनले आफ्नो बिरादरी बाहेक सबै सर्वसाधारणलाई भुक्ने रहेछन् । एक मन लाग्यो, भुस्याहा कुकुर निर्मूल नगरे अब सहजसँग बाँच्न सकिँदैन ।
सधैँ कुकुरहरूले भुक्छन् र यसरी नै आक्रमण गर्छन् भनेर घरमा बसिरहने कुरो पनि भएन । त्यसैले मैले एकजना बुढा पुराना गाउँलेसँग यसको समाधान खोजिदिन अनुरोध गर्ने उद्धेश्यले तिनकै घरतिर लागेँ । बुढाले निकै ध्यान दिएर मेरो कुरा सुने अनि हाँस्दै भन्न लागे – “बाबु तिम्रो र मेरो समस्या एउटै रहेछ । त्यो के भने अचेल मलाई पनि सितिमिति घर बाहिर निस्कन मन लाग्दैन । फेरि मलाई कुकुर देख्दा सातो जान्छ । म एउटा उपाए बताउछु ध्यान दिएर सुन्नु ।” उनले भुस्याहा कुकुरहरूबाट जोगिने तरिका बताए जुन यस्तो थियो –
“भुस्याहा कुकुरहरूलाई कि दुईचार चक्की बिस्कुट दिएर भुलाउनु पर्छ कि त बलियो लाठीले भकुर्नुपर्छ । यसपछि कुकुरले झम्टियो भने मलाई भन्नु , कुकुरहरूलाई कसरी तह लगाउने हो, रोजाइ तिम्रो ।” बुढाबाको यो उपाएले कुकुरहरूबाट छुटकारा पाइन्छ या पाइन्न त्यो त प्रयोग गरेपछि मात्र थाहा होला ।
०००
चितवन ।







































राम्रो