साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर, सिपाही र लाखे…!

चोरभन्दा सिपाही बन्नु राम्रो, सिपाहीमा इमान्दार र कर्तव्यनिष्ट सिपाही बन्नु राम्रो । कोही रुपका विरुप हुन्छन्, कोही विरुपका रुपक, कोही नामका दीपक, कोही कामका दीप ।

Nepal Telecom ad

ई. कुमार खड्का :

कैले चोर कैले सिपाही लुकामारीको खेल
भाङ पेल, धतुरो पेल निकाल्नु पर्छ तेल
चाहिन्छ लाभको हिसाब थप्दै, मेट्दै, केर्दै यहाँ,
किर्ते करार गराएरै होस् छद्म भेषमा झेल ।
००
बच्चा बेलामा सिनियर दाइहरुसँग आफ्नै गाउँको जात्रामा लाखे जिस्काउन गइन्थ्यो । वा लाखे वा… लाखेले खुब लखेटेझैँ गर्थ्यो, जिस्काउनेहरु भागेझैं गर्थे, तर जम्काभेट हुँदैनथ्यो । साथीहरुको लहैलहैमा म पनि एकदिन गएर लाखे जिस्काउन लागेँ । लाखेले लखेट्यो, सब भागे, म पनि सँगसँगै भागें, सफल भैयो । खुब खुशी लाग्यो । अर्को दिन पनि जात्रामा लाखे जिस्काउन गइयो, त्यही क्रममा सबै साथीहरु भाग्न सफल भए, मलाई भने लाखेले पक्रियो । सात्तो गयो । एकै छिनमा डरले पानी पानी भइयो । अब हिलोमा पछार्छ भन्ने ठानेको त लाखेले कान फुक्दै भन्यो, एकपल्टलाई छोड्दिएँ भाइ । भाग… ।

मैले घचेटेझैं गरें, उस्ले छाड्यो, म धोती न टोपी भागेँ । लाग्यो कि मलाई एकपटक भाग्यले बचाएको हो, संयोगले बाँचें । त्यसपछि जोडले कुदेर घर गएँ । बुवालाई बेलिविस्तार सुनाएँ । बुवा हाँस्नु भो । त्यो एउटा जात्राको खेल हो, डराउनु पर्दैन । दुइ दिनपछि स्कुल गइयो । सिनियर कक्षामा पढ्ने दाइ मलाई हेरेर खुब जिस्काउँदै हाँस्नु भो । अस्ति कत्तिको डर लाग्यो त भाइ ?
किन डराउनु र ? म डराउने खाले मान्छे हैन नि दाइ बुझ्नु भो ?
हो हो भाइ बुझें नि ! त्यो दिन लाखे बनेर तिमीलाई पक्डने मै त हुँ नि…! हाँस्नु भयो, म लाजले रातो भएँ, अनि हासेँ, साथीहरु पनि मज्जाले हाँसे ।

ठूलो भएपछि बल्ल लाखे महात्म्यको बारे थाहा भयो । जुनबेला आफ्नै सहपाठी साथीहरु पनि लाखे बन्न थालिसकेका थिए ।
लाखेकै प्रसङ्गमा एकजना दाइले ठिमीको बोडेमा विभिन्न देवी देवताको मकुण्डो लगाएर मनाइने लाखे जात्रा र उक्त जात्रामा भक्तहरु सबैले भगवानको स्वरुप मान्दै मुकुण्डोधारी लाखेहरुको पूजा अर्चना गर्ने प्रसङ्ग वर्णन गर्नुभयो । जात्रामा उहाँ पनि आमासँग जात्रा हेर्न जानु भएको रहेछ । दाइको आमाले अरु सरह लाखेको पूजा आरधना गर्नुभएछ, दाइलाई पनि ढोग्न लगाउनु भएछ । नाच हेर्दै एक्छिन पछि वैसाखे गर्मीको धुप खप्न नसकेर भगवान स्वरुप लाखेले मुकुण्डो फुकाल्दा त आफूसँगै पढ्ने राम चा… रहेछन् । भोलिपल्ट क्लासमा भेटिँदा उसले खुब जिस्काएछ र भनेछ, ल मलाई पूजा गर पासा ! उनी किच्च हाँस्दै अक्क न बक्क भएछन् ।

लाखे जात्रा एउटा साँस्कृतिक जात्रा हो, स्वरुप फेरे पनि रुप थाहा हुन्छ, जात्रा मान्यो, मनोरञ्जन गर्यो, हानी नोक्सानी केही हुँदैन । चाहेमा जो पनि लाखे बनेर नाच्न सक्छ, एकछिन अरुहरुको रहस्यमयी पात्र बन्न सक्छ, तर पर्व मान्नु र मनोरञ्जन लिने नियत मात्र हुन्छ, किर्ते छलछाम केही हुँदैन । तर वास्तविक जीवनका लाखेहरुले समाज, सभ्यतालाइ रहस्य सृजना गर्ने रहेछन् । हाम्रो सामाजिक वास्तविकता हेर्ने हो भने हाम्रा उहिलेका नेता, विशेषगरि रहस्यमयी ढङ्गले भूमिगत भएका मुकुण्डोधारी गिरोहको मकुण्डो अहिले खुल्दै गएको छ । तर उनीहरु अझै छलेर नयाँ मुकुण्डो लाउँदै निरन्तर पूजा खाने दाउमानै छन् । हेर्दै जाउँ, अझै के हुन्छ भनेर हामी हेरिनै राखेका छौँ । उनीहरु नयाँ नयाँ मकुण्डो लाउँदै, नयाँ नयाँ आश्वासनको मुख बाउँदै, नयाँ नयाँ नारा ओकल्दै, वातावरण मिलाएर नौटङ्की मञ्चन गरिरहेका छन्, हामी हेरिरहेका छौँ, ठगीमा परिरहेका छौँ । चिनेर पनि अपरिचित जस्तै छौँ, कि जसरी हामीले बच्चामा बीउ हेर्न बस्दा अजङको अटेरी साँढे आएर बीउ खाइरहने, धपाउँदा नजाने, लठ्ठीले हान्यो हान्न आउने, हटाउन नसकिने, उसले बीउ खाइरहने, हामी हेरिरहने, आजित हुइन्थ्यो । हाकाहाकी बिउको विध्वंस…! त्यस्तै भएको छ अहिले यो समाजमा, उस्तै छौँ, हामी समाजका बुज्रुगहरु समेत पनि ।

सांस्कृतिक लाखेको कुरा भन्दा राजनीतिक, सामाजिक लाखेको कुरा अनौठो लाग्छ । साँस्कृतिक लाखेले केही समयपछि आफैं मुकुण्डो खोल्नाले अल्पकालमै चिन्न सकिन्छ । सोच, विचार, नाम पहिचान, ठेगानमै मुकुण्डो लगाएकाहरुलाई भने लामो समयसम्म चिन्न गाह्राे हुने रहेछ । वास्तविक लाखे नाच देखाउनेदेखि डराउनु परेन, कुविचार र भावनाका लाखेनाच देखाउनेसँग सदा त्राहिमाम भएर बस्नु पर्ने, फरक आकाश र पातालको हुनेरहेछ ।

सुरक्षा कवचको रुपमा झुक्याउने ठग्ने प्रयोजनको सेफ्टी हेल्मेटझैँ अल्पकालीन रुप र वचनमा ठग्ने, झुक्याउने, चोरी तथा डकैती गर्न समेत प्रयोग भएको देखिन्छ । स्वरुपमा फरक ल्याउने या गुण र विशेषतामै फरक देखाई समाजमा आतंक मच्चाउने या तिनलाई सहयोग गर्नेका मुकुण्डो पहिरनको असर दीर्घकालीन हुन्छ । अहिले त दिउसै झुक्याएर हत्या, डकैती गर्न सजिलो हुने विकसित मुकुण्डो सिलिकन मास्कको प्रयोग गर्ने जमानामा प्रवेश गरिसकेको कुरा जानिफकारहरु भन्छन् । अहिले त विज्ञानले मान्छेनै गायव भएझैं देखिने ट्रान्स्परेन्ट क्लथको आविष्कार समेत गरिसकेको कुरा सार्वजनिक भएको छ । आविष्कारमा गर्व गर्नुपर्ने कुरा बेग्लै छ, तर त्यस्को गलत प्रयोगले हुनसक्ने खतरा र सामाजिक कुप्रभाव बारेमा अत्यन्तै गम्भीर भएर सोच्नुपर्ने अवस्था साथसाथै आइलागेको छ ।
बुढेसकालमा झुण्ड्याइएको जनैको साँचो, ताला मारेको कन्तुर, कुनै कार्यालयमा ‘गोप्य’ लेखिएको कोठाको महत्व छुट्टै हुनेगर्छ । नेपथ्यमा गाइएको गीत, सङ्गीत प्रभावी हुँदा पनि स्रष्टाको परिचय नखुल्दा भने ख्यातिमा प्रभाव पार्नेनै भयो, कहिले सकारात्मक, कहिले नकारात्मक …!

मैले नुवाकोट जागिर खाँदाको कुरा, एकजना दाइको हजुरबुवासँग सुनको इँटा रहेछ । त्यसलाई बुइँगलको भित्तामा व्यवस्थित खाले प्वाल बनाइ इँटाकै ढक्कनले सुरक्षित राखेर प्रत्येक हप्ता भित्तोबाट निकालेर दर्शन गर्ने र फेरि साविक ठाउँमै राख्ने रहेछन् । नातिले चियो गर्दै सो कुरा पत्तो पाएछन् । पैसाको दुख छैन, बुढाले सुनको इँटा बेच्ने हैनन्, हेर्ने मात्र त हुन् नि । के खोज्छ्स्…आँखा…झैँ भएछ । उनले उस्तै नक्कली धातुको इँटा तयार गरेछन् र सक्कली इँटा झ्याप बनाएछन् । अलि दिन थाहा भएनछ, पछि बुढालाई शङ्का लागेर जाँच गर्दा पत्तो पाएछन् । डाँको छोडेर रुन लागेछन् । परिवार छिमेकी भेला भए । नातिलाई समस्या, बेचेर आफ्नो व्यवहार मिलाइसकेकोले फिर्ता गर्न नि नसकिने, स्विकारेर माफी माग्न नि नसकिने, स्थिति जटिल भएछ ।

अन्तमा सबै भेला भएर बुढालाई भनेछन्, कि प्रहरी केस गर्नुपर्यो, बाहिरको मान्छे आएको स्थिति हैन, त्यसैले चुप बस्नुनै राम्रो हाेला भन्ने सल्लाह दिएछन् । आखिर बुढाले हेर्न मात्रै प्रयोग गर्ने इँटा नक्कली भए पनि सुनकै सम्झेर दर्शन गरे भैहाल्यो नि त । समाजका लाउकेहरुले आफ्नो धारणा व्यक्त गर्दै गएछन् । अन्ततः बुढाले त्यै इँटा सुनको सम्झदै, हेर्दै, पानी छम्कदै चित्त बुझाएछन् । “घिउ कहाँ पोखियो, भागमा…।” आखिर तिनै नातिले बुढेशकालमा हेरचाह गर्ने जिम्मा पाएछन्, ईमानका साथ जिम्मेवारी पुरा गरेछन् । व्यवहार प्रष्ट भयो, सुनको इँटा कर्तव्यपथमा गतिशील भएपछि पुरानो कुरा ओझेल पर्यो, कथा एउटा रमाइलो झाँकी भयो ।

कहिलेकाहीँ कुनै कुरो सबैलाई एकैपल्ट सार्वजनिक गर्नुभन्दा छुट्टाछुट्टै आफ्नाहरुको कान फुकेर भन्दा सहज पनि हुने,औपचारिक गोपनियता पनि बच्ने गर्छ । सार्वजनिक घोषणा गर्दा अलि असजिलो हुने कुरा व्यवहार र परिस्थितिजन्य कुरा भयो । खास उमेरले नेटो कटिसकेका बुढाबुढी, आइमाई तथा केटाकेटी आफ्ना भए पनि सार्वजनिक हुँदा रहेछन् । उनीहरुको हितको कुरामा आफ्नो भन्दा समाजको कुरा मान्नुपर्ने, नियम, कानुन, विधि विधानको कुरा जान्नुपर्ने पनि हुनसक्छ । त्यहाँ नाता भन्दा सामाजिक, नैतिक जिम्मेवारीका कुराहरु पनि हुने गर्छन् ।

विश्वास र गोपनियताले एउटा हदसम्म राम्रो गरेको उदाहरण पनि छन् , तर एउटा पक्षको नैतिक आचरण, मानविय मूल्य मान्यतामा आएको गिरावटले धेरै समस्या सृजना भएका छन् ।

हिजो आज फेसनको जमाना छ । टिभी च्यानल, गुगल, युट्युब, चलचित्रको कारण हिजोआजको रहनसहन, खानपान, फेसन अन्तर्राष्ट्रियकरण भैसकेको अवस्था छ । विश्वको एउटा कुनामा भए गरेका घटनाहरु अर्को कुनामा तुरुन्त पुग्दा मान्छेहरुका धारणा, चाहना, माग र पूर्ति बीचमा तुफान चलिरहेको हुन्छ ।

जनैको साँचो, कन्तुरमा लुकाएर राखेको कागजात, डेन्टिङ पेन्टिङका सामान, ओभर मेकप गरिएको बेहुली, स्टेरोयड प्रयोग गरेका खेलाडी, अधिक मिसावट गरिएका उत्पादनको पोल बिस्तारै खुल्दा हालत खराव त हुन्छ नै, झुठो प्रपञ्चमा रचिएको नाटक, ढाकछोप र झुक्याएर पारिएको विश्वास कुनबेला तुहिन्छ र त्यस्ले विनासको कस्तो रुप लिनसक्छ भन्ने कुरा आँकलन भन्दा बाहिरको कुरा हुनसक्छ, तुरुन्त भन्न भने सकिन्न ।

स्थानिय स्तरका निम्छरा ठगीदेखि राष्ट्रिय स्तरका सहकारी ठगी र अन्तर्राष्ट्रिय स्तरका सुपर पावर राष्ट्रले निम्छरा राष्ट्रलाई गर्ने ठगीको प्रारुप उस्तै उस्तै देखिन्छ । रुप र मात्रा, प्रभाव र असर, त्यसका क्षेत्रगत कुराहरुमात्र फरक देखिन्छन् । जति थरिका पार्टी, सङ्गठन भए पनि, सिद्धान्तका जति ठुला कुरा गरे पनि सुविधा भोग र सत्ता प्राप्तिमा भएका ठगबन्धन सम्मका प्रवृत्ति, स्थानिय निकायका वडा कार्यालयदेखि संयुक्त राष्ट्र संघसम्मका नियाँ निसाफ प्रणालीको प्रवृत्ति उस्ता उस्तै देखिन्छन्, भलै मात्रात्मक र गुणात्मक भिन्नता किन नहोस् ।

रुप, स्वरुप फेर्नु, चरित्र फेर्नु, नाम, पेशा र पहिचान फेर्नु,बाहिरी र वास्तविक परिचय फरक देखाई छलकपट गर्नु, आखिरमा सबै भूमिगत शैलीनै हुन् भन्छु म । कुनै शैलीले आफैं बच्ने, कुनै शैलीले सिकार जालमा पार्ने, दुबैको आआफ्नो रणनीतिक कौशलता हुन्छ । द्वैध विचारका मान्छेलाई स्वरुपमा पनि द्वैध पार्ने शैली हो, भूमिगतशैली । ऐतिहासिक कालमा देवता, दानव आवस्यकता अनुसार आफ्नो तपोवल, योगबलको आधारमा मायावी रुप लिनसक्थे । त्यही रुपको उचित, अनुचित लाभ लिएर आफ्नो मक्सद पूरा गर्दथे । भनौं आफ्नो स्वाभाविक या अस्वाभाविक कर्म, अकर्मका सकारात्मक या नकारात्मक भावलिला, ह्रासलिला या विनासलिला गर्दथे ।

हिजोको राजनीतिक परिस्थितिमा सकारात्मक परिवर्तनको लागि निश्चित उद्देश्य र लक्ष्य लिएका अमुक मान्छेहरु विविध मुकुण्डो धारणा गरेर हिँड्दथे । आज सकारात्मक भन्दा नकारात्मक कर्म गरेका, मानविय कर्मच्युत, बलात्कारी, हत्यारा, ठग, बदमासी गर्नेहरु छद्म भेषमा सुरक्षित हुन भौतारिरहेका छन् । वादी, प्रतिवादी, अपराधी र सुरक्षा दुबै पक्षमा मुकुण्डोधारीहरु यत्रतत्र सर्वत्र छन् । कर्तव्य, कर्मका तौरतरिका फरक होलान्, अनुसन्धान, सुरक्षा, कार्वाहीका सारा पक्षहरुमा गोप्यता र भूमिगत शैलीको अपरिहार्यता भने भैसकेको देखिन्छ ।

अन्तर्राष्ट्रिय कुटनीति, सत्रु देशको जासुसी पनि भूमिगत मुकुण्डे शैलीमा हुनेगर्छ, जुन आफ्नाले गरे राम्रो र सकारात्मक, विपक्षले गरे नराम्रो र नकारात्मक हुन्छ । राष्ट्रिय राजनीतिमा पनि त्यस्तै त्यस्तै हो । जे होस् ! चोरभन्दा सिपाही बन्नु राम्रो, सिपाहीमा इमान्दार र कर्तव्यनिष्ट सिपाही बन्नु राम्रो । कोही रुपका विरुप हुन्छन्, कोही विरुपका रुपक, कोही नामका दीपक, कोही कामका दीप ।
साँचो, झुठो पर्गेल्नुपर्ने हुन्छ, जटिल समाजलाई झेल्नुपर्ने हुन्छ । अरुको कुरा गर्यो, कुरैको दुख । कहिलेकाहीँ त आफैंले पनि भूमिगतशैली, चोर र सिपाहीको शैली, नेता र अभिनेताको शैली अपनाउनुपर्ने हुन्छ । शैली चिनौं, शैली अपनाउँ ! तर परजीवी, पराबलम्बी हुन भूमिगतशैली अपनाउनुको साटो बाँच र बचाउको मर्म, भावनामा उपयोग गरौं ! सबैको जय होस् !! अस्तु !!!

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०३/०७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x