शम्भु गजुरेलकर्पोरेट जाल: ‘गाई’ को काल
आवारा पुँजीवादको गिद्ध दृष्टिमा चलेको सर्कस हो। जहाँ जनताले ताली बजायो, धनी देशले नाफा कमायो, र हामी ? हामी त "बुख्याँचा" हौं— हाँस्न पनि चिच्याउँदै, रुन पनि नाच्दै।

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’ :
एउटा समय थियो—जहाँ जीवनका आधारभूत चिजहरू: गाँस, बास, कपासबारे बहस चल्थ्यो। आज त्यो ‘कपास’ शब्दको ठाउँ ‘कर्पोरेट’ ले कब्जा गरेको छ। अब गाँस सस्तो छैन, बास सुरक्षित छैन, र कपास ? त्यो त र्याम्पमा हिँड्ने फेशन मोडलको पछाडिको लोगो हो— पसिनाले होइन, प्रविधिले सिँगारिएको।
बजारले भन्थ्यो— “ग्राहक राजा हो”। तर आजको ग्राहक? ऊ त घाँस खाइरहेकी गाई हो— घाँस पनि जीन प्रविधिको, बोतलमा प्याक गरिएको, जसको दूध नाफाको औद्योगिक ट्याङ्कीमा जम्मा हुन्छ। ग्राहकलाई अब न बुझिन्छ, न भुलिन्छ— ऊ चलिरहेको ‘प्रोडक्ट मेट्रिक्स’ हो।
आजका गोठालाहरू गोठमा हुँदैनन्— तिनीहरू स्टक मार्केटको वातानुकूलित बोर्डरूममा छन्। उनीहरूले पत्तो नदिई भेडा बेच्छन्, गाई खुइल्याउँछन्, र कुर्सीमा टेकेर विश्वव्यापी नीति बनाउँछन्।
बैंकर, कार्पोरेट मालिक र बहुराष्ट्रिय नेताहरू एउटै टेबलमा “शान्ति” को सूप चुस्छन्, तर किचनमा युद्धको बारुद उम्लिरहेको हुन्छ। मिडिया ? त्यो त अब समाचार होइन, प्रायोजित स्यालहरूको चीत्कार हो। “जनता मर्छन्” भन्ने समाचार पनि ‘Sponsored by Weapons Unlimited’ को लेबलमा आउँछ।
“बजार स्वतन्त्र छ”, भन्छन् तिनीहरू । हो, स्वतन्त्र छ—तर कुन जातको लागि ? “स्वतन्त्रता” नामको तस्बिर बनाउने ब्राण्ड पनि उनीहरूकै हो। तल्लो तलाबाट चिच्याउनेहरूको स्वर शेयर बजारको घण्टीमा दबिन्छ। किनकि त्यस स्वरको मूल्यांकन ‘क्रेडिट स्कोर’ ले गर्दैन।
तेल, हतियार, राहत, ऋण— सबैको बिलिङ एड्रेस एउटै छ: “साम्राज्यवाद प्रा. लि.” । संयुक्त राष्ट्रसंघको मञ्चमा शान्तिका भाषणहरू हुन्छन्, त्यही दिन नेटोका ट्याङ्कहरूले कुनै देशका बस्ती च्यात्दै हिँडिरहेका हुन्छन्। तिनै नेताहरू “लोकतन्त्र” नामको बुलेट झिकेर निहत्था जनता छताछुल्ल पार्छन्।
भोकले चिच्याइरहेका अफ्रिकी बालकहरूको अनुहार UNICEF को विज्ञापनमा देखिन्छ— तर त्यो आँसुबाट उठेको पैसा क्रिप्टो वालेटमा जम्मा हुन्छ। “आँसु बेचेर स्टक बढाउने घिनलाग्दो कर्पोरेट फर्मुला !”
किनारामा बसेका मान्छेहरू हावा हेरेर भोलि बाँच्ने योजना बनाउँछन्। छोरो क्यान्सरले मर्छ— अस्पतालमा तिर्ने पैसा छैन। सहरका भित्तामा भने लेखिएको हुन्छ: “पेट्रोलियम कम्पनीद्वारा प्रायोजित निःशुल्क स्वास्थ्य शिविर”। ‘सामाजिक उत्तरदायित्व’ अहिले शोषणको सर्फेस पेन्ट हो। अलिक ब्राण्डेड, अलिक क्यामेरामैत्री।
बजारको नयाँ देवता अब लक्ष्मी होइन— क्रिप्टो हो। त्यसको मूल्य पवनसँगै उड्छ, तर पनि मान्छेहरू यसकै पछि बौरिरहेका छन्।
हामी सबै अब EMI मा बाँच्ने, Loan मा रमाउने, कर्जा-पसलका भक्तजन। बैंकरहरू ‘भिजनरी’ हुन्, राजनीतिज्ञहरू तिनका ‘टोकन अफ एप्रिसिएसन’ मात्र। न्याय? एक बाँदर— जसको खुट्टा ठूला बाघहरूले तानिरहेका छन्।
बुद्धको देशमा अब बजारले गणेश बेच्दछ— जापानी माटोको, चिनियाँ डिजाइनको, अमेरिकी ब्राण्डमा। यो ‘ग्लोबल वर्ल्ड’ इन्टरनेटको होइन— आवारा पुँजीवादको गिद्ध दृष्टिमा चलेको सर्कस हो। जहाँ जनताले ताली बजायो, धनी देशले नाफा कमायो, र हामी ? हामी त “बुख्याँचा” हौं— हाँस्न पनि चिच्याउँदै, रुन पनि नाच्दै।
शुभकामना ! तपाईंको भोलिको भविष्य स्वतन्त्र बजारका मोहजाल, अन्तर्राष्ट्रिय ऋणदाता संस्थाको मुस्कान र CNN को स्क्रिप्टेड आँसुमा निर्भर छ।
आजको मानव करारमा जन्मन्छ, किस्तामा बाँच्छ, ऋणमा मर्छ, र अन्ततः उसलाई बीमा कम्पनीले “क्लेम” गर्छ। यो निबन्ध कुनै एक देश वा घटना होइन, यो एक यस्तो यथार्थ हो—जहाँ चेतनाले मोल गुमाएको छ र मान्छे ब्राण्डेड छ—”Human Resource” नामको ट्यागसहित।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































