साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौतारीको छाया र बन्चरेको प्रहार

विशाल वृक्षलाई फेदमा हुर्किएका कुरूप झारहरूले कहिल्यै ढाक्न सक्दैनन्, यदि हामीले तिनलाई समयमै उखेल्न सक्यौँ भने। नत्र, परोपकारी वृक्षका फलहरू ती बाँदरहरूले खाँदै जानेछन्... ।

Nepal Telecom ad

शम्भु गजुरेल :

यो संसारमा केही यस्ता अनुपम रचनाहरू छन्, जसको औचित्यमाथि प्रश्न उठाउनु भनेको आफ्नै विवेकमाथि प्रश्न उठाउनुजस्तै हो। उदाहरणका लागि, विशाल वृक्षलाई नै हेरौँ। यो शीतलताको पर्याय हो, जहाँ चराहरू गुन्जिन्छन्, किराहरूले आश्रय पाउँछन्, बटुवाहरू सुस्ताउँछन्, र फल दिन्छ निरन्तर—चाहे कसैले खाओस् वा नखाओस्। यसका झरेका पातहरू मल बनेर जीवनमा फर्किन्छन् भने चोपले घाउ निको पार्छ, मल्हम बनेर मनमा। यस्तो परोपकारी वृक्षको फेदमा, विडम्बना नै भनौँ, कुरूप विचारका झारहरू अनवरत हुर्किन्छन्, जसले तप्केनीझैँ विष बर्साउँदै चिच्याउँछन्—”मलाई नछोओस् कसैले!” वरिपरि कोपिला छैनन्, न फक्रिएका बिरुवा, केवल उमेर नपुग्दै ओइलाएका फूलहरू। लाग्छ, यो विशाल वृक्ष हाम्रो समाजको बिम्ब हो, र यसका झारहरू तिनै पात्रहरू हुन् जो समाजलाई खोक्रो बनाउन उद्यत छन्।

राजनीतिक वृक्षमा झुन्डिने स्वार्थी बाँदरहरू

हाम्रो राजनीति पनि त्यही वृक्षजस्तै हो—असंख्यको भरोसा र एक विशाल आलम्ब। तर, दुःखको कुरा! त्यही विशाल वृक्षमा स्वार्थी बाँदरहरू झुण्डिन्छन्। उनीहरू फल खाएर फ्याँकिदिन्छन् र रित्तो वृक्षलाई दोष दिन्छन्—”यसले के दियो र?” आफ्नो पेट भरेपछि अरूलाई लाञ्छना लगाउँदै ताण्डव मच्चाउँछन्। उनीहरूका लागि राजनीति भनेको ‘आफ्नो दुनो सोझ्याउने’ माध्यम मात्र हो, जहाँ जनताका आशा र अपेक्षा खुइलिएका पातजस्तै लाग्छन्। उनीहरूले आफूलाई क्रान्तिकारी देखाउन जातीयता, क्षेत्र, लिङ्ग, भाषा आदिको हतियार लिएर समाजलाई तानातान गर्छन् र घृणाको प्रतीक बन्छन्। सत्यलाई तोडमोड गर्दै सकारात्मकतालाई ‘पेड न्युज’ को बिल्ला भिराउँछन्। उनीहरू अन्धकारको उन्माद बेचेर उज्यालोमा विलास गर्छन्, तर बिर्सन्छन्—दिनको पनि दुई पाटो हुन्छ। उनीहरूको ‘क्रान्ति’ को परिभाषा केवल विरोध र विग्रहमा सीमित छ, जहाँ प्रगतिको कुनै स्थान छैन।

उच्च वर्ग: ज्ञानका ज्योतिपुञ्जमा लाग्ने धमिराहरू
उच्च वर्गलाई हेर्दा पनि त्यस्तै लाग्छ। उनीहरू घाम छेक्ने छायाँ हुन्, तर आँखा छेक्ने होइन—सत्यको दर्पण। एडम स्मिथ होस् वा कार्ल मार्क्सका सिद्धान्त, यी अग्ला शिखरहरूलाई नै उनीहरूको आलोचनाका झिल्काले बजार्छन्। मानौँ, उनीहरूले नयाँ सिद्धान्त आविष्कार गर्ने होइन, केवल स्थापित ज्ञानमाथि प्रश्नचिन्ह खडा गर्ने मात्र हो।

त्यस्तै, ज्ञानका ज्योतिपुञ्जमा पनि स्वार्थका धमिरा लाग्छन्। यो अदृश्य द्वन्द्वको गाथा गहकिलो छ। महत्वाकांक्षी पात्रहरू शून्यबाट सिर्जना गर्न खोज्छन्, नभएको कुराको जालो बुन्छन् र भ्रमको महल ठड्याउँछन्। ठूला दलका विरुद्ध ठुल्ठूला नाराको भित्ते प्रचार गर्छन्। विकासलाई व्यर्थ भन्दछन्, सडकमा हिँडेर पनि “सडकले बिगार्‍यो” भन्दै हास्यास्पद विरोध गर्छन्। फेसबुकमा स्टाटस लेख्दै “प्रविधिले संसार बिगार्‍यो” भन्छन्, जबकि उनीहरू स्वयं प्रविधिमै लिप्त हुन्छन्। यो कस्तो विरोधाभास! उनीहरूको आदर्श केवल हल्ला र भ्रमको खेतीमा आधारित छ, जहाँ तर्क र वास्तविकताले कुनै स्थान पाउँदैनन्।

आलोचना र सृजनात्मक बहसको आवश्यकता
बिहान र साँझझैँ, शासनका पनि सकारात्मक र नकारात्मक दुई पाटा हुन्छन्। आलोचना समृद्धिको दीप हो, प्रगतिको सारथी पनि हो, तर केवल विरोध? त्यो के अग्रगमन हो ? संसार अघि बढिसक्यो, हामी अझै तुलनामै अल्झिरहेका छौँ। खबरदारी चाहिन्छ, तर गाली होइन—सृजनात्मक बहस। प्रगति पनि त तर्कको सन्तान हो, हताशाको होइन। यो सत्य बुझ्नुपर्छ, अनि मात्र सही मार्ग मिल्छ।

विशाल वृक्षलाई फेदमा हुर्किएका कुरूप झारहरूले कहिल्यै ढाक्न सक्दैनन्, यदि हामीले तिनलाई समयमै उखेल्न सक्यौँ भने। नत्र, परोपकारी वृक्षका फलहरू ती बाँदरहरूले खाँदै जानेछन् र हामी केवल उनीहरूको ताण्डव हेरेर चित्त दुखाउन मात्र सक्नेछौँ।

प्रश्न बाँकी छ
के हामी यी स्वार्थी झारहरूलाई उखेलेर समाजलाई साँच्चिकै विशाल वृक्ष बनाउन सक्छौँ त ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x